Blog

  • काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

    काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

    काठमाडौँ, २५ पुस : 
    नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताउनुभयो ।

    यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ ।

    यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो ।

    जोमसोममा आज माइनस पाँच डिग्री रहेको छभने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।

    यस्तो छ मौसमी अवस्था

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ ।

    आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ ।

    देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध गरिएको छ ।

  • चुनावी अभियान चलाउन रास्वपाले माग्यो ३२१ कर्मचारी

    चुनावी अभियान चलाउन रास्वपाले माग्यो ३२१ कर्मचारी

    काठमाडौं, पुस २५-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ।

    शुक्रबार रास्वपाले विभिन्न पदमा ३२१ जना कर्मचारीको आवेदन मगाएको हो।

    रास्वपाले ‘आरएसपी डिजिटल क्याम्पेन रूम- मिसन इलेक्सन’ भनेर आवेदन खुलाएको हो।

    यसरी खुलाइएको जागिर ३० देखि ६० दिनका लागि हुने भनिएको छ। तलब भने खुलाइएको छैन।

    रास्वपाले चुनावी अभियानका लागि रणनीतिक विश्लेषक, अनुसन्धानकर्तादेखि, प्रचारप्रसारका कन्टेन्ट क्रिएटरहरू समेत माग गरेको छ।

  • युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

    चितवन, पुष २५ –
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले संगठन विस्तार अभियान थालेको छ ।

    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनले संगठन विस्तार अभियान सुरु गरेको हो ।

    अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यका अनुसार आज शुक्रबार इच्छाकामना गाउँपालिका स्थित सर्वसान्ती माध्यमिक विद्यालयबाट संगठन विस्तारको अभियान सुरु गरिएको हो ।

    कशिस गुरुङ्को अध्यक्षतामा २१ सदस्यीय सर्वसान्ती मावि कमिटी गठन गरिएको उनले जानकारी दिए ।

    ‘युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान’ भन्ने मुल नाराका साथ संगठन विस्तार अभियान अगाडि बढाइएको संयोजक आचार्यले जानकारी दिए ।

    संयोजक आचार्य भन्छन्, ‘युवा विद्यार्थीहरुमा राजनीतिक चेतनाको कमीका कारण नै २३ गतेको आन्दोलनले सार्थकता नपाएको भन्ने हाम्रो ठम्माइ हो । यदि आजका युवा विद्यार्थीहरुमा राजनीतिक चेतना हुन्थ्यो भने २४ गते देशमा त्यो विध्वंश मच्चाउने गरी आगजनी हुने थिएन । देशका कैयौँ सरकारी संरचनाहरु आगोमा विलय हुने थिएनन् । आज देशको कानुनको सर्वाेच्च निकाय सर्वाेच्च अदालत आगोमा विलिन हुने थिएन । देशको अर्थतन्त्रको बलियो खम्बाका रुपमा स्थापित निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरु तोडफोड तथा आगजनी हुने थिएनन् । र राष्ट्र अस्थिरताको खेलमा फस्ने थिएन । यस्ता कुराहरुको समाधानको लागि युवा विद्यार्थीहरुमा राजनीतिक चेतनाको विकास आवश्यक रहेकाले संगठन विस्तार अभियान थालेका हौं ।’

    अनेरास्ववियु सर्वसान्ती माविका निवर्तमान अध्यक्ष नवीन रानभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रशान्त सुवेदीको प्रमुख उपस्थिति, अनेरास्ववियु चितवनका जिल्ला संयोजक अमित आचार्यसहित अनेरास्ववियु चितवनका नेताहरु निश्चल चदरा, प्रकाश सिलवाल, रुद्र पौडेल, सुभाष गुरुङ, अरविन्द ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

  • आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

    आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

    २५ पुस, काठमाडौं-
    सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।

    उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’

  • रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

    रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

    रत्ननगर, २५ पुसः 
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा शुक्रबारदेखि रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए ।

    रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा छ उनले भने यो अबस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको बाताबरण तयार गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताए । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाई छ ।

    उनले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रर्बद्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । महोत्सव रमाइलोमा मात्र सिमित हुन नहुने भन्दै उद्देश्यप्राप्तीमा गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

    कार्यक्रममा प्रदेश सभा साँसद जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष राजेश्वर खनाल, एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिष्ट पार्टीकी जिल्ला सहइन्चर्ज कन्चन खनाल, रास्वपाकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेश समिति अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको इतिहार, यसले अर्थतन्त्र र कृषि प्रर्बद्धनमा खेल्दै आएको भूमिकको विषयमा मन्तव्य राखेका थिए । महोत्सव उद्घाटन पूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको छ । नेपाल माविको खेलमैदानबाट सुरु भएको शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी भएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ कर्मचार्यले जानकारी दिइन् । पौष ६ गते सम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

    उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए । यस पटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।

    महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् ।

    महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छ ।

    महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

  • चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका बीसवटा गोही प्रकृतिमा छाडियो

    चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका बीसवटा गोही प्रकृतिमा छाडियो

    चितवन, २५ पुसः 
    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । आज दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो ।

    छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यीबाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ ।

    मगरका अनुसार सन् २०२२ मा जन्मिएका ३०० वटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन् । यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गोही प्रजनन केन्द्रमा छ सय ९७ वटा गोही छन् ।”

    अहिलेसम्म यहाँ हुर्काइएका दुई हजार १४२ वटा गोही नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । विसं २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

  • सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्यः सञ्चारमन्त्री खरेल

    सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्यः सञ्चारमन्त्री खरेल

    काठमाडौँ, पुस २५-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ । सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सञ्चारमन्त्री खरेलले भन्नुभयो, “अहिलेकै कार्यकालमा जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउनेगरी काम गर्न आग्रह गर्दछु, यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ ।” उहाँले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

    हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले जिआइओएमएस लागू गरिसकेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ ।

    सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सूचना प्रविधि विभागका महानिर्देशक श्री चन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गर्नुभयो । रासस

  • चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति

    चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति

    चितवन, पुस २५-
    चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ । पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन्भने दुई क्यामेरा हात्तीले फुटाएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन् । टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उहाँले बताउनुभयो । करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो ।

    मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पु¥याएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ । उहाँका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो ।

    अहिले दोस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ । दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरु खटिएका छन् । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ । सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको छ । गणनामा १५० गणक खटिएका छन् । थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।

    चितवन–पर्सा ब्लकमा ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए । रासस

  • जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

    जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

    काठमाडौँ, पुस २५-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।

    एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको हो । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उहाँको भनाइ थियो ।

    बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।

    बैठकमा पार्टीका सचिव एवं सङ्गठन विभागका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो । रासस

  • कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

    कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

    गण्डकी, पुस २५-
    पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो ।

    सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै बढ्दै गएको जलवायु परिवर्तन तथा युवा पलायन जस्ता कुरालाई जीवन्त चित्रण गर्न खोजिएको छ ।

    जलवायु परिवर्तनको असरलाई कलामार्फत प्रस्तुत गर्दै कलाकार रिक गुरुङले बढ्दै गएको तापमानका कारण पृथ्वी आकुलव्याकुल भएको र यसबाट बचाउनका लागि शङ्खघोष गर्न खोजेको दृश्य देखाइएको छ ।

    त्यस्तै गुरुङले प्रदर्शनीमा राख्नुुभएको अर्को कलाले नेपाली मौलिक संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गर्न खोजेको छ । नेपाली परम्परागत घुमाउने घरसहितको परिवेशमा परम्परागत पोसाकमा सजिएका व्यक्ति मादल बजाउँदै नाच्दै गरेको दृश्यलाई कलामा उहाँले समेट्नुुभएको छ ।

    प्रदर्शनीमा नै राखिएको कलाकार बुद्धि गुरुङको माछापुच्छ«े हिमालको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याएको छ । प्रदर्शनीमा नै राखिएको कलाकार बाबुराम बस्ताकोटीको कलाले नेपाली समाजको बढ्दो युवा पलायनलाई चित्रण गर्न खोजेको छ । युवा जनशक्ति पलायन भएका अवस्थामा एउटा सानो बालकले खेतमा गोरु जोत्न खोजेको तर उ, आफैँ के गरौँ कसो गरौँ जस्तो भएर अलमलिएको जस्तो दृश्य प्रस्तुत गरिएको छ । युवाहरूको पलायनसँगै बढ्दो बसाइँसराइ समस्याका रुपमा गाँजिदै गएको कलामार्फत सन्देश दिन खोजिएको छ ।

    बेलायतबाट आउनुभएकी कलाकार जुलिएत्ले रोछेले नेपाली आदिवासी महिलालाई कलामा उतार्नुुभएको छ । प्रदर्शनीमा उहाँसहित अन्य विदेशी कलाकारका कला राखिएका छन् । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङका अनुसार प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

    प्रदर्शनीमा नेपाली ३३ र अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ विदेशी कलाकारले सहभागिता जनाउनुुभएको बताउँदै उहाँले कुल ७० कलाकृतिलाई प्रदर्शनीमा राखिएको जानकारी दिनुुभयो ।

    विदेशी कलाकार स्वयम् उपस्थित भएर उनीहरूका कलाकृतिसमेत प्रदर्शनीमा राखिएको जनाउँदै उहाँले उनीहरूसँग नेपाली कलाकारले पनि सँगै साक्षात्कार गर्न पाउँदा त्यसले यहाँको कलाकारितालाई विश्वमाझ पु¥याउन र त्यहाँका अनुभव सिक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    यसले पोखराको कलाकारितालाई विश्वमाझ पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको जनाउँदै उहाँले त्यहाँबाट आउने कलाकारले यहाँका कलाकृति किन्ने भएकाले कलाकारलाई पनि आर्थिक रुपमा समेत फाइदा पुग्ने बताउनुुभयो । समूहकै आयोजनामा दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने र उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

    विदेशी कलाकारलाई नेपालमा ल्याउन विगत लामो समयदेखि संयोजन गरिरहनुभएका डिल्लीरत्न तुलाधरले उनीहरूबाट नेपाली कलाकारले अन्तरराष्ट्रियस्तरको कलाका सम्बन्धमा धेरै जान्न र बुझ्न सक्ने बताउनुुभयो । “नेपाली कलाकारलाई विदेशमा गएर त्यहाँको कलाबारे जान्न र बुझ्न आर्थिक रुपले पनि त्यति सहज छैन”, उहाँले भन्नुभयो, “विदेशका अनुभवलाई यहीँ बसेर जान्न र बुझ्न पनि यो कार्यक्रम फलदायी हुने मेरो विश्वास छ ।”

    उहाँले विदेशी कलाकारले कला खरिद गरेर लैजाने भएकाले यहाँका कलाकारलाई पनि त्यसबाट आर्थिक रुपमा फाइदा पुग्ने बताउनुभयो । विदेशी कलाकारिताका क्षेत्रमा काम गर्ने पर्यटकहरू खर्चिला हुने भएका कारण पनि त्यसबाट यहाँको पर्यटनमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
    प्रदर्शनीका लागि विदेशी कलाकारको संयोजन गर्दै आउनुभएकी आयरल्यान्डकी कलाकार लोरा मर्फीले नेपाली कलाकारसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु हर्षित बनेको धारणा राख्नुुभयो । पोखरा र आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारसँग जोड्न आफूले पहल गर्दै आएको उहाँको भनाइ छ ।

    प्रदर्शनीमा विदेशी कलाकारसँगै वरिष्ठ कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, हरिराम जोजिजु, पदम घले, यावदचन्द्र भुर्तेललगायत पछिल्लो पुस्ताका कलाकारले समाजका विविधतालाई कलाका माध्यमबाट चित्रण गर्न खोजिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    “हाम्रा प्रकृति संस्कृतिसँगै समाजको विविधता एवम् वर्तमान यथार्थतालाई प्रदर्शनीमा राखिएका कलाले चित्रण गरेका छन्”, उहाँले भन्नुभयो, “स्वदेशी एवम् विदेशी कलाकारका कलालाई एकै ठाउँमा नियाल्नका लागि पनि यो प्रदर्शनी आफैँमा महत्वपूर्ण छ ।” रासस