युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

चितवन, पुष २५ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले संगठन विस्तार अभियान थालेको छ ।

युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनले संगठन विस्तार अभियान सुरु गरेको हो ।

अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यका अनुसार आज शुक्रबार इच्छाकामना गाउँपालिका स्थित सर्वसान्ती माध्यमिक विद्यालयबाट संगठन विस्तारको अभियान सुरु गरिएको हो ।

कशिस गुरुङ्को अध्यक्षतामा २१ सदस्यीय सर्वसान्ती मावि कमिटी गठन गरिएको उनले जानकारी दिए ।

‘युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान’ भन्ने मुल नाराका साथ संगठन विस्तार अभियान अगाडि बढाइएको संयोजक आचार्यले जानकारी दिए ।

संयोजक आचार्य भन्छन्, ‘युवा विद्यार्थीहरुमा राजनीतिक चेतनाको कमीका कारण नै २३ गतेको आन्दोलनले सार्थकता नपाएको भन्ने हाम्रो ठम्माइ हो । यदि आजका युवा विद्यार्थीहरुमा राजनीतिक चेतना हुन्थ्यो भने २४ गते देशमा त्यो विध्वंश मच्चाउने गरी आगजनी हुने थिएन । देशका कैयौँ सरकारी संरचनाहरु आगोमा विलय हुने थिएनन् । आज देशको कानुनको सर्वाेच्च निकाय सर्वाेच्च अदालत आगोमा विलिन हुने थिएन । देशको अर्थतन्त्रको बलियो खम्बाका रुपमा स्थापित निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरु तोडफोड तथा आगजनी हुने थिएनन् । र राष्ट्र अस्थिरताको खेलमा फस्ने थिएन । यस्ता कुराहरुको समाधानको लागि युवा विद्यार्थीहरुमा राजनीतिक चेतनाको विकास आवश्यक रहेकाले संगठन विस्तार अभियान थालेका हौं ।’

अनेरास्ववियु सर्वसान्ती माविका निवर्तमान अध्यक्ष नवीन रानभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रशान्त सुवेदीको प्रमुख उपस्थिति, अनेरास्ववियु चितवनका जिल्ला संयोजक अमित आचार्यसहित अनेरास्ववियु चितवनका नेताहरु निश्चल चदरा, प्रकाश सिलवाल, रुद्र पौडेल, सुभाष गुरुङ, अरविन्द ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *