Blog

  • हामी पार्टी फुट्न दिदैनौँः कांग्रेस नेता भण्डारी

    हामी पार्टी फुट्न दिदैनौँः कांग्रेस नेता भण्डारी

    काठमाडौं, पुस २६-
    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरूले पार्टी फुट्न नदिने बताएका छन् । विशेष महाधिवेशनका लागि देशभरबाट कांग्रेस नेता तथा कार्यकर्ता काठमाडौं आएकाले कांग्रेस फुट्छ कि भन्ने शंका रहेको उनको भनाइ छ ।

    “यतिबेला कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ,” नेता भण्डारीले भने, “तर, हामी पार्टी विभाजन हुन दिदैनौँ ।

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    काठमाडौं, पुस २६ –
    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

    विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

    भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताउनुभयो । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ । रासस

  • महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

    महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

    महेन्द्रनगर, पुस २६-
    कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।
    गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो ।

    “गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,” मुस्कुराउँदै भजौरा डगौराले भन्नुभयो, “अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौँ ।” उहाँले मङ्सिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुङ्गा गिट्टी छानेर जीविका चलाउने योजना सुनाउनुभयो ।

    “बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौँ”, उहाँले भन्नुभयो, “बेचेरको बालुवारगिट्टीको रकमबाट आफ्नो खर्च र मासिक रु २५÷३० हजार कमाइ गरेर घर लैजान्छौँ ।” पारिवारिक अवस्था नाजुक भएकै कारण वृद्ध अवस्थामा पुग्दा आफूहरू रोजगारी सम्झेर बगरमा काम गरिरहेको चौधरी दम्पतीको भनाइ छ । “चार छोरीरतीन छोरा गरी सात जना सन्नती छन्”, उहौँले भन्नुभयो, “शरीरमा ताकत हुँदासम्म आफैँ गरेर खाँउ भनेर हरेक वर्ष महाकालीमा दुःख गर्न आउँछौँ ।”

    त्यसैगरी महाकाली नदीको तटीय क्षेत्र भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्टको दम्पती पनि नदीको बगरमै वालुवा र गिट्टी छानेर जिविका चलाइरहेका छन् । “यहाँको दुःखले घरको चुल्हो बल्छ”, भट्टले भन्नुभयो, “विगत डेढ दशकदेखि बगरकै सङ्घर्षले जीविका चलेको छ ।” उहाँले दुई छोराहरू हालै मजदूरीका लागि भारतको बैंग्लोर गएको बताउनुभयो ।

    “प्रतिट्रली बालुवा रु दुई हजार र गिट्टी रु तीन हजारमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बगरमा गिट्टी छान्नु भनेको सामान्य दुःखले सम्भव छैन ।” भट्टले महाकालीको तटीय क्षेत्र भुजेला, ओदाली, बडैपुर र पिपरियाका स्थानीयको रोजगारीको गन्तव्य नै बगर हुँदै आएको बताउनुभयो ।

    “पहिले दलित, सोनाहलगायत विपन्न समुदायका नागरिकहरू बालुवा छान्न धेरै आउँथे”, भट्टले भन्नुभयो, “अहिले त कञ्चनपुरको बेल्डाडी, बेलौरीदेखि कैलालीबाट समेत आउने गर्छन् ।” उहाँले चार दिनको फरकमा एक ट्रली बालुवा÷गिट्टी बिक्री हुने गरेको बताउनुभयो ।

    “बालुवा छान्न बोक्दै टाउँकोको कपाल झरिसके”, भट्टले भन्नुभयो, “बूढा÷बूढी हासीमजाक गर्दै दिनभर बगरमै सङ्घर्ष गरिरहेका छौँ ।” भीमदत्त नगरपालिका–११ भुजेलादेखि वडा नं १३ को झोलुङ्गे पुलसम्मको क्षेत्रमा यतिबेला सयौँ परिवार बालुवा÷गिट्टी छानेर आयआर्जनमा जुटेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराको भनाइ छ ।

    “मेरो वडाका मात्रै डेढ सयभन्दा बढी परिवार हिजोआज महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्ने कार्यमा संलग्न छन्”, वडाध्यक्ष बोहराले भन्नुभयो, “बगर गरिबीको रेखामुनि रहेका नागरिकहरूले जिविका चलाउने थलो बनेको छ ।” उहाँले लामो समयदेखि हिउँदका बेला स्थानीयहरू नदीमा काम गर्ने गरेको बताउनुभयो ।

    स्थानीय नागरिकका साथै स्कुले विद्यार्थीसमेत यतिबेला बालुवा छान्ने कार्यमा संलग्न रहेको देखिएका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत छात्रा भूमिका धामी र कक्षा–१० मा अध्ययनरत ललिता खत्री पनि बगरमा बालुवा छान्दै गर्दा भेटिए ।

    “अहिले विदाको समय भएकाले घर खर्च र आफ्नो लुगाफाटो किन्न हुन्छ भनेर यहाँ काम गरिरहेका छौँ,” भूमिका धामीले भन्नुभयो, “विद्यालय समय सकेर बेलुकीपख पनि घर नजिक भएकाले बालुवा छान्न आइरहेका हुन्छौँ ।” उहाँले आफूहरू विगत तीन वर्षयता यहाँ हिउँदमा बालुवा छान्न आइरहेको बताउनुभयो ।

    “बर्सातमा बेला नदीमा पानीको बहाव हुने भएकाले काम गर्न सकिँदैन”, उहाँले बालुवा सङ्कलन अवस्थाबारे भन्नुभयो, “अहिलेको बेला त महाकाली छेउछाउका बस्तीका लागि काम गर्न आउने ठाउँ नै यहीँ हो ।” उहाँले छानको बालुवा र गिट्टी खरिदका लागि ट्र्याक्टर लिएर बगरमै पुग्ने गरेको बताउनुभयो ।

    त्यस्तै भीमदत्त नगरपालिका–१३ का मनोज साउँद बगरमा बालुवा गिट्टी छानेर घर खर्च चलाउन थालेको दश वर्ष भयो । “हामी दम्पती नै बिहानदेखि साँझ अबेरसम्म यहाँ छानको काममा सक्रिय हुनु नै दैनिकी हो,” बगरमा भेटिनुभएका साउँदले भन्नुभयो, “एक सिजनमा दुवै जनाको गरेर रु डेढ÷दुई लाखसम्म कमाइ हुन्छ ।” रासस

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व

    २६ पुस, काठमाडौं ।
    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन् ।

    आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरुले बताएका छन् ।

    बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको भए पनि थापा र शर्मा सहभागी भएनन् ।

    महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन् । उनीहरुले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।

  • चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

    चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

    म्याग्दी, पुस २६-
    चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ ।

    अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको, मजदुरहरूको स्वास्थ्यमा समस्या देखिने र ढलानमा प्रयोग भएको सामग्री नजम्ने अवस्था भएपछि निर्माण कार्य स्थगित भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको यो आयोजना निर्माण स्थल समुद्री सतहदेखि दुई हजार ४०० मिटरदेखि दुई हजार ८०० मिटर उचाइमा छ ।

    पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले चिसो र प्रतिकूल मौसमका कारण स्थगित भएको चित्रे–घोडेपानी सडक योजनाको कामलाई गर्मी बढेपछि फागुन महिनादेखि सुचारु गरिने बताउनुभयो ।

    चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर दूरीको सडकमध्ये चित्रेदेखि घोडेपानीतर्फ करिब दुई किलोमिटरलाई फराकिलो बनाउने, ग्रेड र घुम्ती सुधार तथा नाली बनाउने काम सकिएको छ । हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामार्फत थप दुई किलोमिटरमा विस्तार, ग्रेड र घुम्ती सुधार गरी ग्राभेल गर्न बाँकी छ ।

    विसं २०८१ कात्तिक १४ गते रु दुई करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आव २०८२/०८३ का लागि रु ७५ लाख विनियोजन गरेको छ ।

    विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

    गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक सङ्घीय सरकारमार्फत गत वर्ष स्तरोन्नति भएको थियो । म्याग्दी १९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आव २०८०/०८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाइएको हो ।

    कास्कीको नयाँपुुल, तिखेढुुङ्गा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना भएकाले यो योजनालाई प्राथमिकता दिएको भण्डारीले बताउनुभयो ।

    प्रदेश सांसद भण्डारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्वमन्त्री एवं सांसद रेशमबहादुर जुग्जाली (सुविन) ले शुक्रबार उक्त योजनाको अनुगमन गर्नुभएको थियो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् । रासस

  • नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

    नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

    काठमाडौं पुस २६
    नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ ।

    केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गएराति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए ।

    उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।

    उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनका श्रीमती र दुई छोरा छन् । रासस

  • इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

    काठमाडौं पुस २६

    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

    इरानभरि सरकार विरोधी प्रदर्शन बढ्दै गएको छ । राजधानी तेहरानबाट शुरू भएको सरकार विरोधी प्रदर्शन देशभर फैलिएको हो ।

    १३ दिनदेखि जारी निरन्तर विरोध प्रदर्शनका क्रममा तेहरानका धेरै भवनहरूमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसी फारसीद्वारा प्रमाणित फुटेजमा तेहरानको घोलहक र सादत अबाद छिमेकमा भवनहरूमा आगलागी भएको देखाएको छ।

    मानव अधिकार समूहहरूका अनुसार, इरानको मुद्राको अवमूल्यनप्रति निराशाका कारण ३१ वटै प्रान्तका १०० भन्दा बढी शहर र शहरहरूमा विरोध प्रदर्शन भएको छ।

    प्रदर्शनका कारण टर्कीको राजधानी इस्तानबुलबाट तेहरान जाने उडान रद्द गरिएको छ। बीबीसी फारसीका अनुसार, उडानका यात्रुहरूले आफ्नो विमानलाई अवतरण अनुमति नदिएको बताएका छन् र यस्तै कारणले गर्दा तब्रिज र इस्फहान जाने उडानहरू पनि डाइभर्ट गरिएका छन् ।

    खामेनीले भने कि इरानमा प्रदर्शनकारीहरूले ट्रम्पलाई खुसी पार्न प्रदर्शन गरिरहेका छन्।

     

    इरानका सर्वोच्च नेता अली खामेनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुसी पार्न सरकार विरोधी प्रदर्शनकारीहरू भैरहेको बताए । उनले सरकार विरोधी प्रदर्शनकारीहरूलाई दंगालु र बदमाशहरूको झुण्ड भनेका छन् ।

    डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने बताएका छन्। ट्रम्पले इरानलाई चेतावनी दिएका छन् कि यदि प्रदर्शनकारीहरू मारिए भने, अमेरिकाले इरानमाथि कडा आक्रमण गर्नेछ। खामेनीले प्रदर्शनकारीहरूले सरकारी भवनहरू नष्ट गरेको आरोप लगाए।

    यी प्रदर्शनहरू देशको अर्थतन्त्रको कमजोर अवस्थाका कारण सुरु भएका थिए। तिनीहरू अब वर्षौंमा सबैभन्दा ठूलो प्रदर्शन बनेका छन् । यी प्रदर्शनहरूले इस्लामिक गणतन्त्र इरानको उन्मूलनको माग गरिरहेका छन् र केहीले राजतन्त्रको पुनर्स्थापनाको लागि आह्वान गरिरहेका छन् ।

    मानव अधिकार समूहहरूका अनुसार, यी प्रदर्शनहरूको क्रममा भएको हिंसामा कम्तिमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मी मारिएका छन्। फलस्वरूप देशभर इन्टरनेट सेवा बन्द गरिएको छ।

    यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको दोस्रो ठूलो शहर मशहद अब प्रदर्शनकारीहरूले कब्जा गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘दश लाखभन्दा बढी मानिसहरूले प्रदर्शन गरे। इरानको दोस्रो ठूलो शहर प्रदर्शनकारीहरूको नियन्त्रणमा परेको छ। सरकारी सुरक्षा बलहरूले शहर त्यागेका छन्।’

    मशहदको जनसंख्या लगभग चार लाख छ। तुर्कमेनिस्तान र अफगानिस्तानको सीमा नजिकै अवस्थित, यो इरानको सबैभन्दा ठूलो धार्मिक शहर हो। मशहदमा शिया मुस्लिमहरूको प्रमुख तीर्थस्थल इमाम रेजाको पवित्र मन्दिर पनि छ।

    यद्यपि, शहर कब्जाको ट्रम्पको दाबीको पुष्टि भएको छैन। सुरक्षा बलहरूले शहरलाई पूर्ण रूपमा त्यागेको वा मशहद पूर्ण रूपमा प्रदर्शनकारीहरूको नियन्त्रणमा परेको कुनै विश्वसनीय रिपोर्टले पुष्टि गरेको छैन।

    खामेनीले देशव्यापी विरोध प्रदर्शनका बीचमा पहिलो पटक राष्ट्रलाई सम्बोधन गरे। इरानी सरकारी टिभीले उनको भाषण प्रसारण गर्‍यो। ‘विदेशीहरूको लागि काम गर्ने भाडाका सैनिकहरूलाई सहन गर्दैन,’ उनले भने । उनका अनुसार विदेशी एजेन्टहरू विरोध प्रदर्शनको पछाडि छन् र देशमा हिंसा भड्काइरहेका छन्।

    उनले ट्रम्पलाई इरानको मामिलामा हस्तक्षेप गर्नुको सट्टा आफ्नै देशको समस्यामा ध्यान केन्द्रित गर्न आग्रह गरे। ‘इस्लामिक गणतन्त्र लाखौं महान व्यक्तिहरूको रगतले आएको हो। हामीलाई नष्ट गर्न चाहनेहरूको अगाडि इस्लामिक गणतन्त्र कहिल्यै पछि हट्ने छैन।’

    निर्वासित राजकुमार रेजा पहलवीले मानिसहरूलाई सडकमा निस्कन अपील गरेका थिए। बिहीबार निर्वासित राजकुमार रेजा पहलवीले मानिसहरूलाई सडकमा आउन अपील गरेपछि विरोध प्रदर्शन तीव्र भएको थियो । रेजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलवीका छोरा हुन् । उनका बुबा १९७९ को इस्लामिक क्रान्तिको समयमा सत्ताबाट हटाइएका थिए । राजकुमार पहलवी हाल संयुक्त राज्य अमेरिकामा बस्छन् ।

    देशभरका जेनजीहरू आर्थिक कठिनाइबाट आक्रोशित छन्। डिसेम्बर २०२५ मा, इरानी मुद्रा, रियाल, प्रति अमेरिकी डलर लगभग १.४५ मिलियनमा झर्यो, जुन अहिलेसम्मकै न्यून स्तर हो। वर्षको सुरुदेखि नै, रियालको मूल्य लगभग आधा भएको छ। मुद्रास्फीति चरम सीमामा पुगेको छ। खाद्यान्नको मूल्य ७२ प्रतिशतले र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ। यसबाहेक, २०२६ को बजेटमा सरकारले प्रस्ताव गरेको ६२प्रतिशत कर वृद्धिले व्यापक जनआक्रोश निम्त्याएको छ।

    इरानमा १९७९ को इस्लामिक क्रान्तिपछि, अयातोल्लाह रुहोल्लाह खोमेनी सत्तामा आएका थिए । उनले १९७९ देखि १९८९ सम्म १० वर्षसम्म सर्वोच्च नेताको रूपमा सेवा गरे। उनका उत्तराधिकारी, अयातोल्लाह अली खामेनी १९८९ देखि शुरू भएर ३७ वर्षसम्म सत्तामा छन्।

  • देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

    देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौँ पुस २६
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

    हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

    माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

    काठमाडौँ पुस २६
    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

    आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरूको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएका थिए ।

    आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।
    राससरासस

  • हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

    आज मिति २०८२ पौष २६ गते (१० जनवरी २०२६) शनिवार, माघ कृष्णपक्ष सप्तमी तिथि, ११:२३ बजेपछि अष्टमी। हस्त नक्षत्र, १७:२२ बजेपछि चित्रा। चन्द्रराशि कन्या।

    आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीकाे प्रयासले समस्या निम्त्याउन सक्छ। गलत चिन्तन र विचारले स्वयं आलोचित भइनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। पछिका लागि लगानी गर्ने समय छ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    नयाँ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पेसा–व्यवसायमा व्यस्तता बढ्नेछ तर साेचेजति लाभ नहुन सक्छ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुनेछ। केही अवसर गुमे पनि सेवामूलक काममा जुट्नेहरूलाई फाइदा हुनेछ। काममा प्रतिस्पर्धा बढ्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। नियमित प्रयास गर्दा दिगो कामको जग बसाउन सकिनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्या दाेहाेरिनाले सञ्चित रकम खर्च हुन सक्छ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। तत्काल धेरै लाभ उठाउन नसकिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। सोखले खर्च बढाउन सक्छ। लगानीमा खर्च लागे पनि दिगो योजना कार्यान्वयन गर्न सफल भइनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    कामको चापबाट फुर्सदिलो भइनेछ। व्यवसायमा सामान्य लाभ हुनेछ। आयमूलक काम प्रारम्भ हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। प्रयत्न गर्दा आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।