Blog

  • देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु,दिउसोको समयमा आवतजावत बन्द

    देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु,दिउसोको समयमा आवतजावत बन्द

    नारायणगढ (चितवन), पुस २५-
    माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ ।

    दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष एवं प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दिउँसोको समयमा पुलको आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको हो । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पु¥याउन अनुरोध छ ।”

    केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उहाँले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्याङ्कन गरी छलफलपछि निर्णय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय पनि छ, बालबालिका ओसारपसार गर्नुपर्ने अवस्था छ । मोटरसाइकलको हकमा चलाउन नदिई डो¥याएर मात्र लैजान दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।” उहाँले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो । हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

    पुल मर्मतका लागि आजदेखि सस्पेन्सन ब्रिज ललितपुर कार्यालयबाट प्राविधिक टोली खटिएर काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको उहाँले बताउनुभयो । देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उहाँको भनाइ छ ।

    विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिनुभयो । देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उहाँले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै जोखिमको आधारमा भीड व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

    निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताउनुभयो ।

    माघे सङ्क्रान्तिमा यही पुल हुँदै आवतजावत गर्ने भक्तजनको सङ्ख्या धेरै हुने र पुल जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाइएको उहाँले उल्लेख गर्नुभयो । देवघाट गाउँपालिका–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।रासस

  • सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम

    सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम

    काठमाडौँ, पुस २५-
    साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

    यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौँ पुस २५
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

    आज मिति २०८२ पौष २५ गते शुक्रवार (९ जनवरी २०२६) शुक्रवार, माघ कृष्णपक्ष षष्ठी तिथि, १०ः४० बजेपछि सप्तमी। उत्तरफाल्गुनी नक्षत्र, १७ः२२ बजेपछि हस्त। चन्द्रराशि कन्या।

    हेर्नुस तपाईंको आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिस्थितिवश पहिलेकाे निर्णय फेरिन सक्छ। नयाँ जिम्मेवारी थपिनेछन्। तर अरूका काममा समय बित्न सक्छ। प्रयत्न गर्दा केही काम बन्नेछन् र पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आशा देखाउनेहरूले धोका दिनेछन्। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। किनमेल गर्दा तत्काल आवश्यक नभएकाे वस्तुतर्फ अधिक खर्च हुनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। कामकाे उपलब्धिले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।

  • रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

    रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

    काठमाडौँ, २४ पुसः 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ ।

    रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै प्रचारप्रसारका सामग्री यसअघि सामाजिक सञ्जालमा राखिएको भए पनि ती सामग्री हटाउन निर्देशन दिएको छ ।

    प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने पार्टीले उल्लेख गरेको छ ।

    सूचनामा भनिएको छ, “प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फका आकाङ्क्षी उम्मेदवारमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिइ वा नदिइ सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचारप्रसार गरेको देखिन आएको छ, यस्तो प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्री हटाउन निर्देश गरिन्छ ।”

  • इन्फ्लुएन्जा (फ्लू) बाट बच्न मन्त्रालयको आग्रह

    इन्फ्लुएन्जा (फ्लू) बाट बच्न मन्त्रालयको आग्रह

    काठमाडौँ, २४ पुसः
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

    जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसका कारण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताउनुभयो ।

    फ्लू इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन । दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न प्रवक्ता डा बुढाथोकीले आग्रह गर्नुभयो ।

    फ्लू कसरी सर्छ ?

    फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा श्वास लिँदा फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

    फ्लूका लक्षण

    ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु जस्ता लक्षण देखिने गर्दछन् । फ्लू भएका सबैलाई ज्वरो नआउन सक्छ ।

    फ्लू रोकथामका उपाय

    फ्लू भएका बिरामीसँग भौतिक दुरी राख्नुपर्दछ । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ । शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्दछ र हातले आँखा, नाक वा मुख छुने गर्नुहँुदैन ।

  • चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

    चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

    गैँडाकोट, २४ पुस-
    चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २५ देखि माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सव स्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणको काम अन्तिम चरणमा भएको बताए । आज साँझसम्म महोत्सवको तयारी पूरा हुने उल्लेख गर्दै कँडेलले महोत्सव स्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस निर्माणको काम तीव्ररुपमा अगाडि बढेको जानकारी दिए ।

    महोत्सव सचिवलय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरि उद्घाटनको तयारीमा जुटेको जानकारी दिए । महोत्सव उद्घाटनका दिन बिहान १० बजे गैँडाकोट नगरपालिकाबाट वृहत् शोभायात्रा निकाल्ने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै संघसंस्थालाई पत्राचार गरिएको बताए । शोभायात्रामा सहभागी हुने धार्मिक संघसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका संघसंस्था तथा विभिन्न सामाजिक संघसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकी सहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।

    संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताए । महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ब्यानर एवम् फ्लेक्स निर्माण गरी राखिएको सापकोटाले बताए । सापकोटाकाअनुसार यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने बताए ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए । “कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ” उनले भने, “यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।” काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उनको भनाइ छ ।

    दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसि टिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।

  • निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने

    निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने

    चितवन, २४ पुसः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ ।

    रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “रास्वपालाई एउटा आरोप छ । रास्वपाका समर्थकहरु गाली गलोज गर्छन् । त्यसबाट माथि उठेर सु–संस्कृत बन्नुपर्ने छ ।” अहिले सुज–बुझका साथ अघि बढ्नुपर्ने समय आएको उहाँको भनाइ थियो । उहाँले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भन्दै निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला । बेथितिको अध्याय अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय निर्वाचन नै हो । चुनाव बिथोल्ने काम कही कतैबाट नगर्नुहोला ।”

    रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने बताउँदै उहाँले सबैप्रति जिम्मेवार हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    सिङ्गो देश र पुस्ताको सपना पूरा गर्न रास्वपा बलियो बन्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

    व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने क्रममा आफूहरु रहेको उहाँले बताउनुभयो ।

  • बालेन शाह र सुदन गुरुङबिच ज्वागलमा छलफल

    बालेन शाह र सुदन गुरुङबिच ज्वागलमा छलफल

    काठमाडौँ, २४ पुस –
    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ ।

    बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।

  • चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

    चितवन, पुष २४ –
    आगामी फागुन २१ मा हुने निर्वाचनमा चितवन २ बाट एमालेका युवा नेता राम कार्कीले उम्मेद्वारी दिने आकांक्षा व्यक्त गरेका छन् ।

    चितवनको निर्वाचत क्षेत्र नम्बर २ रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो ।

    एमाले नेता राम कार्की राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष हुन् । यस अघि चितवन २ बाट २ पटकसम्म निर्वाचित बनेका एमालेका कृष्णभक्त पोखरेललाई जिताउन कार्कीको ठूलो भूमिका रहेको छ । कार्की भन्छन्, ‘कृष्णभक्त पोखरेल चुनाव लडेका बेला म हरेकको घरमा गएर भोट मागेको छु र दुई पटकसम्म जिताउन सफल पनि भएँ ।’

    त्यसपछि भएको चुनावमा कृष्णभक्त पोखरेललाई पराजित गर्दै रवि लामिछाने विजयी भएका थिए । त्यसपछि पुनः भएको उपचुनावमा एमालेबाट नेता रामप्रसाद न्यौपाने चुनाव लडेका थिए । उनलाई पनि पराजित गर्दै फेरि रवि लामिछाने नै विजयी भएका थिए । राम कार्की भन्छन्, ‘यी सबै चुनावमा चितवन २ का हरेक मतदाताको घरममा पुगेर भोट माग्ने व्यक्ति हुँ म ।’

    युवा उम्मेद्वार बन्नुपर्छ भनेर चर्चा भइरहेका बेला युवा नेता राम कार्कीले आफू उठ्ने आकांक्षा व्यक्त गरेका हुन् । कार्की भन्छन्, ‘म चितवन २ मा रवि लामिछानेसँग चुनावमा भिड्न तयार छु । मलाई मतदाताले पक्कै पनि रुचाउनुहुनेछ ।’