Blog

  • वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

    वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

    काठमाडौँ, पुस २५ –
    वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।

    सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

    साथै उहाँले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गर्नुभयो ।

    मन्त्री चौलागाईंले निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा पनि हस्ताक्षर गर्नुभयो । तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सो मन्त्रालयको जिम्मेवारी वनमन्त्री चौलागाईंलाई तोक्नुभएको थियो । रासस

  • क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा भिडियो एक्सरे सेवा बन्द

    क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा भिडियो एक्सरे सेवा बन्द

    नेपालगन्ञ्ज, पुस २५-
    बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि सेवा प्रभावित भएको हो ।

    अस्पतालका रेडियोलोजिस्ट डा ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले नयाँ डाक्टरको पदपूर्ति नहुँदा बाहिरबाट एकसरे गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । “पदपूर्ति नहुँदा भिडिओ एक्सरे गर्न पाएका छैनौँ” उहाँले भन्नुभयो । क्यान्सरको पहिचान, उपचारको योजना बनाउने र उपचारको प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्यजस्तै भएको उल्लेख गर्दै पौडेलले एक्कासि रेडियोलोजिस्टले राजीनामा दिएर गएकाले तत्काल विकल्प नजुट्दा सेवा प्रभावित भएको बताउनुभयो ।

    यसअघि लामो समयसम्म अस्पतालमा ‘पार्टटाइम’ ज्यालादारीमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो । करिब एक वर्षअघि डा ठाकुर कोइराला आएपछि भने सो सेवा पूर्णरूपमा नियमित सञ्चालनमा थियो । दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे लिँदै आएका थिए ।

    अस्पताल प्रशासनका अनुसार स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास गरिए पनि अस्पताल विकास समिति पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ । “स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले गर्दा प्रक्रिया अघि बढाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।

    अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई एक्सरे गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता भएको छ । यस अस्पतालले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । रासस

  • जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काँक्रेविहार (सुर्खेत), पुस २५ –
    जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमैमृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

    घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

  • फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

    फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिरो खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

    मनिला, पुस २५-
    फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो ।

    सो घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ ।

    उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो ।

    घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् ।

    फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो । रासस

  • देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

    देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

    काठमाडौँ, पुस २५-
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको घोषणा गर्नुभएको छ ।

    मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको हो ।

    “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ रु”, मन्त्री पुनको प्रश्न छ । उहाँले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रिस्तरीय बैठक र साउदी अरेबियामा आगामी मे ३ देखि ४ तारिखसम्म हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि आफूलाई प्राप्त निमन्त्रणा पत्र पनि सार्वजनिक गर्नुभएको छ । रासस

  • ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

    ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

    काठमाडौँ, पुस २५-
    पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहयात्रा ।

    विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा राससले यस सहयात्राको संवादको भूमिकामा रहनुभएका प्रतिनिधिसभाका पूर्व सांसद एवं रास्वपाका नेता असिम शाहसँग संवाद गरेको छ ।

    फरक पृष्ठभूमि, फरक स्वभाव र फरक राजनीतिक यात्राका दुई पात्र बालेन्द्र शाह र रवि लामिछानेको एकै राजनीतिक सहयात्रा सुरु भइसकेको छ । सोही सहयात्राको पहलका लागि ‘पोस्टम्यान’को भूमिका आफूले खेलेको पूर्व सांसद शाहले बताउनुभयो ।

    संवादका क्रममा उहाँले दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू र अर्का सहकर्मी, आफनै दाजु आसिफ शाहले गरेको पहल स्मरण गर्नुभयो । औपचारिक वार्ताले मात्र नभइ विश्वासले एकता सम्भव भएको उहाँको तर्क छ । उहाँकाअनुसार राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको हो ।

    “अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उहाँले भन्नुभयो, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्तत सभापति रिहा हुनुभयो । पुस ७ गते भेट सम्भव भयो । कति समय मिडियाबाट जोगिँदै, स्थान परिवर्तन गर्दै राति गरिएको भेटले नयाँ राजनीतिक समीकरणको आधार तयार ग¥यो ।”

    यस सहयात्रा चुनावी रणनीति मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको सङ्केत हो भन्ने प्रश्नमा नेता शाहले भन्नुभयो, “सातरआठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रालाई दीर्घकालीन बनाएको छ ।”

    शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउनुहुन्छ । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उहाँको छ । वैकल्पिक शक्ति छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि दाजु आसिफ र आफूले पहल थालेको उहाँको भनाइ थियो । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्ति एक ठाउँमा उभिने क्रमलाई जारी राखेको बताउनुभयो ।

    “छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो । आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो,” उहाँले भन्नुभयो । निर्वाचनअघि नै कतिपयले रास्वपा प्रधानमन्त्री र सरकार बनाउन हतार गरेको भन्ने प्रतिक्रियामा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो ।

    उहाँकाअनुसार सहयात्राको मुख्य राजनीतिक सन्देश नै दुई तिहाइको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ । “एक महिना अघि देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको छ”, उहाँले भन्नुभयो, “बालेन पक्ष चुनावका लागि अत्यन्तै निर्णायक छ । देशभर फैलिएको ऊर्जाले चुनाव टार्ने तत्वहरूलाईसमेत पछि हट्न बाध्य बनाएको छ ।” रासस

  • आजबाट गैंडाकोट महोत्सव सुरू , चन्द्र ढकालले उद्घाटन गर्दै

    आजबाट गैंडाकोट महोत्सव सुरू , चन्द्र ढकालले उद्घाटन गर्दै

    पुस २५,नवलपुर–
    चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ ।

    आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्‌घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै छन्।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध तथा अन्य काम सकिएको बताए ।

    कँडेलले यस संस्करणको महोत्सवस्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए।

    महोत्सव सचिवालय संयोजक एवं सङ्घका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरी उद्घाटनको तयारीमा जुटेको जानकारी दिए ।

    आज बिहान गैँडाकोट नगरपालिकाबाट बृहत् शोभायात्रा निकाली महोत्सव परिसरसम्म आउने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै सङ्घसंस्थालाई पत्राचार गरिएको बताए।

    शोभायात्रामा सहभागी हुने धार्मिक सङ्घसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका सङ्घसंस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।

    सङ्घका वरिष्ठ सदस्य एवं महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताए। महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवं ‘फ्लेक्स’ निर्माण गरी राखिएको सापकोटाले बताए।

    यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने भन्दै सापकोटाले यस महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए।

    सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए ।

    कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पु¥याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताए।

    दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ ।

    त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।

  • नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

    नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

    काठमाडौँ, पुस २५-
    नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य व्यवस्थापनका लागि ऐतिहासिक पहलस्वरूप नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकाले तल्लो कर्णाली नदीमा पहिलो मत्स्य अभयारण्य संयुक्त रूपमा घोषणा गरेका छन् । उक्त मत्स्य अभयारण्य करिब तीन दशमलव नौ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमाना राजापुर नगरपालिका–३ को दक्षिणी टेढिया र वडा नं ४ को छेडिया क्षेत्रदेखि टीकापुर नगरपालिका–८ अन्तर्गतको अर्नहवा फाँटसम्म फैलिएको छ ।

    घोषणा गरिएका नदी खण्डलाई पारिस्थितिकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा पहिचान गरिएको छ, जहाँ रैथाने मत्स्य प्रजातिको प्रजनन, अण्डा पार्ने तथा नर्सरी आवास रहेका छन् । साथै यी क्षेत्रले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्त्वपूर्ण जलचर प्राणी जस्तै डल्फिन, घडियाल र खैरो ओतका लागि समेत अत्यावश्यक वासस्थान प्रदान गदर्छन् ।

    टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले यो संरक्षण क्षेत्र राजापुर र टीकापुर नगरपालिकाको संयुक्त अग्रसरता, पूर्ण समर्थन, अनुमोदन र स्वामित्वमा गरिएको निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले नदीमा निर्भर समुदायको आवाज र सहभागितालाई मार्गदर्शक मानी संरक्षण कार्यलाई स्थानीय तहबाटै नेतृत्व गर्ने हाम्रो दायित्वलाई उजागर गर्दछ । यो निर्णय राजापुर र टीकापुरका नागरिकले आफ्नो भविष्य सुरक्षित गर्नका लागि आफ्नै पहलमा लिएको ऐतिहासिक कदम हो ।”

    मत्स्य अभयारण्यको घोषणा स्थानीय सरकारको जलचर प्राणी तथा जैविक विविधता संरक्षण ऐनअनुसार गरिएको हो । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाका नगर कार्यपालिकाबाट विधिवत् निर्णय पारित भई, स्वतन्त्र, पूर्वजानकारीसहितको मञ्जुरीनामाका सिद्धान्त पालना गर्दै सम्बन्धित वडा कार्यालयमा पूर्वसूचना सार्वजनिक गरेपछि अभयारण्य घोषणा गरिएको हो ।

    राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले यस घोषणामा नगरपालिकाको पूर्ण स्वामित्व ग्रहण गरेर तल्लो कर्णालीको संरक्षण आफूहरुको साझा कर्तव्य हो भन्ने प्रतिबद्धता पुष्टि गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कदम स्थानीय सरकार, समुदाय र समन्वयात्मक सहकार्यद्वारा अघि बढाइने दीर्घकालीन संरक्षण र जिम्मेवारीपूर्ण नेतृत्वको सुरुआत हो । यहीँबाट सङ्गठित समन्वित र दिगो प्रयासको नयाँ अध्याय प्रारम्भ हुन्छ ।”

    दुवै नगरपालिकाले संयुक्त रूपमा आठ बुँदे घोषणा प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । मत्स्य अभयारण्यको व्यवस्थापन स्थानीय सरकारको नेतृत्वमा नदीमा आश्रित समुदायको सक्रिय सहभागितासँगै सह–व्यवस्थापनको ढाँचाअनुरुप गरिनेछ । व्यवस्थापन, निगरानी, जनचेतना अभिवृद्धि तथा नियम पालना सहजीकरणका कार्य सञ्चालन गर्न समुदायमा आधारित नदी खण्ड व्यवस्थापन समूह गठन गरिएका छन् । यी समूहले सम्बन्धित नगरपालिकाको निर्देशन तथा अनुगमनमा, डिभिजन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्दै काम गर्नेछन् । नदीमा आश्रित समुदाय विशेषत सोनाहा र थारु समुदायको अर्थपूर्ण सहभागिता कर्णाली नदीसँग जीविकोपार्जन र सांस्कृतिक अभ्यास गहिरो रूपमा जोडिएकामा विशेष जोड दिइएको छ ।

    यो प्रयास विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालले संयुक्त अधिराज्य बेलायत सरकारद्वारा ‘डार्बिन इनिसियटिभ’अन्तर्गत वित्तपोषित परियोजनामार्फत प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराई अघि बढाइएको हो । यो परियोजना नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल तथा स्थानीय साझेदार संस्था सोनाहा विकास समाज, फ्रिड कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्र र साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठानबीचको सहकार्यमा सञ्चालन भइरहेको छ ।

    घडियाल गोही, ओत र डल्फिन वासस्थान संरक्षणमा कोषेढुङ्गा

    डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मत्स्य अभयारण्य घोषणाले नदीको पारिस्थितिकीय प्रणाली संरक्षण गर्दै घडियाल गोही, ओत र डल्फिनजस्ता प्रतिष्ठित वन्यजन्तुको वासस्थान सुरक्षित गर्नका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यो पहलले प्रकृतिमा आधारित पुनःरुत्थानशील पर्यटनलाई समेत थप टेवा पु¥याउने उहाँको भनाइ छ ।

    “स्थानीय तहले आफ्नो प्राकृतिक स्रोतको संरक्षण, प्रवद्र्धन र दिगो उपयोग गर्ने उद्देश्यसहित ‘साखी माछा संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णयको नेतृत्वदायी भूमिका लिँदै स्वामित्व प्रदर्शन गरेकामा आभार व्यक्त गर्दछौँ”, राष्ट्रिय प्रतिनिधि डा गुरुङले भन्नुभयो, “यस क्षेत्रमा माछा स्थानीय जीविकोपार्जनको आधार मात्र नभई सांस्कृतिक तथा धार्मिक पहिचानसँग समेत अभिन्न रूपमा जोडिएको छ । जब हामी माछाको रक्षा गर्छौं, हामी पानीको रक्षा गर्छौं, जब हामी पानीको रक्षा गर्छौं, त्यससँगै हामी जीवनको पनि रक्षा गरिरहेका हुन्छौँ, यसबाट हामी हाम्रो भविष्य सुनिश्चित गर्छौं ।”

    तल्लो कर्णाली नदीमा गरिएको मत्स्य अभयारण्यको संयुक्त घोषणा नेपालमा समुदायिक नेतृत्वमा आधारित जलीय पारिस्थितिकिय प्रणाली संरक्षणका लागि एक राष्ट्रिय नमूनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । यसले जैविक विविधता संरक्षण, खाद्य सुरक्षा, स्थानिय कला संस्कृतिको जगेर्ना तथा जीविकोपार्जनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । रासस

  • प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

    प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

    बैतडी, पुस २५-
    प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो ।

    जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम समावेश गरी एक टिमले तीन खेल खेल्नु पर्ने, प्रतियोगिता ५० ओभरको खेलाउनु पर्ने, सहभागी खेलाडीहरुले अनिवार्य रुपमा दर्ता फाराम भरी फोटोसमेत टाँस्नुपर्ने जनाइएको छ ।

    त्यसैगरी छनोट खेलहरुको अनलाइन स्कोर https://cricclubs.com/nepalमा अनिवार्य रुपमा राख्नुपर्ने, प्रतियोगीताको खेल तालिका, सहभागी खेलाडीहरुसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोर सिट, प्रतियोगिताका तस्बीरहरुसहित प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघमा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

    सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट संघमा आवद्ध छन् । जिल्ला छनोटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत्र १४ देखि बैशाख ५ गते सम्म सञ्चालन गर्ने तयारी छ । रासस

  • वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

    वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

    काठमाडौँ, पुस २५ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।

    गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो ।

    जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबैपक्षलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिनुभयो । कृतिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उहाँले सचेत गराउनुभयो । रासस