Blog

  • थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

    थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

    चितवन, पुस २७-
    राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् ।

    लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ । दुवैको रक्षा गर्नु साहित्यकारसँगै आमनागरिकको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । साहित्य संस्कृतिसँग जोडिएको हुने जनाउँदै उहाँले संस्कृति नबुझी साहित्य लेख्न नसकिने बताउनुभयो । उहाँले इतिहासप्रति रुचि नहुँदा दःुख लागेको बताउनुभयो ।

    आदिवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताउनुभयो । चितवनको इतिहासका बारेमा अध्ययता प्रो डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो । सबै समाजको इतिहास हुन्छ नै भन्दै उहाँले अहिले त्यसको अध्ययन हुन जरुरी छ भन्नुभयो । चितवनका थारूहरूले वन, नदी र हावासँगको इतिहास बोकेको भन्दै उहाँले यो जनतासमक्ष पुर्याउन जरुरी रहेको भनाइ राख्नुभयो ।

    थारू समुदायको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । थारूका स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न सकिएमात्रै पनि इतिहास संरक्षण हुनसक्ने उहाँको भनाइ छ ।

    सो अवसरमा विज्ञ डा सञ्जय महतोले थारू समुदाय ज्ञान र सीपमा धनी भए पनि मौलिकता संङ्टमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति भएको जनाउ उहाँले जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा भएको बताउनुभयो ।

    कार्यक्रममा लेखक समीक्षक कृष्णहरि सर्वहारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको बताउनुभयो । पहिचान सबैभन्दा ठूलो कुरा भएको बताउँदै पहिचान संरक्षणमा सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । रासस

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौँ पुस २७
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

    रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

    त्रिवेणी (रुकुमपश्चिम), २६ पुसः
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    आज नेकपा जिल्ला समिति रुकुम पश्चिमले मुसिकोट नगरपालिका–१ बराहाटाकुरमा आयोजना गरेको एकता सन्देशसभामा उहाँले आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने करिब निश्चित भएको बताउनुभयो ।

    “पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुममा पनि आउनु जस्तै हो, जिल्ला फरक भए पनि यहाँको धेरै विषयमा समानता र एकता छ, यसअघि रुकुम थियो । यहाँबाट हामीले जनयुद्धको तयारी गरेका थियौँ । अहिले पनि रुकुमका जनता, नेताकार्यकर्ता हाम्रो साथमा छन् भन्ने विश्वास छ”, संयोजक दाहालले भन्नुभयो । यहाँको विकास निर्माण गर्न तथा जनताका समस्या समाधान गर्न आफू केन्द्रित हुने उहाँले बताउनुभयो ।

    सहसंयोजक माधन नेपालले १७ वटा पार्टीबीचको सहमतिमा एकता गरी नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै यसबाट नयाँ इतिहासको रचना भएको धारणा राख्नुभयो । नेकपाले समाजवादको यात्रा सुरु गर्दै देशभरि स्थापित हुँदै गएको उहाँको भनाइ छ ।

  • रास्वपाले एकतर्फी एकता भंग गर्‍यो: कुलमान घिसिङ

    रास्वपाले एकतर्फी एकता भंग गर्‍यो: कुलमान घिसिङ

    काठमाडौँ, २६ पुसः
    कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकता एकतर्फी रुपमा भंग गरेको आरोप लगाएका छन्।

    उनले रास्वपा र उज्यालो नेपाल पार्टीको एकता भंग भएकोमा अत्यन्तै दु:ख लागेको बताउँदै रास्वपाले १२ दिनपछि एकतर्फी रुपमा एकता नगर्ने भनेर एकता भंग गरेको आरोप लगाएका हुन्।

    एकता भंग भएसँगै घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत भएका छन्। त्यसपछि शनिबार नै भएको पत्रकार सम्मेलनमा आफूहरू अत्यन्तै लचक हुँदा पनि संघीयता, समावेशीताका विषय र आफ्ना केही साथीहरूलाई समायोजन गर्ने विषयमा कुरा नमिलेको बताए।

    ‘उहाँहरूले एकतर्फी रुपमा एकता तोड्नुभयो। त्यसैले हामी पनि आज आफ्नो रुपमा बढाउने तयारीमा लागेका हौँ’, उनले भने। देशभर उनले आफ्ना उम्मेदवार उठाउने पनि बताए।
    पदको बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएका कुरा गलत भएको उनले दाबी गरे। आफू साधारण सदस्य भएर बस्न पनि तयार भएको उनको भनाइ थियो।

    उनले भने, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राखेको थिएन। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यहरुलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन।’

  • पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि एकता भङ्ग भएको  होः रास्वपा

    पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि एकता भङ्ग भएको  होः रास्वपा

    काठमाडौँ, २६ पुसः 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भङ्ग भएपछि आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताउनुभयो ।

    घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।

    पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ  छ ।

    यसअघि दुई दलबीच भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

  • चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ  (फोटोफिचर)

    चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

    चितवन, पुष २६ –
    चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न समाजको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    समाजको उपाध्यक्षमा यम थापा, सचिवमा दुर्लभबन्धु पोखरेल, कोषाध्यक्षमा शंकर कुमार श्रेष्ठ, सहसचिवमा ओमबहादुर रिजाल, सदस्यहरुमा विजय अर्याल, पदमकुमारी श्रेष्ठ, सुदिप पौडेल, नवराज लामिछाने, लिलाकान्त महत्तो र दुर्गा सापकोटा चयन भएका छन् ।

    त्यसैगरी समाजको राप्ती संयोजकमा कृष्ण चन्द्र डल्लाकोटी, खैरहनी संयोजकमा विपिन चौधरी, रत्ननगर संयोजकमा प्रकाश गिरी, इच्छाकामना संयोजकमा विमला श्रेष्ठ, माडी संयोजकमा सुलभबन्धु पोखरेल, भरतपुर संयोजकमा त्रिलोचन अधिकारी, कालिका संयोजकमा युवराज सुवेदी चयन भएका छन् ।

    त्यसैगरी लेखा संयोजकमा गगन केशरी अधिकारी, सदस्यहरुमा कुमार श्रेष्ठ र काशिराम आचार्य चयन भएका छन् ।

    भरतपुरको आँपटारीमा रहेको जलदेवी पार्कमा तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनसँगै रजत स्मारिक विमोचन तथा वनभोज कार्यक्रम सम्पन्न गरिएको थियो ।

    कार्यक्रममा भरतपुर महानगपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख उपस्थिति रहेको थियो ।

    तस्विरमा हेरौं,
    चितवन कोरिया पुनर्मिलन समाजको तेस्रो साधारण सभा, दोश्रो अधिवेशनल, रजन स्मारिका विमोचन तथा वनभोज कार्यक्रमका झलक :

  • तनहुँमा एकैदिन तीन वटा शव फेला

    तनहुँमा एकैदिन तीन वटा शव फेला

    दमौली, २६ पुसः
    तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् ।

    शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो ।

    मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

  • जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको प्रचार प्रसार समुदाया स्तरमा

    जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको प्रचार प्रसार समुदाया स्तरमा

    चितवन, २६ पुसः
    जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलले फरक शैलीबाट प्रचार प्रसारलाई आक्रमक बनाएको छ । माघ ९ गतेको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई आक्रमक बनाईएको हो ।

    क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजको कथामा बनेको चलचित्रको समुदायस्तरमा नै पुगेर प्रचार थालिएको हो । जस अन्तर्गत आज (शनिबार) चितवनमा आमा समूह र टोल सुधारलाई भेला पारेर चलचित्र प्रचार गरिएको छ ।

    भरतपुर ६ चोकबजारमा चलचित्र प्रचार प्रसारका लागि छुट्टै बिशेष कार्यक्रम आयोजना गरिएको थियो । जसमा आमा समूह र टोलसुधार समूहको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रको ट्रेलर र गीत पनि देखाईएको थियो ।

    कार्यक्रममा महिला सहभागीता बढी रहेको थियो । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेकोले महिला सहभागीतालाई प्राथमिकता दिईएको निर्माण पक्षको भनाइ छ । सहभागीहरुले चलचित्रलाई लिएर उत्साहित रहेको बताएका थिए ।

    कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले वडाबासीहरु नै हलमा गएर चलचित्र हेर्ने बताए । उनले सम्पूर्ण वडाबासीको समर्थन चलचित्रलाई रहने बताए । भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडीले आफ्ना वडाबासीहरु पनि चलचित्रलाई लिएर उत्साहित रहेको बताए । चलचित्रलाई चितवनबासीकै साथ रहने उनको भनाइ थियो ।

    चलचित्रका लेखक तथा निर्देशक दिनेश कोइरालाले चलचित्रको माध्यमबाट पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास पर्दामा देखाउन खोजेको बताए ।

    चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।

    बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्माण पक्ष्यको दाबी छ ।

    कार्यक्रममा चलचित्रका निर्देशक रमेश कोइराला र कलकार दीपक अधिकारी पनि सहभागी थिए । त्यस अघि आज बिहान चलचित्रको प्रचार प्रसारका लागि अटोमा पोस्टर टाँसिएको थियो ।

    कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

  • गैँडाकोट महोत्सवको जलपरी राखिएको डोमको उद्घाटन

    गैँडाकोट महोत्सवको जलपरी राखिएको डोमको उद्घाटन

    गैँडाकोट, २६ पुस ।
    चौथो संस्करणमा गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको आज उद्घाटन गरिएको छ ।

    गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आज जलपरी राखिएको डोमको उद्घाटन गरेका हुन् । जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गरेका छन् । महोत्सवमा राखिने जलपरी यहाँको लागि नौलो भएको भन्दै नगरप्रमुख अधिकारीले आएर अवलोकन गर्न अनुरोध गरेका हुन् ।

    जिल्लामा आयोजना गरिने यसप्रकारको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणसँगै आर्थिक क्षेत्रलाई चलायमान बनाउनेसमेत अधिकारीले बताए । नारायणी नदी किनारमा सञ्चालित यस महोत्सवले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारसम्म जोड्न महत्वपूर्ण भूमिका खेल्ने आफ्नो विश्वास रहेको अधिकारीको भनाइ छ ।

    नगरप्रमुख अधिकारीले उद्घाटन गरेसँगै जलपरी हेर्ने आउने दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । महोत्सव आउने अधिकांश दर्शकहरु जलपरी तथा फिस टनेलको अवलोकन गर्न पुगेका महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवको दोस्रो दिन शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

    यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रममा कलाकार प्रकाश सपूत, सीता राना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बताए । लम्सालकाअनुसार कलाकारहरुले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायिका समीक्षा अधिकारीसहितक कालाकारको प्रस्तुती लम्सालले जानकारी दिए । उनकाअनुसार अधिकारीसहित अन्य कलाकाहरु सरिता गुरुङ, दीपक खड्का, आरसी पौडेलको प्रस्तुती रहनेछ । त्यस्तै, भोलिदेखि नै भजन प्रतियोगिता समेत सुरु हुने लम्सालले बताए । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

  • रास्वपा सचिवालयको आकस्मिक बैठक सुरु

    रास्वपा सचिवालयको आकस्मिक बैठक सुरु

    काठमाडौँ, पुस २६ –
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो ।

    उहाँका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । रासस