Blog

  • सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

    सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

    गैँडाकोट, ५ माघ ।
    चौथो गैँडाकोट महोत्सव २०८२ को १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवको आज एकै दिन १९ हजार हजार दर्शकले अवलोकन गरेका जनाइएको छ ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो । सोमबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।

    महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक कँडेलले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत सोमबार चर्चित गायक राजनराज शिवाकोटीसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार महोत्सव अन्तर्गत सोमबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै नन्दु परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठलगायतले प्रस्तुती राखेका लम्सालले जानकारी दिए ।

    मंगलबार महोत्सवको मुख्य आकर्षणको रुपमा चर्चित गायिका शान्तिश्री परियारलगायतका कलाकारको प्रस्तुती रहने लम्सालले बताए । मंगलबार महोत्सवमा शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिए ।

  • मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

    मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

    काठमाडौँ, ५ माघः
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ ।

    आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उहाँलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गर्नुभयो । मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नुभएको थियो । जेनजी आन्दोलनका बलमा गठन भएको वर्तमान सरकारमा उहाँ गत असोज ६ गते मन्त्री नियुक्ति हुनुभएको थियो ।

    बिदाइ कार्यक्रममा उहाँले चार महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको बताउनुभयो ।
    निवर्तमान मन्त्री खरेलले मन्त्रालय र मातहतका निकायबाट यस अवधिमा पूर्ण रुपमा सहयोग प्राप्त भएकाले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “थोरै समय भए पनि राज्य सञ्चालनका विषयमा धेरै सिक्ने अवसर मिल्यो, यहाँ प्राप्त अनुभव देश र जनताका लागि समर्पित गर्नेछु । मेरा काम पारदर्शी छन्, मूल्याङ्कन होस् । मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा दुःखद् अनुभूति केही छैनन् । सबै सुखद र उपलब्धिमूलक, परिणाममुखी तथा सौहार्दपूर्ण रह्यो ।”

    उहाँले कर्मचारी वा राजनीतिकर्मीको एकल प्रयासले देश अघि बढ्न नसक्ने भएकाले दुवैको सामूहिक प्रयासको आवश्यकतामा जोड दिनुभयो । मन्त्रालयका निमित्त सचिव रानाले राजनीतिक वृृत्तको अनुभव नभए पनि पत्रकारिता क्षेत्रको लामो अनुभवले मन्त्री खरेलको छोटो अवधिमा महत्त्वपूर्ण प्रगति र अतुलनीय कामको अभिलेख भएको बताउनुभयो ।

  • देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

    देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

    जनकपुरधाम, ५ माघः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

    रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उहाँले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताउनुभएको हो ।

    सभापति लामिछानेले आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गर्नुभयो । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

    सभापति लामिछानेले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राख्नुभयो । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एकठाउँमा आएको उहाँको भनाइ थियो ।

    सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गर्नुभयो । कार्यक्रममा पूर्वस्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।

  • मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

    नवलपुर माघ ५

    मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

    मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् . अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए .

    “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै

    व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं”, पौडेलले भने-

    यो छुटले लुम्बिनी र मौलाकाली दुबैतर्फका सेवाग्राही लाभान्वित हुनेछन । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमूना भएको पौडेलको भनाई छ . एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताए ।

    एक अर्काका यात्रु सेवाग्राहीलाई दिईने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताए ।

    मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ जहाँबाट 15 औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ . मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल संचालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

  • जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

    जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

    झापा, ५ माघः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ ।
    प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
    “शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उहाँले आग्रह गर्नुभयो ।
    आजै उहाँ काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।
    आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आउनुभएको जिल्ला अध्यक्ष गिरीले बताउनुभयो ।
    पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उहाँले बताउनुभयो । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आउनुभएको हो ।
  • आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

    ललितपुर, माघ ५ –
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन माननीय कृषिमन्त्री डा. मदन परियारद्वारा उद्घाटन गरिने भएको छ।

    नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो तथा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो सम्मेलन माघ ६ गतेदेखि ८ गतेसम्म (मंगलबारदेखि बिहीबारसम्म) ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा सञ्चालन हुनेछ।

    सम्मेलन बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो।

    पिबाग्सनका अध्यक्ष डा. बालकृष्ण जोशीका अनुसार सम्मेलनमा करिब २३० जना सहभागी हुनेछन्। सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र प्रस्तुत गरिनेछ भने ४२ वटा अनुसन्धान लेख र २१ वटा पोस्टर प्रस्तुति हुनेछन्। साथै १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टल समेत रहनेछन्।

    सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ।

    सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल गरिनेछ ।

  • चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

    ५ माघ, काठमाडौं ।
    आगामी प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन उठ्ने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् ।

    सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी का्रममा उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको जिकिर गरेकी हुन् ।

    यसअघि काठमाडौं–१ मा हेभिवेट नेता प्रकाशमान सिंहसँग भिडेरै आएको उल्लेख गर्दै अहिले पनि आफू नडराउने बताइन् ।

    त्यतिबेला उनी आफू पराजित भएको भए पनि अहिले नडराउने बताएकी हुन् ।

    ‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि भिडेरै आएको हो । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमानसँग भिडेरै आएको हो । हो पराजित भएँ,’ दाहालले भनिन्, ‘भिड्नसँग डराउँदिन । हिजो पनि भिडेरै आएको हो । सामान्य चुनावमा डराउने कुरा होइन ।’

    चितवन क्षेत्र नम्बर–३ मा रास्वपा नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

    यसैबीच उनले विभिन्न प्रसंग उठेको उल्लेख गर्दै यस्तो बताएकी हुन् ।

    ‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन् । यहाँका दुईवटा नारी यसरी भिडाउन नहुने भन्नेखालका कुरा पनि आएका छन् । सोबिता उठाउँदैछ रे के हो भन्ने जिज्ञासा पनि छन्,’ उनले भनिन्, ‘सबै जना तरंगित भएजस्तो देखिन्छ । म चाहिँ तरंगित भएको छैन । कत्ति पनि तरंगित छैन । कार्यसम्पादनको हिसाबले कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो ।’

    चितवन क्षेत्र नम्बर ३ मा यसपटक हुन लागेको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

  • मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

    मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

    ५ माघ, काठमाडौं ।
    मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने ।

    प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् ।

    आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् ।

    उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।

    जेनजी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनी फेसबुकमा राजीनामा दिएका थिए । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसबेलादेखि पार्टीभित्र उनको कुरा मिलेको थिएन ।

    सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष थिए । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।

  • रुम–ताराखोला सडक स्तरोन्नति सुरु

    रुम–ताराखोला सडक स्तरोन्नति सुरु

    म्याग्दी, माघ ५ –
    म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । विसं २०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ ।

    कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको रहेको छ । आयोजना मार्फत रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ । रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो ।

    म्याग्दीको मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जानआउन नजिक पर्ने भएकाले यो सडकलाई प्राथमिकता दिएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले बताउनुभयो । उहाँका अनुसार गलकोटदेखि ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीदेखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नति र ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ ।

    यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि अदिभारा–ताक्से–बिलबाङ हुँदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिका–२ का वडाअध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो । ११ वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउने काम भइरहेको छ ।

    अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुँदै रुम जोड्ने घुमाउरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमा नै रुम पुग्न सकिने वडाअध्यक्ष बुढाथोकीले बताउनुभयो । रासस

  • सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

    सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

    काठमाडौं , माघ ५ –
    सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ ।

    सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।

    त्यस्तै , चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।