Blog

  • प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

    प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

    ​रुकुम पूर्व, माघ ६ –
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    मनोनय दर्तापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रुपमा रहेको रुकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ । रुकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु ।”

    यसअघि संयोजक दाहाल गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । रुकुममा हालसम्म राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन र नेसनल रिपब्लिकन नेपालका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

  • एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

    एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

    काठमाडौँ , माघ ६ –
    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

    उहाँले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । मनोनयनका लागि ओली सोमवार नै झापा जानुभएको थियो । मनोनयन दर्ताअघि उहाँले जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गर्नुभयो । झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उहाँले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गर्नुभएको छ ।

    यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराउनुभएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।

  • महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

    महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

    ६ माघ ,काठमाडौँ ।
    भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् ।

    पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ ।

  • रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

    रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

    धरान (सुनसरी), माघ ६ –
    भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्र्याक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र स्थानीय जीवनमा पहुँच विस्तार गर्ने नयाँ ढोका खोल्दैछ । भिरालो भू–भाग, ठूला ढुङ्गा र जोखिमपूर्ण पहाडी संरचनाबीच निर्माण भइरहेको यस सडकले दुर्गम क्षेत्रका नागरिकको दैनिकीमा प्रत्यक्ष परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

    यो सडक अब केवल आवागमनको साधन मात्र नभई सीमा सुरक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक पहुँच विस्तार र भविष्यको समग्र विकाससँग जोडिएको अत्यन्तै रणनीतिक महत्वको परियोजना बन्नेछ । यो सडकले उत्तर–दक्षिण राजमार्गका रूपमा चीन र भारतसँगको भौतिक सम्पर्कमा पनि योगदान पु¥याउने भएकाले राष्ट्रिय सुरक्षा र क्षेत्रीय समन्वयको दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

    कोशी करिडोरअन्तर्गत पर्ने खाँदबारी–किमाथाङ्का सडकको च्याम्ताङ–घोङघप्पा खण्डमा हाल नेपाली सेनाले कठिन परिस्थितिका बाबजुद निरन्तर रूपमा निर्माण कार्य अघि बढाइरहेको छ । कडा भू–बनोट, ठूला चट्टानी संरचना, भिरालो पहाड र जोखिमपूर्ण भौगोलिक अवस्थाबीच विस्फोट ९ब्लाष्टिङ०, डोजर तथा भारी मेसिनरीको प्रयोग गर्दै सडकको ट्र्याक निर्माण र स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।

    खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ–घोङघप्पा खण्डको १० दशमलव ५१ किलोमिटर लामो ट्र्याक निर्माण कार्यको जिम्मेवारी मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ भदौ २२ गते नेपाली सेनालाई प्रदान गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार सो खण्डको कुल लम्बाइ १० दशमलव ५१ किलोमिटर र चौडाइ नौ मिटर रहेको छ । ट्र्याक खोल्ने प्रारम्भिक लागत अनुमान रु ६२ करोड ९० लाख रहेको छ, जसमा कडा चट्टान फुटाउने, ब्लाष्टिङ, ढुङ्गा हटाउने तथा ट्र्याक मिलाउने कार्यहरू रहेका छन् ।

    आर्थिक वर्ष २०७७ सालदेशि सुरु भएको निर्माण कार्यअन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । चालु आव २०८२÷८३ मा चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरी आवश्यक मापदण्ड पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरिने प्रवक्ता बस्नेतले बताउनुभयो ।

    सेनाका अनुसार उक्त सडक कडा चट्टान, साँघुरो भिर, जोखिमपूर्ण भू–बनोट र प्राकृतिक चुनौतीका कारण निर्माण गर्न अत्यन्तै कठिन रहेको छ । सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक उत्तर दक्षिण राजमार्गका रूपमा विकास हुँदैछ । च्याम्ताङ–घोङघप्पा खण्ड उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिने भएकाले यसको रणनीतिक महत्व अत्यन्तै उच्च छ ।” सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका बासिन्दाले दैनिक आवागमन, कृषि तथा व्यापारिक गतिविधि, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र शैक्षिक पहुँचमा ठूलो सहजता पाउनाका साथै यसले स्थानीय जनजीवनलाई प्रत्यक्ष रूपमा परिवर्तन गर्ने विश्वास लिइएको छ ।

    सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो, “कडा भू–बनोट र पहाडी चट्टानबीच सडक निर्माण गर्दा विभिन्न प्राविधिक र प्राकृतिक चुनौती आए पनि यस सडकले राष्ट्रको रणनीतिक सुरक्षामा दीर्घकालीन भूमिका खेल्नेछ ।” उहाँका अनुसार सीमा क्षेत्रमा सहज आवागमनका साथै आपत्कालीन सेवा, प्राकृतिक विपद् व्यवस्थापन, राहत सामग्री ढुवानी तथा सुरक्षात्मक गतिविधिमा समेत सडक अत्यन्तै उपयोगी हुनेछ । च्याम्ताङ–घोङघप्पा खण्डमा नेपाली सेनाले ‘एक्सप्लोसिभ’ प्रयोग गरी ब्लाष्टिङमार्फत होल खोप्ने, विस्फोट गर्ने, ढुङ्गा हटाउने र त्यसपछि ट्र्याक मिलाउने कार्य गर्दै आएको छ । भिरालो पहाड, ठूला ढुङ्गा र निरन्तर ढुङ्गा, माटो झर्ने जोखिमबीच भारी मेसिनरी प्रयोग गरी सडकको आधार तयार पारिँदै आएको सेनाले जनाएको छ ।
    सडक निर्माण कार्यमा स्थानीय जनशक्तिको सहभागिता सुनिश्चित गरिएको छ । यसले दुर्गम भेगका बासिन्दालाई रोजगारीको अवसर प्रदान गर्नाका साथै सडक निर्माणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव विकास गर्न समेत सहयोग पुगेको छ । सडक निर्माणले स्थानीय पर्यटन प्रवद्र्धन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, व्यापारिक गतिविधि विस्तार गर्ने र क्षेत्रीय आर्थिक चलायमानता बढाउन सहयोग पुग्नेछ । सडक पूर्ण रूपमा स्तरोन्नति भई सञ्चालनमा आएपछि स्थानीय तथा क्षेत्रीय विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

    निर्माण कार्य सम्पन्न भएपछि नेपाली सेनाले आवश्यक समन्वय गर्दै उक्त सडकलाई सडक विभागलगायत सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जनाएको छ । कोशी करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्गका रूपमा विकास हुने यो सडकले चीन र भारतसँगको भौतिक सम्पर्क मजबुत बनाउने भएकाले यसको रणनीतिक, आर्थिक र सामाजिक महत्व अझ बढ्नेछ । कडा श्रम, जोखिमबीच निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकले सङ्खुवासभाको दुर्गम पहाडी भेगमा विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

    दुर्गम पहाडी भू–भाग, भिरालो भू–भाग र कडा चट्टानको कारण सामान्य सिभिल निर्माण पद्धतिले सडक निर्माण गर्न सम्भव छैन । नेपाली सेनाले निर्माण कार्य नगरेको भए च्याम्ताङ–घोङघप्पा सडकको ट्र्याक खोल्न नै असम्भव हुने स्थानीयवासी बताउँछन् । स्थानीय नोर्वु लामाले भन्नुभयो, “निर्माण भइरहेको सडक अत्यन्तै अप्ठेरो छ । जुन चट्टान नै चट्टान मात्र छ त्यो पनि सामान्य चट्टान होइनन्, कठिन र जटिल संरचनाका छन्, जसमा सडक बनाउनु सहज छैन ।”

    नेपाली सेनाले आफ्नो अनुभव, प्राविधिक क्षमता प्रयोग गर्दै निर्धारित लक्ष्यअनुसार काम गरिरहेको छ । सेनाको मिहेनत, व्यवस्थित कार्यप्रणाली र दक्षताका कारण मात्र यो दुर्गम भू–भागमा सडक निर्माण सम्भव भएको उहाँले बताउनुभयो । यसले स्थानीय जनताको आवागमन सहज बनाउने मात्र होइन, व्यापार, कृषि र दैनिक जीवनमा समेत प्रत्यक्ष योगदान पु¥याउनेछ ।

    सङ्खुवासभाको दुर्गम पहाडी भू–भागमा निर्माण भइरहेको च्याम्ताङ–घोङघप्पा सडकको भौगोलिक चुनौती अत्यन्तै जटिल रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सडकखण्डको ढाँचामा सामान्य ब्लाष्टिङ पर्याप्त नहुँदा कतिपय स्थानमा डबल ब्लाष्टिङ गरी ढुङ्गा र माटो हटाएर ट्र्याक तयार गर्नुपर्ने भएकाले निर्माण कार्य थप चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । यो सडक भू–भागको हिसाबले अत्यन्त जोखिमयुक्त मानिन्छ । कठिन परिस्थितिका बाबजुद पनि नेपाली सेनाले निर्माण कार्य निरन्तर जारी राखेको छ । सामान्य सिभिल इन्जिनियरले डिजाइन गर्न नसक्ने जटिल भू–भाग भएकाले सेनाले आफ्नै प्राविधिक क्षमता प्रयोग गर्दै निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “जुन हामी सबैका लागि गर्वको विषय हो । भौगोलिक चुनौतीका कारण सडक स्टेबल हुन केही समय भने लाग्छ ।”

    निर्माणसम्पन्न भएपछि यस सडकले खाँदबारीदेखि किमाथाङ्का सडकखण्डमा पर्ने तीन पालिका जसमा चिचिला गाउँपालिका, मकालु गाउँपालिका र भोटखोला गाउँपालिकालाई सिधा जोड्ने भएकाले स्थानीय जनताको आवागमन अत्यन्त सहज हुने प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । साथै, दुर्गम क्षेत्रका नागरिकले दैनिक जीवन, कृषि, व्यापार र स्वास्थ्य शिक्षासम्बन्धी सेवामा पहुँच विस्तार गर्ने सहयोग पुग्ने उहाँको भनाइ छ । यो सडकले स्थानीय आवागमन सहज बनाउनाका साथै नजिकका सदरमुकाम, अन्य गाउँपालिका र आर्थिक केन्द्रसँग पनि प्रत्यक्ष सम्पर्क स्थापित गर्ने भएकाले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । सडक निर्माण पूरा भएपछि यसले व्यापार, सेवा–सुविधा र सामाजिक विकासमा समेत ठूलो प्रभाव पार्नेछ ।

    नेपाली सेनाले निर्माण गरिरहेको सडक सम्पन्न भएपछि यस सडकसँग जोडिएका अगाडि–पछाडिका खण्डलाई निजी कम्पनीहरूले ठेक्का लिएर निर्माण गरिरहेका छन् । ती कामलाई सहज बनाउने र ‘ब्रेक थ्रू’ गर्न थप सहयोग पुग्ने प्रमुख थपलियाको भनाइ छ । यसरी च्याम्ताङ–घोङघप्पा सडकले केवल आवागमनको मार्ग मात्र नभई दुर्गम सङ्खुवासभामा विकास, सुरक्षा र समग्र भौगोलिक पहुँचको नयाँ ढोका खोल्नेछ । कडा भू–बनोट, भिरालो पहाड र जोखिमपूर्ण चट्टानी संरचनाबीच निर्माण भइरहेको यस सडक परियोजना नेपाली सेनाको उदाहरणीय काममध्ये एक बनेको छ । निर्माणसम्पन्न भएपछि यो सडक क्षेत्रीय आवागमन, व्यापारिक गतिविधि र स्थानीय जनताको जीवनस्तर सुधारमा दीर्घकालीन योगदान पु¥याउने विश्वास गरिएको छ । रासस

  • अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौँ, माघ ६ –
    निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उहाँहरु उम्मेदवार बन्नुभएको हो ।

    हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ ।

    यसअघि उहाँहरुले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नु अघि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

    मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जामन्त्री घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्नुभएको छ । उहाँ त्यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । घिसिङ काठमाडाँै निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको उज्यालो पार्टीका प्रवक्ता डा राजु थापाले राससलाई जानकारी दिनुभयो ।

    युवा तथा खेलकुदमन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट आफूले उम्मेदवारी दिन लागेको गुप्ताले राससलाई जानकारी दिनुभयो ।

    पूर्वसञ्चारमन्त्री खरेल दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । मन्त्री बन्नुअघि उहाँले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हाल्नुएको थियो । खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले आजै पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गर्नुभएको छ । उहाँले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

    यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिइसक्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । रासस

  • झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

    झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

    काठमाडौं, माघ ६-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा ५ मा उमेदवारी दिएका छन् । उनले आज निर्वाचन कार्यालय झापा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।

    यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका छन् । ओली पनि दिउँसो १ बजे मनोनयन दर्ता गराउँछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

  • रमेश लेखकको टिकट खोसियो

    रमेश लेखकको टिकट खोसियो

    काठमाडौं ।
    जेन-जी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।

    बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् । नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए ।

  • चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

    चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

    चितवन, माघ ६-
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजीनामा दिनुभएको छ ।

    आज विहान उपप्रमुख चित्रसेन अधिकारीलाई प्रमुख दाहालले राजीनाम पत्र बुझाउनु भएको हो । त्यसलगत्तै महानगरले दाहाललाइ औपचारिक बिदाइ गरेको छ । दाहाल आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ ।

    दाहाल ९ वर्ष महानगरको नेतृत्व गरेर बाहिरिनु भएको हो ।

  • प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

    प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

    काठमाडौँ, माघ ६-

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।

    प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजेरुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

    मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

  • वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

    वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

    चितवन, ५ माघः
    वर्गीय उत्पीडन, राज्यदमन र शोषणविरुद्धको निरन्तर संघर्षबाट राजनीतिक पहिचान निर्माण गरेका प्रताप गुरुङलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको छ। ४२ वर्षे गुरुङ ईच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्।

    गुरुङको राजनीतिक चेतनाको विकास २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएसँगै भएको हो। सामन्ती, दलाल पुँजीवादी राज्यसत्ताको विरुद्ध उठेको जनयुद्धको धारमा आफूलाई समर्पित गर्दै उनले कम उमेरमै वर्गसंघर्षको मोर्चा समातेका थिए।

    २०५५ देखि २०५८ सालसम्म माझगाउँ माध्यमिक विद्यालयमा शिक्षण पेशामा संलग्न रहँदै उनले श्रमिक–किसान वर्गसँगको प्रत्यक्ष सम्बन्धलाई राजनीतिक अभ्यासमा रूपान्तरण गरे। २०५८ सालमा चितवन जिल्लाको जनसरकार सदस्यको जिम्मेवारी सम्हाल्दै जनसत्ताको अभ्यासमा सहभागी भएका गुरुङ सोही वर्ष चैत १४ गते जनयुद्ध उत्कर्षमा रहेका बेला ईच्छाकामनाबाटै प्रतिक्रियावादी राज्यसत्ताद्वारा गिरफ्तार भएका थिए। करिब १४ महिना हिरासतमा रहँदा समेत उनी वैचारिक रूपमा विचलित भएनन्। २०६० साल असार १२ गते रिहा भएपछि उनी पुनः जनयुद्धको मोर्चामा दृढतापूर्वक उभिए।

    २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा काठमाडौं उपत्यकामा अग्रमोर्चामा रहेर आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउने कार्यमा संलग्न गुरुङ १९ दिन हिरासतमा परे। सोही वर्ष पार्टीको जिल्ला कमिटी सदस्य बनेका उनी शान्ति प्रक्रियापछि पनि क्रान्तिकारी वैचारिक लाइन र जनपक्षीय राजनीतिको पक्षमा निरन्तर सक्रिय रहँदै आएका छन्।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा ईच्छाकामना गाउँपालिकाको उम्मेदवार बनेका गुरुङ सुधारवादी शक्तिको गठजोडबाट करिब ६ सय मतान्तरले पराजित भए। तर उक्त पराजयलाई वैचारिक पराजय होइन, राजनीतिक संघर्षको एक चरणका रूपमा ग्रहण गर्दै उनी जनसम्पर्क, संगठन विस्तार र वर्गीय चेतना निर्माणमा निरन्तर लागिरहे।

    हाल उनी नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश सचिवालय सदस्यका रूपमा संगठन सुदृढीकरणमा सक्रिय छन्। साथै तमु ह्युल छोज धि चितवन जिल्ला सल्लाहकारको जिम्मेवारीमा रहेर पहिचान, वर्ग र सामाजिक न्यायको सवाललाई राजनीतिक बहसको केन्द्रमा राख्दै आएका छन्। स्थानीय स्तरमै बसेर विकास निर्माण, श्रमिक–किसानका मुद्दा र जनताको दैनिकीसँग जोडिनु उनको राजनीतिक कार्यशैलीको मूल विशेषता हो।

    २०८२ सालको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका गुरुङले दलाल पुँजीवादी संसदीय राजनीतिका सीमाभन्दा बाहिर उभिएर जनताको वास्तविक सत्ता, सुशासन र समानतामा आधारित विकासको एजेन्डा अघि सारेका छन्। परिवर्तित समयमा जनताको वर्गीय एजेन्डा स्थापित गर्ने र जेन–जी पुस्ताको विद्रोही चेतना तथा परिवर्तनको आकांक्षालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    चितवन–२ मा गुरुङसँग नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि नेकपाले उनलाई प्रतिक्रियावादी, यथास्थितिवादी र पुँजीमुखी शक्तिहरूका विरुद्ध वैकल्पिक क्रान्तिकारी राजनीतिक धारको प्रतिनिधिका रूपमा प्रस्तुत गरेको छ।