Blog

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

    काठमाडौँ, ४ माघः
    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

    प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । सार्वजनिक विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख छ ।

    उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ । दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

  • गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

    गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

    गैँडाकोट, ४ माघ-
    नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमको आज आइतबार १४ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रह्यो ।

    स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका छन् । पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने सापकोटाले बताए ।

    महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको कँडेलको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
    विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत आइतबार मेलिना राईसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । आइतबार दिनभर महोत्सव परिसरमा मेलिना राईसहित सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतले प्रस्तुती राखेका छन् । त्यस्तै स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका लम्सालले बताए ।

    महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार राजनराज सिवाकोटी, नन्दु परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठको प्रस्तुती रहने लम्साको भनाइ छ । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत सांस्कृतिक प्रस्तुती रहने लम्सालले बताए ।

  • रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

    रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

    रत्ननगर, ४ माघः
    पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अवलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत माघ १ गते एकै दिन ४५ हजारले अबलोकन गरेका थिए । माघ २ गते सम्म दुई लाखले अवलोकन गरेको सो महोत्सव तीन दिनमा एकलाखले अवलोकन गरेका हुन्।

    माघ २ गते ४० हजार, ३ गते ३० हजार र ४ गते ३० हजारले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । संघका कोषाध्यक्ष विनोद घिमिरेले महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै जाँदा टिकट विक्रीपनि अपेक्षाकृत नै रहेको बताए ।

    महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

    विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।

    महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ६ गते सम्म चल्ने छ ।

    यसैबीच रत्ननगर उद्योग बाणिज्य संघले महोत्सव परिसरमै चितवन उवासंघको चिरन्जीवि सुवेदी नेतृत्वको नवनिर्वाचित टोलीलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष शंकर गिरी र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको हो । सो अबसरमा पूर्वअर्थमन्त्री पाण्डेले लगानी सुरक्षाको लागि राज्य जिम्मेवार हुनुपर्ने बताए ।

    सरकारको पैसाले देश नबन्ने भन्दै उनले मुलुक निर्माणको लागि नयाँ उपायको खोजि गर्नुपर्ने बताए । कार्यक्रममा रत्ननगर उवासंघका अध्यक्ष गिरी र चितवन उवासंघका अध्यक्ष सुवेदीले व्यवसायी सुरक्षा तथा उद्यमशिलता विकासमा दुई संघ बीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

  • आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

    आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

    ४ माघ भरतपुर-
    चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय प्रयोजनार्थ आवश्यक उपकरण आइतबार एक कार्यक्रमका विच हस्तान्त्रण गरेको छ ।

    जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यालयको सेवा सञ्चालनमा सहयोग पुर्याउने उदेश्यले ५ थान कम्प्युटर, २ थान प्रिन्टर, ६ थान एसी, ४ थान कम्प्यूटर टेवल, ४ थान कुर्चि र २ थान टि टेवल आन्तरिक राजस्व कार्यालय भरतपुरलार्ई हस्तान्तरण गरिएको हो ।

    उक्त सामाग्री चितवन उद्योग वाणिज्य संघको सहयोगी संस्था GIZ RSRSD ले सहयोग गरेको हो ।

    कार्यालय प्रयोजन सामाग्री हस्तान्त्रण गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गत भाद्र २४ गते भएको जेनजी आन्दोलनको कारण जलेर भवन तथा भवन भित्रका समान नष्ट भएका कारण आन्तरिक राजस्व कार्यालयको सेवा पूर्ववत अवस्थामा जस्तै निर्विघ्नताका साथ कार्यालय सञ्चालनमा टेवा पुर्याउने उद्देश्यले कार्यालय प्रयोजनका सामाग्री सहयोग गरिएको बताउनुभएको भयो ।

    सहयोग सामग्री ग्रहण गर्दै आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूण्य विक्रम खड्काले चितवन उद्योग वाणिज्य संघ लाई धन्यवाद दिनुभएको थियो ।

    कार्यालय समाग्री हस्तान्तरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, GIZ RSRSD का नविन लाल श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका, उपाध्यक्ष द्वय नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, संघका कार्यसमिति सदस्य एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

     

  • हर्क साम्पाङले पनि दिए राजीनामा

    हर्क साम्पाङले पनि दिए राजीनामा

    काठमाडौं, माघ ४-
    धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

    सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

    उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।

    आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

  • धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

    धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

    धरान (सुनसरी), ४ माघः 
    जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

    आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

    बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

  • सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

    सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

    काठमाडौँ,माघ ४-
    नेकपा एमालेका सचिव महेश बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताएका छन् । आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् ।

    ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, बस्नेतले भने, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’ नेता बस्नेतले यस पटकको चुनावमा गुगलमा बालेन र रवि भूगोलमा केपी ओली हुने दाबी गरे ।

  • घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

    घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

    ४ माघ काठमाडौँ ।
    काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।

    उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् ।

    उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन् ।

    लगत्तै उनी रास्वपा कार्यालयबाट बाहिरिएका छन् ।

  • तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

    तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

    दमौली (तनहुँ), माघ ४-
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् ।

    नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पनि उम्मेदवार टुङ्गो लागेको छ ।

    नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं –२ बाट केदार सिग्देललाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेलले जानकारी दिनुभयो ।

    यसैगरी, नेकपाबाट तनहुँ–१ मा विद्यानाथ ढकाल र क्षेत्र नं–२ मा सोमबहादुर थापा (एसबी थापा) उम्मेदवार चयन हुनुभएको छ ।

    नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले तनहुँ–१ बाट मन्जिल राना र तनहुँ–२ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा उम्मेदवारको नाम सार्वजनिक हुन बॉकी छ । रासस

  • काठमाडौंका मेयर बालेनले दिए राजीनामा

    काठमाडौंका मेयर बालेनले दिए राजीनामा

    ४ माघ, काठमाडौं ।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।

    मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

    डंगोलले भनिन्, ‘हो, उहाँको राजीनामा आएको हो । मलाई नै बुझाउनुभएको छ ।’