आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

ललितपुर, माघ ५ –
आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन माननीय कृषिमन्त्री डा. मदन परियारद्वारा उद्घाटन गरिने भएको छ।

नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो तथा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो सम्मेलन माघ ६ गतेदेखि ८ गतेसम्म (मंगलबारदेखि बिहीबारसम्म) ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा सञ्चालन हुनेछ।

सम्मेलन बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो।

पिबाग्सनका अध्यक्ष डा. बालकृष्ण जोशीका अनुसार सम्मेलनमा करिब २३० जना सहभागी हुनेछन्। सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र प्रस्तुत गरिनेछ भने ४२ वटा अनुसन्धान लेख र २१ वटा पोस्टर प्रस्तुति हुनेछन्। साथै १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टल समेत रहनेछन्।

सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ।

सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *