Blog

  • प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

    प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

    काठमाडौँ, माघ ५ –
    प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ ।

    नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक यो पर्व मनाउछन् । सोनाम ल्होसारमा प्रर्दशन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारलाई सांस्कृतिकको धरोहरको रुपमापनी हेरिन्छ । रासस

  • निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

    निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

    काठमाडौँ, माघ ५ –
    निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

    आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

    स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।

    उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् ।

    मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन् ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

    आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । – रासस

  • मधेशमा आज बलिदानी दिवस मनाइँदै

    मधेशमा आज बलिदानी दिवस मनाइँदै

    ५ माघ, जनकपुरधाम ।
    मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै छ । दिवसको अवसरमा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा रास्वपा बरिष्ठ नेता बालेन शाहले माल्यार्पण गरेका छन् ।

    आज रमेश महतोको १९ औं स्मृति दिवस मनाइँदै छ । उनको सहादतको दिनलाई आज मधेश केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा मनाइरहेका छन् ।

    प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो मारिएका थिए ।

    तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेपछि भइरहेको आन्दोलनको क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मारिएपछि मधेशभर आन्दोलन चर्किएको थियो । त्यसैले माघ ५ गतेलाई मधेश केन्द्रित दल र मधेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँँदै आएका छन् ।

    बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । मधेश केन्द्रित दलहरु जसपा, जनमत आज छुट्टाछुट्टै ठाउँमा भेला भएर विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइरहेका छन् ।

  • खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    माघ ५,काठमाडौं ।
    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।

    पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।

    गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहेका छन् ।

  • स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

    स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

    चितवन, माघ ५-
    भुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो ।

    त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ । अस्पतालले स्वास्थ्य बिमाको दाबी भुक्तानी र व्यवस्थापनमा छुट्टै खालको व्यवस्थित संरचना बनाएर काम गरेको छ । यसका कारण स्वास्थ्य बिमा कार्यक्रम लागू भएका देशभरका अस्पतालका बिमा हेर्ने कर्मचारी र प्रशासक यहाँ अध्ययनका लागिसमेत आउने गर्दछन् । कतिपय अस्पतालले कर्मचारी पठाएर काम सिकाउने गर्दछन् ।

    स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार बोर्डमा रहेका अस्पतालहरुको सरदर अस्वीकृत दर २० प्रतिशत रहेको छ । त्रिविले ५० प्रतिशत रहेको भनेको जनाउँदै उहाँले सबै अस्पतालको छुट्याएर आफूले नहेरेको बताउनुभयो । उहाँले भन्नुभयो “बिमा बोर्डको कार्यविधि र निर्देशिका अनुरुप काम नगरेकाले अस्वीकृत भएको हो ।” दाबी गर्न नमिल्ने भनि उल्लेख गरेका क्षेत्रमासमेत उपचार गरी दाबी गरिएको उहाँको भनाइ छ ।

    जुन अस्पतालले बोर्डको कार्यविधि र निर्देशिका अनुसार काम गरेका छन्, उनीहरुको अस्वीकृत दर न्यून रहेको उहाँ बताउनुहुन्छ । निर्देशिका अनुसार काम गरेकै कारण भरतपुर अस्पतालको अस्वीकृत कम भएको हो ।

    अस्पतालका बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार साउन, भदौ र असोज तीन महिनाको विस्तृत अध्ययन गर्दा अस्वीकृत दर दुई प्रतिशत हाराहारी हुन आएको हो । साउनमा १.५ प्रतिशत थियो, भदौमा २.८ र असोजमा ३.३ प्रतिशत अस्वीकृत दर रहेको छ । तीन महिनालाई सरदर मान्दा २.४ प्रतिशत अस्वीकृत दर हुन आउँछ ।

    कार्यक्रम प्रमुख पौडेलले बोर्डको निर्देशिका र कार्यविधिलाई अक्षरम्स पालना गरी काम गरिएको बताउनुभयो । सो क्रममा सेवाग्राहीलाई बुझाउन समय खर्चिनु परेपनि अस्वीकृत दर कम भएर अस्पतालको व्ययभार घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “सेवाग्राही मैले यो सेवा किन नपाउने ? भनेर झगडा गर्न आउनुहुन्छ । हामी बोर्डको निर्देशिका देखाएर सम्झाएर पठाउँछौँ ।”

    अस्पतालको स्वास्थ्य बीमा शाखामा १८ जना कर्मचारीले २४ सैँ घण्टा आलोपालो काम गर्ने गरेको उहाँको भनाइ छ । बोर्डको दाबी भुक्तानीसम्बन्धी तोकिएको मापदण्डभित्र रहेर सेवा प्रवाह तथा सोही अनुरुपका कागजातबाट दाबी गर्ने गरिएको छ ।

    बिमा विभागमार्फत् चिकित्सक र स्वास्थ्यकर्मीलाई समय समयमा बोर्डका नयाँ निर्देशन जानकारी गराएर सोही अनुसार काम गर्न आग्रह गरिएकाले पनि न्यून अस्वीकृत भएको पौडेल बताउनुहुन्छ ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिमामा दक्षजनशक्तिको समूह परिचालन भएको र प्रविधिको उच्चतम प्रयोग गरिरहेका कारण अस्वीकृत दर कम भएको हो । उहाँका अनुसार अहिले पनि बोर्डबाट रु ६० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । आर्थिक वर्ष २०७४/७५ बाट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म अस्पतालले १४ लाख ७६ हजार ९०३ पटक सेवा प्रवाह गरेको छ । जस बापत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ अस्पतालले प्राप्त गरिसकेको छ ।

    उहाँका अस्पतालमा खर्च हुने भएकाले अस्वीकृत दर घटाउने र समयमा भुक्तानी दिने कुरामा बोर्ड सकारात्मक हुनुपर्ने बताउनुहुन्छ । भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रमका हिसाबले नेपालका अस्पतालमा नमूना रहेको भन्दै उहाँले अझ व्यवस्थित बनाउने कुरामा आफूहरु लागिरहेको बताउनुहुन्छ ।

    नेपालका ५१० अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । दैनिक रु १० करोडभन्दा बढीको दाबी बिमा बोर्डमा ती अस्पतालले गर्ने गरेका छन् । बोर्डको तथ्याङ्क अनुसार एक करोड नागरिक बिमामा जोडिएको भए पनि ६८ लाख मात्रै सक्रिय छन् ।

    बोर्डले रु १०।५ अर्ब रकम अस्पताललाई भुक्तानी गर्न बाँकी छ । जसका कारण अस्पतालहरुले बिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको गुनासो गर्दै आएका छन् । रासस

  • नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

    चितवन माघ ५
    ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पन्चै नौमती बाजाको प्रवर्द्धन’ गरौं भन्ने मूल नाराका साथ नारायणी एक्स्पोस्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुने भएको छ ।

    पत्रकार सम्मेलन मार्फत जानकारी दिनु हुँदै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले संस्कार र संस्कृति झल्काउन पञ्चै/नौमती बाजा प्रतियोगिता गरिएको जानकारी दिनुभयो ।

    स्थानीय कला, संस्कृतिको संरक्षण र जगेर्ना गर्न प्रतियोगिता फलदायी हुने आफूहरुको विश्वास रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा नारायणी एक्स्पोको आयोजक संस्था रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले माघ ८ गते प्रतियोगिता आयोजना गरिएको भन्दै प्रतियोगिताको संयोजक नारायणी एक्स्पोको सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको जानकारी दिनुभयो ।

    प्रतियोगितामा पहिलो हुने समूहले रु २० हजार, दोस्रो हुने समूहले रु १५ हजार, तेस्रो हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजारका दरले पुरस्कार पाउने क्षेत्रीको भनाइ छ । प्रतियोगितामा सहभागिता जनाउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

    पञ्चै तथा नौमती बाजा बहुजातिको संस्कृतिसँग जोडिएको भन्दै क्षेत्रीले बाद्यवाधकहरुको प्रतिभालाई प्रवर्द्धन एवम् मूल्यांकन गरी नेपाली पहिचान बोकेको बाजालाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उद्देश्य रहेको बताउनुभयो । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो स्थलमा हुने छ।

  • आजबाट लागू भयो निर्वाचन आचारसंहिता

    आजबाट लागू भयो निर्वाचन आचारसंहिता

    काठमाडौँ माघ ०५
    निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

    आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

    स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।

    रातिदेखि निर्वाचन आचारसंहिता लागु, क–कसले पालना गर्नुपर्छ ?
    रातिदेखि निर्वाचन आचारसंहिता लागु, क–कसले पालना गर्नुपर्छ ?
    उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् ।

    मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिताको दायरामा परेका छन् ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

    आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
    रासस

  • माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

    माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

    काठमाडौँ माघ ५
    तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

    मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

    ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।

    करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।

    यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

    रासस

  • हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

    आज मिति २०८२ माघ ५ गते सोमबार (१९ जनवरी २०२६) साेमवार, माघ शुक्लपक्ष प्रतिपदा तिथि। उत्तराषाढा नक्षत्र, १२ः२७ बजेपछि श्रवण। चन्द्रराशि मकर।

    हेर्नुहोस आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमै परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। तर अरूका लागि गरिएकाे कामले आफूलाई समेत फाइदा हुनेछ। समस्या पर्दा सहयाेगी फेला पर्नेछन्।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजाेर रहनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जुट्न नसकिएला, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। तर सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पछिका लागि काम गर्ने समय छ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। पेसा–व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ। फाइदाका लागि केही काम दोहोर्याउनुपर्ला।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    बाेलीकाे लय नमिल्दा सहयाेगीहरूले केही गुनासाे गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मिहिनेतले आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। पछिका लागि लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। सरसापटमा केही रकम बाहिरिन सक्छ।

  • सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

    सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

    माघ ४, चितवन-
    चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोृजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिनुभयो ।

    ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने , जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, सबै प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ ।’

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोमा आशा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउनु भयो । ‘पहिलेका एक्स्पो, मेलामा सबै प्रकारका अवलोकनकर्ताहरु पनि आउने गर्नुहुन्थ्यो, अध्यक्ष घिमिरेले भन्नुभयो, यसपटक लक्षित समुहका अवलोकनकर्ताहरु आएको पायौं ।’ चितवन उद्योग संघले गर्दै आएका यस्ता कार्यक्रमले सार्थकता पाउंँदै गरेको र अवलोकनकर्ताहरुले पनि अधिकतम लाभ लिएको घिमिरेको भनाई छ । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत बिषयगत क्षेत्रका अवलोकन कर्ताको उत्साहजनक सहभागिताले एक्स्पो सफल भएको उहांँले बताउनु भयो ।

    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

    प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी दिइएको मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिनुभयो।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्। माघ ४ गतेसम्म संचालित एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।