Blog

  • मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित, कस्तो रहला दिनभरको मौसम ?

    मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित, कस्तो रहला दिनभरको मौसम ?

    काठमाडौँ भदौ २१
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ।

    आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

  • आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल भाद्र २१ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि– चतुर्दशी, ४८ घडी २ पला, रातको १२ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– धनिष्ठा, ४३ घडी ५४ पला, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग–अतिगण्ड, १८ घडी १ पला, दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त सुकर्मा । करण–गर, दिउसो १ बजेर २३ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध्र योग । चन्द्रराशि–मकर, बिहान ११ बजेर २१ मिनेट उप्रान्त कुम्भ ।

    अनन्त चतुर्दशी व्रत। कुमारी इन्द्र यात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। हरिसिद्धिमा दीप यात्रा।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलीमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र वा मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगको लगानीबाट आम्दानी गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो खटाइमा बाबजुद आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ऋण, रोग तथा शत्रुलाई पन्छाउँदै गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले पाइँदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पदा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न

    प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न

    चितवन, भदौ २० –
    स्व. ओम राज मैनालीको स्मृतीमा स्क्राबल क्लब चितवनको आयोजना तथा नारायणी ई पब्लिक स्कुलको सहकार्यमा प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।

    कार्यक्रममा जिल्लाभरका २२ विद्यालयबाट ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा स्क्राबल क्लब चितवनका संयोजक प्रकाश सिग्देल को अध्यक्षता रहेको कार्यक्रममा भरतपुर माहानगरपालिका मेट्रो प्याबसन अध्यक्ष मिन राज बास्ताकोटी को प्रमुख आतिथ्यता रहेको थियो ।
    उक्त कार्यक्रममा स्क्राबल क्लब नेपालका प्राविधिक संयोजक अर्जुन पाण्डे, नारायणी ई. पब्लिक स्कुलका प्राचार्य बेदाराज न्यौपाने लगायतको विशिष्ट आतिथ्यतामा विभिन्न विद्यालयका प्राचार्य एवम् शिक्षक प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नारायणी ई. पब्लिक स्कुलका प्राचार्य बेदाराज न्यौपाने, संयोजक जनकराज घिमिरेले कार्यक्रमको शुभकामना मन्तब्य सहित आफ्ना भनाईहरु राख्नु भएको थियो ।

    कार्यक्रममा स्क्राबल क्लब नेपालका प्राविधिक संयोजक पाण्डेले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । साथै प्रमुख अतिथी मिन राज बास्ताकोटीले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक एवम् मानसिक विकासमा टेवा पु¥याउने जानकारी गराउदै प्रत्येक विद्यालयले यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्नुपर्ने जानकारी दिनुभएको थियो ।

    ६ चरणहरुमा खेलाईएको खेलमा उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः मनशिक्षा मन्दिरका सचिन गुरुङ, लिटल फ्लावर स्कुलका सुयोग अधिकारी, नारायणी ई. पब्लिक स्कुलका मेक्सम अनुपम सिग्देल, लिटल फ्लावर स्कुलका आरोहन पौडेल, पिस जोन ई. स्कुलका आयुस परियार र अर्किट ई. स्कुलका रजत न्यौपाने राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागी छनोट भएका छन् ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष प्रकाश सिग्देलले छनोट भएका सम्पुर्ण विद्यार्थीहरुलाई आउदो राष्ट्रिय स्क्रबल प्रतियोगितामा खेल्न पाउने जानकारी गराउदै पुनः सम्पुर्ण उपस्थित विद्यार्थीहरुलाई धन्यवाद दिदै एवम् छनोट हुन सफल भएका ६ वटौ विद्यार्थीहरुलाई वधाई ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

  • स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    सिरहा, २० भदौः 
    गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए ।

    ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किच्दा उनको टाउकोमा गम्भीर चोट लागि तत्कालै घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन् । प्रहरीका अनुसार निजको खोजी कार्य जारी छ । उक्त घटनापछि मृतक बालकको शव कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो । बस भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैबीच, घटनाप्रति थप अनुसन्धान गर्न स्कुलका संस्थापक एवं प्रधानाध्यापक दिलीप बुढाथोकीलाई हिरासतमा लिई प्रहरीले सोधपुछ गरिरहेको उहाँले जानकारी दिनुभयो ।

  • सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

    सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

    २० भदौ, काठमाडौं ।
    सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ ।

    सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो ।

    मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको अनलाइखबरलाई जानकारी दिएको छ ।

    हिजोमात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।

    धेरै प्रयोगमा आउने फेसबुक भने हिजोबाटै केही इन्टरनेट सेवा प्रदायकहरूले चल्न रोक लगाएका थिए ।

  • श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

    श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

    काठमाडौं भदौ २०,
    श्रीलंकाको दक्षिणी प्रान्त उवाको बादुल्ला जिल्लामा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

    प्रहरीका अनुसार, बिहीबार राति ९ बजेतिर दक्षिणी सहर तांगालेबाट ३० जनाभन्दा बढी मानिस पिकनिकका लागि निस्किएका थिए । एला सहरनजिकै उनीहरूको बस एक हजार फिटभन्दा गहिरो खाडलमा खसेको थियो ।

    समाचारका अनुसार, बस अगाडिबाट आइरहेको एउटा जीपसँग ठोक्किएर सडकको रेलिङ पार गरी तल खसेको थियो । मृत्यु हुनेमा नौजना महिला छन् । उनीहरू सबै तांगाले सहरी परिषद्का कर्मचारी थिए ।

     

  • ‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

    ‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

    २० भदौ, काठमाडौं ।
    पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणमा विद्यादेवी भण्डारी लगायतको समूहका नेताहरूले प्रश्न उठाइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गरेका छन् । उनले परिस्थिति र आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने उल्लेख गरेका छन् ।

    विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राखेका छन् । उनकै नेतृत्वको निरन्तरताकोबारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेका बेला ओलीले यसबारे महाधिवेशनमा नै सांकेतिक रुपमा धारणा राखेका हुन् ।

    ‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतान्त्रिकरणका प्रश्नलाई स्खिसिट्युरी गर्ने र पायक पर्दा छनौटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन। कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्यौल गरिनुपर्छ’ ओलीको प्रस्तावमा छ ।

    पार्टी जीवनको लोकतान्त्रिकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको उनले उल्लेख गरेका छन् । ‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुऱ्याउने खालको लोकतान्त्रिकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयंभू र स्वायत्त टापुहरू होइनन्’, ओलीले भनेका छन्,’युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ।’

    उनले पार्टीका सवै प्रयासहरु पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिष्ठालाई माथि उठाउन र गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्ने धारणा राखेका छन् । ‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भने हाम्रो स्पष्ट मान्यता छ’ उनले भनेका छन् ।

    पार्टीको लोकतान्त्रिकरणको सार पार्टीका सिद्धान्त, विचार र नीति निर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकैजना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने ‘महासचिवीय ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली रहेको उल्लेख गरेका छन् ।

  • फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

    फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

    काठमाडौँ २० भदौ 
    फेसबुकपछि ट्वीटर (एक्स) समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।

    ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

    इमेल पाएसँगै यसबारे जानकारी गराइएको उनले जानकारी दिए । पठाएका विवरणसहित विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।

     

  • मेट्स इन्टरनेशनलद्वारा ग्लोबल स्टडी एक्स्पो २०२५ आयोजना हुने

    मेट्स इन्टरनेशनलद्वारा ग्लोबल स्टडी एक्स्पो २०२५ आयोजना हुने

    चितवन, नारायणगढ –
    मेट्स इन्टरनेशनल (Education & Visa Services) ले आउँदो १९ सेप्टेम्बर २०२५ (बिहान ११ बजे देखी अपराह्न ४ बजे) नारायणगढको शहिदचोकमा “ग्लोबल स्टडी एक्स्पो” आयोजना गर्ने भएको छ।

    यस एक्स्पोमा अष्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट गरी अध्ययन योजना, भर्ना प्रक्रिया, छात्रवृत्ति र भविष्यका अवसरबारे जानकारी लिन सक्नेछन्।

    सोही दिन विद्यार्थीहरूले प्रत्यक्ष परामर्श लिई योग्य ठहर भएमा तत्कालै Conditional Offer (शर्तसहितको अफर) वा Unconditional Offer (शर्तरहित अफर) प्राप्त गर्न सक्ने अवसर रहनेछ।

    त्यसैगरी, कार्यक्रममा बैंकका प्रतिनिधिहरू उपस्थित हुने भएकाले विद्यार्थी तथा अभिभावकहरूले शैक्षिक ऋण (Education Loan) सम्बन्धी प्रत्यक्ष जानकारी पाउनेछन्। साथै, British Council IELTS र PTE Academic का प्रतिनिधिहरू समेत रहने भएकाले विद्यार्थीहरूले भाषा परीक्षासम्बन्धी ओरिएन्टेशन र तयारीबारे मार्गदर्शन लिन सक्नेछन्।

    Mates International नेपालमा स्थापित एक अग्रणी शैक्षिक परामर्श संस्था हो जसले विगत लामो समयदेखि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा, विश्वविद्यालय छनोट, भिसा प्रोसेस, छात्रवृत्ति अवसर र करियर काउन्सिलिङ मा सहयोग गर्दै आएको छ। संस्थाले अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका विश्वसनीय शिक्षण संस्थासँग सहकार्य गर्दै हजारौं विद्यार्थीलाई अध्ययन र करियरमा सफलता दिलाइसकेको छ।

    आयोजकले यो एक्स्पोले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययन यात्रामा सही निर्णय लिन, प्रत्यक्ष सल्लाह लिन र भविष्यलाई अझ उज्वल बनाउन एक अद्वितीय अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

  • रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

    रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

    २० भदौ, काठमाडौं ।
    नेपाली कांग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा विगतभन्दा भिन्न शैली अपनाउने भएको छ । केन्द्रको निर्देशनअनुसार तल्लो तहले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने पद्धतिलाई यसपटक निरन्तरता नदिने भएको छ ।

    उम्मेदवार चयनमा भिन्न शैली अख्तियार गर्न दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अवधारणामा ‘आइडिया फोर’ अवलम्बन गरिएको छ ।

    कांग्रेसको विधानअनुसार एक महिलासहित तीनजना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने व्यवस्था छ । उक्त व्यवस्था हाल लागु नगरी उम्मेदवार चयन गर्न लागिएको छ ।

    आइडिया फोरअन्तर्गत रहेर उम्मेदवार चयन गर्न पार्टी नेताहरू फरकफरक चरणमा निर्वाचन क्षेत्रमा पुगेका छन् ।

    पहिलो चरणमा महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक निर्वाचन क्षेत्र पुगे । दोस्रो चरणमा दुईजना, त्यसपछि पाँचजना र हाल २० जनाको टोली क्षेत्रमा पुगेर वस्तुगत अवस्था अध्ययन गरिरहेको छ । महामन्त्री शर्मा सहित २८ जनाको टोलीले मतदाताको चाहनाअनुसारको उम्मेदवार उठाउनका लागि क्षेत्रमा अध्ययन गरिरहेको छ ।

    उम्मेदवार चयन गर्दा पार्टीमा निरन्तरता, योग्यता र सम्भाव्यता खोजिने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार उम्मेदवार हुन इच्छुकका लागि यी तीन मापदण्डमा व्यक्तिको गणितीय र मनोवैज्ञानिक समीक्षा गरिने भएको छ ।

    उम्मेदवार हुनका लागि अर्को मापदण्ड ‘इन्टिग्रीटी भिटिङ सिस्टम’ को गहिरो अध्ययन गरिने भएको छ । कुनै आर्थिक अपचलनमा संलग्न रहे/नरहेको, जातीय विभेदको कुनै कर्ममा विगतमा संलग्न रहेर/नरहेको, पारिवारिक सम्बन्धमा परम्परागत मर्यादा कायम रहे/नरहेको, बालश्रम, घरेलु हिंसा लगायतमा संलग्न रहे/नरहेको र अन्य कुनै पनि सामाजिक विसंगतिको दुष्कर्ममा विगतमा संलग्न रहे/नरहेको अध्ययन गरेर मात्रै टिकट वितरण गरिने भएको छ ।

    उम्मेदवार हुन इच्छुक व्यक्तिका विषयमा मतदाताहरूको रायसमेत सुनिने भएको छ । उम्मेदवारको आकांक्षी व्यक्तिको सामाजिक प्रभाव, समाजको प्रश्न, असन्तुष्टि र मतदाताबाट कांग्रेसलाई सुझाव समेत मागिने भएको छ । समाजका भिन्नभिन्न क्षेत्रका व्यक्तिहरूसँग अनौपचारिक शैलीमा सुझाव संकलन गरिने भएको छ ।

    क्षेत्रमा कांग्रेसको उम्मेदवार तय गर्ने क्रममा गएको टोलीले अनौपचारिक रूपमा पार्टीको अवस्था र नागरिकका गुनासाहरू समेत संकलन गर्नेछ ।

    अध्ययन टोलीले गर्ने कार्य

    कांग्रेसले गरेका कामको सामाजिक प्रभाव केलाउने ।
    कांग्रेसबारेका कतिपय भ्रम टिपोट गर्ने ।
    कांग्रेसले परिवर्तन र परिमार्जन गर्नुपर्ने विषयहरू निश्चित गर्ने ।
    चुनावमा समाजको विश्वास जित्न कांग्रेसले लिनुपर्ने रणनीति अध्ययन गर्ने ।
    पार्टी पंक्तिको रुझान कोतर्फ बढी देखिन्छ ? त्यो हेर्ने ।
    कसलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ ? विश्लेषण गर्ने ।
    मतदातासँग अनौपचारिक छलफल गर्ने टोलीले पार्टी सदस्य र शुभेच्छुकहरूको धारणासमेत माग्नेछ । साथै, पार्टीको विभिन्न तहको नेतृत्व एवं सदस्य, नेतृत्वका प्रतिस्पर्धी, पूर्व नेतृत्व, भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व एवं सदस्यसँग अनौपचारिक संवाद हुनेछ ।

    लुम्बिनीका एक प्रदेश सदस्यका अनुसार यस क्षेत्रमा उम्मेदवार हुन कांग्रेसबाट सातजना आकांक्षी छन् । क्षेत्र भित्रका ४, रुपन्देहीको अर्को क्षेत्रमा २ र बाहिरी जिल्लाबाट एकजनाले आकांक्षा राखेका छन् । मतदाताकहाँ जाँदा अध्ययन टोलीले आकांक्षी सबैका बारेमा अनौपचारिक रूपमा सुझाव र राय संकलन गर्ने भएको छ ।

    शीर्ष तहका एक नेताका अनुसार आइडिया फोरअन्तर्गत प्राप्त सुझावका आधारमा पार्टीले उम्मेदवार चयन गर्नेछ ।