Blog

  • पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

    पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

    भरतपुर, २१ भदौ-
    नेपाल सोतोकान कराते संघ चितवनले पूर्व प्रशिक्षक र खेल पत्रकारलाई सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो ।

    संघको आयोजनामा आजदेखि सुरु चौथो राष्ट्रिय सोतोकान मास्टर मिट एवं दिक्षान्त समारोहको उद्घाटन शत्रमा थिङ र पन्त सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, संघका अध्यक्ष शैलेश थापालगायतले सम्मान गरे ।

    थिङ तेस्रो दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता पनि हुन् । यस्तै खेल पत्रकार पन्त चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत छन् भने खेलकुद पत्रकार मन्च चितवनका सदस्य पनि हुन् ।

    भरतपुर कभर्डहलमा आजबाट सुरु भएको कार्यक्रम दुई दिन चल्नेछ । जसमा एक सय कराते खेलाडीहरु सहभागी छन् । उनीहरुको अभ्यास र परीक्षा पछि भोलि दिक्षित हुने संघका अध्यक्ष थापाले जानकारी दिए ।

  • दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

    दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

    दोधारा चाँदनी कञ्चनपुरं, भदौ २१ –
    गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताउनुभएको छ ।

    आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उहाँले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताउनुभएको हो ।

    “दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,” उहाँले भन्नुभयो, “यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।” उहाँले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताउनुभयो ।

    कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उहाँको भनाइ छ । “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्”, गृहमन्त्री लेखकले भन्नुभयो, “जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।”

    उहाँले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने धारणा राख्नुभयो । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उहाँले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताउनुभयो । रासस

  • भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण

    भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण

    २१ भदौ, बुटवल ।
    भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । गबईले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन्।

    शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य-सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

    भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिएका थिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै शुत्रपाठ गरेका थिए । साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरेका थिए।

    लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाएका थिए ।

    उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए भने प्रधान न्यायाधीश गवईलाई उपाध्यक्ष डा. लामाले बुद्धको मुर्ति उपहार प्रदान गरेका थिए ।

    प्रधानन्यायाधीश गवई नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आएको अवसरमा लुम्बिनी पुगेका हुन् । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदान–प्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको थियो ।

    प्रधानन्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्त्व अझै उच्च स्तरमा पुग्ने विश्वास लुम्बिनी विकास कोषले व्यक्त गरेको छ।

  • इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

    इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

    २१ भदौ, काठमाडौं ।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी देखिएनन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् ।

    गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

    उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।

    इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरूको सहभागिता हुने गर्दछ । आयोजकका हिसाबले काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्दछन् ।

  • निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

    निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

    २१ भदौ ,ललितपुर ।
    नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा समेत सहभागि गराउन जरुरी रहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    विद्यमान कानून र थप आवश्यक कानून निर्माण गरेर निजी क्षेत्रलाई डिजिटल क्षेत्रमा सहभागि गराउनुपर्नेमा उनको जोड छ । उनले शिक्षा र स्वास्थ्य क्षेत्र सरकारले मात्रै हेर्ने तथा अन्य क्षेत्रमा पीपीपी मोडलमा जानुपर्ने आवश्यकता औँल्याए ।

    उनले सरकारले विगतमा बिजुली उत्पादनमा जोड दिएपनि ट्रान्समिसन लाइन विस्तारमा ध्यान नदिँदा विद्युत प्रवाह गर्न समस्या भइरहेको उल्लेख गरे । निजी क्षेत्रलाई काम गर्ने वातावरण र लगानीको सुरक्षित गर्ने दिशामा अघि बढ्दै हरेक क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए ।

    उनले भने– ‘नेपालको निजी क्षेत्र अब विस्तारै अर्थतन्त्रको बलियो एउटा खम्बाको रुपमा उभिँदै गएको छ । त्यसलाई अब हामीले डिजिटल इन्फास्ट्रक्चरमा पनि कसरी ल्याउने भनेर सोच्नुपर्ने छ । त्यसको लागि आवश्यक कानूनहरु बनेका छन् । त्यो ढंगले पनि ल्याउन सकिन्छ । त्यसको निति पिपिपी मोडेलका कानुनहरु छन् । अब हामी के भन्दै छौँ भने राज्यको फोकस विशेष गरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ध्यान दिनेगरी जाउँ । अरु क्षेत्रमा निजी क्षेत्रसँग मिलेर नै काम गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’

    उनले थप भने, ‘लगानीका धेरै क्षेत्रहरु आएका छन् । हाम्रो निजी क्षेत्रलाई विश्वास पनि गर्न सकिन्छ । कुनैबेला हामीले बिजुली उत्पादन गर्ने कुरामा जोड गर्यौं । तर हामीले ट्रान्समिसनमा जोड गरेनौँ । त्यसले गर्दा अहिले हामीसँग झन्डै चार मेगावाट बिजुली छ । तर त्यो पठाउने बाटो छैन । त्यसकारण अब हाम्रो जोड ट्रान्समिसन लाइनमा हुनुपर्छ । त्यो नेपाल सरकारले मात्र गर्न सक्दैन । त्यसकारण हामीले विद्युत् प्राधिकरणजस्तै अर्को एउटा प्राधिकरणको माग गरिरहेका छौँ जसले ट्रान्समिसन लाइ बनाओस् । त्यसमार्फत निजी क्षेत्रले विद्युतको ट्रेड गरोस् । अब डिजिटलको क्षेत्रमा पनि निजी क्षेत्रलाई ल्याउनुपर्छ र उसको लगानीलाई सुरक्षित गर्नुपर्छ । राज्यले वातावरण बनाउने, सुरक्षा प्रत्याभुति गराउने तथा वित्तिय समस्या समाधान गर्दा अभिभावकको भूमिका खेल्ने हो ।’

    उनले अनौपचारिक अर्थतन्त्रको सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा पनि जोड दिए । -न्युज एजेन्सी नेपाल

  • बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

    बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

    २१ भदौ,काठमाडौँ ।
    बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

    विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छन् । जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ ।

    यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ । चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ । ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि बन्द भएको छ ।

    विभागका अनुसार छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ । कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत –तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ ।

    विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ ।

    यसैबिच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए । रासस

  • नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

    नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

    २१ भदाै, धनगढी।
    कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले नक्कली भारतीय नोटसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको बताए ।

    उनकाअनुसार गाडीमा नक्कली नोट भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पछ्याएको थियो ।

    सो क्रममा शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले गाडी रोकी चेकजाँच गर्दा नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

  • माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

    माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

    २१ भदौ, काठमाडौं ।
    नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ ।

    अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो ।

    वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ ।

    गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन: अभियान थाल्ने निर्णय गरेको थियो ।

  • हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

    हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

    वाग्मती, भदौ २१ –
    चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पु¥याइएको छ । रासस

  • एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

    एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

    विराटनगर,भदौ २१-
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । कोशी प्रदेश पुगेका सभापति देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा आउन कानुनी अड्चन नभएको बताए ।

    एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुने वा नहुने भन्ने बहस भइरहेको बेलामा कांग्रेस सभापति देउवाको यस्तो अभिव्यक्ति आएको छ । विमानस्थलमा देउवाले पत्रकारहरूसँग भने, ‘मलाई धेरै थाहा छैन अनि, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

    एमालेको सक्रिय राजनीतिमा आउने भण्डारीको निर्णयपछि एमाले केन्द्रीय कमिटीले सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेको छ ।भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको उक्त निर्णयले अहिले विवाद भइरहेको छ । तर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने मओवादी केन्द्रको सक्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् । उनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाएको छ ।

    केही समयअघि भने देउवाले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नल्याउन एमालेलाई दबाब दिएको सार्वजनिक भएको थियो । सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउँदा सुरक्षा र सूचनाको संवेदनशीलतादेखि नैतिकताको समेत प्रश्न उठ्ने देउवाले एमाले नेताहरूलाई सुनाएका थिए । देउवाको उक्त भनाइपछि एमालेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

    एमालेमा भण्डारीको विषय विवादमा परिरहेको र महाधिवेशनमा समेत विषय उठिरहेको बेलामा देउवाको अभिव्यक्तिलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । विराटनगरमा देउवाले संविधान संशोधन तत्कालन नहुने पनि बताए । अहिले दुईतिहाइ नपुग्ने भएकोले संविधान संशोधनको प्रक्रिया अघि नबढेको उनले बताए । साथै, सरकारका मन्त्री हेरफेरको विषयमा कुराकानी नभएको पनि उनले बताए ।