Blog

  • नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

    नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

    २१ भदौ, काठमाडौं ।
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउने र त्यो पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

    नेपालमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको उल्लेख गर्दै उनले नयाँ सन्दर्भमा नागरिकका आकांक्षाहरू पनि बढेको बताए ।

    नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।

    ‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ, थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकांक्षाहरू पनि बढेको छ, जुन स्वाभाविक हो’ उनले भने, ‘हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् ।’
    उनले थपे, ‘म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको दुई लाख बचत गर्छ । कमाई अढाइ लाख छ ।’

    तर, नेपालमा भने ५० हजारभन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उनले उल्लेख गरे । ‘मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले ? ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन ।’

    महामन्त्री थापाले लाखौँ मान्छेलाई राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ’ उनले भने, ‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले ।’

    नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उनले बताए ।

    ‘मेरो लागि सरकारमा बस्नु, टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्योप्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु ।’

    बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै थापाले आजको कांग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए ।

  • एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

    एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

    २१ भदौ, ललितपुर ।
    नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

    महाधिवेशनमा सातवटै प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    समूहगत छलफलका लागि ७ घन्टा समय छुट्याइएको र साँझ समूह नेताहरूले कुरा राख्ने उनले जानकारी दिए ।

    उनका अनुसार सात प्रदेश कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूको छुट्टाछुट्टै समूह विभाजन गरिएको छ ।

    त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजक गरी १० वटा समूह विभाजन गरिएको छ ।

    महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    यसैगरी आज केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगकातर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता छ ।

  • घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

    घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

    ललितपुर, भदौ २१-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

    बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गर्नुभयो ।

    “गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

    गोदावरी ललितपुर सनराइज सभाहलमा शुक्रबारको बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन आज पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा विजय सुब्बाले प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।

    निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोराले प्रतिवेदन पेस गर्नुभएको थियो । रासस

  • चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

    चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

    काठमाडौँ, भदौ २१ –
    उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिनुभएको छ । उहाँले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी ९अनवत० पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “यी जात्रा र पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरकफरक शैली र नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना विकास गर्नु हो ।”

    जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचलगायत सांस्कृतिक प्रस्तुतिले नेपाली सभ्यता र परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्ने उहाँको भनाइ छ ।

    ‘जीवित देवी’ कुमारीलाई शक्ति र पवित्रताको प्रतीक मानिन्छ । इन्द्रजात्राका अवसरमा निकालिने रथयात्राले समाजमा धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदछ । इन्द्रजात्रा पर्वले आन्तरिक र बाह्य पर्यटनलाई पनि बढावा दिने र जसले देशको अर्थतन्त्रलाई सहयोग पु(याउने उपराष्ट्र यादवको भनाइ छ ।

    विशेषतः तराई–मधेसमा आजकै दिन अनन्त चतुर्दशी (अनवत) पर्व मनाउने परम्परा रहिआएको छ । यो पर्व देवी लक्ष्मी तथा भगवान् विष्णुको पूजाआर्चना गर्दै मनाइने धार्मिक अनुष्ठान हो । रासस

     

  • संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

    संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

    २१ भदौ, काठमाडौं ।
    सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।

    शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

    यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको तर्क छ ।

    ‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियो मार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दूरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिने जस्ता धेरै सकारात्मक प्रभाव छन्,’ उनले भने ।

    नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्नसक्नेमा दुईमत नरहेको सभामुख घिमिरेले बताए । ‘विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा एआई को विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुवैको बचत गर्छ,’ उनले भने ।

    सभामुख घिमिरेले एआईका गम्भीर बेफाइदाबारे पनि सचेत रहनुपर्ने बताए । ‘गलत सूचना र भ्रम फैलाउने ‘डीपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन्’ उनले भने, ‘कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ ।’

    उनले थपे, ‘त्यसैले, यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ । गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक छ ।’

  • एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

    एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

    २१ भदौ, काठमाडौं ।
    एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।

    महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।

    अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने ।

    थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

    पाटन (ललितपुर), भदौ २१ –
    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो । रासस

  • सुनसान छ रामेछाप विमानस्थल

    सुनसान छ रामेछाप विमानस्थल

    मन्थली (रामेछाप), भदौ २१-
    कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो ।

    काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ ।

    त्यसबेला काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ ।

    दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन् ।

    पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन् । जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ । रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले राससलाई बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौँ जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ ।”

    गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ । जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौँका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ ।

    नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ । जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउनुहुन्छ ।

    जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ ।

    मेयर श्रेष्ठले भन्नुभयो, “रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन् ।”

    रामेछापमा लामो सङ्घर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडाँै जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु । विशेष पहल गर्ने तयारी छ ।”

    सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन् । ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताउनुभयो । रासस

  • राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

    राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

    २१ भदौ, काठमाडौं ।
    एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेका हुन् । अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन् ।

    समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताए । प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्दैछ ।

    एमालेको विधान महाधिवेश ललितपुरमा जारी छ । आज प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची छ ।

  • चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

    चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

    मुग्लिन,भदौ २१-
    चितवनमा बोलेरो दुर्घटना हुँदा २३ जना घाइते भएका छन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट रुप्लाङतर्फ गइरहेको सामान बोक्ने लु.प्र. १–००१ च १४५५ नम्वरको बोलेरो शुक्रबार साँझ आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

    घाइते २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना उपचार पश्चात घर फर्किएका छन । यात्रुले ग्रामिण सडकमा सामान बोक्ने बोलेरो गाडीको पछाडि उभिएर यात्रा गरिरहेका थिए । गाडी सडकबाट १५ मिटर तल खसेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।