Blog

  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

    २० भदौ, काठमाडौं ।
    शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

    अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

  • ब्लक गरियो फेसबुकको वेब संस्करण

    ब्लक गरियो फेसबुकको वेब संस्करण

    काठमाडौँ, भदौ २०-
    नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ ।

    इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।

  • आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै

    आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, भदौ २० –
    ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ ।

    यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले हरेक प्रकारको मानव बेचबिखन विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

    “मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो, यो सामाजिक रुपमा निन्दनीय, कानुनी रुपमा दण्डनीय छ । समाजको कलङ्कको रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नका साथै मानव बेचबिखन तथा ओसारपसार पीडित तथा प्रभावितहरुको उद्धार, पुनःस्थापना, मनोपरामर्श सेवा तथा कानुनी उपचारका लागि नेपाल सरकारद्वारा विभिन्न कानुनी संरचनागत र संस्थागत प्रयास भइरहेका छन्”, सन्देशमा मन्त्री सुडीले भन्नुभएको छ । रासस

  • ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

    ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

    २० भदौ, काठमाडौं ।
    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्।

    यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् ।

    न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा यो कदमले अमेरिकी सेनाको शक्ति र कडाइको बारेमा जनतालाई स्पष्ट सन्देश दिनेछ।

    तर, मन्त्रालयको नाम आधिकारिक रूपमा बदल्न अमेरिकी संसद (कङ्ग्रेस) बाट कानुन पास हुनु आवश्यक छ।

    न्यूज एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको ‘डिपार्टमेन्ट अफ डिफेन्स’लाई सन् १९४९ सम्म ‘वार डिपार्टमेन्ट’ नै भनिन्थ्यो।

    दोस्रो विश्वयुद्धपछि कङ्ग्रेसले सेना, नौसेना र वायुसेनालाई एकै संरचनामा ल्याएर नयाँ ढाँचा बनाएको थियो।

    इतिहासकारहरूको भनाइअनुसार, त्यसबेलाको नाम परिवर्तनको मुख्य कारण मध्ये एक थियो- परमाणु युगमा विश्वलाई अमेरिका आफ्नो उद्देश्य युद्ध गर्नु नभएर युद्ध रोक्नु रहेको सन्देश दिन चाहन्थ्यो ।

    एनबीसी न्यूजले पनि ह्वाइटहाउसका अधिकारीकारीहरूलाई उद्धृत गर्दै शुक्रबार ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने उल्लेख गरेको छ ।

    ह्वाइट हाउसका अनुसार, कानुनी प्रक्रियाका कारण तत्काल नाम परिवर्तन नभए पनि यसले रक्षा मन्त्री पीट हेगसेथलाई ‘सेक्रेटरी अफ वार’ (युद्ध मन्त्री’ र ‘डिपार्टमेन्ट अफ वार’ जस्ता दोस्रो शीर्षकहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सन्देश र औपचारिक समारोहहरूमा प्रयोग गर्न अधिकार दिनेछ ।

    ट्रम्पले सबै कार्यकारी मन्त्रालय र निकायहरूलाई आन्तरिक र बाह्य सञ्चारमा यी दोस्रो शीर्षकहरूलाई ‘मान्यता दिन र समायोजन गर्न’ निर्देशन दिनेछन्।

    अमेरिकी कांग्रेसले यसलाई सन् १७८९ मा युद्ध मन्त्रालयको रूपमा स्थापना गरेको थियो । राष्ट्रपति ह्यारी ट्रुम्यानले १९४७ मा राष्ट्रिय सुरक्षा ऐनमा हस्ताक्षर गरेर युद्ध मन्त्रालयलाई ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ मा परिवर्तन गरेका थिए।

    यस ऐनले सबै सैन्य सेवाहरूलाई एकै सचिवको नेतृत्वमा एकीकृत संगठनमा ल्याएको थियो। त्यसअघि, युद्ध मन्त्रालय, नौसेना र वायुसेना अलग–अलग सञ्चालन भइरहेका थिए।

    ट्रम्प किन चाहन्छन् पछि फर्कन ?

    सन् १९४९ मा, राष्ट्रिय सुरक्षा ऐन संशोधन गरी ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ को नाम परिवर्तन गरेर ‘डिपार्टमेन्ट अफ डिफेन्स’ (रक्षा मन्त्रालय) राखिएको थियो। कारण, यसको संक्षिप्त रूप (एनएमई) ‘ईनमी’ (शत्रु) जस्तै सुनिन्थ्यो भन्ने चिन्ता थियो।

    ट्रम्पको आदेशले हेगसेथलाई नामलाई स्थायी रूपमा ‘युद्ध मन्त्रालय’ मा फर्काउनका लागि विधायिकी र कार्यकारी कार्यबाहीहरूको सिफारिस गर्न निर्देशन दिनेछ।

    ट्रम्पले केही महिनादेखि नै यो नामलाई १८औं शताब्दीको स्वरूपमा फर्काउन चाहेको संकेत दिइरहेका थिए। उनले हालको नामलाई पर्याप्त ‘युद्धमुखी’ नभएको भन्दै आलोचना गरेका थिए।

    पछिल्लो महिनामा ओभल अफिसमा उनले भनेका थिए, ‘युद्ध मन्त्रालयको ध्वनि बलियो थियो र यससँग विश्वयुद्ध प्रथम र द्वितीयमा अमेरिकाले जितेको अद्भुत इतिहास जोडिएको छ।’

    उनले थपेका थिए, ‘म केवल रक्षा मात्रै चाहन्नँ। हामीलाई रक्षा चाहिन्छ, तर आक्रमण पनि चाहिन्छ, युद्ध मन्त्रालय हुँदा हामीले सबै जितेका थियौं।’

    रक्षामन्त्री हेगसेथलाई ट्रम्पले पहिले नै ‘युद्ध मन्त्री’ भनेर सम्बोधन गरेका थिए । उनी पनि नाम परिवर्तनको बलिया समर्थक हुन्।

    उनले गत महिना मन्त्रिपरिषद् बैठकमा यसले मन्त्रालयभित्र ‘योद्धा भाव’ बलियो बनाउन मद्दत गर्ने बताएका थिए ।

    बिहीबार साँझ जर्जियाको फोर्ट बेनिङ भ्रमणपछि वासिङ्टन फर्किँदै गर्दा हेगसेथले नयाँ नामबारे संकेत दिएका थिए।

    ‘युद्ध मन्त्रालयसँगै यात्रा गर्नुभएकोमा धन्यवाद,’ उनले आफूसँगै रहेका पत्रकारहरूलाई भने।

    (एजेन्सीहरूको सहयोगमा)

  • सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    २० भदौ, काठमाडौं ।
    सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातिमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् ।

    प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

  • अफगानिस्तानमा फेरि भूकम्प

    अफगानिस्तानमा फेरि भूकम्प

    २० भदौ, काठमाडौं ।
    अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो ।

    यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ।

    बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८:५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।

    यद्यपि, बिहीबार रातिको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन। तर, स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।

    संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा अहिलेसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्याङ्क २५ वटा गाउँबाट आएको प्रतिवेदनमा आधारित छन्।

  • व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन

    व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन

    चितवन, भदौ २० –
    व्यवसायीक किट बिकास केन्द्र भण्डाराले कन्य च्याउको बीउ उत्पादन सुरुआत गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बीउ उत्पादन गर्न लागेको हो ।

    कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार यस आर्थिक वर्षमा व्याबसायीक च्याउखेती गर्ने किसानलाई बिउ पु¥याउने गरि च्याउको बिउ उत्पादन गर्न लागिएको हो । २५० ग्रामका च्याउका बिउका पोका उत्पादन गर्न लागिएको छ । बजारमा भन्दा सस्तो र स्तरीय बीउ उत्पादन गरेर किसानकोमा पु¥याउन लागिएको हो । एउटा पोकाको च्याउको बीउको मूल्य रु ३५ पर्ने गर्दछ । वजारमा दुई सय ग्रामको बिउलाई रु ३५ पर्ने गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “कृषि प्राबिधिकको निगरानीमा उत्पादन गरिएको बीउ भएकाले अन्य बीउ भन्दा गुणस्तरीय हुन्छ ।” किसानको आबश्यकता अनुसार बीउ उत्पादन बढाउँदै लगिने उहाँले जानकारी दिनुभयो । अहिले सम्म १ हजार २०० पोका बिउ उत्पादन गरि बिक्रिका लागि तयारी गरिएको छ । यस कार्यालयले च्याउको बीउ बिगत चार वर्ष देखि उत्पादन गर्दै आएको छ ।

    यस कार्यालयले रेशम खेतीका लागि किम्बु, फलफूल तथा आलङ्कारिक विरुवाको बेर्ना उत्पादन, रेशम खेती विकास, किम्बु बगैंचा व्यवस्थापन तथा किम्बुको मातृ श्रोतको संरक्षण र वृद्धि विकास, रेशम खेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्दै आएको छ । यस्तै विभिन्न प्रजातिका च्याउहरुको उत्पादन प्रविधि प्रदर्शनी, च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गरी प्रसार गर्ने, निजी क्षेत्रका प्रयोगशाला मार्फत उत्पादन हुने च्याउ बीउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्ने लगाएतका कामहरु गर्दै आएको छ ।रासस

     

  • आजको मौसम :  यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ भदौ २०
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

    बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

    एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

    काठमाडौं,भदौ २०

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट सुरु हुँदै छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्नेछन् ।

    महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ आयोजना हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ ।

    प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तरर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र रहेको छ ।

  • आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल भाद्र २० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी, ४९ घडी ४९ पला, रातको १ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण, ४३ घडी ४९ पला, बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त धनिष्ठा । योग–शोभन, २१ घडी ३६ पला, दिउसो २ बजेर २३ मिनेट उप्रान्त अतिगण्ड । करण–कौलव, दिउसो १ बजेर ५० मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर । प्रदोष व्रत। मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २५ पला ।

    बिहान ४ बजेर ९ मिनेटदेखि बिहान ४ बजेर ४७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । अनावश्यक साइनो गाँस्ने तथा बचन दिनेहरूबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीतिज्ञ तथा उच्च पदमा बसेकाहरूको आलोचना बढ्नेछ । तर पनि पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) औद्योगिक क्षेत्र तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजाँदा वा अल्छी गर्नाले नतिजा अरूले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तर पनि असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला,बलजफती गर्दा समस्या आउन सक्छ । बन्धु बान्धवहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरू सहजै समाधान हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।