Blog

  • एमालेको ६८ जिल्लामा आफ्नै भवन

    एमालेको ६८ जिल्लामा आफ्नै भवन

    २२ भदौ, काठमाडौं ।
    नेकपा एमालेले देशभरका ६८ जिल्लामा पार्टी कार्यालयका आफ्नै भवन रहेको जनाएको छ । ९ वटा जिल्लामा भने आफ्नै भवन नरहेको एमालेले भनेको छ ।

    ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।’

    प्रतिवेदन अनुसार जिल्ला कमिटीहरूमध्ये पार्टी स्वामित्वको भवन नहुनेहरूमा भोजपुर, रूपन्देही, बाग्लुङ, मुस्ताङ, मनाङ, काठमाडौं, भक्तपुर, रसुवा र डोल्पा गरी ९ जिल्ला छन् ।

    नयाँ जिल्ला पूर्वीरुकुम र नवलपुरले पनि आफ्नै भवन बनाइसकेका छन् । रूपन्देही, बाग्लुङ, भोजपुर जिल्लाको जमिन छ तर हाल आफ्नै स्वामित्वको कार्यालय भवन छैन ।

    सल्यान र डडेल्धुरा जिल्लाको भवन र जमिन दुबै छन् तर पार्टीको नाममा छैनन् । पश्चिम रुकुम र जाजरकोटमा पार्टी भवन छन् तर भूकम्पको कारणले जिर्ण भएका एमालेले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    महानगर उपमहानगरहरूमध्ये धरान र इटहरी उपमहानगरपालिका कमिटीका आफ्नै व्यवस्थित भवनहरू छन्, जहाँ पार्टी कार्यालयहरू रहेका छन् । पालिका तहमा अरू धेरै कमिटीका जमिन र कार्यालय भएको तर आयोगको जानकारीमा नरहेको प्रतिवेदनमा उल्लेख छ ।

    लेखा आयोगको प्रतिवेदन अनुसार जनसंगठनहरूमा जिफन्ट सँग मात्र आफ्नो स्वामित्वको भवन छ । पेशागत महासंघ, नेपालको पनि विगतमा आफ्नै भवन रहेकोमा अहिले विभाजित भएर जानेहरूले प्रयोग गरिरहेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

  • विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

    विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

    जलेश्वर (महोत्तरी),भदौः२२ –
    महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

    बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताउनुभयो ।

    गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताउनुभयो ।रासस

     

  • इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

    इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

    भक्तपुर, भदौ २२-
    इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा अर्थात् इन्द्र दहमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

    इन्द्र जात्राको दिन शनिबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पु¥याएर तान्त्रिक विधिपूर्वक पूजागरी दिपावली गर्दै रातभर मेला सुरु गरिएको हो ।

    आज बिहानै इन्द्र दह अर्थात् सिद्धपोखरीमा स्नानगरी इन्द्रको पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । सिद्धपोखरी निर्माण गराइ देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रुपमा लिने भएकाले स्थानीयले यस पोखरीमा स्नानगरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।

    भक्तपुरका अधिकांश स्थानीयको कुलदेवतासमेत रहेको सिद्धपोखरी परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् ।

    यस पोखरीमा वासुकी नाग रहेकोसमेत जनविश्वास रहँदै आएको छ । त्यसैले पनि पोखरीमा वासुकी नागलाईसमेत पूजा गरिन्छ । जल वृष्टिका लागि तान्त्रिक विधिअनुरुप वासुकी नागको पूजा गर्ने प्रचलन रहँदै आएको छ । आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

    भक्तपुरका इतिहासविद् एवं संस्कृतविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दहसमेत रहन गएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्द्रलाई वर्षात् र युद्धको देवताका रुपमा मानिने चलन रहेको छ, भगवान् कृष्ण र इन्द्रको द्वन्द्वमा कृष्ण जनताका पक्षमा रहेको र इन्द्र राजाका पक्षमा रहेको देखाएको छ ।”

    कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड आँैलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा पनि यो जात्रा मनाइने गरेको उहाँको भनाइ छ । राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने गरेको उहाँले बताउनुभयो ।रासस

  • पर्वतमा दुई दशकदेखि वायुऊर्जा आयोजना अलपत्र

    पर्वतमा दुई दशकदेखि वायुऊर्जा आयोजना अलपत्र

    पर्वत, भदौ २२-
    झण्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

    महाशिला गाउँपालिका–६ फलामखानीमा करोडाँै रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायुऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।

    लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायुऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र विसं २०६३ मा तीन वर्षपछि नै बन्द भएको थियो ।

    ‘टिटिबिजी’ नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायुऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु उर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिनुभयो । त्यसमा भएको लगानी पनि डुबेको उहाँको भनाइ छ ।

    फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिकमात्रामा हावा लाग्ने भएकाले उक्त वायुऊर्जा स्थापना गरिएको थियो । वायुऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा,लगायत सयाँै घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताउनुभयो ।

    त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनःपरीक्षण गरी अगाडि बढाउन सकिने उहाँले बताउनुभयो ।

    उक्त योजनाबाट पुनःविद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हँुदै आएको थियो । वायुऊर्जा आयोजना पुनर्निर्माण गर्नसकेमा फलमखानी करिब ३०० घरधुरी र छिमेकी वडा भँगरा तथा पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।

    गाउँपालिकाले उक्त वायुऊर्जा आयोजनाकाबारेमा विस्तृत अध्ययन गरी पुनःसञ्चालन कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने बताउनुभयो । रासस

  • ललितपुरको न्हु: पोखरीको जग्गा मिचेर बनाइएका घर महानगरले भत्कायो

    ललितपुरको न्हु: पोखरीको जग्गा मिचेर बनाइएका घर महानगरले भत्कायो

    २२ भदौ, काठमाडौं ।
    ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हु: पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै भत्काएको छ । महानगरपालिकाले आइतवार पोखरीको उत्तरतर्फ रहेका भवनहरु डोजर लगाएर भत्काएको हो ।

    न्हु: पोखरीको उत्तरपूर्व भाग मिचेर बनाइएको भवन वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।

    महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगर आफैंले संरचना भत्काएको हो । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

    महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हु: पोखरीलाई महानगरपालिकाले पुन:निर्माण गर्न लागेको छ । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ ।

    वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महानगरपालिकासँग पटक–पटक छलफल गर्दा पनि निकास नदिएको आरोप बताए । यस सम्बन्धमा उच्च अदालतले अन्तरिम कारण देखाउ आदेश जारी गरेको तर महानगरपालिकाले त्यसको पालना नगरी संरचना भत्काएको उनले आरोप लगाए ।

    महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हु: पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैंले हटाएको हो ।

  • सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

    सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

    २२ भदौ, काठमाडौं ।
    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।

    सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ ।

    आजको बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा नराखेको बताइएको छ । सरकारमा सहभागी रहेका अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे आज छलफल भएको एक नेताले जानकारी दिए ।

    नेपालमा सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै सरकारले यही भदौ १९ गते फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादव लगायतले विचार राखेका थिए ।

    महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति आपत्ति प्रकट गरेपछि अन्य नेताहरुले समर्थनमा विचार राखेका थिए । महामन्त्री थापाले संयुक्त सरकारले निर्णय गर्नुअघि यस्ता मुद्धामा पार्टीभित्र छलफल हुनुपर्नेमा नभएको बताएका थिए ।

    बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल दर्ता नभएको सरकारलाई पहिले नै थाहा भएको तर यो बेला किन बन्द गर्नुपरेको भनी प्रश्न राखेका थिए । अभिव्यक्ति स्वतन्त्रताको विरोध दल कांग्रेस नभएको उल्लेख गर्दै नेताहरुले औपचारिक धारणा बाहिर ल्याउन नेतृत्वलाई सुझाव दिएका थिए ।

    अदालतको आदेशमा सरकारले निर्णय गरेको हो भने अन्य अदालती आदेशमा सरकार किन चुप रहेको भनी नेताहरुले प्रश्न उठाएका थिए । बैठकमा नेताहरुले राखेको धारणा बारे सहभागी एक नेताले भने, ‘अदालतको आदेशको आधारमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय हो भने अरु कतिपय आदेशलाई सरकारले सिरानी हालेको छ ।’

    अदालतले सामाजिक सञ्जाल नियमनलाई कानुन बनाउन भनेको आदेशलाई गलत व्याख्या गरिएको समेत नेताहरुले बताएका थिए । महामन्त्री थापाले कानुन बनाऊ भनेको विषय भएकाले संसदमा प्रक्रियामा गएको भए व्यापक बहसको अवस्था हुने बताएका थिए ।

    महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्नु अनुपयुक्त भएको हुँदा पार्टीले औपचारिक धारणा बनाउनुपर्ने बताएका थिए । नेताहरुले सामाजिक सञ्जाल नियन्त्रण नभई नियमन गर्नुपर्ने विचार राखेका थिए । ‘यो नियमन गर्ने कुरालाई निर्देशिका बनाएर यसरी झ्याप्प बन्द गर्ने कुरा स्विकार्य हुन सक्दैन । लाखौ मान्छेहरु सामाजिक संजालको प्रयोग गरिरहेका छन् । नागरिकलाई सामाजिक सञ्जालबाट वञ्चित गराउन मिल्दैन,’ बैठकमा नेताहरुको धारणा थियो, ‘यसैको माध्यमबाट व्यापार व्यवसायबाट आर्जन गरिरहेका छन् । सरकारले जनमत बुझ्नुपर्दछ ।’

  • भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    सिरहा, भदौ २२ –
    भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

    उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रु दुई लाख ८२ हजार ८०० बराबरको कपडा र रु दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य रु ५ लाख ३२ हजार ८०० बराबर रहेको छ ।

    सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।रासस

  • देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?

    देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?

    २२ भदौ, काठमाडौं ।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् ।

    शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए ।

    देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’ देउवाले कार्यक्रमका केही तस्वीरहरू पनि पोस्ट गरेका छन् ।

    त्यही पोस्टमा बालेनले लेखेका छन्, ‘ यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?’

    उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !’

    बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ ।

  • स्वास्थ्य बीमा :अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

    स्वास्थ्य बीमा :अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

    काभ्रेपलाञ्चोक, भदौ २२-
    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ ।

    पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई भदौदेखि सेवा सुरु गरेका थिए ।

    काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सञ्चालनका लागि अनुमति पाउने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी शुक्रबारदेखि सेवा सुरु गरेको जनाएको छ । आइतबारदेखि औपचारिक रूपमा नियमित सहज ढङ्गले सेवा दिइनेगरी आवश्यक सबै खालको व्यवस्थापन गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

    धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ ।

    गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुका रुपमा सूचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये सरकारको नियम लागू हुँदाका बखत मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका थिए । रासस

  • पातपतिङ्गरबाट जैविक मल उत्पादन

    पातपतिङ्गरबाट जैविक मल उत्पादन

    गण्डकी, भदौ २२ –
    प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन समूहले जङ्गलमा थुप्रिएका घाँस, पातपतिङ्गर र झाडी प्रयोगबाट जैविक मल उत्पादन गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो ।

    जलवायु परिवर्तनलाई स्थानीय अनुकूलन र वन वातावरण तथा जैविक विविधताको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई हरित रोजगार सृजना गरी आयआर्जन गर्ने लक्ष्यका साथ सुरु गरिएको उक्त उद्यमबाट यस वर्ष ३५ हजारभन्दा बढी किलो मल उत्पादन गरी बिक्रीका लागि बजारमा पठाउने तयारी भइरहेको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

    कौशीखेतीका लागि दुई र पाँच अन्य कृषि प्रयोजनमा २५ केजीको प्याकेजिङ गरिएको बताउँदै उहाँले भन्नुभयो, “सुरुको अवस्थामा वन पैदावारको मल प्रतिकेजी रु २५ र गड्यौले मलको रु ४० दर कायम गरिएको छ । मल उद्यमबाटै बिक्री पनि गरिँदै आएको छ ।”

    ‘एक वन एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत फागुनदेखि सुरु गरिएको जैविक मल उद्यम सञ्चालनमा हालसम्म १० लाखभन्दा बढी लगानी भइसकेको बताउँदै उहाँले वन पैदावार सङ्कलनमा मात्र रु तीन लाख ९० हजार लगानी भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सामुदायिक वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन केन्द्र स्थापना गरिएको लगभग ३० लाख केजी वन पैदावार सङ्कलन गर्दा सात हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका थिए । हरियो पातपतिङ्गरको प्रतिकेजी रु तीन र सुकेको प्रतिकेजी रु पाँचका दरले वन समूहले खरिद गरेको हो । जैविक मल प्रयोगले माटोको उर्वराशक्ति बढाउनुका साथै स्वस्थकर अग्यानिक उत्पादनमा जोड पुग्नेछ ।”

    वनजङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा कटिङ गरी सानो साइजको बनाएसँगै जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने बताउँदै उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र वातावरणमैत्री रहने विश्वास अध्यक्ष श्रेष्ठको छ ।

    गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको रिपोर्टअनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित गरेको छ । उत्पादित मलमा चिस्यान आठ दशमलव एक, पिएच ६।२, नाइट्रोजन १।३, फस्फोरस ०।५, पोटासियम ३।०३ र कार्वन २५।३४ प्रतिशत रेहको प्रयोगशालाको रिपोर्टमा उल्लेख रहेको समूहका सदस्य एवं कृषि प्राविधिक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कास्की डिभिजन वन कार्यालयद्वारा विभिन्न आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रु चार लाख ५० हजार विनियोजन भएको छभने गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालय कृषि पाठशाला सञ्चालनका लागि रु तीन लाख ५० प्राप्त भएको थियो ।

    अँधेरीकुनाको ग्रिन प्लाष्टिक टनेलमा गड्यौले मल उत्पादन भइरहेको छ । जसका लागि ९लिवर्ड० ले २५ हजार गड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणका लागि ब्लक, सिमेन्ट र प्याकेजिङ र सिलाउने मेसिनलगायत सामाग्री उपलब्ध गराएको उहाँको भनाइ छ ।

    कास्की डिभिजन वन कार्यालयबाट गत वर्ष जिल्लामा तृतीय भई पुरस्कृतसमेत भएको ८६ दशमलव ७५ हेक्टरमा पैmलिएको उक्त वन समूहमा हाल एक सय ९२ घरपरिवार उपभोक्ता रहेका छन् । समूहका उपभोक्तालाई परिचालन गरेर अहिले मल चाल्ने काम भइरहेको छ ।

    समूहकी सदस्य विष्णु कुमालका अनुसार दिनभरि काम गर्नेले रु एक हजार ५०० सम्म र फुर्सदको समयमा आउने गृहणीले पनि कम्तीमा रु पाँच सय आम्दानी गरेका थिए । समूहले नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित विनयी सामुदायिक वन समूहले उत्पादन गरेको जैविक मल उद्यमको स्थलगत अध्ययनपश्चात मल उत्पादन कार्यलाई अघि बढाएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले सो मल उद्यमको स्थलगत अध्ययन गर्दै रोजगार सृजना एवं वन क्षेत्रमा थुप्रिएको ज्वलनशील पदार्थका कारण डढेलोको प्रकोप न्यूनीकरणमा समेत उद्यम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

    रासायनिक मलको आयातलाई कम गर्नुका साथै प्राकृतिक स्रोतलाई स्थानीय रोजगारी सृजना गर्दै आयआर्जनमा टेवा पुग्ने उद्यमलाई तीनै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता कामको अन्य सामुदायिक वन समूहले पनि अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राकृतिक स्रोतलाई भरपुर उपयोग गरी मुलुक र जनताको समृद्धिसँग जोड्नुपर्नेमा उहाँको जोड थियो ।

    गण्डकी प्रदेश नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि नै जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन् । वन समूहको अधिकारका लागि पैरवी गर्दै आएको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले विभिन्न दातृराष्ट्रको सहयोगमा सञ्चालित परियोजनाहरू यस्ता उद्यमसँग जोडिनुपर्ने अपरिहार्य रहेको सम्बन्धित विज्ञहरूको धारणा रहेको छ ।रासस