ललितपुरको न्हु: पोखरीको जग्गा मिचेर बनाइएका घर महानगरले भत्कायो

२२ भदौ, काठमाडौं ।
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हु: पोखरीको डिलमा रहेका संरचना अवैध भएको भन्दै भत्काएको छ । महानगरपालिकाले आइतवार पोखरीको उत्तरतर्फ रहेका भवनहरु डोजर लगाएर भत्काएको हो ।

न्हु: पोखरीको उत्तरपूर्व भाग मिचेर बनाइएको भवन वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।

महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगर आफैंले संरचना भत्काएको हो । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हु: पोखरीलाई महानगरपालिकाले पुन:निर्माण गर्न लागेको छ । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ ।

वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महानगरपालिकासँग पटक–पटक छलफल गर्दा पनि निकास नदिएको आरोप बताए । यस सम्बन्धमा उच्च अदालतले अन्तरिम कारण देखाउ आदेश जारी गरेको तर महानगरपालिकाले त्यसको पालना नगरी संरचना भत्काएको उनले आरोप लगाए ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हु: पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैंले हटाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *