Blog

  • ६ महिनापछि छलफल अघि बढ्दै नेपाल प्रहरी विधेयक

    ६ महिनापछि छलफल अघि बढ्दै नेपाल प्रहरी विधेयक

    २२ भदौ, काठमाडौं ।
    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल अघि बढाउँदैछ ।

    यसका निम्ति सोमबार बिहान ११ बजे समितिको बैठक राखेको छ । जहाँ विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग छलफल हुनेछ ।

    यो विधेयकमा ५१ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

    प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरुलाई सच्याउनुपर्ने भन्दै सांसद् मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश जवाल, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, जनार्दन शर्मा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

    २०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्ने गरी दर्ता विधेयकका केही प्रावधानहरुमा प्रहरी प्रधान कार्यालय नक्सालसँगै पूर्वप्रहरी वरिष्ठ अधिकृतहरुको असन्तुष्टि छ । त्यसलाई लिएर पूर्वप्रहरी उच्च अधिकृतहरुले हालै सबै राजनीतिक दलका सांसद्हरुसँग छलफल समेत गरेका छन् ।

    संघीयता कार्यान्वयनसँग जोडिएको नेपाल प्रहरी विधेयक ११ फागुन २०८१ अर्थात् ६ महिनादेखि यो समितिमा छ । समितिमा पुगेको ६ महिनापछि छलफलमा अघि बढ्न लागेको हो ।

  • बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ, काठमाडौं ल्याइयो

    बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ, काठमाडौं ल्याइयो

    २२ भदौ, काठमाडौं ।
    बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ परेर काठमाडौं ल्याइएको छ ।

    स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोग मा उनीहरुलाई काठमाडौं ल्याएको हो ।

    १२ साउनका राति राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो ।

    काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्नहरुलाई भारतमा पक्राउ परेर काठमाडौं ल्याएको हो । यसमा संलग्न तीन जनालाई दिल्लीबाट काठमाडौं ल्याइएको जानकारी दियो ।

  • एमाले विधान महाधिवेशन : सांसद कतिपटक बन्न पाउने तय गर्न प्रस्ताव

    एमाले विधान महाधिवेशन : सांसद कतिपटक बन्न पाउने तय गर्न प्रस्ताव

    २२ भदौ, काठमाडौं
    नेकपा एमालेका विधान महाधिवेशन प्रतिनिधिहरूले संघीय सांसद र प्रदेश सांसउद कतिपटक बन्न पाउने हो तय हुनपर्ने बताएका छन् । यसलाई पार्टीको विधानमै राखेर जानुपर्ने उनीहरूको सुझाव छ ।

    पार्टीमा उपाध्यक्षहरूको भूमिका समेत प्रष्ट्याउन आवश्यक रहेको प्रस्ताव प्रतिनिधिहरूले राखेका छन् । पदका लागि पद दिए जस्तो गर्ने र भूमिका नहुने हो भने त्यसको अर्थ नरहने उनीहरूको सुझाव छ ।

    राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख भएका व्यक्तिले पुन: राजनीति गर्न पाउने वा नपाउने भन्ने विषयलाई विधानमै प्रष्ट गर्नुपर्ने विषयमा पनि विधान महाधिवेशन प्रतिनिधिहरू रहेका छन् । तर, त्यस्ता व्यक्तिहरूको राजनीतिक सक्रियता ठीक हो वा होइन भन्नेमा भने विभाजित छन् ।

    जिल्ला कमिटीलाई समन्वयकारी बनाउनुपर्ने, महिला र दलितको प्रतिनिधित्व पार्टी कमिटीको पदाधिकारीमा सुनिश्चित गरिनुपर्ने लगायतका विषय समेत उठेका छन् । अनुशासनको परिभाषा र प्रयोगको विषय पनि उठेको छ ।

    ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।

    शनिवार १० वटा समूहमा भएको छलफल आज समूह नेताले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपद्धि प्रस्ताव र प्रतिवेदनहरू संशोधनसहित पारित हुनेछ र आजै विधान महाधिवेशन सकिनेछ ।

  • सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी, १६ सय बढ्यो

    सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी, १६ सय बढ्यो

    २२ भदौ, काठमाडौं ।
    सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।

    अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

    चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

  • सरकारले यस वर्ष भेटेन पुरस्कार पाउनलायक कर्मचारी

    सरकारले यस वर्ष भेटेन पुरस्कार पाउनलायक कर्मचारी

    २२ भदौ, काठमाडौं ।
    सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन ।

    तर, अघिल्लो वर्ष छानिएका कर्मचारीहरुलाई भने यस वर्ष पुरस्कार प्रदान गरिएको छ ।

    सरकारले भदौ २२ गतेको दिन मनाइने निजामती सेवा दिवसको उपलक्ष्यमा एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो । वर्षभरमा राम्रो काम गरेका कर्मचारीहरुको मूल्याङ्कनको आधारमा कर्मचारीहरु छनौट गरिन्थ्यो ।

    दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले २०७३ सालपछि कसैलाई पनि दिएको छैन । पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन ।

    तर एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती र ५० हजार रुपैयाँ राशिको निजामती पुरस्कार पाउने कर्मचारीहरुको नामावली भने हरेक वर्ष सार्वजनिक हुन्थ्यो । पुरस्कार पाउने कर्मचारीहरुको नामावली गोरखापत्र दैनिकमा छापिन्थ्यो । तर यसपटक त्यो नामावली सार्वजनिक भएको छैन ।

    नेपाल पुलिस क्लबमा जारी निजामती सेवा दिवस मूल समारोहमा मुख्य सचिव एकनारायण अर्यालले विगतको वर्षजस्तै यस वर्ष पनि पुरस्कार पाउनेहरुको नामावली छिट्टै घोषणा गर्ने बताए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि यस वर्ष पुरस्कार घोषणा नगरिएको बताए । तर त्यसको कारण खुलाउन भने उनले चाहेनन् ।

    पोहोरसाल छनोट गरिएका कर्मचारीहरुलाई भने उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको हातबाट यस वर्ष पुरस्कार वितरण गरिएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिए पनि उनी विधान महाधिवेशनमा व्यस्त भएकाले उपप्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रुपमा सहभागी छन् ।

  • आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

    आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

    २२ भदौ, भादगाउँ (भक्तपुर) ।
    आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ ।

    यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

    दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छभने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जनाभन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ्याएको व्यक्ति धेरै भएमा एक जनाभन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।

    यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात् रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोहीअनुसार वीरेन्द्रभक्तले गत वर्ष पनि जिब्रो छेडाएर काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरिने भएको छ ।

    सोहीअनुसार वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताए ।

    जात्राको परम्पराअनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोहीअनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको हो । त्यसपछि बालकुमारी शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु, दरबार स्क्वायर, सुकुलढोका, दत्तात्रय मन्दिर, नवदुर्गा द्योछेँसम्म, सोही रुट फर्की टौमढी पाँचतले मन्दिर, वंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, निगुपुखु हुँदै बालकुमारीमा पुगेर जात्रा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    वीरेन्द्रभक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएका हुन् । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जीवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन् । उनले दोस्रोपटक २०७९ मा जिब्रो छेडाएका थिए भने तेस्रोपटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

    थिमिको इतिहास, परम्परा र संस्कृतिलाई जीवन्त राख्न आफूले जिब्रो छेड्न तयार भएको वीरेन्द्रभक्तले बताए । ‘मध्यपुरथिमि जीवन्त कला, संस्कृतिको धरोहर हो । यहाँको यही धरोहरलाई विश्वसामु चिनाउन जिब्रो छेडाउन तयार भएको हुँ । यसले मध्यपुरथिमिको पहिचान दिलाउन सफल हुन्छ भन्ने विश्वास लिएको छु’, उनले भने । उनले गत वर्ष पशुपतिनाथको दर्शन गरेको र यस वर्ष दत्तायत्र र नवदुर्गाको दर्शन गर्ने इच्छा भएकाले भक्तपुर जाने निधो गरेको बताए ।

    जात्रा सञ्चालनका लागि एक महिनाअघि नै कमीनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने गरिन्छ । सुइरो निर्माणका लागि जिब्रो छेडाउने व्यक्तिले एक महिनाअघि कुखुराको रातो भालेसहित कमीनायोलाई सुइरो बनाउन आग्रह गर्नुपर्छ ।

    जात्राका लागि राजदरबारको प्रतिनिधिका रूपमा काठमाडौँको हनुमानढोका दरबारबाट राजखड्गसमेत ल्याइने थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठले बताए । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरिन्छ । जात्राका लागि आठ दिनअघि भालेसहितको बलि पूजा गरी द्य सालेगु पूजा गरी भोज खानुपर्ने परम्परा छ । जात्राको अघिल्लो दिन पनि छोय्ला ब्व भ्वये खानुपर्ने प्रचलन छ ।

    जात्रा सुरु हुनुअघि जिब्रो छेडाउने व्यक्ति बाजागाजासहित थिमिका सबै देवीदेवताका मन्दिर पुगेर बत्ती दिइन्छ । त्यससँगै जिब्रो छेड्ने कमीनायो, राजखड्गसहित पमानायोलाई बाजागाजासहित ससम्मान डबलीमा ल्याइन्छ । सबै विधि पूरा भएप्छि जिब्रो छेड्न तयार भएका व्यक्तिलाई परम्परागत पोशाकमा दिगु भैरव ल्याइन्छ । दिगु भैरवबाट डबलीसम्म उल्टो हिँडाएर मञ्चमा लगिन्छ र उपस्थित हजारौँका सामुन्ने कमीनायोले पमानायोका आदेशमा जिब्रो छेडिदिन्छ ।

    त्यसपछि सबैको जयजयकार गर्दै जिब्रो छेडाएका व्यक्ति दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्रकारको महादीप ‘भ्ये’ काँधमा बोकेर नगर परिक्रमाका लागि निस्कन्छ । उपस्थित सर्वसाधारण पनि जिब्रो छेडाएको व्यक्तिको पछिपछि जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्कन्छन् ।

    नगर परिक्रमा गर्दा सायमी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता पनि अघिअघि लगिन्छ । जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको नगर परिक्रमा पनि अन्तिममा बालकुमारी परिसरमा पुगेपछि पमानायोले सुइरो झिकेर बालकुमारी मन्दिरमा ठोकिदिन्छ र जिब्रोको घाउमा बालकुमारीको माटो हालिदिन्छ र जात्रा सम्पन्न हुन्छ । त्यसपछि घरमा पुगेर भोज खाने प्रचलन छ ।

    यस वर्ष जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतको उपस्थिति रहने मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    इन्द्रदहमा भक्तजनको घुइँचो

    भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी)मा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्छ ।

    इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउन रातभर त्यही राख्ने परम्परा छ । सोहीअनुसार शुक्रबार साँझ इन्द्रायणी देवीलाई इन्द्रदह पुर्‍याइएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्न आज भक्तजनको भीड लागेको हो ।

    देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रूपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रूपमा समेत लिने गरेका छन् । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरे ठूलो पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख, समृद्धि मिल्ने जनविश्वास छ । इन्द्रदहमा वासुकी नागको बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएका बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।

    इन्द्रदह परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरू रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

  • आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव

    आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव

    काठमाडौँ  २२ भदौ 
    आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

    ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।

    के गर्नुहुँदैन ?

    धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ। आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। चन्द्रग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य गर्न निषेध गरिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।

    धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ–

    निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।

    पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।

    अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।

    वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।

    अर्थात् सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ ।

    वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।

    फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।

  • मनसुनसँगै आसपासको निम्नचापीय क्षेत्रको प्रभाव : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनसँगै आसपासको निम्नचापीय क्षेत्रको प्रभाव : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ,२२ भदौ
    हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ।

    जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

  • आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    वि.सं. २०८२ साल भाद्र २२ गते । आइतबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा, ४५ घडी ९ पला, बेलुकी ११ बजेर ४९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–शतभिषा, ४२ घडी ५३ पला, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सुकर्मा, १३ घडी ३० पला, बिहान ११ बजेर ९ मिनेट उप्रान्त धृति । करण–भद्रा, दिउसो १२ बजेर २७ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १६ मिनेट । दिनमान ३१ घडी १७ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमि, शेयर बजार, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नु पूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथीसङ्गी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।
    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा सहपाठीहरूलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ भने शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घटनाहरू हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यावसायिक गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् ।

    तपाईँको दिन शुभ रहोस् ।

     

  • व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

    व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

    काठमाडौँ, २१ भदौ : 
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताउनुभएको छ ।
    आज नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।”
    यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गर्नुभयो । उहाँले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, “कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।”
    कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राख्नुभएको थियो ।