Blog

  • जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरले राखिदियो घुम्ती शौचालय

    जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरले राखिदियो घुम्ती शौचालय

    २३ भदौ, काठमाडौं ।
    जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।

    सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

    अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

    उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् ।

    म राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

    ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

    सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

    प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

    उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।

    जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

  • हरिवंशले भने- ‘उमेर पुगेकाहरूले अब युवालाई हस्तान्तरण गर्नुहोस्’

    हरिवंशले भने- ‘उमेर पुगेकाहरूले अब युवालाई हस्तान्तरण गर्नुहोस्’

    २३ भदौ, काठमाडौं ।
    अव्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् ।

    आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना देखाएका छन् ।

    उनले यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको उल्लेख गर्दै उनले जेनजीले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभइ व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीमाथी भएको उल्लेख छ ।

    ‘आज उठेको आवाज कुनै व्यवस्था विरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रश्न हो । जनताले तपाईंहरु बाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ’ कलाकार आचार्यले भने ।

    उनले लेखेका छन् :

    मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रस्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कस्को ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रस्न गरेका । आज उठेको आवाज कुनै व्यवस्था बिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रस्न हो । जनताले तपाईंहरु बाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।

  • जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक छ : एमाले नेता खड्का

    जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक छ : एमाले नेता खड्का

    २३ भदौ, काठमाडौं ।
    नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा नेता रचना खड्काले जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको बताएकी छन् ।
    सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् ।

    उनले लेखेकी छन्, ‘प्रिय जेनजी हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा हामी भन्ने गर्दथ्यौं – हामीभन्दा पछिल्लो पुस्ताले निरंकुश शासन व्यवस्थाविरुद्ध लड्नु नपरोस् । जन्मँदै प्रजा भएर जन्मन नपरोस् । नभन्दै तपाईंहरूको पुस्ता यसमा लड्नु परेन ।’

    तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य नरहेको उनले उल्लेख गरेकी छन् । अगाडि लेख्छिन, ‘तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य हैन । यो राजनीतिक व्यवस्थालाई न्याय, समानता, शुसाशन, समुन्नत नेपाल र राष्ट्रिय स्वाभीमान अर्थात ‘परिपूर्ण लोकतन्त्र’ सहितको बनाउने एजेन्डा अब हाम्रो साझा एजेन्डा हुनुपर्दछ ।’

    यी विषयमा जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको उनको बुझाइ छ ।

    ‘तपाईंहरूको पुस्ताले यस्ता मुद्दाहरूमा आफ्नो अभिमत जसरी प्रकट गरिरहनु भएको छ यो असाध्यै सकारात्मक छ,’ उनी लेख्छिन्, ‘आशा छ तपाईंहरूको यो चेतलाई कसैले पनि आफ्नो दलीय राजनीतिक उद्देश्य परिपूर्तिको माध्यम बनाउने छैनन् । तपाईंहरूको पुस्ताले यो परिपक्वता देखाउनेछ ।’

    अघिल्लो पुस्ताले पनि आफ्नो समयमा राज्यलाई खबरदारी गरेको उनले स्मरण गरेकी छन् । अगाडि लेख्छिन्, ‘जसरी आजको तपाईंहरूको उमेरमा हुँदा अघिल्ला पुस्ताहरूले पनि आफ्नो समय अनुसारको जिम्मेवारि सोही अनुसार पूरा गरेका थिए ।’

  • जेनजीको आन्दोलनलाई समर्थन गर्दै सोविता गौतमले भनिन् – दमन नगरियोस्

    जेनजीको आन्दोलनलाई समर्थन गर्दै सोविता गौतमले भनिन् – दमन नगरियोस्

    २३ भदौ, काठमाडौं ।
    प्रतिनिधि सभा सदस्य सोविता गौतमले नयाँ पुस्ता (जेनजी)को आन्दोलनलाई समर्थन गर्दै संवादमार्फत उनीहरुका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

    सांसद गौतमले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको गैरलोकतान्त्रिक निर्णयविरुद्ध उठेको यो आन्दोलन कुनै दल विशेषसँग सम्बन्धित नभइ ‘चेतनशील युवा पुस्ताको नागरिक गर्जन’ भएको उल्लेख गरेकी छन् ।

    उनले युवाहरूलाई शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्न आह्वान गर्दै गृह प्रशासन र सुरक्षाकर्मीलाई बल प्रयोग गरी दमन गर्ने नीति नलिन आग्रह गरेकी छिन् । ‘सडकमा उत्रिएका युवा कुनै पार्टीको झण्डा बोकेर आएका छैनन्, केवल नागरिक भएर आफ्नो पीडा, असन्तोष र आवाज लिएर आएका हुन् । लोकतन्त्रमा असन्तुष्टि पोख्न पाइन्छ। यसलाई दमन गर्ने प्रयास नगर्नुहोस् । यो स्वर अब केवल स्वर होइन, भविष्यको घोषणापत्र हो’, उनले भनेकी छन् ।

    गौतमले सरकारलाई युवाको आवाजलाई संवेदनशील भएर सुन्न, विश्वास जित्न र समाधान खोज्न संवाद गर्नुपर्ने सुझाव दिएकी छन् ।

    सांसद गौतमले आन्दोलनका क्रममा कुनै कानुनी समस्या आए आफू सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता गरेकी छन् ।

  • जेनजी प्रदर्शन : चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    जेनजी प्रदर्शन : चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    २३ भदौ, काठमाडौं ।
    जेनजीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

    सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहरा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    ‘संख्या यति नै भन्ने भन्दा पनि आवश्यकता अनुसार प्रहरी परिचालन गरेका छौं । प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागि परेको छ’ उनले  भने ।

    काठमाडौंका मुख्य चोकहरूमा नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । नयाँ बानेश्वर क्षेत्र लगायत निषेधित क्षेत्रजस्ता ठाउँहरुमा भने सशस्त्र प्रहरीलाई खटाइएको छ ।

    यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ ।

    जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।

    प्रहरी स्रोतका अनुसार माइतीघर क्षेत्रमा अहिले करिब ५ सयको हाराहारीमा जेनजीहरू उपस्थित भएका छन् । ११ बजेबाट प्रदर्शनका समय राखिएकाले आउनेक्रम जारी रहेको देखिन्छ ।

    सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण बताएका छन् ।

    जेनजीले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको थियो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षा समितिको बैठकमा सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । अहिले सोही अनुसार प्रहरी परिचालन भएको बताइएको छ ।

  • घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

    घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

    सिरहा, भदौः२३ –
    सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

    सूचना अधिकारी पासवानले भन्नुभयो ,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ ।।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।रासस

  • बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’ (तस्वीरहरू)

    बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’ (तस्वीरहरू)

    २३ भदौं बुटवल ।
    सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

    बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।

    प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।

    काठमाडौंको माइतीघरमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् । काठमाडौं बाहिर अन्य स्थानमा पनि प्रदर्शन गरिरहेका छन् ।

  • माइतीघरको जेनजी प्रदर्शनमा बढ्दै भिड

    माइतीघरको जेनजी प्रदर्शनमा बढ्दै भिड

    २३ भदौ, काठमाडौं ।
    सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ ।

    उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।

    राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

    ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

    सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

    प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

    उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।

    जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

  • यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    काठमाडौँ, भदौ २३-
    भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।

    समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उहाँले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

    यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

  • सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

    सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

    काठमाडौं,भदौ २३-
    सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन।’

    जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए। जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्।

    जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता शेखर कोइरालालेसमेत यो आन्दोलन जायज भएको बताएका छन्। यता राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू जेनजी पुस्ताले गर्ने प्रदर्शनमा सहभागी हुने बताएका छन्।