Blog

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल भाद्र २३ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा, ४१ घडी १७ पला, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाभाद्रपदा, ४० घडी ५३ पला, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–धृति, ८ घडी ७ पला, बिहान ९ बजेर १ मिनेट उप्रान्त शूल । करण–बालव, बिहान ११ बजेर ६ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ, बेलुकी ४ बजेर २१ मिनेट उप्रान्त मीन । सोह्र श्राद्ध प्रारम्भ । प्रतिपदा श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १३ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापार वा शेयर बजारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । साँझपख माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । साँझपख यात्राको योग रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार , शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाँडै रहनु नै बेस हुनेछ नजिकिँदा मनमुटाब हुनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

    आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

    काठमाडौँ भदौ २३
    आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।

    शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु-शिष्य लगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।

    कुन तिथिमा कसको श्राद्ध ?

    कसको श्राद्ध कुन तिथिमा गर्ने भन्ने कुरा पनि शास्त्रमा स्पष्ट गरिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात मातृ नवमीलाई उत्तम मानिन्छ । परिवारका पुर्खा वा बुबाले संन्यास लिएको अवस्थामा एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।

    श्राद्धका नियम

    श्राद्ध गर्ने दिनमा शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । मासु, लसुन-प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुन जस्ता तामसी भोजन वर्जित मानिन्छ । श्राद्धको दिन अरूको अन्न नखानु, ब्रस वा मलम प्रयोग नगरी दतिउनले दाँत माझ्नु, स्नान गरेर शुद्ध वेशभूषा अपनाउनु पर्ने शास्त्रीय नियम छ ।

    कस्ता अन्न प्रयोग नगर्ने ?

    महालय श्राद्धमा प्रसाद, पिण्ड आदिका निमित्त पाकेको अन्नको प्रयोग गर्नुपर्दछ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने ती अन्नहरू प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउन हुँदैन ।

    कस्ता रङका फूलहरु प्रयोग गर्ने

    पहेँलो सेतो फुलहरू चढाउनु पर्दछ । चन्दन चलाउँदा पहेँलो चलाउनु पर्दछ । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतीक हो । रातो चन्दन चढाउनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतीक हो ।

    पिण्ड र अन्नको परम्परा

    श्राद्धमा चामल, दूध, घिउ, चिनी मिसाएर पिण्ड चढाइन्छ । पिण्डको आकार श्राद्धको प्रकारअनुसार फरक हुने बताइन्छ-एकोदृष्टमा सरिफाको फल जत्रो, वार्षिकमा नरिवलको दाना जत्रो, तिर्थ श्राद्धमा अण्डा जत्रो आदि ।

    गरिब ब्राह्मणलाई भोजन

    श्राद्धमा मासु खाने, चोरी गर्ने वा अपवित्र कर्म गर्ने ब्राह्मणलाई बोलाउनु नहुने शास्त्रीय उल्लेख छ । शुद्ध, सात्त्विक ब्राह्मणलाई अन्न, फलफूल र दक्षिणा दिनुपर्छ भन्ने परम्परा छ ।

    श्राद्ध गर्न नसकिए कहिले गर्ने ?

    व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी, अथवा मङ्सिर भित्रै वैकल्पिक तिथि रोजेर गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख छ । तर पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्न सर्वोत्तम मानिन्छ ।

    शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्ने विश्वास छ । सोह्र श्राद्ध सकिए लगत्तै दुर्गा पक्ष, दसैँ र तिहार जस्ता पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देव पूजा गर्नुपर्छ भन्ने परम्परा छ ।

  • सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

    काठमाडौं,भदौ २२

    सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत देशमा सञ्चालित सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई पुनः दर्ताका लागि आग्रह गरेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही डिजिटल वातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता रहेको जनाउँदै यस्तो आग्रह गरेको छ । यो आग्रह सर्वोच्च अदालतले अनलाइन र सामाजिक सञ्जालमा रहेका अवाञ्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्न दिएको निर्देशनपछि आएको सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले यही भदौ ९ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार यही भदौ १२ गते सार्वजनिक सूचना प्रकाशन गरी सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरणका लागि सात दिनको म्याद दिएको उल्लेख गरेको छ । सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय पार्ने प्रक्रिया सुरु गरिसकेको र दर्ता भएपछि तत्कालै पुनः सक्रिय गर्ने जनाएको छ ।

    यही भदौ २२ सम्ममा स्मार्ट आइडिया प्राइभेट लिमिटेड (हाम्रो पात्रो) र ग्लोबल डायरी प्राइभेट लिमिटेड दर्ता भई सक्रिय भइसकेका मन्त्रालयले जनाएको छ । यसबाहेक, ट्विटर (एक्स) र वीच्याट जस्ता सामाजिक सञ्जाललाई सूचीकरणका लागि मन्त्रालयले आवश्यक जानकारी उपलब्ध गराइसकेको प्रवक्ता ठाकुरको भनाई छ ।

    मन्त्रालयले विज्ञप्तिमार्फत नै सर्वसाधारणलाई प्रतिबन्धित प्लेटफर्ममा पहुँचका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल र इन्टरनेट सेवा प्रदायकमार्फत सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच रोकिसकेको जनाएको छ । असुरक्षित, अनधिकृत र जोखिमपूर्ण भीपीएन प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।

    सरकारले नेपालमा सञ्चालनमा रहेका तर हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुपालनको अनुगमन गर्ने अधिकारी तोकी सूचीकरणका लागि पुनः आह्वान गरेको हो । सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र दर्ता भएपछि तत्कालै पुनः सक्रिय गराइने पनि जानकारी गराएको छ ।

    मन्त्रालयले सरकारको यो निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारेको छ । मन्त्रालयले यो निर्णय कार्यान्वयनमा सहयोग पुऱ्याउन आम नागरिक र सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    दमौली (तनहुँ), २२ भदौः
    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले आज ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

  • सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

    सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

    काठमाडौँ, २२ भदौः 
    सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ ।
     सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो ।
    सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्कविन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकार भएकाहरूमा पुनः आग्रह गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेपश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा पुनः जानकारी गराइन्छ ।”
    सम्मानित सर्वोच्च अदालतको आदेश परिपालनाका लागि  समेत लागि यही भदौ ९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिकाबमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि यही भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
    तोकिएको समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
  • सञ्चार मन्त्रालयले भन्यो : भीपीएन प्रयोग नगर्नुहोला

    सञ्चार मन्त्रालयले भन्यो : भीपीएन प्रयोग नगर्नुहोला

    काठमाडौँ, २२ भदौ :
    नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र यसको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ।

    विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाललाई सूचीकृत हुन पटक-पटक आह्वान गरेको र सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि यो प्रक्रियालाई थप तीव्रता दिइएको उल्लेख छ।

    गत भदौ १२ गते ७ दिनभित्र सूचीकरणका लागि दिइएको सूचनाको समयसीमाभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराइएको मन्त्रालयले जनाएको छ।

  • देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

    देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

    पाटन (ललितपुर), २२ भदौः 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ ।
    ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताउनुभयो ।
    “राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरु विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
    “कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उहाँले भन्नुभयो ।
    सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान  नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ”, अध्यक्ष ओलीले  भन्नुभयो ।
    उहाँले असमानता कम गर्दै विभेद्लाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै छलफलसहित प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्नेगरी पार्टी अघि बढिरहेको स्पष्ट गर्नुभयो ।
  • मेट्स इन्टरनेशनल, चितवनको १७औँ  वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    चितवन भदौ २२
    मेट्स इन्टरनेशनल, चितवनले आज ७ सेप्टेम्बरका दिन आफ्नो १७औँ वार्षिकोत्सव विशेष उत्सवका साथ सम्पन्न गरेको छ।

    सन् २००८ को आजकै दिन (७ सेप्टेम्बर) मेट्स इन्टरनेशनलले आफ्नो तेस्रो शाखा चितवनको भरतपुर–नारायणगढमा स्थापना गर्दै सेवा सुरु गरेको थियो। त्यही अफिसमार्फत विगत १७ वर्षदेखि हजारौं विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्य निर्माणमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। विद्यार्थीहरूको विश्वास, परिश्रमी टिम र सहयोगी साझेदारहरूको साथले मेट्स इन्टरनेशनलले आजसम्मको सफल यात्रा तय गरेको छ।

    मेट्स इन्टरनेशनल नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकहरूमा आफ्नो सशक्त उपस्थिति कायम गर्दै आएको एक अग्रणी शैक्षिक परामर्श संस्था हो। हाल संस्थाका कार्यालयहरू नेपालका प्रमुख शहरहरूसँगै अष्ट्रेलिया, फिजी, फिलिपिन्स, भारत लगायतका देशहरूमा सञ्चालनमा छन्। यी कार्यालयमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षण संस्थामा भर्ना, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर तथा करियर काउन्सिलिङमा निरन्तर सहयोग पुर्‍याइँदै आएको छ।

    विगत १७ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा संलग्न मेट्स इन्टरनेशनलले हजारौं विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा अध्ययन र करियरमा सफलतापूर्वक अघि बढ्न मद्दत पुर्‍याएको छ। यस अवधिमा प्राप्त विश्वास, सफलता र अनुभवकै आधारमा मेट्स इन्टरनेशनल आज दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा विश्वसनीय शैक्षिक परामर्श संस्था मध्ये एकको रूपमा स्थापित भएको छ।

    यस यात्रालाई सम्भव बनाउन विद्यार्थी र अभिभावकको विश्वास, टिम सदस्यहरूको अथक परिश्रम, सञ्चार माध्यमको सहयोग, सहकर्मी तथा परिवारजनको निरन्तर समर्थनले महत्वपूर्ण भूमिका खेलेको छ।

    यस विशेष अवसरमा, मेट्स इन्टरनेशनल परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, टिम सदस्य, सञ्चार माध्यम, सहकर्मी तथा परिवारजनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

  • म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

    म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

    २२ भदौ, म्याग्दी ।
    गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।

    केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिए ।

    उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

    म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए।

    आव २०८०/८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिकटन आलु र रु २४ करोड बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन्।

    अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ।

    राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन्।

    सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन्।

    गत आर्थिक वर्षमा केन्द्रको रु ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिए ।

    खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।

    जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए।

  • बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

    बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

    २२ भदौ, काठमाडौं ।
    कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् ।

    मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । चौधरीले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि ललितपुर प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको थियो ।

    कुनै उजुरी नआएको, बालिका उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार क्षतिपूर्ति तिरसकेकोले चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाडेको हो ।

    नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।

    ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिंडेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना भएको थियो ।

    प्रदर्शन र आलोचना भएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो ।

    बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भएको थियो । उनलाई सामान्य चोट लागेको थियो ।