२३ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
Blog
-

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा
काठमाडौं,भदौ २४-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए । -

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
२४ भदौ, काठमाडौं ।
जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।
-

कलंकीमा गोली चल्यो
२४ भदौ, काठमाडौं ।
कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।
-

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
२४ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् ।
‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले अनलाइनखबरसँग भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् ।
‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।
उनले लेखेका छन्, ‘मैले पटक-पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ- सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने। तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’
संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् ।
‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ,’ उनले लेखेका छन् ।
‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्मा बसिरहनु मेरो लागि अब सम्भव रहेन,’ उनले भनेका छन् ।
अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ ।‘म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु,’ उनले लेखेका छन् ।
-

चितवनको भरतपुर र नारायगढ क्षेत्रमा कर्फ्यू आदेश
चितवन, भदौ २४-
चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार (आज) १२ बजेदेखि लागु हुनेगरी कफ्र्यू आदेश गरेको हो । प्रशासनले भरतपुर महानगरपालिकाको केन्द्रिय वस टर्मिनल, नारायणी पुल, उत्तर तर्फ पोखरा बसपार्कदेखि विशालचोक, दक्षिण तर्फ त्रिचोक(भरतपुर विमानस्थल पछाडी)को क्षेत्रलाई आधार बनाएर कफ्र्यू जारी गरिएको हो ।यी क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, पदर्शन, सभा, बैठक, घेराउ, गर्न नपाउने गरी कफ्र्यू आदेश गरिएको हो ।
साथै कफ्र्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मावन अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजिकरण गरिने छ । -

भारतले भन्यो- नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं
२४ भदौ, काठमाडौं ।
भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ ।
भारतले काठमाडौंसहित अन्य शहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमार्फत भनेको छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।



