Blog

  • जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

    जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

    इनरुवा, २३ भदौः
    ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो ।

    आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

    आन्दोलन उग्र भएपछि स्थित नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज इटहरी उपमहानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

  • जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो

    जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो

    २३ भदौ, काठमाडौं ।
    काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएको छ।

    सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए।

    उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो।

  • प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

    प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

    विराटनगर, भदौ २३ –
    प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ ।

    त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । हाल दमकको अवस्था तनावपूर्ण छ ।

    जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले त्यहाँभित्र रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुन् । दमक चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारी पछि नगरपालिका कार्यालयतर्फ अघि बढेका थिए ।

  • ५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

    ५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

    २३ भदौं, काठमाडौं ।
    काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।

    घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।

    ‘बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’

    महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायतका अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको ती कर्मचारीले बताए । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

    २३ भदौ, काठमाडौं ।
    जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

    ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

    घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

  • जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

    जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

    २३ भदौ, काठमाडौं ।
    जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

    अनलाइनखबरलाई विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

    ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

  • राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

    राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

    काठमाडौँ, भदौ २३ –
    राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो ११५ बजेका लागि तय गरिएको थियो ।

    विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । रासस

  • शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

    शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

    २३ भदौ, काठमाडौं ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।

    आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

  • काठमाडौँमा १२ः३० बजेदेखि कहाँ–कहाँ लागू भयो कर्फ्यु ?

    काठमाडौँमा १२ः३० बजेदेखि कहाँ–कहाँ लागू भयो कर्फ्यु ?

    काठमाडौँ २३ भदौ
    जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

    दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

     

  • संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

    संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

    काठमाडौं, भदौ २३-
    जेनजी पुस्ताका युवाहरूको आन्दोलन नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको छ । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो । प्रदर्शनकारीहरू संसद् भवन नजिकै पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

    उनीहरू संसद् भवनभित्रै छिर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भैरहेको छ ।