Blog

  • जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

    जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

    काठमाडौँ, २५ भदौ :
    जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिनुभयो ।

    उहाँले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो ।

  • तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

    तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

    काठमाडौँ, २५ भदौ :

    भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो ।

    त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् ।

    आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । यस्तै सिंहदरबारस्थित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्णरूपमा क्षति भएको छ ।

    सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गर्न सकिन्छ ।

    प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ ।

    प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र आज सुनसान प्रायः रह्यो । सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारी साधन र करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर पूर्णरूपमा नष्ट भएको कार्यालयले जनाएको छ । आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ ।

    यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ । आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ ।

    जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।

  • कक्षा १२ को मौका परीक्षा स्थगित

    कक्षा १२ को मौका परीक्षा स्थगित

    काठमाडौं २५ भदौ –
    कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ ।

    ‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ । परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ (सात) दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।

  • देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

    देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

    २५ भदौ, काठमाडौं –
    नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको जनाउँदै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी रहेको औंल्याएको छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा सोमबार दु:खद घटना भएको बताए । युवा र सुरक्षाकर्मीहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था दुखदायी भएको महतले उल्लेख गरेका छन् ।

    २४ भदौमा प्रदर्शनका क्रममा भएको गतिविधि लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको महतको भनाइ छ ।

    ‘देश, जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ प्रेस नोटमा भनिएको छ ।

    हिजोको घटनाबाट १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा धेरै बढी क्षति भएको महतले उल्लेख गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको उनले निन्दा गरेका छन् ।

    लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि फेरि सक्रिय हुन आवश्यक रहेको महतले बताए । राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको उनले बताए ।

  • सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

    सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

    काठमाडौं, भदौ २५ –
    सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

    बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए ।

    ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने । उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।

  • मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

    मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

    २५ भदौ, काठमाडौं –
    राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको छ ।

    बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तर लागिरहेको बताएको हो ।

    आयोगका प्रवक्ता डा.टीकारम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,’लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ।’

    आयाेगले आगामी दिनमा यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आह्वान समेत गरेको छ ।

    लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्नेमा आयोगले जोड दिएको छ ।

    सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।

  • वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

    वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

    काठमाडौं, भदौ २५ –
    राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२०० भन्दा बढी जेनजीहरू भर्चुअल छलफलमा जुटेका छन् । उनीहरूबीच वार्तामा आधिकारिक रूपमा को सहभागी हुने भन्ने विषयसँगै के विषयमा वार्ता गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।

    डिस्कर्डको वार्तामा संलग्न एक युवाका अनुसार संसद् विघटन हुनुपर्ने, कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका विषय समावेश गर्ने तयारी छ । प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुनुपर्ने वा एकजना व्यक्ति बढीमा दुई कार्यकाल वा ८-१० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने जस्ता कुराहरू समावेश छन् ।

  • देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

    काठमाडौँ भदौ २५
    नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।

    नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

    नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।

    सेनाले आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकोले यो कदम चालिएको स्पष्ट पारेको छ।

    निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।

    सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

    सेनाले सबै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ-आफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ।

    सेनाले हरेक परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय रहने र नेपाली जनताको सुरक्षा तथा मानवीय उद्धारमा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ।

  • राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    २४ भदौ, काठमाडौं ।
    मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।

    सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।

    ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

  • कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

    कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

    २४ भदौ, धनगढी ।
    कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।

    यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।