Blog

  • प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

    प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

    काठमाडौँ, २८ भदौः
    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले वक्तव्यमा भन्नुभएको छ, “देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।”

  • सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

    सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

    भरतपुर, २८ भदौः
    सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी समूहको नाममा भएको आन्दोलनका कारण बन्द रहेका चितवनका शैक्षिक संस्थाहरू भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

    शनिबार भरतपुरमा बसेको कार्यालय प्रमुखहरुको वैठकले आइतबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्यीकरण हुँदै गएकोले सम्पूर्ण विद्यालय आइतबारदेखि पूर्ववत्रूपमा सञ्चालन गर्न भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भरतपुर महानगर कमिटीले एक सूचना जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन हुने जानकारी दिएको छ । सूचनामा भनिएको छ– ‘देशैभरि धनजनको ठूलो क्षति हुनेगरी भएको आन्दोलनको कारण भदौ २४ गतेदेखि बन्द रहेका विद्यालयहरू सरोकारवाला सबैको सल्लाह, सुझाव तथा समन्वयमा सुरक्षित वातावरण सिर्जना गरी भदौ २९ गते आइतबारबाट पठनपाठन सुचारु गर्ने सहमति भएकोले विद्यालयका गतिविधिहरू यथावतरूपमा सञ्चालन गर्न अनुरोध गर्दछौँ ।

    अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको जेनजी आन्दोलनका कारण विद्यालय बन्द रहँदा अभिभावकहरूमा असमञ्जस्यता पैदा भएको थियो भने कतिपय विद्यालयले अनलाइन कक्षा चलाउने तयारी गरेका थिए । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालसहित जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नेपाल आर्मीसहितको जिल्ला सुरक्षा संयन्त्र, सरोकारवाला विद्यालय, चितवन–उद्योग वाणिज्य संघ, यातायात व्यवसायी र निर्माण व्यवसायीसमेतको बैठक आइतबारबाट विद्यालयसहित सबै उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

    कुनै कारणवस विद्यालयलगायत कुनै पनि व्यवसाय सञ्चालन हुन नसके स्पष्टीकरण मागिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘हामी सुरक्षा दिन तयार छौँ, निर्धक्क भएर पूर्ववतरुपमा काममा फर्किनुहोस्’, प्रजिअ अर्यालले भने ।

  • ८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

    ८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

    काठमाडौं २८ भदौ  –
    विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।

    ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    शुक्रबार नवनयुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

    ८ वटा राजनीतिक दलहरूले भने विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’

  • काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

    काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

    कर्णाली, भदौ २८ –
    जेनजी आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा आठबिसकोट नगरपािलका–३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाको कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विष्ट यही भदौ २५ गते नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट फरार रहेका थिए ।

    काठमाडौँ डिल्लीबजार कारागार कार्यालयबाट भदौ २४ गते फरार रहेका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बामेखोला निवासी कर्तव्य ज्यान मुद्दाको कैदी ३१ वर्षीय गणेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको उहाँले जनाउनुभयो ।

    यसैबीच जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीमध्ये पाँच जना नियन्त्रणमा आएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका पाँच जनालाई नियन्त्रणमा लिएर पुनःजिल्ला कारागारमा चलान गरिएको छ । कारागारबाट फरार भएका १९ जनामध्ये पाँच जना पुनःकारागारमा पुगे बाँकी १४ जनालाई समयमा नै प्रहरीको सम्पर्कमा आउन भनिएको छ ।

    अदालतबाट कैद फैसला भएका व्यक्तिले जसरी कैद भुक्तानी गर्नुपर्ने र प्रहरीले जुनसुकै समयमा पक्राउ गरेर सजाय भुक्तानीको लागि कारागारमा राख्ने भएकाले इमानदार भएर समयमा नै प्रहरीको सम्पर्कमा आउन अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

    विभिन्न अपराधमा संलग्न भएका व्यक्तिलाई ३०÷४० वर्षपछि पक्राउ गरेर कारागारमा राखिएको सम्झाउँदै प्रहरीले लामो समय प्रहरीको आँखा छल्न नसकिने भएकाले समयमा नै सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

    आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी भने आत्मसमर्पण गर्दै प्रहरी चौकीमा जाने क्रम बढिरहेको छ । सुरक्षा व्यवस्था कमजोर पारिएको अवस्थामा भाग्ने मौका पाएको भए पनि अब विस्तारै सुरक्षा प्रत्याभूति बढ्दै गएपछि जेलबाट भागेका स्वतःस्फूर्त प्रहरीमा आउन थालेका हुन् ।

    अदालतको फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले जसरी पक्राउ गर्ने र अहिले भागेका कानुनी रूपमा झनै अप्ठ्यारोमा पर्न सक्ने, सजाय झनै लम्बिन सक्ने, थप मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसबाट सुरक्षित हुनका लागि कैदीहरूले आत्मसमर्पण गरिरहेका हुन् ।

    आफ्नो समुदायमा कोही नयाँ मान्छे आएमा, फरक खालको क्रियाकलाप देखाएमा वाशंका स्पद कुनै गतिविधि गरेको भएमा समयमा नै सुरक्षाकर्मीलाई खबर गरेर समुदायलाई सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । प्रहरीले गरिरहेका गस्तीहरूमा भेटिएका शङकास्पद व्यक्ति माथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरूले गर्वका साथ आफूहरूले जेल तोडेर आएको बताएकाले उनीहरूबाट थप घटनाको जोखिम हुनसक्ने चेतावनी प्रहरीले दिएको छ ।

    भाग्ने र भगाउन मद्दत गर्ने सबै जना अपराधी भएको भन्दै उहाँले प्रहरीलाई केही समय हाँसोको पात्र बनाउँदा जनताकै घर लुटिने, आफ्नै दिदीबहिनी माथि दुव्र्यवहार, बलात्कारलगायत हिंसा हुने जोखिम रहेकाले आफ्नो समाजको बारेमा नागरिक चिन्तित बन्नुपर्ने प्रहरीले बताएको छ । कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू छरछिमेकमा आएको जानकारी पाएर प्रहरीमा खबर गरेमा सूचना दिने व्यक्तिका विवरण गोप्य राखिने सूचना दिने व्यक्ति सुरक्षित नै रहने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । रासस

  • जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

    २८ भदौ, काठमाडौं ।
    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।

    शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

    त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

    जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

  • असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

    असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

    २८ भदौ, काठमाडौं।
    असन्तुष्ट पक्षले अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको कार्यालयमा रहेको तस्वीर र नेम प्लेट जलाइदिएका छन् ।

    अनेरास्ववियु नेकपा एमालेको विद्यार्थी संगठन हो । उनी ३० जेठ २०८२ मा अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए ।

    जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछिआफ्नो पार्टीले नेतृत्व गरेको सरकारप्रति असन्ततुष्टि व्यक्त गर्दै कडरियाले पदबाट राजीनामा दिएका थिए । साथै एमाले परित्याग गरेको समेत बताएका थिए ।

    तर, राजीनामा दिएको दुई दिनपछि कडरियाले दबाबमा राजीनामा दिएको भनेको भन्दै पार्टीमै रहेको र पार्टी काममा फर्किएको बताएका थिए ।

    काममा फर्किएको घोषणा गरेका कडरिया कार्यालय फर्किन खोजेपछि विवाद भएको छ । यसक्रममा असन्तुष्ट पक्षले कार्यालय पुगेर कडरियाको तस्वीर र नेम प्लेट जलाइदिएका हुन् ।

  • कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

    कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

    २८ भदौ, काठमाडौं ।
    नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाएको थियो ।

    संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने बहस चलिरहेको बेला कांग्रेसले राष्ट्रपतिलाई उक्त विकल्प अघि सारेको थियो । आन्दोलनरत पक्ष र स्वयं कार्की समेत संसदको प्रक्रियाबाट अघि बढ्न तयार नभएपछि शुक्रबार उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    शुक्रबार राति बसेको कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै कांग्रेसले संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन सकिने विकल्प अअघि सारेको जानकारी गराइएको छ । ‘राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ताका रुपमा ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको थियो,’ बैठकको निर्णयमा भनिएको छ ।

    भर्चुअल बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । बैठकमा ७ प्रदेश सभापति, मुख्यमन्त्रीहरु र प्रदेश संसदीय दलका नेताहरु आमन्त्रित रूपमा सहभागी थिए ।

    बैठकले संसद विघटनलाई असंवैधानिक कदम भएको उल्लेख गर्दै त्यसको विपक्षमा रहने ठहर गरेको छ । जेनजी आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदारहँदै संविधान विपरित निर्णय भएको कांग्रेसले जनाएको छ ।

    संसद विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको कांग्रेसको निक्र्यौल छ । बैठकका निर्णयमा भनिएको छ,‘संविधान सम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।’

    बैठकका निर्णय

    शान्ति, संविधान र लोकतन्त्रको पक्षमा

    संसद विघटनको असंवैधानिक कदमका विपक्षमा

    शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा ७ प्रदेश सभापति, मुख्यमन्त्रीहरु र प्रदेश संसदीय दलका नेताहरु आमन्त्रित रूपमा सहभागी हुनुन्थ्यो ।

    जेनजी युवाहरूको आब्ह्वानमा भदौं २३ र २४ गते भएको आन्दोलन पश्चातको विषम परिस्थितिमा संवाद मार्फत समाधानका लागि सम्माननीय राष्ट्रपतिज्यूले पहलकदमी लिनुपर्छ र सबै पक्षसंग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्छ भन्ने नेपाली कांग्रेसले भदौ २५ गते नै विज्ञप्तिमार्पत स्पष्ट धारणा सार्वजनिक गरेको विदित नै छ ।

    नेपाली कांग्रेसले जिम्मेवार ढंगले आग्रह गरेको थियो– ‘राष्ट्रपतिज्यूले लिएको पहललाई जेनजी पुस्ताको माग र भावना बमोजिम नै निष्कर्षमा पु¥याउनु पर्छ र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्छ । त्यसो गर्दैगर्दा बदलिएको परिस्थिति बमोजिमको ‘समाधानमुखी सहमति’ लाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने हाम्रो सुझाव थियो । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बिद्यमान बेथिति अन्त्यको मार्गचित्र तय गर्न नेपाली कांग्रेसको साथ रहने हाम्रो प्रतिबद्धता थियो ।

    संविधानको संरक्षक र पालनकर्ताका रुपमा ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधान सम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनैतिक निकासमा पु¥याउने जिम्मेवार प्रस्ताव प्रस्तुत गरेको थियो ।

    हामीले गरेको यो प्रस्तावमा सवैको जित र अपनत्व हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अबलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो । यसरी जेनजीको आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अबस्था रहँदा रहँदै ‘सहमति पूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी’संविधान विपरित निर्णयमा पुग्नु दुःखद छ ।

    संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।

    भदौ २३ र २४ मा भएको अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेछ । त्यसैले यो अबस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्बक ध्यान दिनुपर्नेछ । यो गुरुत्तर दायीत्व नेपाली काँग्रेससंग अपेक्षित छ ।

    यस्तो चुनौतीपूर्ण अबस्थामा स्थितिलाई थप विग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन नेपाली कांग्रेसले पार्टिभित्र, अन्य राजनितिक दल तथा नागरिक समाज लगायतसंग समेत परामर्श र संवाद गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

    बैठकले पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ सम्पुर्ण घाइतेको सम्पूर्ण उपचार प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ सिंहदरबार सहित देशभर जलेका राज्य, निजिक्षेत्र र समग्र संरचनाको क्षती आंकलन गर्दै अविलम्ब पुनर्निर्माण लागत र योजना तर्जुमा गर्न ध्यानाकर्षण गराने निर्णय बैठकले गरेको छ ।

    अन्त्यमा, बदलिएको परिस्थितिमा संयम र एकता राख्न स्वदेश र बिदेशमा रहेका हाम्रा सदस्य, शुभचिन्तक र समस्त नेपालीमा पुनः हार्दिक अपील गर्दछ ।

  • नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

    काठमाडौँ, भदौ २८ –
    संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।

    पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।

    बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।

     

  • देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

    देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

    २८ भदौ, काठमाडौं ।
    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् ।

    गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए । कुटपिटपछि घाइते अवस्थामा रहेको उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्ति माथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । देउवा निवासमा रहेका सरसामान समेत प्रदर्शनकारीले लिएर लगाएका थिए ।

    उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् । कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्,‘उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।

    २४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए । कांग्रेस संस्थापक नेता बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि बनाएको घरमा गिरीजाप्रसाद कोइराला हुँदै हाल नेता शेखर बस्दै आएका थिए । हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको निवासमा आगो लगाइएको भन्दै शेखर भन्छन्,‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिइँदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।’

    कोइरालाले शनिबारी जारी गरेको अपीलः
    प्रिय साथीहरु

    मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।
    यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप “जेनजी” आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु ।
    म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ ।
    भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।
    त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।
    हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपथ्र्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।
    साथीहरु,
    लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरी एकपटक लोकतान्त्रिक इतिहासका ती योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।
    मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तिव्र चाहना छ । हाम्रा युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन । कांग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
    समयको पदचाप अनुरुप हामी हिड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्तावाट बाहिरिन वाध्य पार्यो । नेपाली समाज र यहाँका उर्जावान युवाहरु एकातिर छन, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरु भए, हामी चुक्यौं । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं ।
    साथीहरु,
    जसरी देशमा नयाँ सम्भावनाहरु प्रकट भैरहेका छन । नयाँ घटनाहरु अगाडि आएका छन । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ । कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउने भनी म तपाईहरु विच दशैं लगत्तै देशव्यापी रुपमा आउनेछु ।
    अन्तमा,
    सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ । विपी कोइरालाको दिव्यवाणी सम्झौं “नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले” फेरी एकपटक देशभरी यसलाई बुलन्द गरौं ।
    विपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको “कोइराला निवास“ जहाँ म बस्थें । जहाँ हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको थियो । लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाईएको छ ।

    कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।
    डा शेखर कोइराला

  • कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

    कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

    २८ भदौ, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् ।

    शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी गरेका थिए ।

    तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लाछैन ।’

    उनले अगाडि भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।’

    युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘उहाँहरु (युवाहरु)को बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं ।’

    कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ ।’

    उनले युवा विद्रोहबाट भएको यो परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने बताएकी छन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनैपर्छ,’ सुमनाले भनेकी छन् ।