सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

भरतपुर, २८ भदौः
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी समूहको नाममा भएको आन्दोलनका कारण बन्द रहेका चितवनका शैक्षिक संस्थाहरू भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

शनिबार भरतपुरमा बसेको कार्यालय प्रमुखहरुको वैठकले आइतबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्यीकरण हुँदै गएकोले सम्पूर्ण विद्यालय आइतबारदेखि पूर्ववत्रूपमा सञ्चालन गर्न भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भरतपुर महानगर कमिटीले एक सूचना जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन हुने जानकारी दिएको छ । सूचनामा भनिएको छ– ‘देशैभरि धनजनको ठूलो क्षति हुनेगरी भएको आन्दोलनको कारण भदौ २४ गतेदेखि बन्द रहेका विद्यालयहरू सरोकारवाला सबैको सल्लाह, सुझाव तथा समन्वयमा सुरक्षित वातावरण सिर्जना गरी भदौ २९ गते आइतबारबाट पठनपाठन सुचारु गर्ने सहमति भएकोले विद्यालयका गतिविधिहरू यथावतरूपमा सञ्चालन गर्न अनुरोध गर्दछौँ ।

अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको जेनजी आन्दोलनका कारण विद्यालय बन्द रहँदा अभिभावकहरूमा असमञ्जस्यता पैदा भएको थियो भने कतिपय विद्यालयले अनलाइन कक्षा चलाउने तयारी गरेका थिए । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालसहित जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नेपाल आर्मीसहितको जिल्ला सुरक्षा संयन्त्र, सरोकारवाला विद्यालय, चितवन–उद्योग वाणिज्य संघ, यातायात व्यवसायी र निर्माण व्यवसायीसमेतको बैठक आइतबारबाट विद्यालयसहित सबै उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

कुनै कारणवस विद्यालयलगायत कुनै पनि व्यवसाय सञ्चालन हुन नसके स्पष्टीकरण मागिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘हामी सुरक्षा दिन तयार छौँ, निर्धक्क भएर पूर्ववतरुपमा काममा फर्किनुहोस्’, प्रजिअ अर्यालले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *