Blog

  • बेनीमा मौलिक सम्पदाको संरक्षण

    बेनीमा मौलिक सम्पदाको संरक्षण

    म्याग्दी, भदौ २८ –
    म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण भएको छ । बेनी नगरपालिका र समुदायको पहलमा बेनीलाई मौलिक सांस्कृतिक बजारको रूपमा विकास गर्न पुराना सम्पदाको संरक्षण, पुनर्निर्माणका साथै नयाँ सार्वजनिक संरचना निर्माणका क्रममा मौलिकतालाई जोड दिइएको हो ।

    म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्छ । नगर प्रमुख सुरत केसीले मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउने र बसाई लम्बाएर स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र मौलिकताको सम्वद्र्धन तथा प्रवद्र्धनमा जुटेको बताउनुभयो ।

    उहाँका अनुसार कालीगण्डकीको सभ्यता बचाउन र प्रदूषण नियन्त्रणका लागि दोभानमा शवदाहस्थल निर्माण भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको रु ६० लाख बजेटबाट शवदाहस्थललाई व्यवस्थित र सुरक्षित बनाउन भौतिक संरचना निर्माण भएको हो ।

    धार्मिकस्थल गलेश्वर बजारभित्रको सडकको सौन्दर्यकरण गर्नका लागि गत वर्षदेखि सुरु भएको सडकमा स्लेट ढुङ्गा बिछ्याउने योजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । गत आवमा १०६ मिटर स्लेट बिछ्याइएको थियो ।

    नयाँ आवका लागि नगरपालिकाले रु ३० लाख विनियोजन गरेको योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि साथ दिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

    बेनीको पुस्तकालय चोकमा रु १३ लाख खर्चेर जमघट र विश्रामस्थलका लागि भक्तपुरे इँटा र बुट्टा कुदेको काठ प्रयोग गरेर नेवारी वास्तुकला शैलीको प्रतीक्षालय (फाल्चा)निर्माण भएको छ । यस वर्ष आँखीझ्याललगायतका संरचना बनाएर फाल्चा निर्माणलाई पूर्णताः दिने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

    चोकमा खाली रहेको सार्वजनिक ठाउँको सदुपयोग गरेर निर्माण भएको फाल्चाबाट स्थानीयवासी, यात्रुहरूलाई विश्रामका लागि सहजका लागि बजारको आकर्षण थपेको छ । यसअघि बेनी नगरपालिकाको वडा नम्बर ७ मा रहेका पुराना चौतारीहरूको मर्मत र व्यवस्थापन भएको थियो ।

    बेनी नगरपालिका–८ गणेशटोलमा रहेको २०० वर्ष पुरानो गणेश मन्दिर यसै वर्ष पुनर्निर्माण भएको छ । बेनी नगरपालिकाको रु छ लाख बजेट र गुठीयारहरूको करिब रु १४ लाख लगानीमा मौलिक शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छानामा पित्तलको जलप लगाइएको छ ।

    यसअघि बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर पुनर्निर्माण गरिएको थियो । छानोमा तीन वटा गजूर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् ।

    विक्रम संवत् १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।

    ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ । रासस

  • चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

    चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

    चितवन भदौ २८
    जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ। प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो।

    पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गरी निषेधाज्ञा र कर्फ्यु लगाउने निर्णय गरेको थियो।

    नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबैलाई अपिल गरिएको छ।

    निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्।

  • आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आजको पञ्चाङ्ग

    आज मिति वि.सं.२०८२ साल भाद्र २८ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी, १३ घडी १७ पला, बिहान ११ बजेर ७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–कृतिका, २२ घडी २२ पला, दिउसो २ बजेर ४५ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण, २५ घडी ४ पला, दिउसो ३ बजेर ५० मिनेट उप्रान्त बज्र । करण–वणिज, बिहान ११ बजेर ७ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–वृष । सप्तमी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ९ मिनेट । दिनमान ३० घडी ५३ पला ।

    आजको राशिफ

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्नी बिचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारले आर्थिक सङ्कट निवारण गर्नेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट केही धन आर्जन हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन जाने छैन । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग फाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा औषधीजन्य सामानको व्यापार वा लगानीबाट आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । घरमै बसेर अध्ययन गर्न सकिनेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । लामो दुरीको यात्रा हुने तथा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महँगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । खाद्यान्न तथा औषधीजन्य व्यापारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । अध्ययनलाई घरमै बसेर निरन्तरता दिन सकिनेछ । लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी फस्टाउनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

    नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

    काठमाडौँ, २७ भदौ :
    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

    पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।

    कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने म्यान्डेट दिइएको छ ।

    ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले सहमति र सिफारिसको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको ब्यहोरा जानकारी गराइन्छ,’ नियुक्तिमा भनिएको छ ।

  • नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

    पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

  • उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

    उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

    भरतपुर, २७ भदौः
    चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।

    जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।

    ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

    यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका–७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    २७ भदौ, काठमाडौं।
    अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

    राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

  • संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

    संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

    काठमाडौँ, २७ भदौ :
    राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ।

    शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

    आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।

  • अझै एक साता शेयर कारोबार नहुने

    अझै एक साता शेयर कारोबार नहुने

    काठमाडौँ, २७ भदौ
    जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।
    नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।
    “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा ९१० खण्ड ९घ० बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।
  • सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

    सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

    २७ भदौ, काठमाडौं
    नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा तत्कालै शपथ गराउनुपर्ने माग गरेका छन्।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता किरातीले वर्तमान अस्थिर र संवेदनशील परिस्थितिमा संविधानको रक्षा गर्न तथा विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन जेनजी पुस्ताले अघि सारेको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन्।

    उनले भनेका छन्, ‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरुको प्रस्तावमा परेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्।’