Blog

  • भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

    भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

    २७ भाद्र,धरान ।
    धरानस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न पसेका चार जनाको जलेर मृत्यु भएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सामान चोर्न भित्र पसेका थिए, त्यतिबेले अर्को अराजक भीडले सुपरमार्केटमा आगो लगाइदियो र उनीहरूको ज्यान गयो ।

    प्रहरीले जनाएको अनुसार शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका छन् । उनीहरूको शरीरको केही अंश मात्र फेला परेका छन् । आन्दोलनका क्रममा केही समूहले बन्द अवस्थामा रहेको भाटभटेनीको सटर तोडेर आगो लगाएको थिए । आगो तीव्र गतिमा फैलिएपछि उनीहरू बाहिर निस्कन सकेनन् ।

    मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको हो । दोस्रो तलामा एक जनाको जलेको शव शुक्रबार बिहान भेटिएकामा दिउँसो चौथो तलामा थप तीन शव फेला परेका थिए । मृतकको परिचय भने खुल्न बाँकी छ ।

    भाटभटेनीको देशभर रहेका स्टोमध्ये ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । हेटौंडा, पोखरा र भरतपुरको स्टोर पनि पूर्णरुपमा क्षति भएको छ । उपत्यका बाहिर रहेका भाटभटेनीका ७ वटा स्टोर जलेर पूर्णरुपमा ध्वस्त भएका छन् । ती स्टोरमा रहेका सामान मात्रै नभएर भवन समेत काम नलाग्ने अवस्थामा पुगेका छन् ।

    काठमाडौं उपत्यकामा बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

    भाटभटेनीको कति रकम बराबरको क्षति भयो भन्ने एकीन तथ्यांक संकलन नभइसकेको छैन ।

  • साढे ११ हजार कैदी अझै फरार

    साढे ११ हजार कैदी अझै फरार

    २७ भदौ, काठमाडौं ।
    साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् ।

    देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताए ।

    २६ कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । ति मध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३१८ रहेको न्यौपानेले बताए ।

    जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।

  • जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

    जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

    २७ भदौ, काठमाडौं।
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् ।

    महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’

    दुई दिनको प्रदर्शनमा प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जेनजीले गरेको पहिलो दिनको प्रदर्शनमा २१ जनाको मृत्यु भएको थियो । दोस्रो दिन (भदौ २४ मा) अन्य थपको मृत्य भएको हो ।

    दोस्रो दिनको प्रदर्शनमा सरकारी संरचना, दलका नेताको निवास, उद्योगी व्यवसायीको निवास तथा पसलमा आगलागी गरिएको थियो ।

    दुई दिनमा भएका घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कांग्रेस महामन्त्री थापाले अघिल्लो प्रदर्शनका क्रममा भएका घटना र भ्रष्टचारका लागि छुट्टाछुट्टै आयोग बनाउनुपर्नेमा पार्टी प्रतिवद्ध रहेको बताएका छन्।

  • नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

    नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

    २७ भदौ, काठमाडौं ।
    ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।

    जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।

    लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए ।

    तर नक्खु कारागार प्रशासनले नै सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी)लाई सम्पर्कमा आउन भनेको छ ।

    यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।

    ‘अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ ।’

  • जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

    जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

    २७ भदौ, काठमाडौं ।
    सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।

    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।

    हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । ‘पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘ आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा पोस्टमार्टम गर्ने छौं ।’

    उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।

    ‘अहिलेसम्म ९ जना अभिभावकले पत्र ल्याउनुभएको छ । ती शवको पोस्टमार्टम गरेर आज बुझाउने छौं,’ डा. चौधिरीले भने ।

    मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।

    त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै शवको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि भनेर नोट गरिन्छ ।

    त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र सबै अंगको जाँच गर्ने गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।

    मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ ।

    डा. चौधरीका अनुसार गोली लागेको केसमा पनि नियमित जसरी नै पोर्टमार्टम गरिनेछ । गोली कुन एंगलबाट लागेको छ, इन्ट्री पोइन्ट कुन हो, एक्जिट पोइन्ट कुन हो, शारीरिक इन्फर्मेसन पनि संकलन गरिने डा. चौधरीले बताए ।

    उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने हुन्छ, जस कारण अन्तर्राप्ट्रिय रूपमा मान्य होस् ।

    यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंग पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ ।

    डा. चौधरी भन्छन्, ‘के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भए पछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं ।’

    जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ जनाको बाँकेको बाल सुधार केन्द्रमा भएको झडपमा मृत्यु भएको थियो । यो संख्या अस्पतालमा गएर मृत्यु भएको मात्रै संख्या हो । तर फोरेसिन्क विभागमा काठमाडौं उपत्याकाको मात्रै ३६ जना शव पोस्टमार्टमका लागि पुगेको मृत्यु हुनेको संख्या बढ्ने सक्ने अनुमान छ ।

    प्रर्दशनबाट १ हजार ७७१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । जसमध्ये २८४ जना भर्ना भएर उपचार भइरहेको छ ।

  • कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    २७ भदौ, काठमाडौ ।
    राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ ।

    मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको उल्लेख गरेको छ । गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए ।

    यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न भने चुकेको भन्दै मानव अधिकार आयोग आलोचना भइरहेको छ ।

    ‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’

    उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका वारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छ ।

    हेर्नुहोस् आयोगको विज्ञप्ति :

  • सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

    सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

    २७ भदौ, काठमाडौं ।
    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् ।

    २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।

    संसद्‍का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    २७ भदौ, काठमाडौं।
    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

  • भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

    भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

    भैरहवा (रुपन्देही), भदौ २७ –
    देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ ।

    लुम्बिनी प्रेस क्लबको संयोजन र विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको ¥यालीमार्फत देशमा भइरहेको ‘जेनजी’ आन्दोलनपछि शान्ति कायम गर्न आह्वान गरिएको छ ।

    बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    कार्यक्रममा ‘जेनजी’ पुस्ताका सागर ज्ञवालीले देश नयाँ पुस्ता र व्यवस्थामा गइसकेकाले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले हाल बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकाले शान्तीपूर्वक बजार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवापुस्ताले गरेको आन्दोलनपछि अब सम्हालिएर अगाडि बढ्नुपर्ने बताउनुभ ।

    यस्तो अवस्थामा युवाको जायज मागलाई पूरा गर्दै देशमा शान्ति सद्भाव कायम होस् भन्ने उद्देश्यले र्‍यालीको आयोजना गरिएको बताउनुभयो । देशैभरि सद्भाव कायम गर्न सन्देश दिने उद्देश्य रहेको र ‘जेनजी’ पुस्ताले नै यसको अगुवाइ गरेको बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबै मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

    र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्श, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाको सहभागिता थियो । रासस

  • उद्योग वाणिज्य महासंघले भन्यो : निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ

    उद्योग वाणिज्य महासंघले भन्यो : निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ

    २७ भदौ, काठमाडौं ।
    देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

    साथै महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन समेत आह्वान गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

    सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले चासो देखाएको महासंघले बताएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।

    देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको बताएको छ । नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चाचालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ ।

    सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघको उपस्थिति रहेको स्मरण गराउँदै महासंघले जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यमार्फत करिब ६ लाख साना मझौला एवम् ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ ।

    पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्सर्ना गरेको छ ।

    महासंघले व्यवसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।

    निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ । सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न आग्रह गरिएको छ ।

    निषेधाज्ञा एवम् कर्फ्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता गराउन आग्रह गरिएको छ।

    यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ । आपूर्ति सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवम् वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरिएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ ।

    नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास लिइएको छ ।

    सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको ठहर छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता सँगै लगानी एवम् रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासंघले आग्रह गरेको छ ।