Blog

  • चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

    चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

    चितवन, भदौ २९-

    जेनजी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था तथा लामो एवं छोटो दूरीका सवारीसाधान सञ्चालन गर्न भनिएको छ ।

    आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा सोहीबमोजिमको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र एवं विनयशील रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ । तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने तथा कार्यालयका कर्मचारी सम्भव नहुने प्रकृतिका सरसफाइ कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

    कार्यालय प्रमुखहरूको बैठकले सो निर्णय गरेको अर्यालद्धारा जारी सूचनामा जनाइएको छ । तोडफोड तथा आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्नसमेत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।

  • चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    काठमाडौँ २९ भदौ
    चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्।

    प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छरु’ भनेर प्रश्न गरिएको थियो ।

    जवाफमा उनले चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको बताए । उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग काम गर्न तयार छौँ।’

     

  • नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

    नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

    काठमाडौँ भदौ २९
    नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ ।

    गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेकोले कार्की आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।

  • आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ भदौ २९
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आजको पञ्चाङ्ग

    आज मिति वि.सं.२०८२ साल भाद्र २९ गते । आइतबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी, ७ घडी १९ पला, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी, १८ घडी २१ पला, दिउसो १ बजेर ९ मिनेट उप्रान्त मृगशिरा । योग–बज्र, १७ घडी २९ पला, दिउसो १२ बजेर ४८ मिनेट उप्रान्त सिद्धि । करण–बव, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–वृष । अष्टमीश्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ८ मिनेट । दिनमान ३० घडी ४९ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार हुने तथा बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा व्यवसायमा आज गरिने लगानीबाट धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा औद्योगिक क्षेत्रमा आएका समस्याहरूलाई हल गर्दै लगानी गर्न सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । उद्योग तथा व्यापारमा आज गरिने लगानी भविस्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । । प्रेमील जोडीहरूका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरूकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागी कुनै योजना नबनाउनु नै उचित हुनेछ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गीत सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रामा निस्कन सकिनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामलाई सकाउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विद्या तथा प्रतिस्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाइने तथा उनीहरूको प्रगतिमा मन रमाउनेछ । मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा मन खुसी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पति पत्नी बिचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । कृषि तथा सहकारी पेसा व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । उद्योग, तथा उत्पादन मूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

  • ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    काठमाडौँ, २८ भदौः
    यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

    ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् ।

    शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । सोही अवसरमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

    यस्तै, जेनजीको प्रदर्शनका कारण बन्द भएका यहाँका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

    परिषद्का उपाध्यक्ष धमलाले सुरक्षित रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

  • सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

    सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

    काठमाडौँ, २८ भदौः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकलाई कठिन संक्रमणकालबाट पार लगाउन जिम्मेवारी पाएकी प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ ।

    संविधान पालनाको विषयमा प्रश्न उठेका बेला रास्वपाले भदौ २३ मा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको स्मरण गराएको हो ।

    महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा रास्वपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षशील रहेको स्मरण गराएको छ ।

    पार्टीले यसअघि भदौ २६ गते जारी गरेको प्रस्तावमाथि पनि जोड दिएको छ ।

    रास्वपाले अन्तरिम सरकारबाट विभिन्न अपेक्षा राखेको छ ।

    आउँदो फागुन २१ गते तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको पार्टीले उल्लेख गरेको छ ।

  • बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

    बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

    नेपालगञ्ज (बाँके), २८ भदौः
    जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन सय ४२ बालबन्दी र कैदीबन्दीमध्ये हालसम्म ४८ जना पक्राउ परेका छन् । प्रहरीले दुई सय ९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।
    जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जना पक्राउ परेको तथा नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जना पक्राउ परेको बालसुधारगृह र नौवस्ता कारागारले जनाएको छ ।
    डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले जेनजीको प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेकामा २१ जना पक्राउ परेका छन्। अझै ९४ जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
    नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ जना पक्राउ परेको उल्लेख गर्नुभयो । बाँकेबाट छ  र दाङको लमहीबाट आठ जना पक्राउ परेको उहाँको भनाइ छ । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ ।
    नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अहिलेसम्म १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिनुभयो । सो कारागारमा ५८५ जना कैदी बन्दी थिए ।
    पक्राउ परेका ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझैँ पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको छ ।
  • कारागार फर्किए रवि लामिछाने

    कारागार फर्किए रवि लामिछाने

    काठमाडौँ, २८ भदौ :
    सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्।

    गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो।

    उनले कारागार प्रशासनले पत्र दिएपछि आफू जेल बाहिर आएको बताउँदै आएका छन्। उनले सार्वजनिक गरेको जेल प्रशासनले दिएको पत्र विवादमा परेको थियो।

    ‘म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु।

    जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु।

    संयोगले आज मेरो जन्मदिन परेछ। र, म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।

  • प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

    प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

    काठमाडौँ, २८ भदौः
    प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

    “प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भन्नुभयो । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।