Blog

  • जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

    जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

    भदौ २९,काठमाडौं :
    यही भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

    बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

    उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ। दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।

    उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ। यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ परेको छ।

  • आजदेखि सुकिला नोट वितरण हुने, कहाँ-कहाँबाट हुन्छ सटही ?

    आजदेखि सुकिला नोट वितरण हुने, कहाँ-कहाँबाट हुन्छ सटही ?

    काठमाडौं,भदौ २९-
    दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने ।

    दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।

  • विद्यालय खुले, पठनपाठन भोलिदेखि

    विद्यालय खुले, पठनपाठन भोलिदेखि

    २९ भदौ, काठमाडौं।
    जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् ।

    ‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

    काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो ।

    निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।

    प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ।

    स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो ।

  • जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

    २९ भदौ, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

    पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् ।

    उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् ।

    उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।

  • सुमनाले छोडिन् रास्वपा

    सुमनाले छोडिन् रास्वपा

    २९ भदौ, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

    रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

    पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’

    पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दु:ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

    सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।

  • ७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

    ७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

    २९ भदौ, काठमाडौं ।
    बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    २९ भदौ, काठमाडौं ।
    जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

    आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

    उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

    मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

  • वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु

    वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु

    २९ भदौ, काठमाडौं ।
    जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

    वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

    ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

    प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो ।

    आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

    यससँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।

  • जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

    जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

    २९ भदौ, काठमाडौं ।
    चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

    जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

    डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

    २३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

    अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

  • प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    काठमाडौँ, भदौ २९-
    नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।

    यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

    “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । रासस