Blog

  • संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

    संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

    १ असोज, काठमाडौं ।
    संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् ।

    प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन् ।

    सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले गाडी फिर्ता गरे ।

    नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।

    बाँकी संसदीय विषयगत समितिका सभापतिले औपचारिक रुपमा गाडी वा गाडीको चाबी फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । कतिपयको गडाी संसद सचिवालयमै रहेको तर, चाबी मात्रै फिर्ता गर्न बाँकी रहेको सवारी शाखाका प्रमुख प्रदीप नेपालले जानकारी दिए ।

    राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाको गाडी संसद सचिवालयमै छ ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेको गाडी पनि संसद सचिवालयमै छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि गाडी बुझाउन बाँकी रहेको छ ।

    सभापतिका साथै राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले समेत गाडील सुविधा पाउँछन् । प्रतिनिधि सभा विघटन भएसँगै सबैले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।

    सवारी शाखाका प्रमुख नेपालका अनुसार गाडी फिर्ताका लागि सात दिनको समय दिने गरिएको छ । भदौ २७ गते प्रतिनिधि सभा विघटन भएकाले त्यसको सात दिनभित्र संसदीय विषयगत समितिका सभापति र मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    काठमाडौँ, असोज १-
    केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।

    नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताउनुभयो ।

    महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उहाँले बताउनुभयो । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।

    यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गर्नुभएकोे अनुरोधपत्रमा उल्लेख छ ।

    अनुरोधपत्रमा भनिएको छ, “समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।”

    उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् ।

    चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ । रासस

     

  • धादिङमा ठोक्किए बस र टिपर

    धादिङमा ठोक्किए बस र टिपर

    १ असोज, काठमाडौं ।
    धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।

    भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।

    दुर्घटनामा व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

    आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

    काठमाडौं, असोज १-
    दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार आजदेखि राजमार्ग खुला गरिने भएको हो ।

    यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए । सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।

  • सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

    सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

    गण्डकी, असोज १-
    जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कास्कीले कार्यालयबाट प्रवाह हुने सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ ।

    कार्यालय भवन सरसफाइ, मर्मतसम्भार, रङ्गरोगनलगायतका कार्य भइरहेकाले सेवा प्राप्तिमा धैर्य गरिदिन सेवाग्राहीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभयो । आइतबारदेखि शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सञ्चालन भएको र अन्य सेवा क्रमिक रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ ।

    हाल दुईवटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्यकक्ष मर्मतको काम भइरहेको जनाइएको छ । सुरक्षाकर्मी, कर्मचारीलगायत आवश्यक जनशक्ति परिचालन गरेर कार्यालय सरसफाइ र मर्मतसम्भारको काम गरिएको हो । जनजी आन्दोलनका क्रममा यहीँ भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ ।

    कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरणहरू जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षालगायत सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ । रासस

  • आजको मौसम : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ असोज १
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

    जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउसो देशभर साधरणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • हेर्नुस् आज मिति २०८२ साल असोज १ गते बुधबार, यस्तो छ तपाईको राशिफल

    हेर्नुस् आज मिति २०८२ साल असोज १ गते बुधबार, यस्तो छ तपाईको राशिफल

    आजको पञ्चाङ्ग
    वि.सं.२०८२ साल आश्विन १ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी, ४८ घडी ४४ पला, रातको १ बजेर २० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु, ९ घडी २२ पला, बिहान ९ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग– परिध, ५१ घडी ४० पला, रातको २ बजेर ३० मिनेट उप्रान्त शिव । करण–बव, दिउसो १ बजेर ५८ मिनेट उप्रान्त बालव, रातको १ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । आश्विन सङ्क्रान्ति। इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। वास्तु दिवस। विश्वकर्मा पूजा।

    मेषः
    पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्नेछ । विगतका समस्या बल्झिन सक्नेछन् । आज केहि चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ ।

    वृषः

    नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाईनेछ । पारिवारिक सद्भावमा मिठास आउला । तपाईंको लगनशीलताले सम्मानित स्थान दिलाउनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय छ ।

    मिथुनः

    कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु राम्रो पक्ष हुनेछ । अध्ययनतर्फ मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । आफ्नो परिवारमा केही असमझदारी र प्रेम–सम्बन्धमा खटपटी बढ्न सक्नेछ ।

    कर्कटः

    आजको समय उपलब्धिमूलक रहनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ ।

    सिंहः

    आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । सोख र मनोरञ्जनले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

    कन्याः

    शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आयस्रोत सबल बन्नेछ र भोगविलासमा मन रमाउने छ ।

    तुलाः

    न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ । शैक्षिक एवं कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

    बृश्चिकः

    सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आज केही चुनौतीपूर्ण देखिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ ।

    धनुः

    आज केही व्यावहारिक उतारचढाव आउन सक्नेछन् । कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । आलोचकहरूलाई शुभचिन्तकका रूपमा लिनु राम्रो पक्ष हुनेछ ।

    मकरः

    आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भईएला । महिला वर्गबाट विशेष साथसहयोग मिल्नेछ । आवश्यक स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भः

    भौतिक सुख शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिनेछ । द्वेष तथा इष्र्या गर्नेहरूले केही समस्या निम्त्याउनेछन् तापनि प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ ।

    मीनः

    साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नु राम्रो पक्ष हुनेछ । सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुने समय छ ।

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

    चितवन, ३१ भदौ :
    पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।

    आज साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडकखण्डमा माथिबाट सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकखण्ड दुईतर्फी रुपमा नै अबरुद्ध भएको छ ।

    यस्तै सोही सडकखण्डको नाम्सी खोलामा पहिरो खसेर सडक एकतर्फी अबरुद्ध भएको छ ।

    अहिले दुबै ठाउँको पहिरो पन्छाउने काम भइरहेको सिंहले जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन ।

  • सडक माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार एक यात्रुको मृत्यु

    सडक माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार एक यात्रुको मृत्यु

    चितवन, ३१ भदौ :
    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिक माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।

    आज साँझ ७ बजेको समयमा तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङ घलेगाउँ–३ बस्ने ४६ वर्षीय ऐश्र्या कामीलाई सडक माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट पसेर लागेको थियो ।

    ढुङ्गाले लागेर घाइते भएकी कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा साँझ ७ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

    बस र बस चालक तनहुँ म्याग्दे गाउँपालिका–२ बस्ने वर्ष ३५ को तेज कुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै चितवन प्रहरी

    तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै चितवन प्रहरी

    चितवन, ३१ भदौ : 
    जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो ।

    घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ ।

    केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उहाँले भन्नुभयो, “हामीले सार्वजनिक रूपमा सूचना समेत माग गरेका छौँ ।” आम नागरिकसँग फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरी समेत प्रहरीले माग गरेको छ ।

    ती सूचनालाई मुख्य आधार मानेर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुटिएका सामान राखिएका ठाउँहरूको खोजी समेत थालिएको बताउनुभयो । त्यस्ता सामग्री फिर्ता गर्न भनिएको र नभएमा जफत गरी प्रचलित कानुनअनुसार कडा कारकाही गरिने उहाँले जानकारी दिनुभयो ।

    सुरक्षा निकायका सबै अङ्ग सूचना सङ्कलन र पहिचानमा जुटेको उहाँले बताउनुभयो ।

    भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए । सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको थियो । प्रदर्शनकारीले ७९ वटा सरकारी कार्यालय, १६ वटा निजी घर एवं व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।