Blog

  • तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण

    काठमाडौँ, १ असोज :
    ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् ।

    अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गर्नुभएको हो ।
    निरीक्षण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त यो भवन पुरानै स्वरुपमा निर्माण गरिने छ ।”

    त्यसैगरी मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताउनुभयो ।

    जेनजी प्रदर्शनका क्रममा उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ । प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

  • आजदेखि मनकामना केबलकार सञ्चालन

    आजदेखि मनकामना केबलकार सञ्चालन

    अशोज १,मुग्लिन ।
    मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ ।
    केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

    सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

  • सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

    सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

    कीर्तिपुर (काठमाडौँ), असोज १-
    जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र ९आइसियु०मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।

    घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहनुभएका जलनविज्ञ डा कीरण नकर्मीले भन्नुभयो, “अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको छ, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ ।” डा नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ ।

    यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएका छौँ । आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको भनिएको छ ।”

    फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ ९बेहोस पार्ने० विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिनुभयो ।

    लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उहाँले दुःख व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भत्र्सना गर्दछु । उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।”

    सम्मानित नेता खनालले आफ्नो घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरुको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै प्राप्त ती प्रमाणहरु छिट्टै सार्वजनिक गरिने बताउनुभयो । रासस

  • सुदन गुरुङमाथि आक्रमणको प्रयास

    सुदन गुरुङमाथि आक्रमणको प्रयास

    असोज १,काठमाडौं-
    हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।

    उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

    ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भने ।

    आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।

  • नारायणघाट–मुग्लिन सडक खण्ड सुचारु

    नारायणघाट–मुग्लिन सडक खण्ड सुचारु

    चितवन, असोज १–
    पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । निरन्तरको वर्षासंगै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको हो ।

    मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको थियो ।

  • कांग्रेस बागमती प्रदेश संसदीय दल : प्रदेशसभा सञ्चालन गर्न समयानुकूल निर्णय गर्ने

    कांग्रेस बागमती प्रदेश संसदीय दल : प्रदेशसभा सञ्चालन गर्न समयानुकूल निर्णय गर्ने

    १ असोज, हेटौंडा ।
    बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने भएको छ ।

    प्रदेशसभा सञ्चालन सम्बन्धी संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग संवाद गर्ने र समायनुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको हो । बागमतीका मुख्यमन्त्रीसमेत रहेका दल नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार भएको भर्चुअल बैठकमा जेनजीहरूको आन्दोलनपछि विकसित घटनाक्रमको समीक्षा र प्रदेश सरकार सञ्चालनको सम्बन्धमा छलफल भएको संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

    दल बैठकले प्रदेशसभा संसदीय समितिलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ । यद्यपि, हेटौंडा उपमहानगरपालिका–१०, स्थित प्रदेशसभा सचिवालयको नयाँ र पुरानो दुवै भवन २४ भदौमा भएको तोडफोड र आगजनीबाट ध्वस्त भएको छ ।

    यसैगरी, जेनजीहरूको प्रदर्शनको क्रममा संघीय व्यवस्थापिका, प्रदेश सभा, संघीय तथा प्रदेश कार्यपालिका तथा न्यायलयहरु, स्थानीय तहका भौतिक संरचना, राजनितिक दलका विभिन्न तहका कार्यालय, राजनितिक नेतृत्व, सञ्चार गृह तथा उद्योगी, सुरक्षा निकाय र निजी आवास, सवारीसाधन, व्यापरिक केन्द्रमा भएको आगजनी र तोडफोडको घोर भर्त्सना गर्ने निर्णय गरेका प्रवक्ता लामिछानेले बताए ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बहालवाला पराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाहीको माग बैठकले गरेको छ । दलको बैठकले संविधान, राष्ट्रियता र लोकतन्त्रको मूल मर्मअनुसार मुलुकलाई निकास दिएकोले राष्ट्रपति रामचन्द्र पौडेलप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको प्रवक्ता लामिछानेले बताए ।

    ३ असोजमा संविधान दिवसलाई संविधानको सम्बर्द्धन र महत्त्व दर्साउनेगरी संयमित ढंगले मनाउनुपर्नेमा सरकारलाई सुझाव दिइएको उनले बताए । समाजमा शान्ति, सुरक्षा र सदभाव कायम राख्न कांर्ग्रेसका प्रदेशसभा सदस्यहरुले नेतृत्वदायी भुमिका खेल्दैसामाजिक अभियान्ताहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

    दलले सुशासनको माग राख्दै जेनजी युवाद्वारा आयोजित प्रदर्शनको क्रम भएको मानवीय क्षतिले स्तब्ध बनाएको बताउँदै दलले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ । यस्तै, काठमाडौंमा रहेका मुख्यमन्त्री बानियाँ आज हेटौंडा आउने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

  • राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदै

    राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदै

    १ असोज, काठमाडौं ।
    राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदैछ ।

    संसदीय विषयगत समितिको बैठक राख्न र जनसरोकारका विषयमा छलफल चलाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नै अग्रसरता लिएका छन् ।

    बुधबार राष्ट्रिय सभाका अध्यक्ष दाहाल, उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालसहित संसदीय विषयगत समितिका सभापतिहरूको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गत चार वटा समिति रहेका छन् ।

    विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा कुमारी दाहाल, विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कमला देवी पन्त, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माया प्रसाद शर्मा र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

    प्रतिनिधि सभा विघटन भएको छ । राष्ट्रिय सभाको चालू अधिवेशन समेत अन्त्य भएको छ । यो अवस्थामा संसदीय विषयगत समितिको भूमिका महत्वपूर्ण हुन्छ ।

    राष्ट्रिय सभामा हाल पाँच वटा विधेयक रहेका छन् ।

    विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएपछि संघीय संसद्‌मा विचाराधीन ३० वटा विधेयक निष्क्रिय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुबै खाले विधेयक निष्क्रिय हुन्छन् ।

    तर, राष्ट्रिय सभामा उत्पति भएका र राष्ट्रिय सभामै रहेका विधेयक भने निष्क्रिय हुँदैनन् । यस्ता विधेयकको संख्या पाँच वटा रहेको छ ।

    राष्ट्रिय सभामा बाँकी रहेका विधेयक हुन्– अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक । यी पाँच वटै विधेयक विधायन समितिमा रहेका छन् ।

  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    अशोज १,भक्तपुर ।
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

    यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।

    बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।

    त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।

  • दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बचेँः नगर प्रमुख रेग्मी

    दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बचेँः नगर प्रमुख रेग्मी

    चितवन, असोज १ –
    जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँटोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको छ ।

    यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरुको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउनुहुन्छ ।

    प्रमुख रेग्मीले भन्नुभयो, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरु फर्किए ।”

    दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने रु कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उहाँले सुनाउनुभयो । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरेको उहाँले सुनाउनुभयो । आक्रमणका क्रममा केही साथीहरुले मेरो घर जोगाउन कोसिस गरेको बताउँदै उहाँले भन्नुभयो, “छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।”

    घटना विवरण सुनाउँदै प्रमुख रेग्मीले भन्नुभयो, “सुरुआती क्षणमा वडा कार्यालयहरु हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने ‘म्यासेज’हरु आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए ।” सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन नसकेको भन्दै उहाँले भन्नुभयो, “परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।”

    ठूलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भएको नगरप्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।”

    निकै भावुक हुँदै उहाँले कतैतिरबाट कुनै साहारा नपाएपछि आफूले बाध्य भएर पार्टी छोडेको स्टाटस फेसबुकमा लेखेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा ‘स्टाटस’ लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको ‘स्टाटस लेखेँ ।” त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दै भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । नगरप्रमुख रेग्मीले अगाडि थप्नुभयो, “मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस ‘डिलिट’ गरेँ, म पार्टीमै छु ।”

    उहाँले भन्नुभयो, “परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो मैले व्यक्त गर्न सक्दिन । पीडादायी अवस्था बन्यो ।” एमालेहरुलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उहाँले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बनेको बताउनुभयो ।

    आन्दोलनकारीले उहाँको घरमा तोडफोड गर्दा झण्डै रु छ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसो त उहाँले नेतृत्व गरेको कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् । वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।

    कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै रु ८० करोड हाराहारी क्षति भएको आकलन गरिएको प्रमुख रेग्मी बताउनुहुन्छ । यद्यपि मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धतासहित सबै ठाउँसम्म पुगिरहेको उहाँ बताउनुहुन्छ ।

    जिल्लाको स्थानीय तहहरूमध्ये उत्कृष्ट काम भएको भनिएको नगरपालिकामा जेनजी प्रदर्शनका क्रममा अपुरणीय क्षति पुगी असैह्य पीडा व्यहोर्नु परेको भन्दै कालिका नगरपालिकाका प्रमुख रेग्मी सो घटनाबाट पाठ सिकी नगरवासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । रासस

  • नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

    नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

    चितवन, असोज १–
    निरन्तरको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।

    मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको हो । सो पहिरो हटाउन मेशिन/उपकरण र प्राविधिकको टोली परिचालन भैसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    यसअघि हिजो रातिदेखि नै अवरुद्ध भएको उक्त सडक खण्ड विहान मात्रै संचालनमा आएको थियो ।