Blog

  • पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    ३१ भदौ, बैतडी ।
    वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

    राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ ।’

    राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् । रासस

    यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए.

  • सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

    सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

    नेपालगञ्ज, भदौ ३१-
    यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

    आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो ।

    गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताउनुभयो । सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उहाँले बताउनुभयो ।

    “हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उहाँले भन्नुभयो । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो । रासस

  • पेरिसडाँडा अवलोकनपछि पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

    पेरिसडाँडा अवलोकनपछि पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

    काठमाडौँ भदौ ३१-
    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।

    उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका हुन् । जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएका हुन् । “अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ”, उनले भने ।

    प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।

  • सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले

    सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले

    ३१ भदौ, काठमाडौं ।
    सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले बतायो । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ ।

    सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् ।

    विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो ।

    निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको थियो ।

    जेनजी आन्दोलन बिस्तारै मत्थर हुँदै गएको र अन्तरिम सरकार समेत गठन भएपछि सेनाले उनीहरूलाई धमाधम फिर्ता पठाएको हो । सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको बताइएको छ ।

    भीआईपी सुरक्षा कार्यविधिअनुसार उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ । बढी सुरक्षा थ्रेट हुनेहरूलाई सोही अनुसार सुरक्षाकर्मीहरू उपलब्ध गराइएको बताइएको छ ।

    उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका छन् । अहिले उनीहरू आफन्त तथा साथीहरूकोमा बस्ने गरेको बताइएको छ । केहीले भने डेरा लिएर बस्न थालेको सुरक्षा स्रोतले बताएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा भने प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए । उनीहरूको अहिले पनि उपचार जारी छ ।

  • ‘भोजपुरे खुकुरी’ को माग उच्चः बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्चः बनाउन कालीगढको चरम अभाव

    भोजपुर, भदौ ३१-
    परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

    पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ ।

    खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताउनुभयो । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उहाँको भनाइ छ ।

    “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।”

    मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बतउनुभयो । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उहाँको भनाइ छ ।

    विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो ।

    विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ । रासस

  • दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

    दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

    घोराही (दाङ), भदौ ३१-
    पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    अघिल्लो आवमा छ सय ७० हेक्टर क्षेत्रमा केराखेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क छ । गत आवमा एक सय ५० हेक्टर केराखेती हुने क्षेत्रफल वृद्धि भएको हो । जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख भण्डारी बताउनुहुन्छ ।

    “जिल्लामा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ, उत्पादन वृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ”, प्रमुख भण्डारीले भन्नुभयो । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

    जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर,गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी पनि लागेको पाइएको छ ।

    प्रमुख भण्डारीका अनुसार जिल्लामा केराखेतीको राम्रो सम्भावना छ, त्यसैले पनि पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । केराको बजारसमेत राम्रो रहेको उहाँ बताउनुहुन्छ । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या छैन । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।

    अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था छ । केराको मागअनुसार उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा ल्याउनुपर्ने हुँदा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउनुहुन्छ ।

    “जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन”, फलपूmल व्यवसायी विकले भन्नुभयो । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उहाँको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट केरा ल्याउने गरे पनि बाह्रै महिना नपुग्ने उहाँको भनाइ छ । रासस

  • चितवनमा मानविय क्षति रोक्न सकेपनि सार्वजनिक सम्पत्तीमा अकल्पनिय क्षति पुग्योः प्रजिअ अर्याल

    चितवनमा मानविय क्षति रोक्न सकेपनि सार्वजनिक सम्पत्तीमा अकल्पनिय क्षति पुग्योः प्रजिअ अर्याल

    चितवन,भदौ ३१-
    जिल्ला प्रशासन कार्यलय चितवनले प्रर्दशनका क्रममा चितवनमा के- के भयो भन्ने विवरण सार्वजनिक गरेको छ । प्रशासनका अनुसार प्रर्दशनका क्रममा चितवनमा १४ प्रर्दशनकारी र १२ प्रहरी घाइते भएको र ति मध्ये चारजना अझै उपचाररत भएको जनाएको छ ।

    सोमबार जिल्ला सुरक्षा समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुइ दिनमा प्रहरीले स्थिती नियन्त्रणमा लिन दुई सय राउन्ड रबर गोली, ३ सय ५० सेल अश्रु ग्यास र केही हवाइ फायर गर्नुपरेको बताए । उनले प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको र गोलीको छर्रा लागेर तीनजना प्रदर्शनकारी घाइते भएको पनि बताए ।

    आन्दोलनमा क्रममा २३ भदौमा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको पार्वतीपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यही बेला ग्याँस सिलिन्डर पड्कदा घाइते किशोरको उपचारका क्रममा निधन भएको पनि प्रशासनले जनाएको छ । त्यस्तै रत्ननगर नगरपालिका कार्यालयभित्र आगलागीमा निस्सासिएका एक पुरूषको पनि निधन भएको विवरण आएपनि यसको पुष्टी भइनसकेको प्रजिअ अर्यालले बताए । उनले पहिलो दिन भन्दा दोस्रो दिन अवस्था नियन्त्रण बाहिर पुगेको बताए । उनले भने, मानविय क्षति रोक्न सकेपनि सार्वजनिक सम्पत्तीमा अकल्पनिय क्षति पुग्यो ।

  • सुनको चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम

    सुनको चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम

    काठमाडौँ भदौ ३१ –
    नेपाली बजारमा सुनको चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो ।

    मंगलबार चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।

  • भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

    भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

    ३१ भदौ, काठमाडौं ।
    भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

    दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।

    प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।

    घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

    भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।

    शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

    यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

    त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

  • लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैनः हर्क

    लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैनः हर्क

    धरान, भदौ ३१-
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।

    सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ१ लिडर भनिँदैन !’ हर्कले लेखेका छन्।