Blog

  • चुनावी तयारीमा लाग्न माओवादीको निर्देशन

    चुनावी तयारीमा लाग्न माओवादीको निर्देशन

    काठमाडौं,असोज १-
    माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो । उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ दाहालको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’

    जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गदै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ । बदलिँदो परिस्थितिलाई आत्मसाथ गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ । चुनावलाई सफल बनामएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने भन्दै उसले चुनावी तयारीका लागि गृहकार्य सुरु गरेको हो ।

  • हेटौँडा उपमहानगरपालिकाद्वारा नियमित सेवा प्रवाहको तयारी गरिँदै

    हेटौँडा उपमहानगरपालिकाद्वारा नियमित सेवा प्रवाहको तयारी गरिँदै

    बागमती, असोज १ –
    जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् ।

    आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो । उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवाप्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुबेदीले जानकारी दिनुभयो ।

    “आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीहरुलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ”, उहाँले भन्नुभयो, “कोठाकोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ ।” सम्भवतः असोज ४ गतेदेखि कार्यालयबाट राजस्व सङ्कलन, नक्सा पास, सिफारिसलगायतका काम नियमित रुपमा सुचारु गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

    जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए । सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ । यस्तै उपमहानगरपालिकाको सवारीसाधनसमेत क्षति भएको थियो ।

    क्षतिको विवरण सङ्कलनको काम भइरहेको उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताउनुभयो । “आगजनीबाट उपमहानगरपालिकाको मूल कार्यालयसँगै छ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारीसाधन जलेर नष्ट भएको”, उहाँले भन्नुभयो, “क्षतिको विवरण विभिन्न शाखाहरुबाट सङ्कलन भइरहेको र प्राविधिकबाट प्नि क्षतिको मूल्याङ्कन भइरहेको छ ।” सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के कति क्षति भएको थाहा हुने उहाँको भनाइ छ ।

    यसैबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगजनीबाट ध्वस्त भएको संरचनाहरुको अनुगमन गर्नुभएको छ । क्षतिग्रस्त कार्यालयको अनुगमनपश्चात् उहाँले आगजनीबाट ध्वस्त कार्यालयलाई व्यवस्थित बनाएर तत्काल सेवाप्रवाहलाई व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिनुभयो । रासस

  • सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने

    १ असोज, काठमाडौं ।
    सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए ।

    ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो ।

    २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।

    विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो । संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो ।

    संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी लगायतलाई निम्ता गर्दथ्यो ।

    त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवक, मजदुर, किसान, महिला, सामाजिक संघ संस्थासँग आबद्ध पदाधिकारीहरू एवं नागरिक समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रियाशील सबै सामाजिक सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रित गरिन्थ्यो ।

    यसपटक कस्तो कार्यक्रम गरेर संविधान दिवस मनाउने हो सरकारले प्रस्ट भनेको छैन । गृहमन्त्रालयका उपसचिव आचार्यले संविधान दिवस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दिएका हुन् ।

    नेपाली सेनाले पनि सामान्यरुपमा संविधान दिवस मनाउने तयारी रहेको बताएको छ ।

  • बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

    बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

    १ असोज, हेटौंडा ।
    बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् ।

    जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गरेका छन् ।

    ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

    २४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।

    जेनजीहरूको आन्दोलन चर्किँदा २४ भदौमा उनी काठमाडौं थिए । आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरणलगायत जलेर ध्वस्त भएका छन् ।

  • जेनजी आन्दोलनका मृतक परिवारलाई मन्त्री घिसिङले भेटे

    जेनजी आन्दोलनका मृतक परिवारलाई मन्त्री घिसिङले भेटे

    काठमाडौं, असोज १-
    ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् ।

    मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटके हुन् । भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए ।

  • बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

    बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

    चितवन, भदौ ३१ –
    भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा पढ्ने ३६ जना विद्यार्थीलाई ४२ लाख रूपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले एक जनालाई दुई लाख, पाँच जनालाई जनही एक लाख १० हजार, दस जनालाई जनही एक लाख २५ हजार र बीस जनालाई जनही एक लाख रूपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।

    उक्त छात्रवृत्ति कलेजको स्नातक तहमा बिबिए, बिबिए–फाइनान्स, बिएचएम र बिसिएस आइटी पढ्ने विद्यार्थीले प्राप्त गरेको कलेजको अन्डरग्राजुयट डिरेक्टर पुष्प अधिकारीले बताए ।

    कलेजले मङ्गलबार एक कार्यक्रमका बीच लक्की ड्रमार्फत छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको हो । विद्यार्थीले भर्नाका बेला भरेको कुपनलाई लक्की ड्रबाट छनोट गरिएको थियो । कुपन छान्न कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी र पत्रकारलाई लगाइएको थियो ।

    बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले कलेजले टिएनई (ट्रान्सनेसनल एजुकेसन) नामक नयाँ कार्यक्रमको अवधारणा ल्याएको बताए । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले एक वर्ष बोस्टनमा पढ्ने छन् भने दुई वर्ष अस्ट्रेलिया वा युकेको विश्वविद्यालयमा गएर पढ्ने छन् । कलेजले पाँचवटा उत्कृष्ट स्टार्टअप परियोजनालाई कुल आठ लाख रूपैयाँ बीउपुँजी प्रदान गरेको छ ।

  • चाडपर्वको अवसरमा प्याराडाइज इन्फोटेक चितवनले आईटी कोर्समा २० प्रतिशत छुट दिँदै

    चाडपर्वको अवसरमा प्याराडाइज इन्फोटेक चितवनले आईटी कोर्समा २० प्रतिशत छुट दिँदै

    चितवन, असोज १ –
    चाडपर्वको खुशियालीलाई थप उत्साहपूर्ण बनाउन प्याराडाइज इन्फोटेक चितवन (Paradise Infotech Chitwan) ले आफ्ना लोकप्रिय आईटी कोर्सहरूमा २० प्रतिशत विशेष छुटको घोषणा गरेको छ ।

    यस अफर अन्तर्गत फुल स्टाक वेभ डेभलप्मेन्ट र ग्राफिक डिजाइन (Full Stack Web Development र Graphic Designing) जस्ता उच्च माग भएका कोर्सहरूलाई बजारमै आवश्यक पर्ने व्यावहारिक शिक्षा सहित सिक्न सकिने प्याराडाइजले जनाएको छ ।

    संस्थाका अनुसार यो छुट विशेष गरी चितवनमा अध्ययनरत विद्यार्थी तथा आईटी क्षेत्रमा करियर बनाउन इच्छुक युवाहरूलाई लक्ष्य गरेर ल्याइएको हो । यस अवसरमार्फत सहभागीहरूले व्यावहारिक शिक्षा र बजार–केन्द्रित प्रशिक्षण सस्तो मूल्यमा पाउनेछन् ।

    इच्छुकले अफरको लाभ लिन आजै आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । यसका लागि प्याराडाइज इन्फोटेक चितवनको कार्यालयमा प्रत्यक्ष उपस्थित भई वा फोनमार्फत पनि बुकिङ गर्न सकिन्छ।

    ???? स्थान : सरस्वती टावर, हाकिम चोक, भरतपुर–१०, चितवन
    ???? सम्पर्क : 056-511432 | 9802358601

  • मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

    मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

    काठमाडौँ, असोज १ –
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

    जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

    “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।” मन्त्री घिसिङले भन्नुभएको छ ।

    उहाँले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो ।

    मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गर्नुभयो ।

    सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ । रासस

  • राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

    राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

    १ असोज, काठमाडौं ।
    प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्‍मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् ।

    संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले विधेयक निष्किृय हुन्छन् । तर, राष्ट्रिय सभामा उत्पति भएका र राष्ट्रिय सभामै रहेका विधेयक भने निष्किृय हुँदैनन् । विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार यस्ता विधेयकको संख्या पाँच वटा रहेका छ .

    राष्ट्रिय सभामा बाँकी रहेका विधेयक हुन-अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक । यी पाँचवटै विधेयक विधायन समितिमा रहेका छन् ।

    विधायन समितिका सचिव गिरीका अनुसार राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा सात वटा विधेयक पनि निष्कृय भएका छन् ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय भएको छ ।

    यस्तो प्रावधान संविधानको धारा १११ मा छ । ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

    नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

    भरतपुर,असोज १-
    पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । मंगलबार साँझ ८ः५० बजेदेखि अबरुद्ध सडक बिहान ९ बजेदेखि सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडकखण्डमा माथिबाट सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि राती नै पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो । बिहानैदेखि दुईवटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको उहाँले बताउनुभयो ।

    यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि खसेको पहिरो पन्छाएर सडक दुइतर्फी संचालनमा ल्याइएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पनि पन्छाएर सडक दुइतर्फी संचालन आएको छ । सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन । सवारीसाधनको चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।