Blog
-

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, ४ जना घाइते
३१ भदाै, हेटाैंडा ।
हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ ।दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।
-

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला
खोटाङ, भदौ ३१ –
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् । अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उहाँले बताउनुभयो । रासस
-

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
काठमाडौँ, भदौ ३१ –
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा हुनुहुन्छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताउनुभयो । “चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो”, प्रवक्ता पाण्डेयले रासससँग भन्नुभयो, “बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।”
सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताउनुभएको थियो । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । रासस
-

चितवन कारागारबाट गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती
चितवन, भदौ ३१ –
चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरु पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ । रासस





