Blog

  • गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

    गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

    काठमाडौं, माघ, १० –

    नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं ४ मा आफूले सहजै जित निकाल्ने अवस्था भएपनि मधेश झरेको बताएका छन् । सर्लाही ४ मा युवाहरूसँगको छलफलमा काठमाडौं ४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिर गरे।

    उनले भने, ‘मैले यसअघि तीन पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो। मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुङ्गो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन। म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो।’

    उनले आफू सर्लाही ४ मा झरेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको जिकिर गरे।

    उनले थपे, ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही ४ रोजेको हुँ। मैले अघिल्लो पटक नै मधेश झर्न चाहेको थिए। अहिले आँट गरेर आएको हुँ।’

    कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफ्नो जोड मधेशमा रहेको बताए। आफू मधेश नझरी कांग्रेस ठुलो पार्टी बन्न नसक्ने उनको बुझाइ छ।

  • पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

    पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

    धरान, माघ १०-
    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका बरिष्ठ नेता तथा झापा ५ बाट उम्मेदवार बालेन्द्र शाहलक्षित गम्भीर टिप्पणी गरेका छन्।

    शनिबार उनले सिंहदरबार खरानी बनाउनेहरूले पाथिभरा मातासँग के भाकल गरे भन्दै सामाजीक सञ्जाल फेसबुकमा प्रश्न गरेका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्

    मैले पाथिभरा मातालाई भाकेर भनें ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्, सिंह दरबार खरानी बनाउनेहरुले चाहिँ के मागेछ ? जनता जान्न चाहन्छन्।’

  • भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

    भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

    भक्तपुर, माघ १०-
    नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको माटो आफ्नै भएको बताएका छन्। उनले भक्तपुरको विकासका लागि आफू नथाक्ने बताउँदै भक्तपुरको माटोसँगै यहाँका सपना पनि आफ्नै भएको बताएका हुन्।

    सामाजिक सञ्जालमा शनिबार स्टाटस लेख्दै उनले जनताको पीडा, आशा र भरोसालाई आफ्नो जिम्मेवारी ठानेर निस्वार्थ सेवामा समर्पित र देश र भक्तपुरको इज्जत, पहिचान र शिर सधैँ राख्दै इमानदारीताको बाटोमा हिँड्ने दाबी समेत गरेका छन्।

    ‘भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्। त्यसैले यसको विकासका लागि म थाक्दिनँ, रोकिँदिनँ’ भन्दै उनले भक्तपुर(२ का जनतासगँ मतको अपिल गरेका छन्।

    हेर्नुस् उनको काव्यात्मक शैलीको अपिल

    भक्तपुर मेरो माटो हो,

    यहाँका सपना मेरा सपना हुन्।

    त्यसैले यसको विकासका लागि म थाक्दिनँ, रोकिँदिनँ।

    जनताको पीडा, आशा र भरोसालाई

    आफ्नो जिम्मेवारी ठानेर

    निस्वार्थ सेवामा आफू समर्पित गर्नेछु।

    देश र भक्तपुरको इज्जत, पहिचान र शिर

    सधैँ उँचो राख्न

    इमानदारी मेरो मार्ग हुनेछ।

    तपाईंको मत-मेरो वाचा।

    आफ्नै ठाउँका मान्छे, आफ्नै मनको माया।

    हाम्रो भक्तपुर, हाम्रो नेतृत्व।

  • डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

    डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

    डोल्पा, माघ १०
    डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

    लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।

  • माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

    माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

    काठमाडौं, माघ १०-
    नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ ।

    सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

    जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीका लागि प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।

  • हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

    हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

    काठमाडौैँ, माघ १० –
    नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।
    पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।

    नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ । रासस

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    काठमाडौँ, माघ १०-
    आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो ।

    शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।

    शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ ।

    सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तरराष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका महत्वपूर्ण रहेको स्वीकार गरेको थियो ।

    विशेषगरी दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
    युनेस्कोका अनुसार विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्। रासस

  • निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

    निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

    काठमाडौँ, माघ १० –
    निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।

    मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।

    समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

    प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्याइएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना उम्मेदवार तय भएका छन् । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ । रासस

  • देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ माघ १०
    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भूभाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

  • आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ १० गते । शनिबार । इस्वी सन् २०२६ जनवरी २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–षष्ठी, ३९ घडी ५४ पला, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराभाद्रपदा, १५ घडी ३८ पला, दिउँसो १ बजेर ११ मिनेट उप्रान्त रेवती । योग–शिब, १६ घडी ८ पला, दिउँसो १ बजेर २३ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४१ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय व्यातित हुनेछ । यात्रा तथा मनोरञ्जनमा थोरै समय खर्च हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शैक्षिक तथा राजनीतिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ भने प्रचारमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । राजनीतिक गतिविधि वा कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । राजनीति वा सामाजिक क्षेत्रमा जनतासँग घुलमिल भई आफ्ना विचारहरू राख्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । राजनीतिमा जनतासँगै रहेर जनताको गुनासो सन्ने अवसर प्राप्त हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको गतिलो समर्थन रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । राजनीतिज्ञहरूका लागी समय उत्तम रहेको छ भने यात्रा, भेटघाट, प्रचार तथा बैठकमा समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । राजनीतिमा प्रचार, भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । राजनीतिमा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।