Blog

  • कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु

    कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु

    काठमाडौँ, माघ ११-
    कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण/उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ ।

    उक्त सम्झौतामा कोशी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार २०७६ साउन १ गतेपछि नियुक्त भएका प्रदेश सरकार र स्थानीय निकायका कर्मचारीका लागि योगदानमा आधारित निवृित्तभरण प्रणाली लागू हुनेछ । यो सँगै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीको निवृित्तभरण व्यवस्थापनका सम्बन्धमा रहेको अन्योल अन्त्य भएको सचिव निरौलाले राससलाई बताउनुभयो ।

    देश सङ्घीय संरचनामा रुपान्तरण भए पश्चात् तीन वटै तहलाई योगदानमा आधारित निवृित्तभरण प्रणालीमा समेट्ने र सङ्घीय संरचना अनुरुपको सार्वजनिकस्तरको सामाजिक सुरक्षण संस्थाको रुपमा कोषले आफूलाई विकास गर्ने योजनाअनुरुप सो सम्झौता गरेकोे सचिव निरौलाले जानकारी दिनुभयो ।

    सम्झौताबाट २०७६ साउन १ पछि नियुक्त भएका हजारौँ प्रदेश निजामती र स्थानीय सरकारी सेवाका कर्मचारीहरू कर्मचारी सञ्चय कोषको योगदानमूलक निवृित्तभरण योजनामा आबद्ध हुनेछन् । राज्यकोषमाथि परम्परागत ‘पेन्सन’ प्रणालीले पारेको आर्थिक भारलाई कम गर्न सरकारले ल्याएको योगदानमूलक निवृित्तभरण ऐन, २०७५ लाई कार्यान्वयन गर्न सहयोगी हुने छ ।

    देशको सामाजिक सुरक्षा क्षेत्रमा छ दशकभन्दा लामो समयदेखि सेवारत कर्मचारी सञ्चय कोषको सेवा विस्तार र पहुँचलाई प्रदेश र स्थानीय तहसम्म पु¥याउने रणनीतिक लक्ष्यलाई साकार पारेको कोषका प्रमुख प्रशासक धितालले बताउनुभयो । कोशी प्रदेशबाट प्रारम्भ भएको यो सुरुआतले अन्य प्रदेशहरूलाई पनि कोषको योगदानमा आधारित निवृित्तभरण प्रणालीमा जोडिन मार्गदर्शन गरेको उहाँको भनाइ छ ।

    कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष ९स्थापना तथा सञ्चालन० ऐन, २०८२ बमोजिम प्रदेशका कर्मचारीहरूको तलबबाट ६ प्रतिशत कट्टा हुने गरी सोही बराबर रकम कर्मचारी कार्यरत निकायले थप गर्ने रकमलाई कोषले योगदानकर्ताको व्यक्तिगत निवृित्तभरण खातामार्फत व्यवस्थापन गर्नेछ ।

    प्रदेशका कर्मचारीलाई आजीवन निवृित्तभरण उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम र बिमाङ्कीय मूल्याङ्कनबाट थप गर्नुपर्ने दायित्व प्रदेश सरकारका कर्मचारीको कर्मचारी सेवा शर्तसम्बन्धी कानुनमा उल्लेख भए बमोजिम हुनेगरी उक्त सम्झौता भएको हो ।

    कर्मचारी सञ्चय कोषलाई तीनै तहका सरकारी कर्मचारीको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास गर्ने बाटो खोल्नुका साथै यो साझेदारीले प्रदेश तहमा सङ्कलन हुने पुँजीले प्रदेशस्तरका राष्ट्रिय गौरवका आयोजना, जलविद्युत् र पूर्वाधार विकासमा लगानी गर्न र समग्र प्रदेशको अर्थतन्त्रमा योगदान दिने सम्भावनाको ढोका खोलेको कोषले जनाएको छ ।

    कर्मचारी सञ्चय कोष र कोशी प्रदेशबीचको यो सम्झौता प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीको सुरक्षित भविष्यको सुनिश्चितता हो भन्दै कोषले सामाजिक सुरक्षाको क्षेत्रमा तुलनात्मक रुपमा सञ्चयकर्ता र योगदानकर्तालाई बढी प्रतिफल तथा सामाजिक सुरक्षण सुविधा प्रदान गर्दै आइरहेको बताएको छ ।

    पछिल्लो समय कोषले प्रविधिको अधिकतम प्रयोग गरी प्रभावकारी सेवा प्रवाह, सामाजिक सुरक्षा सुविधाको विस्तारका साथै सञ्चयकर्ताको दायरामा वृद्धि गर्दै लगेको जनाएको छ । रासस

  • गगन थापा जनकपुर जाने कार्यक्रम रद्द

    गगन थापा जनकपुर जाने कार्यक्रम रद्द

    जनकपुरधाम, माघ ११-
    नेपाली कांग्रेसका सभापति गगन थापा जनकपुर जाने कार्यक्रम रद्द भएको छ । जनकपुरधाममा हुने भनिएको नेपाली कांग्रेसको सभा रद्द भएपछि सभापति थापा जनकपुर जाने कार्यक्रम पनि रद्द भएको हो ।

    निर्वाचन आयोगले आचारसंहिता लागु भइसकेको अवस्थामा सभाका निम्ति अनुमति नदिएपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ । कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा विशाल सभा गर्ने तयारी गरेको थियो । उक्त सभामा सभापति थापाले विशेष सम्बोधन गरेर राष्ट्रिय रूपमा निर्वाचन प्रचारप्रसार थाल्ने कांग्रेसको तयारी थियो ।

    आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

  • हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

    हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

    बागमती, माघ ११ –
    हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    “आगलागीमा कतिको क्षति भयो भने तत्काल एकिन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “तथ्याङ्क हेरेपछि मात्र क्षतिको एकिन गर्न सकिन्छ, तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ ।” यसो हेर्दा करिब १०–१२ करोड मूल्यबराबरकै क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

    मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ । आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा अहिले केहीबेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । रासस

  • राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

    राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

    काठमाडौँ, माघ ११-
    राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।

    अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

    रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्पmका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

    कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।

    यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ ।

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ । रासस

  • आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

    आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

    पर्वत, माघ ११-
    बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।

    यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।

    पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् । रासस

  • कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

    कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

    गण्डकी, माघ ११ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको छ ।

    कास्की क्षेत्र नं १ मा कूल १७ जना उम्मेदवारमध्ये सबैभन्दा कम ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा ११ जना ५० वर्ष मुनिमा उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कूल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा १२ जना उम्मेदवार ५० वर्षभन्दा कम उमेरका छन् ।

    त्यस्तै, क्षेत्र नं ३ मा कूल १५ जना उम्मेदवारमध्ये ३६ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा छ जना उम्मेदवार मात्रै ५० वर्ष तलका छन् । नवयुवादेखि ७० वर्षसम्मको उमेर समूहसम्मका उम्मेदवारबीच हुन लागेको प्रतिस्पर्धालाई अत्यन्त महत्वका साथ हेरिएको छ । तीन निर्वाचन क्षेत्रमा कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा १८ राजनीतिक दलसहित छ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    कूल ४९ उम्मेदवारमध्ये पाँच जना महिलाको मात्रै उम्मेदवारी परेको छ । अन्य सबै पुरुष छन् । जिल्लामा यसपटक अधिकांश उम्मेदवार नयाँ छन् । कास्कीमा आसन्न निर्वाचनमा कूल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ । यसअघि २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेकामा यसपटक १७ हजार चार जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

  • एमाले नेताले भनेः काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन

    एमाले नेताले भनेः काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन

    काठमाडौँ, माघ ११-
    नेकपा एमालेका युवा नेता अब्दुस मियाले आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सिट पनि नजित्ने दाबी गरेका छन्।

    सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘रास्वपाको हालत यसपटक दिल्लीमा आम आदमी पार्टी र बिहारमा प्रशान्त किशोरको जस्तो हुन्छ। मेरो आंकलन छ, यसपटक रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि जित्दैन।’

    उनले अगाडि लेखेका छन्, ‘हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’

  • सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

    सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

    महेन्द्रनगर, माघ ११-
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ ।

    प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको जनाउँदै उहाँले तीन जनाले उम्मेदवारी फिर्ता लिएका बताउनुभयो ।

    महिला उम्मेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकी बिना मगर, आमजनता पार्टी (एकल चुनाव चिह्न) सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उम्मेदवारी दिएका प्रवक्ता भाटले बताउनुभयो ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा क्षेत्र नं ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट (भट्ट) चुनावी मैदानमा छन् ।

    यसैगरी, कैलाली निर्वाचन क्षेत्र नं १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उम्मेदवार छन् । क्षेत्र नं २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उम्मेदवारी परेको छ ।

    कैलाली क्षेत्र नं ३ मा मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, क्षेत्र नं ५ मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर हुनुहुन्छ ।

    सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार हुनुहुन्छ । यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल ९मल्ल०ले उम्मेदवारी दिनुभएको छ । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस

  • साँगामा १ हजार ११० मिटर लामो अन्डरपास निर्माण तीव्र, ४५ प्रतिशत काम सम्पन्न

    साँगामा १ हजार ११० मिटर लामो अन्डरपास निर्माण तीव्र, ४५ प्रतिशत काम सम्पन्न

    काठमाडौँ, माघ ११-
    भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।

    अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए।उनका अनुसार हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ।कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ। जसअन्तर्गत साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो।आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ।

    सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो। सडक विस्तारका लागि ७।५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८।४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ।

     

    तस्बिरहरूः बिजेन अमात्य नेपाल फोटो लाइब्रेरी

  • आजपनि प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य

    आजपनि प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं, माघ ११-
    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २४ सय बढेको हो ।

    योसँगै आज सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ ९) ३ लाख १ हजार ४०० रुपैयाँ कायम थियो ।

    चाँदीको मूल्य पनि तोलामा २९० बढेको छ । यससँगै चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।