Blog

  • निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

    निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

    काठमाडौँ, ९ माघः 
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न तथा राजनीतिक दलको घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन नागरिक क्षेत्रबाट आग्रह गरिएको छ ।

    शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित छलफल कार्यक्रमका वक्ताहरूद्वारा निर्वाचन अवधिमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बद्ध पक्षले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षालगायत अधिकारका न्यूनतम विषयलाई प्रथमिकतामा दिँदै बालअधिकार सुनिश्चित गर्न आग्रह गरिएको हो ।

    वक्ताहरूले बालबालिकासम्बन्धी ऐन, २०७५, निर्वाचन आचारसंहिता, २०८२ लगायत ऐनमा भएका प्रावधानमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका गतिविधि, प्रचारप्रसार, आमसभा, जुलुस, र्‍यालीमा प्रयोग गर्न वा गराउन नहुने स्पष्ट उल्लेख भएकाले सोको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।

    एनसिई नेपालका अध्यक्ष लवराज वलीले १३ देखि २८ वर्ष उमेर समूहलाई जेनजी समूह भनिने स्थितिमा १८ वर्षभन्दा मुनिका बालबालिकाको उमेर समूहलाई जेनजीका नाममा राजनीतिक गतिविधि र निर्वाचनमा प्रयोग गर्न÷गराउन नहुने बताउनुभयो ।

    उहाँले नागरिक समाज र अधिकारकर्मीबाट यस सम्बन्धमा स्पष्ट धारणा आएकाले विद्यमान कानुन कार्यान्वयनका लागि सम्बन्ध सबैलाई आग्रह गर्नुभयो ।

    अध्यक्ष वलीले निर्वाचन हुनुपूर्व, निर्वाचनको दिन र निर्वाचन भएपश्चातका कार्यक्रममा प्रचारप्रसार, जुलुस, विजयोत्सवलगायत गतिविधि हुने भएकाले ती गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था उल्लङ्घन भएको पाइए कानुनी कारबाही हुनुपर्ने विषयमा निर्वाचन आयोग र सम्बद्ध निकायलाई आफूहरूले ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।

  • रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

    रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

    चितवन, माघ ०९-
    रङ्ग केवल भित्तामा पोतिने तह होइन, यो सपना हो, पहिचान हो र भविष्यप्रतिको भरोसा पनि हो। यही भरोसालाई २२ वर्षदेखि निरन्तर रंगाइरहेको छ—टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि.ले. चितवनको भरतपुरबाट सुरु भएको यो स्वदेशी उद्योग आज गुणस्तर, विश्वास र दीर्घकालीन प्रतिबद्धताको प्रतीक बनेको छ।

    आचार्य होल्डिङअन्तर्गत सञ्चालित टाटा पेन्ट्सले टाटा ब्रान्डअन्तर्गत ७, १० र नेपालमै पहिलो पटक १३ वर्षको ग्यारेन्टीसहितका विभिन्न पेन्टहरू उत्पादन गर्दै आएको छ। आईएसओ-लगायत नेपाल गुणस्तर (NS) चिन्ह प्राप्त गरिसकेको यस कम्पनीले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको विश्वास जित्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

    कम्पनीकी अध्यक्ष विमला आचार्यको दूरदर्शी नेतृत्व र प्रबन्ध निर्देशक प्रकाश आचार्यको सक्रिय व्यवस्थापनले टाटा पेन्ट्सलाई उद्योग क्षेत्रमा मजबुत रूपमा स्थापित गरेको छ। गुणस्तर र नवीनतालाई आत्मसात गर्दै अघि बढिरहेको कम्पनीले “हामी रंगान्छौं नेपाललाई ! ” भन्ने नारामार्फत स्वदेशप्रतिको माया र प्रतिबद्धता व्यक्त गरेको छ।

    यसै क्रममा टाटा पेन्ट्सले चर्चित नायिका तथा मोडल श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्दै आफ्नो ब्रान्डलाई अझ सशक्त बनाएको छ। प्रबन्ध निर्देशक प्रकाश आचार्य र नायिका खड्काबीच तीन वर्षे सम्झौता भएको हो । उनको व्यक्तित्व, लोकप्रियता र सकारात्मक छविले टाटा पेन्ट्सको सन्देशलाई अझ गहिरो रूपमा आम उपभोक्तामाझ पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

    समयसँगै प्रविधि, गुणस्तर र विश्वासलाई रंगाउँदै आएको टाटा पेन्ट्स आज केवल पेन्ट उद्योग मात्र होइन, स्वदेशी उत्पादनप्रतिको गर्वको कथा बनेको छ—जहाँ प्रत्येक रङ्गले नेपाल रंगिने सपना बोकेको छ।

  • भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

    भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

    गैँडाकोट, ९ माघ-
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो ।

    महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्र्रवद्र्धन र बजारीकरणका लागि महोत्सव महत्वपूर्ण बनेको बताए । महोत्सव उद्घाटनका दिन निकालिएको वृहत शोभायात्राका सहभागीहरुमध्ये उत्कृट हुने समूहलाई समापनका अवसरमा पुरस्कृत गरिने सापकोटाले बताए । महोत्सवको शोभायात्रामा जिल्लामा क्रियाशिल धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रबाट ३५० बढी समूहको सहभागिता रहेको थियो ।

    संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । आज शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । यस संस्करणको महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको पाण्डेले बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका बताए । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको कँडेलको भनाइ छ ।

    संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

    यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित गायक पुष्कल शर्मा, कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहेको थियो ।

     

  • कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

    कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

    पाटन (ललितपुर), ९ माघ :
    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस बदलिनुपर्छ भनेर नागरिकले गरेको आह्वानलाई आफूहरूले सम्मान गरेको बताउनुभएको छ ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले विशिष्ट परिस्थितिमा पार्टीको विशेष महाधिवेशन सम्पन्न गरेर यो जिम्मेवारी लिने परिस्थितिमा आइपुगेको बताउनुभयो । उहाँले आफूहरूका बारेमा हिसाबकिताब गरेर महाधिवेशन गरेको नभइ नागरिकहरूको कुरा सुनेको धारणा राख्नुभयो ।

    “कांग्रेस बदलिनै पर्छ भन्ने आह्वानलाई हामीले सम्मान गरेको हो । त्यो गर्नै पथ्र्यो, हाम्रो पार्टीका संस्थापकहरूले हामीलाई सिकाएको कुरा यही नै हो, अधिवेशनबाट जिम्मेवारी लिएको केही दिनपछि नै हामीले निर्वाचनका लागि उम्मेदवारी चयन गर्ने जिम्मेवारी सम्पन्न गर्नुप¥यो, सजिलो थिएन, निर्वाचन आयोगमा भएको वैधानिकताको परीक्षण, सम्मानित सर्वोच्च अदालतभित्र प्रवेश गरेको विषय प्रवेश, निवर्तमान सभापतिलगायत नेताहरूसँग गरिरहेको छलफल र संवादले आज यो ठाउँमा आइपुगेका छौँ”, उहाँले भन्नुभयो ।

    सभापति थापाले विशेष महाधिवेशनले विधानमा परिवर्तन गरेको व्यवस्थाअनुसार अर्को पटकदेखि उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका पार्टीको सदस्य र आमनागरिकले मतदान गरेर तलैबाट चयन गर्ने व्यवस्था गरिनुपर्छ भन्दै यो वर्ष समय अभावका कारण सम्बन्धित क्षेत्रबाट उम्मेदवार चयन गर्न सम्भव नभएको बताउँदै अर्को पटकदेखि लागू हुने बताउनुभयो ।

    उपसभापति विश्वप्रकाश शर्माले विगतमा कांग्रेसले चुनाव जितेर आएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने गरेको बताउँदै विगतमा भन्दा भिन्न परिस्थितिमा निर्वाचन हुन गइरहेकाले आममतदातालाई भोलिको उम्मेदवारको बारेमा परिचित गराएको स्पष्ट पार्नुभयो । पार्टीप्रति नागरिकको विश्वास जगाउन चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा उहाँको भनाइ छ ।

    उहाँले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार चयन गर्दा नेतृत्व गर्ने व्यक्तिको पृष्ठभूमि, व्यक्तिको संस्कार, नेतृत्व क्षमता र योग्यताको बारेमा जानकारी हुनुका साथै देशलाई कसरी हाँकेर जान सक्छ भन्ने विषयको ज्ञान हुने बताउनुभयो । उपसभापति शर्माले जेनजी विद्रोहले माग गरेको परिवर्तनलाई कांग्रेसले सम्बोधन गर्ने तागत राखेको तर्क गर्दै पार्टीभित्र परिवर्तनको अभ्यास गरेको बताउनुभयो ।

  • प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

    प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

    काठमाडौँ, ९ माघः
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ ।

    अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो ।

    यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    मनोनयनपत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकिएको पनि उहाँले बताउनुभयो ।

    अन्य तीन प्रति मतदाता नामावली भने आयोग परिसरमा छपाइ भइरहेको आयोगले जनाएको छ ।

  • स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

    दशरथचन्द (बैतडी), माघ ९-
    आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका तेजबहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले स्वतन्त्र उम्मेदवार चन्दले अफ्नो उम्मेदवारी फिर्ता लिनुभएको जानकारी दिनुभयो । उहाँ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य तथा जिल्लाबाट पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । बैतडीमा ११ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    अब नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समावदी पार्टी नेपालका आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । रासस

  • गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    ९ माघ, काठमाडौं ।
    नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

    श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।

    उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए ।

  • रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    चन्द्रपुर (रौतहट), माघ ९ –
    जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

    आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन् । रासस

  • देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

    देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

    ९ माघ, काठमाडौं ।
    देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    ‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उनले भने ।

    त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।

  • कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    काठमाडौं, माघ ९-
    नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्। सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्।

    पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।