Blog

  • अण्डाको माग र मूल्य बढ्यो

    अण्डाको माग र मूल्य बढ्यो

    चितवन, माघ ११-
    प्रतिनिधिसभाको निर्वाचन नजिँकिदैगर्दा जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो ।

    गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु पाँच सय ५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो ।

    अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।रासस

  • बालेनद्वारा पब्लिक डिबेट अस्वीकार,ओेलीलाई दिए यस्तो जवाफ

    बालेनद्वारा पब्लिक डिबेट अस्वीकार,ओेलीलाई दिए यस्तो जवाफ

    काठमाडौँ,माघ ११-
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।

  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ माघ ११
    हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भूभागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।

    राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

  • कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ ११ गते । आइतबार । इस्वी सन् २०२६ जनवरी २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–सप्तमी, ३५ घडी १६ पला, बेलुकी ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती, १२ घडी ५८ पला, दिउसो १२ बजेर ७ मिनेट उप्रान्त अश्विनी । योग– सिद्ध, ९ घडी ३४ पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त साध्य । करण–गर, बिहान १० बजेर ० मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर २ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध्र योग । चन्द्रराशि–मीन, मध्यान्ह १२ बजेर ७ मिनेट उप्रान्त मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला ।

    दिन विशेष : भद्रा २१:०२ बजे सुरु। धनिष्ठा पञ्चक १२:०७ बजे समाप्ति। रवि–सप्तमी व्रत। अचला सप्तमी, रथ सप्तमी। मन्वादि। लगला चुयेके।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्यम रहेकोले अनावश्यक तथा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । विद्यार्थीहरूका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक धन तथा सम्पत्तिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई नाफा कमाउन सकिनेछ । साथीसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रमा लगानी बढाई नाफा कमाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • ‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

    ‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

    ​चितवन, माघ १०-
    आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिस्ट पार्टीको युवा दस्ता ‘जेन्जेड रेड फोर्स नेपाल’ ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको केन्द्रीय संयोजकको महत्त्वपूर्ण जिम्मेवारी चितवन क्षेत्र नम्बर ३ का प्रभावशाली युवा नेता सुरज परियार चयन भएका छन् ।

    ​पार्टीलाई थप मजबुत, सुदृढ र रूपान्तरण गर्दै देशमा समाजवाद स्थापना गर्ने लक्ष्यका साथ यो समिति गठन गरिएको हो। देशभरका नवयुवा पुस्तालाई राजनीतिक रूपमा सचेत र संगठित बनाउँदै निर्वाचन प्रक्रियामा निर्णायक भूमिका निर्वाह गराउने उद्देश्य यस समितिले राखेको छ।
    ​समितिको नेतृत्वदायी टिम:
    घोषित समितिमा चितवनका परियारलाई नेतृत्व सुम्पिँदै सहसंयोजकको जिम्मेवारीमा दिपक तिमल्सिना र डा. राजन झा रहनुभएको छ। त्यसैगरी, समितिको प्रमुख सचिवमा शुभाष अधिकारी चयन हुनुभएको छ।

    ​समितिका केन्द्रीय सदस्यहरूमा श्याम सुनार, ​तारा लामा, ​बिपिसा भट्टराई, ​पवन सुनार र ​मनोज मगर रहेका छन् ।

    ​समितिले निकट भविष्यमा थप २ जना केन्द्रीय सदस्यहरू सिफारिस गरी कमिटीलाई पूर्णता दिने बताएको छ।

    ​युवा केन्द्रित एजेन्डा र समाजवाद:
    नवनियुक्त संयोजक सुरज परियारले आगामी निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै वैज्ञानिक समाजवादको आधार तयार पार्न र पार्टीका चुनावी एजेन्डाहरूलाई जनस्तरसम्म पुर्‍याउन अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय राजनीतिमा युवा हस्तक्षेप बढाउँदै आउनुभएका परियारको यो नियुक्तिलाई जिल्लाका युवाहरूले उत्साहजनक रूपमा लिएका छन्।

    ​विज्ञप्ति मार्फत ‘जेन्जेड रेड फोर्स’ ले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, युवा तथा पार्टी कार्यकर्ताहरूलाई यस अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक अपिल समेत गरेको छ।

  • चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

    चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, माघ ११ –
    चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेद्वार शंकरराज थपलियाले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

    शनिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै थपलियाले १४ बुँदे प्रतिवद्धता सार्वजनिक गरे । थपलियाले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चितवन ३ को विकास, सुशासन, जनजीवन सुधार, निकुञ्जबाट सृजित समस्या लगायतका कुरालाई प्राथमिकतामा राखेर प्रतिवद्धता उल्लेख गरेका छन् ।

    फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उम्मेद्वार थपलियाले चितवन ३ मा एमाले र काँग्रसकाबीच प्रतिस्पर्धा हुने बताए । रास्वपा र माओवादीसँग आफ्नो प्रतिस्पर्धा नहुने थपलियाले बताए ।

    थपलियाले विषम राजनीतिक परिस्थितिका बीच हुन गइरहेको निर्वाचनलेजनताको लोकतान्त्रिक अधिकारलाई पुनः जागृत गराउने र राष्ट्रिय सार्वभौमता थप मजबुत बनाउने बताएका छन् ।

    देशको केन्द्र भागमा अवस्थित र रणनीतिक महत्व बोकेको चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ संभावनमा भएर पनि विकासका दृष्टिले पछाडि परेको उनले बताए । उनी भन्छन्, ‘चितवन ३ मा पर्यटन, कृषिजन्य उद्योग, लघु उद्योग, सीमापार व्यापार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अपार सम्भावनाहरुसँगै चुनौती पनि छन् । ती सम्भावना र चुनौतीहरुलाई क्रमशः समाधान गर्दै आमजनताको चाहनाअनुसार देश र जनताको सेवकको रुपमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्नेछु ।’

    उनी आफू निर्वाचित भएपश्चात चितवन ३ को विकास र जनप्रतिनिधिको रुपमा गर्नुपर्ने कामको विषयमा उनले प्रष्ट पारेका छन् ।

    जसमा २०२९ मा तर्जुमा गरिएको राष्ट्रिय निकुञ्ज ऐनलाई जनमैत्री र विकासमैत्री बनाउँदै आगामी संसदबाट नयाँ ऐनको व्यवस्था गर्ने उनले बताएका छन् । त्यसैगरी मानव र वन्यजन्तुवीचको द्वन्द्वलाई न्यूनीकरण गर्दै जनताको क्षतिमा उचित र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिने उनले बताए । समग्र माडी क्षेत्रको विकासका लागि वाल्मिकि आश्रम, अयोध्याधाम, पाँचपाण्डव क्षेत्र, सोमेश्वर गढी, वेदकुण्ड ताललगायतका क्षेत्रहरुलाई धार्मिक पर्यटनका साथै अन्य पूर्वाधारको समेत विकास गरिने उनको भनाइ छ ।

    हुलाकी सडकका वरपर बसोबास गरिरहेका जनताको विश्वास लिएर सडकको रेखाङ्कन गर्ने उनले बताए । सडक विस्तार गर्दा अन्य वैकल्पिक सडक वा मुआब्जाको व्यवस्था गर्ने उनले बताएका छन् । नारायणी, राप्ती, रिउ लगायतका खोलानालामा थप बलियो तटबन्धन निर्माण गरी जमिन, जनता र वातावरणको संरक्षण गरिने उनले बताएका छन् ।

    त्यसैगरी चितवन ३ मा बसोबास गर्ने आदिवासी, जनजाति, भूमिपुत्रहरु सिमान्तकृत थारु, बोटे, मुसहर, कुमाल र दराई बस्तीहरुको संरक्षण गर्दै सबै जातजातिको भाषा र संस्कृतिको जगेना गरिने उनले बताए ।

    उनी भन्छन्, ‘ठोरी–माडी–केरुङ भारत र चीन जोड्ने अन्तरदेशीय राजमार्ग निर्माण गरी चितवनको आर्थिक समृद्धि ल्याउन सक्ने योजना निर्माणमा पहल गर्नेछु ।’

    हुलाकी मार्ग जोड्ने गरी राप्ती नदीको ध्रुवमा र नारायणी नदीको मेघौलीमा पुल निर्माण गरी भैरहवा विमानस्थलसम्म छोटो दुरीमार्फत चितवनका विकासमा महत्वपूर्ण योगदान पु¥याउन पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् । सीतामाई, पटिहानीबाट मेघौली, गोलाघाट हुँदै नारायणी किनारै–किनार वा वरण्डाभार क्षेत्रबाट सीतामाईसम्मको अपार पर्यटनको सम्भावनालाई उजागर गर्दै यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्दै वृहत रुपमा रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको उनले पत्रकार सम्मेलनमा बताए ।

    माडी र भरतपुरका १९ वटा वडामा मनोरम प्राकृतिक पार्कहरु निर्माण र साना ठूला घोलहरुलाई सौन्दर्यकरण गरिने उनले बताए । कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिई उत्पादनमा आधारित अनुदान, उचित समयमा मल बिउको आपूर्ति, सबै खालका सिँचाइ प्रणलीको विस्तार, कृषिमा यान्त्रिकरण, न्यूनतम र सहुलियतपूर्ण व्याज र अनुदानसहित कृषि ऋण र कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनको व्यवस्था गर्ने उनको प्रतिवद्धता छ ।

    भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानको निम्ति उचित ऐन कानुनको व्यवस्था गरी शीघ्र समस्याको समाधान गर्ने, जनताको सुरक्षित आवासको अवधारणालाई अघि बढाउने साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनताको आधारभूत आवश्यकतालाई उचित प्राथमिकता दिई समाधान गरिने उनको भनाइ छ । त्यसैगरी अन्तिम १४ नम्बर बुँदामा उनले मिटरव्याजी र सहकारी पीडित जनताको हितमा काम गरिने उल्लेख गरेका छन् ।

    उनी भन्छन्, ‘उल्लेखित समस्याहरु समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै क्षेत्र नम्बर ३ र समग्र चितवनको विकासको निम्ति काम गर्ने दृढ संकल्प गर्दछु । आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।’

  • दुई हजार एक सय जना एमालेमा प्रवेश

    दुई हजार एक सय जना एमालेमा प्रवेश

    काठमाडौँ, १० माघः
    जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको छ ।

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

    त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका नवप्रवेशीहरुले ‘शेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताउनुभयो ।

  • हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

    हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

    काठमाडौँ, १० माघः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताउनुभएको छ ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गर्नुभयो ।

    पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो पनि गर्नुभयो ।

    “मलाई झापाबाट फर्कंदा अपमानजनक व्यवहार गरियो । विदेशतिर पनि चिनेको अवस्थामा सम्मानजनक व्यवहार गर्छन्, तर यो सरकारले हामीलाई आफ्नै ठाउँमा दुःख दिने काम गरिरहेको छ”,उहाँले भन्नुभयो, “यस्तै हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने अझै भन्न सकिने अवस्था छैन ।”

    कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाललगायतलाई पार्टी प्रवेश गराइएको थियो ।

  • मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

    मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

    1. काठमाडौँ, १० माघ :

    पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो ।

    वर्षा भने आज अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताउनुभयो । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उहाँले जानकारी दिनुभयो ।

    विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।

    विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।

    आज साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ । आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ ।

  • उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

    उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

    काठमाडौँ, १० माघः निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उहाँले बताउनुभयो ।

    यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।

    उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’ मा हेर्न सकिने आयोगले जनाएको छ ।