Blog

  • उत्साहित छन् चितवनका नयाँ मतदाता

    उत्साहित छन् चितवनका नयाँ मतदाता

    चितवन, माघ ९-
    दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहोल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन्भने दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् । निर्वाचनको माहोल बन्दै गर्दा पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

    भरतपुर महानगरपालिका–१० का सोफिल मोक्तान नयाँ ऊर्जाका साथ देश विकास गर्ने योजना भएका नेतालाई निर्वाचित गरेर पठाउन मत हाल्नका लागि आफू उत्साहित भएको बताउनुहुन्छ । दलहरूले आ–आफ्ना उम्मेदवारको पक्षपोषण गरे पनि कसलाई जिताउने भन्ने अधिकार रहेक मतदातामा रहेकाले आफू पहिलोपटक त्यसको प्रयोग गर्न गएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । “पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देशको विकास गर्न सक्ने नेतृत्व छान्ने हो”, मोक्तानले भन्नुभयो ।

    यस्तै, भरतपुर महानगरपालिका–१२ का रीतिक रिमाल कुन उम्मेदवार ठिक छन् भनेर अध्ययनमै रहेकाले एजेण्डा हरेर मत हाल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुन उम्मेदवार कस्तो भन्ने विषयमा अध्ययन नगरी मतदान गर्नुहुन्न । राम्रो र सक्षम नेतृत्वलाई देशको विकासमा अघि बढाउन आवश्यक छ । त्यसैअनुसार सोच बनाइरहेको छु ।”

    रिमाल जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उहाँ पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।

    भरतपुर महानगरपालिका–५ का शमिर शर्मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ की भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो । “राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउ र देशको विकासमा आफ्नो योगदान पु¥याउ भन्ने लागेको छ । युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने सोच छ”, शर्माले भन्नुभयो ।

    सञ्चुकुमारी तामाङ पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउनुहुन्छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघिनै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन ।
    जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट मतदानको व्यवस्था गरिएको छ ।

    निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

    यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् ।

    क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एकजना तेस्रो लिङ्गी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । रासस

  • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

    मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

    जलेश्वर (महोत्तरी), माघ ९ –
    नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन् ।

    परम्परागत रूपमा यहाँ किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव झाले बताउनुभयो । मिथिलाञ्चलका किसानले आ––आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षेता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्नेछन् । यस्तै, घर बाहिर गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गरेको जलेश्वर नगरपालिका– ८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

    किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर एकछिन जोत्ने चलन रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकले बताउनुभयो । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रूपमा तयार भइसकेकालाई आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।

    किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने प्रचलनसमेत रहेको छ । श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषिप्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकआपसमा अबीर दल्ने तथा प्रसाद वितरण गर्ने गरेका छन् । रासस

  • महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

    महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

    काठमाडौं, माघ ९-
    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् ।

    विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयहरू हुने बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आज पहिलोपटक केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा गर्न लागेको हो ।

    बैठकमा प्रवेश गर्नुअघि महामन्त्री पौडेलले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विशेष महाधिवेशनबाट नयाँ कांग्रेस बनेको बताए ।

    “हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने, “विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो ।”

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

    बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

    ९ माघ, काठमाडौं ।
    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

  • निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

    निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

    काठमाडौँ, माघ ९-
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ ।

    नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी पालना गर्न आह्वान गरिएको हो । निर्वाचनमा संलग्न सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न आह्वान गरिएको हो ।

    “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो”, विज्ञप्तिमा भनिएको छ, “अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

    सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मतदातालाई पनि कुनै पनि किसिमको प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध दुई संस्थाले गरेको हो ।

    “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ”, विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिलाई रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्दछ ।”

    स्वच्छ निर्वाचनका लागि नागरिक अभियान राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोधसमेत गरिएको छ ।

    “निर्वाचनका सम्पूर्ण प्रक्रिया हामीले नजिकबाट अवलोकन गरिरहेका छौँ, मनोनयन क्रममा देखिएको उत्साह र जनसहभागिता प्रशसंनीय छ”, विज्ञप्तिमा भनिएको छ, “तर केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिताविपरीत देखिएकाले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।” रासस

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    काठमाडौँ, माघ ९
    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो छ ।

    आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, डिल्लीबजारस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

    मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको काठमाडौँ महानगरपालिका–३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

    यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकीदेवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकीदेवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या आरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पनि छ । तर यसवर्ष भने हाल शुक्र अस्त रहेकाले यस्ता शुभकर्म गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्न समेत शुभ मानिन्छ ।

    देशभर रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । रासस

  • बाजुरामा बाटोमा लडेर एकको मृत्यु

    बाजुरामा बाटोमा लडेर एकको मृत्यु

    बाजुरा, माघ ९ –
    जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

    बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममाबीच बाटोमा लगेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताउनुभयो ।

    मृतक थापाको शरीर र टाउँकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ । हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । रासस

  • सुनको मूल्य ३ लाख नाघ्यो

    सुनको मूल्य ३ लाख नाघ्यो

    काठमाडौं।
    स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल छ हजार १९० कायम भएको छ।

    गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको थियो। मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो।

    गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो। सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    काठमाडौँ, माघ ९ –
    जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ ।

    केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।

    त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।रासस

  • माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    काठमाडौँ, माघ ९ –
    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही०जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

    वसन्त श्रवण

    यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।रासस