Blog

  • गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

    गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

    चितवन, असोज ११-
    भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ ।
    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले अपराधिक समूह बाहिर हुँदा चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए । ‘अहिले सजाय पाएका कैदीबन्दी बाहिर छन् । उनीहरु फेरी सलबलाउन सक्छन्,’ डा पन्तले भने ‘यसलाई मध्यनजर गर्दैै हामीले सुरक्षालाई कडाइ गरेका छौँ ।’ चितवनको भरतपुर कारागारमा गैँडासँग सम्बन्धीत मुद्दाका ४८ कैदीबन्दी थिए ।

    जेनजी आन्दोलनको मौका छोपेर भदौ २५ गते बिहान सबै कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये १४ जना कैदीबन्दी फर्किएका छैनन् । संवेदनशील अवस्थालाई बुझेर सुरक्षाका लागि पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । अहिले जिप सफारीका लागि निकुञ्ज खुलाउने तयारी गरिएको छ । फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने गरी काम भइरहेको उनले बताए ।
    त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले बताए । ‘गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ’, उहाँले भन्नुभयो, ‘यहाँको सुरक्षालाई व्यवस्थित गरेर निकुञ्ज खुलाउँछौँ ।’

    असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् ।

    चितवन प्रशासनले सूचना निकालेर कारागारबाट बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको थियो । त्यसयता ५६२ जना कैदीबन्दी फर्किएका छन् । तर वन्यजन्तु, लागुऔषध, कर्तव्य ज्यान, सहकारी ठगी सम्बन्धीका अधिकांश व्यक्तिहरु नर्फिएको भरतपुर कारागारका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार १८२ जना फिर्ता हुन बाँकी छन् । यहाँबाट ७४४ जना कैदीबन्दी भागेका थिए ।

  • बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

    बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

    ११ असोज, काठमाडौं ।
    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् ।

    शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ बस्नेतले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

    उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत जिकिर गरे ।

    ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

    साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाए ।

    ‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

  • शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

    शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

    काठमाडौँ, असोज ११ –
    गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो ।

    “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।” रासस

  • पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

    पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

    ११ असोज, काठमाडौं ।
    संघीय संसद् सचिवालयका अधिकारीहरू पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ता लिनेबारे छलफलमा जुटेका छन् । तर कुनै निष्कर्षमा पुगेका छैनन् ।

    अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

    प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

    यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

    यसअन्तर्गत संघीय संसद् सचिवालयले पूर्व राजनीतिक पदाधिकारीले लिँदै आएको गाडी सुविधा फिर्ता गराउने विषयमा सचिवालयका अधिकारीहरू छलफलमा जुटेका हुन् ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ‘पूर्वसभामुखलाई मन्त्रिपरिषद्को निर्णय बमोजिम सवारी साधन लगायतका सुविधा उपलब्ध गराउने गरिएको हो ।’

    मन्त्रिपरिषद्को निर्णय बमोजिम दिएको सुविधा अर्थ मन्त्रालयको निर्णयले काट्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

    राष्ट्रिय सभाको अध्यक्षको हकमा भने मन्त्रिपरिषद्बाट निर्णय भएको जानकारीमा नरहेको गिरीले बताए ।

    ‘राष्ट्रिय सभाको अध्यक्षको हकमा मन्त्रिपरिषद्बाट त्यस्तो (सभामुखको हकमा जस्तो) निर्णय भएको संसद् सचिवालयको जानकारीमा छैन,’ गिरीले भने ।

    प्रवक्ता गिरीका अनुसार संसद् सचिवालयको प्रशासनिकतर्फ भने पूर्वपदाधिकारीलाई कुनै खालको सेवासुविधा दिने गरिएको छैन ।

    पूर्वसभामुखहरूले भने गाडी लगायतका केही सुविधा लिँदै आएका छन् । रामचन्द्र पौडेलले राष्ट्रपति भएपछि पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गरेका थिए ।

    पूर्वसभामुखहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटाले पनि पूर्व सभामुखको हैसियतमा गाडी लगायतका सुविधा लिँदै आएका छन् ।

    यसका साथै नियम अनुसार नपाउने सुविधा बहालवाला पदाधिकारी र पदाधिकारीको सचिवालयमा रहेका अधिकारीहरूले लिइरहेको विषयमा समेत छलफल चलेको छ । बहालवाला पदाधिकारीका सचिवालयमा रहेका सदस्यहरूले गाडी लगायतका सुविधा लिइरहेका छन् ।

  • माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

    माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

    १० असोज, काठमाडौं ।
    नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ ।

    शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो ।
    पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।

    दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

    तेस्रो : विज्ञहरूबाट मन्त्री ।

    यी विषय माओवादीले विगतमा समेत उठाउँदै आएको थियो । जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समितिको बैठकले यसलाई चुनावमा जाँदा संविधान संशोधनसँग सम्बन्धित रहेर उठाउने निर्णय गरेको हो ।

    यी तीन वटै कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

    केन्द्रीय समितिले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय पनि गरेको छ ।

    ‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने,’ माओवादीको निर्णय छ ।

    भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

    अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

    उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाए । सोही अनुसार माओवादीले तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने र निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने निर्णय गरेको हो ।

  • स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुले दिइन् राजीनामा

    स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुले दिइन् राजीनामा

    काठमाडौ, असोज ११-
    युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।

    ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।

    गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।

  • पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना रहेछः केपी

    पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना रहेछः केपी

    काठमाडौं, असोज ११-
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको दाबी गरेका छन्।

    भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले गत भदौ २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका हुन्।

    साथै ओलीले प्रदर्शनकारीहरूको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाएका हुन्।

    ‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो,’ उनले भने। हठात् सत्ता नै पल्टाउने घटना भएकाले आफूले तयारी नै गर्न नपाएको उनको भनाइ थियो।

    ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो,’ उनले पासाङ शेर्पासहितको समूहसँग भने।

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    काठमाडौँ असोज ११- ।
    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

    परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

  • इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

    इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

    झापा, असोज ११-
    गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएकोे छ ।

    कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले ‘पिकअप भ्यान’ दिएको छ ।

    गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो । आगजनीमा कार्यालको तीन तले भवन र सबै सवारी साधन जलेर नष्ट भएको थियो ।

    कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिँदै आएको ‘पिकअप भ्यान’ इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताउनुभयो । नगरको शान्ति सुब्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उहाँको भनाइ छ ।

    ध्रुवतारा स्पोर्टिङ क्लव दमकसमेतले इप्रकाको पुनःनिर्माणका लागि रु एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुनःनिर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमकको नगर उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायतको सहभागिता रहेको छ ।

    कठिन परिस्थितिमा पनि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताउनुभयो । आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरु सब्जी बजारको खाली भवनलगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पङ्खालगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । नगरप्रमुख थापाले भन्नुभयो, “नगरबासी सङ्घ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौँ।” रासस

  • पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

    पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

    काठमाडौ,असोज ११-
    नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्ने भएको हो। खेल यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु हुनेछ। यसपछि सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ।

    वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदै छ।नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रूपमा लिएको छ।