Blog

  • सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर

    सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर

    रौतहट असोज ११
    सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा गएराति स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको MH–04–DJ–1297 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि सवार २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ । चौधरीको उपचारकै क्रममा राति करिब ११ बजेर ४५ मिनेटमा जनकपुरस्थित राम जानकी अस्पतालमा र सहनीको राति १० बजेर २० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डितको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।

    घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए। दुर्घटनाग्रस्त स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    मृतकहरूको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

  • हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

    हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

    आज मिति २०८२ असाेज ११ गते शनिवार, २७ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष पञ्चमी तिथि, ८ः४४ बजेपछि षष्ठी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

    मेष (मेष)

    आज तपाईंको ऊर्जा उच्च रहला। नयाँ अवसरहरू सामना गर्दा आत्मविश्वासका साथ अघि बढ्नुहोस्। कार्यस्थलमा चुनौतीहरू आउन सक्छन्, तर धैर्य र समझदारीले सबै हल हुनेछ। वित्तीय मामिलामा सोचविचारपूर्वक कदम चाल्नुहोस्, अनावश्यक खर्चबाट बच्नुहोस्। स्वास्थ्यमा हल्का थकान वा तनाव अनुभव हुन सक्छ; ध्यान दिनुहोस्। प्रेम जीवनमा साथी वा जोडीसंग संवाद आवश्यक छ।

    भाग्यशाली रंग: रातो, भाग्यशाली नम्बर: ५, अनुकूल समय: बिहान १०–१२ बजे।

    वृष (वृष)

    आज परिवार र मित्रसँग समय बिताउन लाभदायक हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले कठिन काम सजिलो हुनेछ। वित्तीय मामिलामा नयाँ योजना बनाउने उपयुक्त समय छ। स्वास्थ्यमा खानपानमा ध्यान दिनुहोस्, हल्का व्यायाम लाभदायक हुनेछ। प्रेम सम्बन्धमा समझदारी र धैर्य आवश्यक छ।

    भाग्यशाली रंग: हरियो, भाग्यशाली नम्बर: ८, अनुकूल समय: अपराह्न ३–५ बजे।

    मिथुन (मिथुन)

    आज तपाईंको रचनात्मक क्षमता उच्च रहला। नयाँ परियोजना वा योजना सुरु गर्न उत्तम दिन हो। यात्रा गर्ने योजना बनाउन सकिन्छ, तर तयारीपूर्वक मात्र यात्रा गर्नुहोस्। वित्तीय मामिलामा केही चुनौती आउन सक्छ, तर दीर्घकालीन लाभ हुनेछ। स्वास्थ्य सामान्य, तर पूर्ण निद्रामा ध्यान दिनुहोस्। साथी वा परिवारसँग समय बिताउनु लाभदायक छ।

    भाग्यशाली रंग: निलो, भाग्यशाली नम्बर: ३, अनुकूल समय: बिहान ९–११ बजे।

    कर्क (कर्क)

    आज परिवारसँग सम्बन्ध बलियो रहला। घरमा सुखद वातावरण सिर्जना गर्न सकिन्छ। कामकाजमा केही बाधा आउन सक्छ, तर संयम राख्दा समाधान मिल्नेछ। स्वास्थ्यमा हल्का सतर्कता आवश्यक, विशेष गरी पाचन र मानसिक स्वास्थ्य। प्रेम जीवनमा सन्तुलन कायम राख्नुहोस्।

    भाग्यशाली रंग: सुनौलो, भाग्यशाली नम्बर: २, अनुकूल समय: साँझ ५–७ बजे।

    सिंह (सिंह)

    आज आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रयासको मान्यता मिल्नेछ। वित्तीय मामिलामा सोचविचारपूर्वक निर्णय गर्नुहोस्। स्वास्थ्यमा हल्का थकान वा चाँडै थाक्ने समस्या आउन सक्छ; पर्याप्त पानी पिउनुहोस्। प्रेम जीवनमा सानो मतभेद समाधान गर्ने मौका छ।

    भाग्यशाली रंग: सुन्तला, भाग्यशाली नम्बर: १, अनुकूल समय: बिहान ११–१ बजे।

    कन्या (कन्या)

    आज तपाईंको परिश्रमले सफलता दिनेछ। सहकर्मी र मित्रबाट सहयोग मिल्नेछ। वित्तीय मामिलामा सुधार आउन सक्छ, तर खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। स्वास्थ्य सामान्य, तर सन्तुलित खानपान लाभदायक। प्रेम जीवनमा आपसी समझदारीले सम्बन्ध मजबुत हुनेछ।

    भाग्यशाली रंग: बैजनी, भाग्यशाली नम्बर: ६, अनुकूल समय: बिहान ७–९ बजे।

    तुला (तुला)

    आज नयाँ सम्बन्ध बनाउने वा पुराना सम्बन्ध सुधार गर्ने दिन छ। कार्यक्षेत्रमा ध्यानपूर्वक काम गर्नुहोस्, गल्तीबाट बच्नुहोस्। स्वास्थ्य सामान्य, तर मानसिक तनाव कम गर्नु लाभदायक। वित्तीय मामिलामा सोचविचारपूर्वक निर्णय गर्नुहोस्। प्रेम जीवनमा साथीको साथले खुशी ल्याउनेछ।

    भाग्यशाली रंग: सुन्तला–हरियो मिश्रित, भाग्यशाली नम्बर: ४, अनुकूल समय: अपराह्न २–४ बजे।

    वृश्चिक (वृश्चिक)

    आज साहस र आत्मविश्वासका साथ निर्णय लिनुहोस्। नयाँ अवसर आउन सक्छ, तर जोखिम मूल्याङ्कन गर्नु जरुरी छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, विशेष गरी हृदय र रक्तचाप। प्रेम जीवनमा सानो विवाद भए पनि समाधान हुनेछ। वित्तीय मामिलामा केही चुनौती, तर धैर्य राख्दा लाभ हुनेछ।

    भाग्यशाली रंग: कालो, भाग्यशाली नम्बर: ९, अनुकूल समय: साँझ ६–८ बजे।

    धनु (धनु)

    आज यात्रा वा नयाँ सिकाइका लागि उत्तम दिन हो। कार्यक्षेत्रमा नयाँ योजना सफल हुने सम्भावना छ। स्वास्थ्य सामान्य, तर व्यायाममा ध्यान दिनु लाभदायक। प्रेम जीवनमा साथी वा जोडीको साथले खुशी दिनेछ। वित्तीय मामिलामा नयाँ अवसर आउन सक्छ, तर खर्चमा सोचविचार गर्नुहोस्।

    भाग्यशाली रंग: नीलो–हरियो मिश्रित, भाग्यशाली नम्बर: ७, अनुकूल समय: बिहान ८–१० बजे।

    मकर (मकर)

    आज कार्यक्षेत्र र व्यवसायमा सफलता प्राप्त हुने दिन हो। वित्तीय मामिलामा लाभका संकेत छन्। स्वास्थ्य सामान्य, तर पर्याप्त विश्राम आवश्यक। प्रेम जीवनमा साथी वा परिवारसँग समय बिताउनु लाभदायक। नयाँ योजनाहरू सुरु गर्न सकिन्छ।

    भाग्यशाली रंग: खैरो, भाग्यशाली नम्बर: ५, अनुकूल समय: अपराह्न ४–६ बजे।

    कुम्भ (कुम्भ)

    आज सिर्जनात्मक काममा सफलता मिल्नेछ। सामाजिक जीवनमा सक्रिय रहनु लाभदायक। स्वास्थ्य सामान्य, तर मानसिक शान्ति आवश्यक। वित्तीय मामिलामा सोचविचारपूर्वक निर्णय गर्नुहोस्। प्रेम जीवनमा समझदारी आवश्यक, साथी वा जोडीको साथले खुशी ल्याउनेछ।

    भाग्यशाली रंग: आकाशी नीलो, भाग्यशाली नम्बर: ८, अनुकूल समय: बिहान १०–१२ बजे।

    मीन (मीन)

    आज सपना र आकांक्षा पुरा गर्ने दिन हो। कार्यक्षेत्रमा नयाँ अवसर आउन सक्छ। स्वास्थ्य सामान्य, तर हल्का थकान वा तनावको सम्भावना। प्रेम जीवनमा मित्रवत सम्बन्ध बलियो हुनेछ। वित्तीय मामिलामा सोचविचार गर्नु लाभदायक।

    भाग्यशाली रंग: सेतो, भाग्यशाली नम्बर: ३, अनुकूल समय: साँझ ५–७ बजे।

    तपाइको आजको दिन शुभ रहोस

  • खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

    खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

    काँक्रेविहार (सुर्खेत), १० असोज :
    पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

    स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताउनुभयो । दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उहाँले बताउनुभयो ।

  • फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    काठमाडौँ, १० असोज :
    सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ ।

    फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई अझ सघन रूपमा अघि बढाउन मन्त्रालयले कार्यदल, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई स्पष्ट कार्यादेशसमेत दिएको विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    कारागार फर्किन बाँकी कैदीबन्दीलाई यही असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ । गठित कार्यदलले जिल्लाका सबै सुरक्षा एकाइ, सबै स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सूचना प्रकाशन गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाई फर्किन बाँकी कैदीबन्दीको नामावलीसमेत उपलब्ध गराउनेछ ।

    जेनजी प्रदर्शनका क्रममा विभिन्न २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी भागेका थिए । त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

  • अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

    अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

    काठमाडौँ, १० असोज :
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

    शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ”, दाहालले भन्नुभयो ।

    सङ्गठनात्मक कार्यशैलीमात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो ।

    बैठकमा उहाँले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिनुभएको छ ।

    बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

  • उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

    उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

    काठमाडौँ, असोज १० –
    उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

    आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो ।

    उहाँले राजदूत नोभिकोभको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दुई देशबीचकोसम्बन्ध सुदृढ बनाउन पु(याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।

    “आफ्नो कार्यकालको दौरान नेपाल र रुसी महासङ्घकाबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन योगदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभयो । नेपालले रूससँगको साझेदारीलाई विशेष महत्व दिँदै आएको र पूर्वाधार तथा मानव संशाधन विकासमा रूसको दीर्घकालीन सहयोग सराहनीय रहेको उपराष्ट्रपति यादवको भनाइ थियो ।

    उपराष्ट्रपति यादवले महामहिम राजदूत नोभिकोभलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रुस सम्बन्धमा सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

    राजदूत नोभिकोभले नेपाल र रुसबीच ‘मनी ट्रान्जेक्सन’ विषय अगाडि बढाइएको उल्लेख गर्दै दुई मुलुकबीच सिधा हवाई उडान सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले रुसमा नेपाली विद्यार्थीका लागि विभिन्न विषयहरुमा छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्नेबारे सकारात्मक पहल भएको उल्लेख गर्नुभयो ।

    राजदूत नोभिकोभले मधेश प्रदेशको वीरगञ्जस्थित चिनी मिल पुनःसञ्चालनमा ल्याउनेबारे ‘नोट’ रुसी सरकारलाई प्रेषित गरिसकेकामा स्वदेश फिर्तीपछि यसबारे थप ताकेता गर्ने बताउनुभयो । रासस

  • मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी

    मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी

    १० असोज, काठमाडौं ।
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् ।

    शुक्रबार राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गरिन्।

    ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्,’ उनले भनिन्।

    भण्डारीले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन् ।

    उनले दलहरूबीच समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, ‘पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएर मात्र हामीले यो समस्यालाई समाधान दिन सक्छौं।’

    देशको अस्थिरताले मित्रराष्ट्रहरूलाई समेत चिन्ताको अवस्था आउन सक्ने चेतावनी दिँदै उनले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन आग्रह गरिन् ।

    ‘हामी जस्तो खालको बसाईमा छौं, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पिर पर्न सक्छ । समस्याहरू आउन सक्छ’ उनले भनिन्, ‘त्यसले हामीले हाम्रो शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

    उनले थपिन्, ‘राष्ट्रिय एकता कायम गर्दै हामीले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं ।’

    दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै भण्डारीले भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही पनि गर्न नसक्ने तरिका सही होइन। सबैको कुरा सुन्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’

    उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। ‘नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा हामी जानुपर्छ,’ उनको भनाइ थियो।

    भण्डारीले सबै जिम्मेवार नागरिकहरूलाई छलफललाई अगाडि बढाउँदै समाधान खोज्ने साझा प्रयासमा जोड दिन पनि आग्रह गरिन्।

  • मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

    मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

    काठमाडौँ, असोज १० –
    अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो ।

    बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिनुभयो । उहाँले वर्तमान सरकारका तत्कालका प्राथमिकता प्रकाश पार्नुभयो ।

    “नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरुको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।”

    कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएका थिए ।

    विकास साझेदारले चालू अवस्थाका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिनुभयो । रासस

  • प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

    प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

    १० असोज, काठमाडौं ।
    नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् ।

    काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’

    पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् ।

    पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् ।

    माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।

    तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरू भङ्ग गरौ’ कार्कीको प्रस्ताव छ ।

    अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव पनि बोलेका छन् ।

    नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

    महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

    उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

    काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

    प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

    उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

  • अमेरिकामा टिकटकको छुट्टै संस्करण, आफू अनुकूल चलाउने ट्रम्पको योजना

    अमेरिकामा टिकटकको छुट्टै संस्करण, आफू अनुकूल चलाउने ट्रम्पको योजना

    १० असोज, काठमाडौं ।
    अमेरिकामा सामाजिक सञ्जाल टिकटकको स्वामित्व स्थानीय कम्पनीले खरिद गर्ने भएको छ ।

    अमेरिकामा चल्ने टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

    चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी कारोबार त्यहीँको स्थानी कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेच्ने निर्णयलाई कार्यान्वयन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

    ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको बताउँदै बन्द गर्ने चेतावनी दिँदै आएका थिए ।

    पछिल्लो कदमले सन् २०२४ मा बनेको कानुनअनुसार तोकिएका राष्ट्रिय सुरक्षा आवश्यकताहरू पूरा गर्ने ट्रम्पको दाबी छ ।

    बाइटडान्सले अमेरिकी संस्करणको स्वामित्व बेचिहाले पनि बाँकी देशमा चल्ने ग्लोबल संस्करणको स्वामित्व भने उसैसँग रहनेछ ।

    अमेरिकी प्रशासनले टिकटकको अमेरिकी प्रयोगकर्ता, सर्वर तथा सञ्चालनसम्बन्धी सम्पत्ति अमेरिकी लगानीकर्ताले स्वामित्व लिनुपर्ने अडान राखेको हो ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न कम्पनीको मूल्य करिब १४ अर्ब डलर तोकिएको छ ।

    जुन विश्लेषकहरूले अनुमान गरेको भन्दा निकै कम हो । हाल टिकटकको माउ कम्पनी बाइटडान्सले भने कम्पनीको मूल्य ३३० अर्ब डलरभन्दा बढी रहेको दाबी गर्दै आएको छ ।

    यद्यपि ट्रम्पले बिहीबार सो कानुनको कार्यान्वयन जनवरी २० सम्म स्थगित गरेका छन् । अब पनि बाइटडान्सले टिकटकको अमेरिकी संस्करण नबेचेमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी छ ।

    यसबीच टिकटकको अमेरिकी सम्पत्ति विश्वव्यापी प्लाटफर्मबाट अलग गर्ने, अमेरिकी तथा अन्य लगानीकर्तालाई भेला गर्ने र चिनियाँ सरकारको स्वीकृति लिने प्रयास भइरहेको छ । बिहीबार ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले टिकटकको अमेरिकी स्वामित्व बेच्न अनुमति दिएका दाबी गरेका थिए ।

    तर, अमेरिकास्थित चिनियाँ दूतावासले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    आदेशअनुसार टिकटकको सिफारिस प्रणाली (एल्गोरिदम) अमेरिकी कम्पनीको नियन्त्रणमा हुनेछ । अमेरिकी संस्करणको टिकटक एपको एल्गोरिदमलाई पुन: तालिम दिइने र अमेरिकी सुरक्षा साझेदारले यसको निगरानी गर्ने समाचारमा उल्लेख छ ।

    अमेरिकामा करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा आफ्नो जितको श्रेय टिकटकलाई दिएका छन् ।

    टिकटकमा ट्रम्पको व्यक्तिगत अकाउन्टमा डेढ करोड फलोवर्स छन् । हालै ह्वाइट हाउसले पनि टिकटकमा आफ्नो आधिकारिक अकाउन्ट खोलेको छ ।

    टिकटकको अमेरिकी संस्करण खरिद गर्न डेल टेक्नोलोजीका संस्थापक माइकल डेल, सञ्चार व्यवसायी रूपर्ट मर्डोकसहित केही ठूला लगानीकर्ताको सहभागिता रहने जनाइएको छ ।

    ओरेकल र सिल्भर लेक पार्टनर्सलगायतका अमेरिकी लगानीकर्ताले करिब ५० प्रतिशत हिस्सेदारी पाउनेछन् भने बाइटडान्सका हालका लगानीकर्ताले ३० प्रतिशतसम्म स्वामित्व पाउनेछन् । अमेरिका चल्ने टिकटकमा बाइटडान्सको हिस्सा भने २० प्रतिशतभन्दा कम हुने बताइएको छ ।

    यद्यपि सम्झौताको विस्तृत विवरा अझै सार्वजनिक भइसकेको छैन । टिकटकको प्रमुख सम्पत्ति मानिने एल्गोरिदममा अझै बाइटडान्सकै प्रभाव रहने सक्नेमा अमेरिकी अधिकारीहरूको आशंका छ ।

    चिनियाँ सञ्चारमाध्यमले बाइटडान्सले टिकटक अमेरिकी कारोबार पुन:संरचना गर्दै नयाँ कम्पनी स्थापना गर्ने र ई–कमर्स, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय कारोबारसँगको समन्वय गर्ने जिम्मेवारी पाउने दाबी गरेका छन् ।

    यसबीच अमेरिकी रिपब्लिकन सांसदहरूले सम्झौताबारे प्रष्ट पार्न माग गरेका छन् । टिकटकसँगको नयाँ खरिद सम्झौताअनुसार चीनसँगको सम्बन्ध पूर्ण रूपमा तोडिएको सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    सम्झौताअनुसार नयाँ बोर्डमा सात सदस्य रहनेछन्, जसमा छ जना अमेरिकी र एक जना बाइटडान्सको प्रतिनिधि हुनेछन् ।

    सन् २०२४ को कानुनअनुसार, यदि बाइटडान्सले अमेरिकी सम्पत्ति बिक्री नगरेमा जनवरी २०२५ सम्म टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्नेछ । आफू अनुकूल चलाउ अमेरिकी प्रशासनले नयाँ सम्झौतामा माउ कम्पनी बाइटडान्सको भूमिकालाई सीमित पार्न खोजेको देखिन्छ ।