Blog

  • आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    १० असोज, काठमाडौं ।
    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको छ ।

    ‘उपर्युक्त बमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ’ निर्देशनमा भनिएको छ ।

    जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग जोडिएका (फरवार्ड/ब्याकवार्ड लिङकेज) ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने छन् ।

    त्यस्तै रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित
    इजाजतपत्रप्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी पुस मसान्तसम्म ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिइएको छ ।

  • अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

    अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

    काठमाडौँ, असोज १० –
    अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नुहुनेछ । रासस

  • दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

    दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

    १० असोज, काठमाडौं ।
    दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ ।

    घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ।

    गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।

    कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु

    पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु

    चितवन, असोज १० –
    नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो ।

    भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ ।

    उहाँले भन्नुभयो, “सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन् ।” अन्य समयमाभन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि स्थल मार्ग पहिरोले जोखिम बन्दा चाप बढेको उहाँले बताउनुभयो ।

    काठमाडौँबाट आउने र काठमाडौँ जाने दुवैको चाप बढेको उहाँले जानकारी दिनुभयो । पहिला काठमाडौँबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उहाँले बताउनुभयो । दसैँ नजिकिएकाले पनि यात्रुको चाप बढेको हो ।

    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उहाँले बताउनुभयो । बिहान ८ः०० देखि अपराह्न ३ः३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

    भरतपुर–पोखरा एउटा उडान र भरतपुर–काठमाडौँ नौ उडान भरिँदै आएको उहाँले बताउनुभयो । बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न नसकिएको उहाँले बताउनुभयो । उडान थप हुँदासमेत यात्रुले सहज टिकट पाउने अवस्था छैन ।

    रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धावन मार्ग छोटो हुँदा र रात्रिकालीन उडान नहुँदा मागअनुसारको उडान गर्न सकेका छैनौँ ।” यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ ।

    विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ । पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन् । रासस

  • दसैँअघि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सुरु

    दसैँअघि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सुरु

    चितवन, असोज १० –
    चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ ।

    वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ । उहाँको भनाइमा असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ । त्यसका लागि जिप दर्ता गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

    गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरिएको थियो । गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको हो ।

    निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् । रासस

  • जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

    जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

    १० असोज, काठमाडौं ।
    जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ ।

    भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा समेत आगजनी भएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा पनि क्षति पुर्‍याइएको थियो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रहरी, स्थानीय तह र प्रदेशअन्तर्गतका बाहेक संघअन्तर्गत ४३५ सरकारी संरचनामा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यसमा अदालत, मन्त्रालय, संसद भवन, मन्त्री निवास, प्रधानमन्त्री निवास र राष्ट्रपति निवास समेत छन् ।

    क्षतिको अवस्था बुझ्न शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन सहितका प्रतिनिधिहरुले अध्ययन अवलोकन गरेका थिए ।

    सो टोलीले २५ वटा कार्यालयका ६२ वटा भवन अवलोकन गर्दा २४ वटा तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको छ । प्रयोग गर्नै नमिल्ने भवनहरुमा रातो स्टिकर टाँसिएको छ ।

    रातो स्टिकर टाँसिएका भवनहरुमा प्रधानमन्त्री निवास परिसरका दुई, प्रधानन्यायाधीश आवासको एउटा सहायक भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिम भाग, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल बार एसोसिएसन, यातायात व्यवस्था विभाग र नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत छन् ।

    यसैगरी १४ वटा भवनमा मर्मत गर्न मिल्ने संकेत अनुसार पहेंलो स्टिकर छ भने २२ वटा भवनमा सामान्य मर्मत गरेर पनि प्रयोग गर्न मिल्ने भनेर हरियो स्टिकर टाँसिएको छ ।

    आन्दोलनका क्रममा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको आवास (राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री निवास), सिंहदरबार, संसद् भवनसहित ५५ वटामा क्षति पुगेको तथ्यांक छ ।

    यसमध्ये तीन वटा भवन प्रयोग गर्न नमिल्ने भनेर रातो स्टिकर टाँसिएको छ । ९ वटा भवनमा पहेंलो स्टिकर टाँसिएको छ । ३ वटामा हरियो स्टिकर टाँसिएको छ । क्षतिग्रस्त थप करिब ४० वटा भवनको अध्ययन अवलोकन गर्न भने बाँकी छ ।

    जेनजी युवा आन्दोलनको क्रममा भएको क्षतिको आकलन र पुनर्निर्माण गर्ने उद्देश्यले यही असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । यो समितिको अध्यक्षता अर्थमन्त्रीले गर्दछन् । समितिमा गृहमन्त्री, सहरी विकास मन्त्री र मुख्य सचिव सदस्य छन् । सहरी विकास मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

    समितिले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणको क्रममा अदालतलाई पहिलो प्राथमिकता दिने निष्कर्ष निकालिएको एक सदस्यले बताए । सर्वोच्च अदालतका कागजपत्र र पुराना सबै रेकर्ड जलेर खरानी भएका छन् । भवन पनि पूरै क्षतिग्रस्त भएकाले पाल मुनिबाट सेवा सञ्चालन गरिएको छ ।

    जेनजी युवा आन्दोलनको क्रममा निजी र सरकारी गरी एक खर्ब भन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

  • अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू

    अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू

    काठमाडौं , असोज १० –
    अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ ।

    खनालले शुक्रबार (आज) बिहान सामाजिक सञ्जालमार्फत् कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् ।

    आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू,’ मन्त्री खनालले भनेका छन् । उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए ।

    यससँगै मन्त्रालयभित्र प्रशासनिक कार्यमा पारदर्शिता र छरितोपन बढ्ने अपेक्षा गरिएको छ।

  • ‘सबै फाइलको ब्रेक थ्रु हुन्छ’ : गृहमन्त्री अर्याल

    ‘सबै फाइलको ब्रेक थ्रु हुन्छ’ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज १० –
    राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने भएको छ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका छन्।

    उनले भने‘ सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए। त्यो हुँदैन अब यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र सुरक्षा दिन पनि सकिँदैन ।’

    उनले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिएको बताएका छन्।

    ‘केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा अवरोध आयो। जसरी कतिपय अपराध अनुसन्धानमा भ्रष्टाचार लगायतका विषयवस्तुमा जुन खालको अवरोध आयो। त्यो अवरोध हामीले हटाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिम निर्देशन दिएको उनले बताएका छन्।

  • रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

    रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

    १० असोज, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।

    रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

    लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए ।

    अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

    रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।

    स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

    रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

  • अपरेटरले जोखिम मोलेर तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन कार्यालय

    अपरेटरले जोखिम मोलेर तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन कार्यालय

    चितवन, असोज १०-
    चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो अपरेटरले जोखिम मोलेर हटाएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।

    कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।

    कार्यालयको स्टाटस जस्ताको त्यस्तैः

    मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरूद्द हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०:३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम निरन्तर ढुंगाहरू खसिरहदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु। यसको अलाभा फिल्डमा निरन्तर खटिनुभएका सुपरभाइजर, प्राविधिक साथीहरू एवं अन्य कर्मचारी साथीहरू, नागढुंगा-मुग्लिन सडक आयोजना मुग्लिनको प्रमुख ज्यू सहितको टिम, HED Hetauda/Pokhara, निरन्तर हौसला र सुझाव दिनुहुने FRSMO/DoR/MOPIT को नेतृत्व एवं परिवार, सडक विभागका समस्त शुभेच्छुक साथीहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। बिशेषतः चितवन जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारी ज्यू, सुरक्षा निकायका नेतृत्व एवं अन्य साथीहरूले पुर्याउनु भएको सहयोगको लागि सबैमा हार्दिक धन्यवाद साथै आभार व्यक्त गर्न चाहन्छु। फिल्डको कुशल व्यवस्थापनको लागि Er. Arjun Ghimire लाई विशेष धन्यवाद। यस बीचमा यात्रु महनाुभावहरूलाई पर्न गएको असुविधाको लागि सडक डिभिजन भरतपुरको तर्फबाट क्षमा चाहन्छु।