Blog

  • दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

    दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

    १२ असोज, काठमाडौं ।
    दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ ।

    गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित असोज १३, १५ र १७ गते खुला रहने छन् ।

    चरिकोटस्थित काउन्टर १३ र १४ असोजका दिन खुला रहने टेलिकमले जनाएको छ । मर्मत सम्भार र जडान सम्बन्धी काम भने दशैं र तिहार बिदाको समयमा समेत नियमित चल्ने टेलिकमले जानकारी दिएको छ ।

    खुला रहेको काउन्टरबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण तथा परिवर्तनका काम हुनेछन् ।

  • हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन

    हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन

    १२ असोज, काठमाडौं ।
    धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

    उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले अनलाइनखबरसँग भन्यो ।

    ‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो ।

  • उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

    काठमाडौँ, असोज १२ –
    गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

    प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो ।

    सो अवसरमा गृहसचिव दङ्गालसमक्ष प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले सङ्गठनको संरचना एवम् विकासक्रम, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्या तथा आगामी कार्यदिशा र अपेक्षाबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस

  • जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना

    जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना

    काठमाडौं, असोज १२ –

    जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर परिचयपत्र वितरण सुरु गरेका छन् ।

    गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

    घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको मन्त्रालयले जनाएको छ । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निस्शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको छ ।

  • काठमाडौंको एक गेष्ट हाउसमा शनिबार एक युवक मृत फेला

    काठमाडौंको एक गेष्ट हाउसमा शनिबार एक युवक मृत फेला

    काठमाडौं , असोज १२ –
    काठमाडौंको एक गेष्ट हाउसमा शनिबार एक युवक मृत फेला परेका हुन्।
    काठमाडौं महानगरपालिका -११ सुन्धरास्थित एक गेष्ट हाउसमा एक युवक मृत युवको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् । मृत युवक झापा गौरादह नगरपालिका – १ घर भएका ३१ वर्षीय युवराज चौहान रहेको खुलेको छ ।

    घटनास्थलमा हेर्दा त्यस्तो शंकास्पद नदेखिएकाले पोष्टमर्टमपछि मृत्युको कारण खुल्ने, उनले भनिन्। यस घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।

  • पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

    पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

    काठमाडौँ, असोज १२ –
    राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताउनुभयो ।

    विज्ञप्तिमा भनिएको छ, “दसैँ, दिपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्, मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।”

    आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गरेको छ ।

    सार्वजनिक बिदा तथा चाडपर्वका समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना गर्न आयोगले भनेको छ ।

    “चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ”, आयोगले भनेको छ, “साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।“ रासस

  • विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड

    विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड

    काठमाडौँ, असोज १२ –
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिनुभएको छ ।

    चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताउनुभएको हो ।

    चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत् खपतका लागि घरायसी, उद्योग, कलकारखानालगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताउनुभयो । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उहाँले थप्नुभयो ।

    सरकारले विभिन्न नीति तथा योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय सवारी पु¥याउने लक्ष्य राखिएको छ ।

    सन् २०३५ मा यो प्रतिशत वृद्धि गरी क्रमशः ९५ र ९० प्रतिशत पु¥याउने लक्ष्य छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० वटा चार्जिङ स्टेसन सञ्चालित छन् ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोषअन्तर्गत भायबिलिटी ग्याप फण्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ । रासस

  • एमाले सचिवालय बैठक जारी

    एमाले सचिवालय बैठक जारी

    १२ असोज, काठमाडौं ।
    नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा केहीबेर अघिदेखि बैठक जारी छ ।

    जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

    सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी युवा आन्दोलनपछि पहिलोपटक आयोजित केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे समीक्षा गरी आवश्यक निर्णय लिइने बताए ।

    २३ र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

    तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।

  • अर्थमन्त्री खनाल र जापानका राजदूतबीच शिष्टाचार भेट

    अर्थमन्त्री खनाल र जापानका राजदूतबीच शिष्टाचार भेट

    काठमाडौँ, असोज १२ –
    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भयो ।

    छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनःनिर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताउनुभयो । उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो ।

    त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो । रासस

  • सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

    सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

    गण्डकी, असोज १२ –
    ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।

    पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट रु ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका अध्यक्ष लोकगायक वसन्त थापाले बताउनुभयो । “अहिलेसम्म झण्डै रु डेढ लाख सङ्कलन भइसकेको छ”, उहाँले भन्नुभयो, “धेरै रकम सहयोग गर्न नसके पनि देशलाई अप्ठ्यारो परेका बेला सन्देश दिन खोजिएको हो ।” तिहारसम्म अभियान सञ्चालन हुने र त्यसपछि सरकारको कोषमा रकम जम्मा गरिने अध्यक्ष थापाले बताउनुभयो ।

    सुरुमा समाजकातर्फबाट मात्र केही रकम दिने भनिएकामा पछि देशविदेशमा रहेका कलाकारलगायत अन्य शुभेच्छुकले सहयोगको इच्छा देखाएपछि अभियान अगाडि बढाइएको हो । अध्यक्ष थापाले सरकारले सुरु गरेको पुनःनिर्माण कार्यमा सहयोगको भावना जागृत गराई अरु सङ्घसंस्थालाई पनि त्यसतर्फ प्रेरित गर्न सन्देशमूलक ढङ्गले यो अभियान सुरु गरिएको बताउनुभयो ।
    सरकारले केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माण, मर्मत, आर्थिक पुनरुत्थान र राहत कार्यमा लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेको थियो । रासस