Blog

  • चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङः जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान

    चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङः जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान

    काठमाडौँ, असोज २६-
    जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल, सहज किसिमबाट उजागर गर्न सफल भएको छ ।

    व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ । समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरेको हुन्छ । जब कुनै व्यक्तिले समाजलाई कसरी अगाडि बढाउने र समाजको परिवर्तनमार्फत नयाँ संसारको परिकल्पना गर्दछ त्यसलाई नै वास्तवमा नेता मानिन्छ । नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ तर सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सकेमात्रै व्यक्ति वास्तविक नेता ठहरिन्छ । यसलाई पुस्तौँपुस्तासम्म सफल नेतृत्वदायी व्यक्तिका रूपमा सम्झिन्छ ।

    भनिन्छ, इतिहास जित्नेहरूको मात्र लेखिन्छ र हारेकाहरूको खोजी तथा लेखन साहित्यका विभिन्न विधाहरूबाट प्रस्फुटन भएको हुन्छ । बखानसिंह गुरुङ राजनीतिक नेताको अतिरिक्त एक सामाजिक अभियन्ताका रूपमा उक्त कालखण्डमा स्थापित व्यक्ति हुन् । बखानसिंह सफल भए वा भएनन् उहाँले जिते वा जितेनन् छुट्टै बहसको बिषय होला तर उहाँको जीवनभरको लडाइँ विचार आदर्शले जितेका कारण नै अहिलेको पुस्ताले प्रजातन्त्र ९लोकतन्त्र०को भरपूर उपयोग गर्न पाएको छ । जीवनको उतराद्र्धमा राजनीतिक रूपमा नेपाली कांग्रेसको मूलधार छाडेकाले कांग्रेसको इतिहासमा उहाँको नाम छाया परे पनि वा पारिए पनि उहाँको समग्र जीवन र त्याग तपस्यालाई नयाँ पुस्ताका माझ सशक्त रूपमा उजागर गरिदिन बखान उपन्यास सफल भएको छ ।

    जीवनका घटनाहरूका बारेमा प्रत्यक्ष संलग्न भई सूचना सङ्कलन गरी जीवन इतिहास तयार पारिन्छ । बखानसिंह गुरुङको जीवनका विविध पक्षहरूलाई कल्पना र यथार्थको संयोजनद्वारा पराजुलीले सिङ्गो बखानको सृजना गरेको पाइन्छ । पराजुलीले आफैँ बखानसिंह गुरुङसँग साक्षात्कार गर्न पक्कै पाएनन् होला तर उनको जीवनीका बारेमा अध्ययन, अनुसन्धान गरी नाति पात्र खडा गरी हजुरबुबाकै डायरीबाट लेखिएका विषय प्रसङ्गको रूपमा जुन परिदृष्य खडा गरी लमजुङबाट राजनीतिक यात्राको सुरुआतसँगै चितवनको बसाइँसराइ, गुरुङ समुदायको प्रचलनहरू, चितवनको कांग्रेस राजनीति, भारतमा निर्वासित जीवन, पारिवारिक अवस्था, थारू समुदायका रीतिरिवाज, परम्परा, संस्कारहरूलाई सशक्त रूपमा देखाउन सफल भएका छन् ।

    जीवन इतिहासले व्यक्तिको व्यक्तिगत ऐतिहासिक पक्षको अध्ययन गर्दछ । एउटा व्यक्तिको जीवनकहानीबाट नै समाजको समग्र इतिहासको प्रतिनिधित्व गर्न वा गराउन सक्नुपर्दछ जुन कुरामा स्रष्टा पराजुली सफल भएका छन् । समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञानको अनुसन्धान पद्धतिमा जीवन इतिहास सशक्त माध्यमका रूपमा रहे पनि पराजुलीले साहित्यको माध्यमबाट उक्त पद्धतिलाई अवलम्बन गरेका छन् । कुनै पनि घटनाको सुरुआत वा सृजना हुनुमा विगतमा भए÷गरेका घटना प्रक्रिया, सामाजिक, सांस्कृतिक अवस्था, राजनीतिक र भौगोलिक धरातलको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यसैले आजको विद्यमान समाज र संस्कृति जान्नका लागि वा विश्लेषण गर्नका लागि विगतको सामाजिक संरचना, प्रभाव र परिवर्तनलाई बुझ्नु जरुरी छ ।

    आजको नयाँ पुस्ताले आफ्नै संस्कृति बिर्सँदै गएको अवस्था रहेको छ । गुरुङ, थारू, नेवारलगायतका जातजातिको रैथाने भाषा, शब्दावली, परम्परा, संस्कारहरूलाई उपन्यासकार पराजुलीले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । थारू समुदायमा फागुपूर्णिमामा गाइने फगुवा गीत, नेवार समुदायको गाईजात्रा र रामायण निकाल्ने परम्परा तथा गुरुङ समुदायको मृत्यु संस्कार, देवघाटको महत्व र सोमेश्वरको आध्यात्मिक पक्षजस्ता विषयहरूको गहिराइमा पुगेर गरिएको प्रस्तुति सोही समुदायका नयाँ पुस्तालाई मात्र होइन समाज र संस्कृतिको ज्ञान लिन चाहने अध्येताहरूका लागि समेत महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्ने अवस्था रहेको छ ।

    कुनै समयमा घटेका वास्तविक घटना नै पछि गएर इतिहास बन्दछन् । सरल, प्रभावकारी र जीवन्त भाषामा लेखिएको यस उपन्यासमा बखानसिंह र उहाँको परिवारलाई पात्रको रूपमा लिई जन्मदेखि मृत्युपर्यन्त सम्पूर्ण पक्षको अध्ययन र जानकारी प्रस्तुत गरिएको छ । चितवनको वर्तमान समाजको स्वरुप किन, कसरी, कहिलेबाट, केकस्तो आर्थिक, सामाजिक राजनीतिक, सांस्कृतिक, पृष्ठभूमिबाट विकसित भएको भन्ने विषयलाई बखान उपन्यासले प्रष्ट पारेको छ । कार्यकारण सम्बन्ध र प्रभावलाई सुक्ष्म रूपमा एक पात्रको माध्यमबाट विश्लेषण गरिएको छ । पहाडबाट बसाइँसराइका आयामहरू, निकुञ्ज स्थापनाकालका जटिलताहरू, चितवनको बस्ती विकासका विविध पक्षहरूलाई प्रष्टसँग देखाइएको छ । कसैको विचार, भावना, दृष्टिकोणलाई काल्पनिक पात्र खडा गरी प्रस्तुति गरिए पनि पराजुलीको बखान उपन्यासमा कुन कुरा वास्तविक तथ्य हो र कुन काल्पनिकता हो भनी छुट्याइ हेर्न मुस्किल रहेको छ ।

    नेपालमा सहकारी अभियानलाई सुरुआत गराउने व्यक्तिको सीमित परिचय पाएका बखानसिंह गुरुङका राजनीतिक सामाजिक पाटाहरूलाई समेत केलाउने प्रयत्न गरिएको छ । बखान उपन्यासले नयाँ लेखकहरू तथा अध्येताहरूलाई समाजमा गुमनाम हुन पुगेका व्यक्तित्वहरूको खोज, अनुसन्धानमा प्रेरित गरेको छ । जुन घटनालाई अवलोकन गर्न वा प्रत्यक्ष साक्षात्कार गर्न सकिँदैन त्यस्ता घटनाहरूलाई वैयक्तिक अध्ययनबाट उजागर गर्न सकिन्छ । यस खालका पढ्नमा सरल कृतिहरूबाट समाज र राजनीतिको इतिहास खोजतर्फ नयाँ पुस्तालाई आकर्षित गराउने कुरामा कुनै सन्देह हुन सक्दैन ।

    राजनीति भनेको राज्य सरकार वा राजनीतिक दलमात्र होइन । एउटा परिवार र समुदाय र त्यसभित्र रहेका परिवार र समुदायको सर्वाङ्गिण विकासका लागि गरिने व्यवहार, शक्तिसम्बन्ध, निर्देशन, आदर्श तथा कार्यप्रणालीहरू सबैलाई राजनीतिक संस्थाको रूपमा मान्नुपर्ने हुन्छ । तत्कालीन चितौने समाजको शक्ति संरचना, राजनीतिक, सामाजिक जीवन र द्वन्द्वलाई आदिवासी थारू समुदायका माध्यमबाट उजागर गर्न खोजिएको छ ।

    एउटै कृतिका माध्यमबाट गुरुङ, नेवार, थारू, बाहुनलगायत समुदायको सामाजिक, सांस्कृतिक पक्षहरूको उजागर गर्नुका साथै राजनीति, वन्यजन्तु र पर्यापर्यटनको महत्व, बसाइँसराइ र त्यसको प्रभाव, तत्कालीन राजा महेन्द्रको राजनीतिक तथा वैयक्तिक पारिवारिक जीवन, चितवनको बस्ती विकास, देवघाट सोमेश्वर नारायणीजस्ता पवित्र तीर्थस्थलहरूको परिचय, चीन र भारतसँगको नेपालको भूराजनीतिक धरातलीय अवस्थाका सम्बन्धका बारेमा खोज विश्लेषण गरिएको छ र त्यसमा सशक्त तरिकाबाट साहित्यिक लेपन लगाइएको छ ।

    उपन्यास भन्नासाथ मायाप्रेमका सुखान्त र दुःखान्तका पक्षहरूमा बढी पाठकको ध्यान जानु स्वाभाविक हो । स्रष्टा पराजुलीले यस उपन्यासमा हात्ती, गैडाजस्ता जनावरको सहवास वा यौनक्रिडालाई प्रस्तुत गरी त्यो मिठास दिने प्रयास गरिएको छ । कताकता हात्ती, गैडाको उदाहरण दिई प्राकृतिक रूपमा नै पोथीभन्दा भाले शक्तिशाली हुन्छ भन्ने सन्देश दिन खोजेको आभास पनि उपन्यासमा पाइन्छ । बहुविवाह गरी चितवन र काठमाडौँमा दुई घरबार बसालेका पात्र बखानसिंह गुरुङबाट सो कार्यको बचाउ गर्न खोजिएको छ ।

    गुरुङ समुदायको मृत्यु संस्कारबाट विषयवस्तुको उठान गरी थारू समुदायको भताही संस्कारबाट उपन्यासको सांस्कृतिक पाटोलाई बिट मार्न खोजिएको छ । उपन्यासको पछिल्लो भाग पढ्दै जाँदा भने साहित्यिक उपन्यासभन्दा पनि वैयक्तिक जीवनी पढेको आभास बढी हुन्छ । उपन्यासले गुरुङ परिवारको महत्त्वपूर्ण पात्र मनकुमारीको देहान्तसम्म पुगे पनि स्वयं बखानसिंह गुरुङको अन्त कहिले र कसरी भयो तथा सर्वस्वहरणमा परेको सम्पत्तिको पुनः प्राप्ति भयोरभएन, रुग्ण अवस्थामा रहेको सहकारीलाई कसरी पुनर्संरचना गरियो भन्ने कुराको जानकारी अधुरै छाडेको छ । गुरुङले दुईपटकसम्म न्याय तथा कानुनमन्त्रीको जिम्मेवारी लिएको देखिन्छ । उहाँले मन्त्री जीवनमा गरेका कार्य वा चितवनको न्यायिक इतिहासमा तत्कालीन नेतृत्वको कुनै भूमिका रह्यो वा रहेन भन्ने विषयमा समेत मौनता रहेको पाइन्छ । चितवनले नसम्झेको पात्र बखानसिंह गुरुङलाई पुराना पुस्तामाझ स्मरण गराउन र नयाँ पुस्तामाझ परिचित गराउन सफल प्रस्तुत बखान उपन्यासको ‘कभर डिजाइन’ वा कहीँकतै बखानसिंह गुरुङको वास्तविक तस्बिर पनि राखिदिएको भए विषयगत रूपमा अझै जीवन्त हुन सक्थ्यो होला । रासस

     

  • आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

    वि.सं.२०८२ साल आश्विन २६ गते । आइतबार । ईश्वी सन् २०२५ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मृगशिरा, बेलुकी ७ बजेर ४९ मिनेट उप्रान्त आर्द्रा । योग–वरियान, बेलुकी ५ बजेर ४० मिनेट उप्रान्त परिध । करण–गर, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–वृष, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त मिथुन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २८ घडी ५५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बढेर जानेछ । उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग पाइने हुँदा मन खुसी हुनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैतृक धन तथा सम्पत्तिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । विद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटनाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न माग गर्दै अनेरास्ववियु चितवनले बुझायो ज्ञापनपत्र

    जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न माग गर्दै अनेरास्ववियु चितवनले बुझायो ज्ञापनपत्र

    चितवन, असोज २५
    जेनजी आन्दोलनमा आगजनी र लुटपाट गर्ने व्यक्तिहरुलाई तत्काल कारबाही गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ ।

    देशका विभिन्न स्थानहरुमा राष्ट्रिय सम्पदाहरु, सरकारी कार्यालय, पार्टी कार्यालय तथा सर्वसाधारण नागरिकका घर-धनमालमाथि आगजनी, तोडफोड, लुटपाट र सार्वजनिक सम्पति नष्ट गर्ने जस्ता गम्भीर गैरकानुनि कार्यहरु भएको भन्दै दोषीहरुलाई तत्काल कारबाही गर्न  माग गर्दै अनेरास्ववियुले शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

    साथै, उक्त पत्रलाई बेवास्था गरे चरणबद्ध आन्दोलनमा जाने अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यले बताए ।

  • रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रसुवा, २५ असोजः 
    स्याफ्रु-रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर चालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो ।

    टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताउनुभयो ।

    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको  स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    पाटन (ललितपुर), २५ असोज :
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते हुने भएको छ ।

    असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    “हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो । घोषित निर्वाचन र संसद् पुनःस्थापनाका विषयमासमेत छलफल भएको छ”, उहाँले भन्नुभयो,“पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पु¥याएर युवाहरूलाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ । निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्योलता धेरै छन् ।”

    पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने पनि प्रवक्ता डा महतले बताउनुभयो ।

  • कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ

    कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ

    काठमाडौं, असोज २५
    कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

    सुवेदी सर्लाहीको ईश्वरपुर घर भएर काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएकी थिइन् ।

    कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।

    पशुसेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको एसएसपी श्रेष्ठले बताए ।

  • मन्त्री कुलमानले भने– इलामलाई विशेष प्राथमिकतामा राखेका छौँ

    मन्त्री कुलमानले भने– इलामलाई विशेष प्राथमिकतामा राखेका छौँ

    काठमाडौँ, असोज २५-
    गत असोज १८ गतेको बाढी पहिरोको स्थलगत अवलोकन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ इलाम पुगेका छन् ।

    इलामको राजदूवाली पार गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इलामको क्षति र त्यसको राहतका लागि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

    उनले भने, ‘सरकारले इलामलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । संकटग्रस्त क्षेत्र घोषणा गर्नुभनेको यहाँको सडक, खानेपानी, विजुलीबत्तिसहित नागरिकमा आधारभूत आवश्यकता पूर्ति गर्न तदारुकताका साथ पहलकदमी चाल्नु हो ।’

  • चितवनका सन्देश राईले अष्ट्रेलियामा एकैपटक जिते पाँच उपाधि

    चितवनका सन्देश राईले अष्ट्रेलियामा एकैपटक जिते पाँच उपाधि

    अष्ट्रेलिया, असोज २५–
    चितवनका सन्देश राईले अष्ट्रेलियामा एकैपटक जिते पाँच उपाधि जित्न सफल भएका छन् । प्रतिभाशाली युवा राईले अस्ट्रेलियामा सम्पन्न ‘आई कम्पिट नेचुरल साउथ अष्ट्रेलिया’ नामक प्रतियोगितामा एकैपटक पाँच वटा उपाधि जित्न सफल भएका हुन् ।

    फिटनेस र बडीबिल्डिङको प्रतिष्ठित मञ्चमा सन्देशले आफ्नो अदम्य परिश्रम, अनुशासन र समर्पणको बलमा पाँचवटा शीर्षक आफ्नो नाममा लेखाउन सफल भएका छन् । उनले पुरुष फिजिक ओपन क्लास १– पहिलो स्थान, पुरुष फिजिक पहिलो पटक प्रतिस्पर्धीमा पहिलो स्थान, पुरुष फिजिक नवप्रवेशी–पहिलो स्थान, पुरुष क्लासिक फिजिकमा दोस्रो स्थान र पुरुष फिजिक सर्वोत्कृष्ट खेलाडी– साउथ अष्ट्रेलिया २०२५ को उपाधि जित्न सफल भएका हुन् ।

    यो सफलता सन्देश राईको मात्र नभई सम्पूर्ण नेपाली समुदायको गौरव रहेको भन्दै नेपालीहरुले खुशीयाली मनाएका छन् । उपाधि जित्न सफल राईले भने–‘यो यात्रा सजिलो थिएन, कठोर मेहनत, अनुशासित जीवनशैली र निरन्तर लक्ष्यप्रतिको दृढताले यो मुकाममा पुर्‍याएको हो।’

    सन्देशले भावनात्मक शब्दमा भने–‘यो जित मेरो मात्र होइन, नेपालका हरेक युवाको हो जसले आफ्नो सपना पछ्याउँदै परदेशमा पनि देशको नाम उज्यालो बनाइरहेका छन्।’

    उनको सफलताको पछाडि निरन्तर साथ र प्रेरणा दिने व्यक्ति हुन् उनकी जीवनसंगीनी निशा श्रेष्ठ । सन्देशले धन्यवाद व्यक्त गर्दै भने, ‘निशाको सहयोग र हौसला बिना यो सम्भव हुने थिएन। उनले हरेक कठिनाइमा मलाई प्रेरणा दिइन्, विश्वास दिलाइन् र सधैं सपनामा साथ दिइन्।’

  • बाहिर एक समूहको नाराबाजी चलिरहँदा भित्र वार्तामा को-को थिए ? (सूची)

    बाहिर एक समूहको नाराबाजी चलिरहँदा भित्र वार्तामा को-को थिए ? (सूची)

    २५ असोज, काठमाडौं ।
    शनिबार बिहान राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीबीच छलफल गर्ने भनेर जेनजी अगुवाहरू शीतल निवास पुगे । यद्यपि, सुरु भएको केही समयमै राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारिएको छ ।

    बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै दुई दिन पछि सारिएको हो ।

    राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । तर, केहीले भने शीतल निवासमा प्रवेश नपाएको भनी गेटबाहिर विरोध गरेका थिए । यसरी एउटा समूह बाहिर रहँदा भित्र छिर्नका लागि नाम तय भएका अगुवाहरु २० जना थिए । तीमध्ये पनि पुरुषोत्तम यादवले बहिष्कार गरेका थिए ।

    हेर्नुहोस् सूची

    सुदन गुरुङ

    ओजस्वीराज थापा

    मिराज ढुंगाना

    प्रवेश दाहाल

    जितेन्द्र शाह

    पुरुषोत्तम यादव

    प्रशान्त पौडेल

    अंकित अधिकारी

    अभिषेक श्रेष्ठ

    जुनल गदाल

    अर्जुन शाही

    रक्षा बम

    प्रदीप ज्ञवाली

    युजवराज भण्डारी

    आदित्य कर्ण

    आकृती घिमिरे

    मोनिका निरौला

    ओजस्वी भट्टराई

    रिजन राना मगर

    निकुञ्ज भण्डारी

     

  • माटोको ढिस्कोमा पुरिएका २ जनाको सनाखत

    माटोको ढिस्कोमा पुरिएका २ जनाको सनाखत

    बारा ,असोज २५ –
    बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका २ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर- ५ बस्ने १५ वर्षीय सुनिल महतो रहेका छन् ।

    ६ जना घाइतेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको छ।