Blog

  • कैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना

    कैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना

    धनगढी,असोज २५-
    कैलालीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । टाउको बिनाको शरीर घटनास्थल मै छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आएका थिए ।

    “राति ११ बजेतिर एक जनाको हत्या भएको सूचना आयो । हत्यामा संलग्नहरुले नै टाउको बोकेर हतियारसहित आएका थिए,” डीएसपी अवस्थीले भने, “म स्वयं घटनास्थलमा छु । थप अनुसन्धान हुँदैछ ।” प्रहरीका अनुसार, मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । उनीहरूबीच पहिले चिनजान नरहेको प्रहरीले जनाएको छ ।

    सुर्खेतबाट मृतकका आफन्त आइरहेकाले अहिले शव घटनास्थलबाट उठाइएको छैन ।

  • शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

    शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

    काठमाडौँ, असोज २५-
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्।

    प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेसँगै २० भन्दा बढी जेनजी प्रतिनिधिहरू छलफलमा रहेका छन्।

  • हुम्ला जिप दुर्घटनाः मृतकको संख्या ४ पुग्यो

    हुम्ला जिप दुर्घटनाः मृतकको संख्या ४ पुग्यो

    सुर्खेत,असोज २५-
    हुम्ला चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका ६ का अन्दाजी २८ वर्षीया मन्दिर बुढा, उनका दुई वर्षीया छोरा देवांश बुढा, हुम्ला सिमकोट–८ की २६ वर्षीया वसन्ती रोकाया र २८ वर्षीया जागृति रोकाया छन् ।

    प्रहरी उपरीक्षक पोखरेलका अनुसार अहिलेसम्म चारजना घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अन्य घाइतेहरूलाई जिल्लामै उपचार भइरहेको छ ।

  • बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

    बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

    काभ्रेपलाञ्चोक, असोज २५-
    गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ ।

    शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।

    शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताउनुभयो ।

    कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो ।

    मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा समेत करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताउनुभयो । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।

    बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सुचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमासमेत काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भन्नुभएको थियो ।

    पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । रासस

  • राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

    राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

    काठमाडौं, असोज २५-
    राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज गर्ने छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

    जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

    अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

  • डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते

    डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते

    धनगढी असोज २५
    डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।

    अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको हो ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । प्रहरीका अनुसार, गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २५ गते । शनिबार । ईश्वी सन् २०२५ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–पञ्चमी, बेलुकी १० बजेर ३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रोहिणी, बेलुकी ९ बजेर १८ मिनेट उप्रान्त मृगशिरा । योग–व्यातिपात, बेलुकी ८ बजेर ३८ मिनेट उप्रान्त वरियान । करण–कौलव, बिहान ११ बजेर १३ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर ३ मिनेट उप्रान्त गर । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–वृष ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २८ घडी ५९ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खाद्यान्न तथा होटेल रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्रोत साधन जुट्नाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । साँझपख लामो दुरीको योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । खानपान तथा मनोरञ्जनमा साझको समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रूपमा बिलासी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
    तपाईँको दिन शुभ रहोस् ।

  • एकीकृत समाजवादीद्वारा फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय

    एकीकृत समाजवादीद्वारा फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय

    काठमाडौँ, २४ असोजः 
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो ।

    संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ ।

    आजको बैठकमा मुलुकको समसामयिक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षा गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा जनवर्गीय सङ्गठनहरूले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको छ ।

    पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएकामा जेनजी प्रदर्शनका कारण बैठक स्थगित गरेको थियो ।

  • एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा

    एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा

    काठमाडौं, असोज २४
    नेकपा एमालेको शुक्रबारबाट सुरू ५८औं सचिवालय बैठकमा सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

    मध्याह्नबाट सुरू सचिवालय बैठक शुक्रबार झन्डै ६ घन्टा चलेको थियो।

    बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उममहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

  • खोलाले बगाउँदा एक महिलाको मृत्यु

    खोलाले बगाउँदा एक महिलाको मृत्यु

    मुगु २४ असोजः 
    यहाँको  खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ ।

    खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिनुभयो ।

    आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पु¥याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।