Blog

  • सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

    सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

    २६ असोज, काठमाडौं।
    प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग भेट गरेका थिए। भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका विषयमा छलफल भएको थियो।

    आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्रीसँग यस विषयमा पनि छलफल गरेका हुन्।

    छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए। भेटमा राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको थियो।

    जेन–जी आन्दोलनको दोस्रो दिन भएको आगजनीका कारण बानेश्वरस्थित स्रघीय संसद् भवन ध्वस्त भएको छ। सभाको बैठक बोलाउनुअघि आगामी बैठक कहाँ बोलाउने भन्ने अन्योल कायमै छ।

  • भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

    भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

    काठमाडौँ, असोज २६-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताउनुभएको छ ।

    आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । फागुन २१ मा चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो । उहाँले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताउनु भयो । ६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाइएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरु छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा यो ५÷६ महिनाको अवधिमा जनतालाई अनुभुत गराउने गरेर काम शुरु भयो, अगाडि बढयो, काम देखियो भन्ने हिसावले त्यसको शुरुवात गर्ने हो । फेरि मैले यो पटक पटक भनेको छु–यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै । हामीसँग त यतिवटा काण्डहरु छन् कि कतिपय काण्डहरु २ महिना लाग्छ, ३ महिना लाग्छ । एक वर्ष लाग्छ । २ वर्ष लाग्नसक्छ । तर ६ महिना भित्र कम्तिमा महशुस हुनेगरी कामहरु अगाडि बढाउने हो । र, तेस्रो कुरा भनेको जुन जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ । पूर्वाधारहरुको क्षति भएको छ । पत्रकारहरु नै घाइते भएका छन् । सञ्चार माध्यामको कुरा गर्दा खण्डहरु जस्तो देखिएको छ । देशभर अरु धेरै क्षति भएको छ । त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ ।’

    मन्त्री खरेलले जेन—जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनको क्रममा सञ्चार संस्था तथा पत्रकारहरुले भोग्नुपरेको पीडाबारे मन्त्री खरेलको ध्यानाकर्षण गराउनु भएको थियो ।

  • विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

    विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

    भोजपुर,अशोज २६।
    विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन्। रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ।

    रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुन्। करिब १० वर्ष विदेशमा बिताएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारीखेतीमा लागेका छन्। राईले अहिले गोलभेँडा, बन्दा, फुलकोभी, आलु, मुला, साग, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन्। वडा कार्यालयको पहलमा तालिम र कृषि औजार पाएपछि खेतीमा लाग्न अझ सहज भएको उनको भनाइ छ।

    ‘विदेशबाट फर्केर आफ्नै गाउँमा व्यावसायिक तरकारीखेतीमा लागेको हुँ,’ उनले भने, ‘त्यहाँभन्दा आफ्नै ठाउँमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने रहेछ। अहिले परिवारसँग बसेर तरकारीखेतीमै रमाएको छु।’

    तरकारी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखेपछि २०७८ सालदेखि व्यावसायिक रूपमा तरकारीखेती गरिरहेको उनले जानकारी दिए। उनका अनुसार तरकारीखेतीबाट सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ। गाउँमै उत्पादन भएको तरकारी स्थानीय बजारमै सजिलै खपत हुने भएकाले उनलाई बिक्रीमा समस्या छैन। ‘आफ्नै गाउँमा व्यावसायिक बन्न सकियो भने पैसा कमाउन बाहिर जानु पर्दैन,’ उनले भने, ‘यहाँको माटो र पसिनाले दिने आम्दानीमै सन्तुष्ट छु।’

    व्यावसायिक कृषिमा लागेका किसानलाई पहिचान गरेर उनीहरूको योजनाअनुसार अनुदान, तालिम र उपकरण उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष बाचकुमार राईका अनुसार सीमित बजेट भए पनि सङ्घसंस्था र विभिन्न निकायसँग सहकार्य गरेर कृषिलाई नमूनायोग्य बनाउन जोड दिइएको छ। ‘आर्थिक रूपमा किसानलाई सक्षम बनाउन कृषिलाई प्राथमिकतामा राखेका छौँ,’ वडाध्यक्ष राईले भने, ‘तरकारीखेती, व्यावसायिक बाख्रापालनसँगै विभिन्न सीपमूलक तालिमसमेत दिँदै आएका छौँ।’

    आगामी दिनमा माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनले सुनाए। वडामा विनियोजित बजेटले सबै क्षेत्रलाई समेट्न नसकेकाले अन्य निकायसँग सहकार्य गरेर कृषिमा लगानी बढाउने काम भइरहेको वडाध्यक्षको भनाइ छ।रासस

  • धानबालीमा फड्के कीराको सङ्क्रमण

    धानबालीमा फड्के कीराको सङ्क्रमण

    पर्वत, असोज २६-
    जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।

    धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ ।

    फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ । अत्यधिक आक्रमण भएका क्षेत्रमा धानका बोट नै सुक्ने अवस्थासमेत देखिएको छ । त्यसलाई ‘होपर बर्न’ समस्या रहेको बुझिने केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले पैँयु गाउँपालिकाअन्तर्गतका केही वडामा फड्के कीराको सङ्क्रमण फैलिरहेको बताउनुभयो । उहाँले सङ्क्रमण नियन्त्रणका लागि अनुगमन र प्राविधिकको रिपोर्टका आधारमा विषादी सिफारिस गरिएको बताउनुभयो ।

    उहाँका अनुसार, उच्च आद्रता, खेतमा स्थायी पानी जम्ने अवस्था, असमान रोपाइँ समय, अत्यधिक नाइट्रोजनयुक्त मलको प्रयोग र कीटनाशक विषादीको अनियन्त्रित प्रयोग कीराको वृद्धि हुने प्रमुख कारण रहेका छन् । यस्ता कीराले धानमा लाग्ने भाइरसजन्य रोग सार्ने माध्यमको काम पनि गर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अधिकारीले बताउनुभयो ।

    सङ्क्रमण न्यूनीकरणका लागि रोपाइँ एउटै समयमा सम्पन्न गर्ने, खेतमा हावापानीको उचित व्यवस्था मिलाउने, युरिया मलको सन्तुलित प्रयोग गर्नुपर्ने, अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, मित्र कीटको संरक्षण गर्ने र गुणस्तरयुक्त विषादीको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । अधिकारीका अनुसार, कृषकलाई आवश्यक जानकारी दिन प्राविधिक परिचालन गरिएको छ । साथै, सङ्क्रमण रोकथामका लागि खेतको नियमित अवलोकन र कीट व्यवस्थापनमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्ख्या बढी देखिएका क्षेत्रमा विषादी प्रयोग गर्दा धानको बोटको फेदमा पुग्नेगरी छर्कन आग्रह गरेको छ ।

    पर्वतका अन्य क्षेत्रमा पनि यस्तै समस्या देखिनसक्ने भएकाले सावधानी अपनाउन कृषक र स्थानीय तहलाई जानकारी गराइएको छ । रोग निदानका लागि कृषकलाई तीन पटकसम्म खेतमा पानी एक हप्ता राखी त्यसपछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुक्खा राख्नेगरी सिँचाइको व्यवस्था गर्न सुझाव दिइएको छ । रासस

  • बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

    बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

    काभ्रेपलाञ्चोक, असोज २६-
    गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।

    बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।

    राजमर्गाको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो । शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो ।

    योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताउनुभयो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ ।

    कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्र्याक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

    पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । रासस

  • सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

    सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

    काठमाडौं,असोज २६-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए ।

    ‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने रु र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा प्रेस काउन्सिल गम्भीर बन्नुपर्छ भन्ने लाग्छ ।’

    उनले काउन्सिल स्वायत्त निकाय भएको हुँदा ‘कसैलाई काखा र कसैलाई पाखा’ नगर्न समेत आग्रह गरे । उनले ‘काउन्सिललाई कस्तो जनशक्ति चाहिन्छ, कस्तो स्रोतसाधन चाहिन्छ’ भन्नेबारे एक हप्ताभित्र विवरण लिएर आउनसमेत निर्देशन दिए ।

    ‘यो निर्वाचनका लागि बनेको सरकार हो । तर, म काउन्सिल बलियो बन्नुपर्छ भन्ने मान्यता राख्छु । आवश्यक थप बजेटका लागि अर्थमन्त्रीसँग समेत छलफल गर्नेछु’, उनले भने ।

  • शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

    शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

    भरतपुर, असोज २६-
    निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई विद्युतीय तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

    आइतबार शिक्षा विकास तथा समन्वय इकाइ चितवनमा आयोजित एक कार्यक्रममा प्याब्सन चितवन र हिसान चितवनका प्रतिनिधिले डेल ब्राण्डको कम्प्युटर एक थान, ‘थ्री इन वान’ ब्रदर ब्राण्डको प्रिन्टर एक थान र स्टिल दराज एक थान हस्तान्तरण गरिएको हो ।

    गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा चितवनका थुप्रै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएपछि सेवाग्राहीलाई छरितो सेवा प्रदान गर्ने उद्देश्यले यसअघि नै प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालयमार्फत रु। ११ लाख मूल्यबराबरका १० थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो ।

    शिक्षा विकास तथा समन्वय इकाइ चितवनका कार्यालय प्रमुख लक्ष्मण देवकोटाले प्याब्सन चितवनका अध्यक्ष मदन पुरीलाई गरेको आग्रहबमोजिम हिसान चितवनका सचिव दिनेश पुरी र प्याब्सन चितवनका कोषाध्यक्ष नवराज पौडेलको सक्रियतामा ती सामग्री हस्तान्तरण गरिएको प्याब्सन चितवनले जनाएको छ ।

    शिक्षाजस्तो संवेदनशील क्षेत्रमा विविध आन्दोलनलगायतका क्रियाकलापबाट सिर्जित हुने अवस्थाले ठूलो हानि पु¥याउने हुनाले सहयोग जुटाएर ती सामग्री प्रदान गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए । ‘विद्यालयहरूको तालुकदार अड्डा भएको र आफूहरूको बारम्बार काम परिरहने हुनाले ती सामग्री हस्तान्तरण गरेका हौँ’, कोषाध्यक्ष पौडेलले भने ।

    प्याब्सन चितवनका उपाध्यक्ष कृष्ण भट्ट, सचिव दयानिधि अर्याल, हिसान चितवनका उपाध्यक्ष प्रदीप पौडेललगायतको उपस्थिति रहेका कार्यक्रममा हस्तान्तरित सामग्री ग्रहण गर्दै समन्वय इकाइका कार्यालय प्रमुख देवकोटाले सँगसँगै पुनर्निमाणमा जुट्न र सेवाग्राहीलाई छरितो सेवा प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । आग्रह गरेबमोजिमका सामग्री पाएकोमा खुसी व्यक्त गर्दै उनले प्याब्सन चितवन र हिसान चितवनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

    मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

    झाप, असोज २६-
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो ।

    बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ ।

    मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिनुभयो । सोही क्रममा उहाँले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग सङ्क्षिप्त अन्तरक्रिया गर्नुभएको थियो । रासस

  • राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

    राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

    अशोज २६,राप्ती ।
    राप्ती नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगर उपप्रमुख देवेन्द्र लामाको उपस्थितिमा आन्दोलनरत पक्षसँग आइतबार भएको वार्तामा सहमति जुटेपछि ताला खुलेको हो।

    राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नसक्नुको विषयमा छानविन समिति गठन गर्ने सम्बन्धमा सोमबार बैठक बोलाउने र सो बैठकले २ जना आन्दोलनरत पक्ष सहित ५ जनाको छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

    त्यस्तै कार्यालयको नियमित कार्यपालिका तथा नगरसभाको बैठक राख आवश्यक व्यवस्था मिलाउने, नगर प्रमुख एवं उपप्रमुख अनिवार्य कार्यालयमा उपस्थित रहि सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, नगरका विशेष समितिहरूको बैठकमा आन्दोलनरत पक्षको मागलाई ध्यानमा राखी बैठकमा सहभागी गराउन आवश्यक समन्वय गर्ने, सार्वजनिक सम्पत्ति कार्यालयको समय र कार्यालय प्रयोजनको लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

    यस्तै विभिन्न योजना र कार्यक्रमसँग सम्बन्धित भुक्तानी नियम सम्वत् कानूनी प्रक्रिया पुरा गराई भुक्तानी गर्ने, नियमित रुपमा सार्वजनिक सुनुवाइको आयोजनाको व्यवस्था मिलाउने, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाको लागि कार्यपालिकाको बैठकबाट निर्णय गराई सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ ।

    बैठकमा नगरपालिकाको तर्फबाट कार्यबहाक नगर प्रमुख देवेन्द्र लामा, राप्ती ५ का वडा अध्यक्ष सिताराम बल र अधिकृत राजेन्द्र मैनाली तथा आन्दोलनरत पक्षको तर्फबाट अनिल अधिकारी ,कुबेर सिंह लामा, हिराबहादुर श्रेष्ठ ,नवीन पराजुली लगायत उपस्थित थिए ।

  • बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

    बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

    २६ असोज, काठमाडौं।
    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

    गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।

    विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।

    उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।

    यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । त्यसलगै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।