Blog

  • काठमाडौँसहित विभिन्न ठाउँमा ५ जना मृत फेला

    काठमाडौँसहित विभिन्न ठाउँमा ५ जना मृत फेला

    असोज २६,काठमाडौँ-
    काठमाडौँसहित देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन्। काठमाडौँको दक्षिणकाली नगरपालिका-७ बैरेस्थित धान खेतमा करिब ४० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन्। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

    त्यस्तै दैलेख, दुल्लु नगरपालिका ४ स्थित घरको बरण्डामा चामुण्डा बिन्द्रासैनी नगरपालिका ९ का ६० वर्षीय शक्ति रोकाय आइतबार मृत अवस्थामा फेला परेका छन्।

    इलाम, इलाम नगरपालिका १ सानोमझुवास्थित खोल्सामा सोही नगरपालिका १ नेपालटार बस्ने ३३ वर्षीय सुदिर दास मृत फेला परेका छन्।

    चितवन, भरतपुर महानगरपालिका १ रामनगरस्थित सडक छेउको खुल्ला चौरमा गोरखा पालुङटार नगरपालिका ६ गाइखोर घर भएकी ७० वर्षीया इन्द्रमाया विक शनिबार मृत अवस्थामा फेला परेकी छन्।

    बाँके, राप्तीसोनारी गाउँपालिका १ गाभर बस्ने ४५ वर्षीया विष्णु बुढा सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

  • व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

    व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

    दार्चुला, असोज २६-
    सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।

    विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउनुहुन्छ । “यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो”, लोथ्याल भन्नुहुन्छ, “तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।”

    सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।

    अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउनुहुन्छ । उहाँका अनुसार यहाँ व्यापारिक चाप बढेको छ ।

    धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।

    मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउनुहुन्छ । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।

    “विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो”, धामीले भन्नुभयो, “यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।” अहिलेकोभन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउनुहुन्छ । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।

    व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उहाँले बताउनुभयो । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ ।

    तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताउनुभयो । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ । यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । रासस

  • हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

    हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

    कर्णाली, असोज २६-
    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताउनुभएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उहाँले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।”

    मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उहाँले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिनुभयो । छलफलमा मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गर्नुभएको थियो ।रासस

  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    २६ असोज, काठमाडौं।
    राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

    राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो ।

  • दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

    दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

    घोराही (दाङ), असोज २६-
    घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गर्नुभएकी उहाँका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ ।

    वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उहाँको अहिले दैनिकी बनेको छ । उहाँ घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउनुहुन्छ । “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उहाँले भन्नुभयो ।

    आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक रु ६÷७ हजार आम्दानी भइरहन्छ । आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई रु पाँच सयमा बिक्री गर्नुहुन्छ । बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उहाँको भनाइ छ । दुना भने एक सय वटालाई रु एक सय २० मा बिक्री गरिरहनुभएको छ ।

    वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिनुहुन्छ । “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भन्नुभयो । उहाँले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताउनुभयो । विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उहाँको बुझाइ छ ।

    अचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्र्दै आउनुभएको छ । ५१ वर्षिया शान्ति र ५७ वर्षिय खुशीरामले विसं २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आउनुभएको हो । घरको काम सकेर बचेको समय यो व्यवसायमा उहाँहरुको दैनिकी वित्ने गरेको छ ।

    यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताउनुभयो । चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक रु १५ हजार कमाइरहेको उहाँको भनाइ छ ।

    दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ । टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ । रासस

  • अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

    अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

    बेइजिङ, असोज २६-
    राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।

    ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व ९खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिनुभएको छ ।

    आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धमकीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”

    राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाउनुभएको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।

    दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।

    गत बिहीबार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेको थियो । त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै चीनले ‘अत्यधिक शत्रुतापूर्ण’ व्यवहार गरेको र ‘विश्वलाई बन्धक बनाउन खोजेको’ आरोप लगाउनुभयो ।

    अमेरिकी नेताले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा राष्ट्रपति सीसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की पनि दिनुभएको छ । जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै नेताबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुने अनुमान गरिएको थियो ।

    केही महिनाअघि बेइजिङ र वासिङ्टनबीच व्यापार युद्धको असहज युद्धविराममा सहमति भएको थियो । यद्यपि पछिल्ला घटनाक्रमले तनाव पुनः बढाएको छ ।

    गत शुक्रबार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो । चीनले यो कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताउँदै उक्त शुल्कले ‘चीनको हितलाई गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।

    अमेरिकाले गत अप्रिलमा आफ्नै जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले ती शुल्कहरू घोषणा गरेको थियो । यो उद्योगमा चीन र अन्य एसियाली मुलुकहरूको दशकौँ लामो प्रभुत्व रहेको मानिन्छ । रासस/एएफपी

  • सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

    सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

    काठमाडौँ, असोज २६-
    गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।रासस

  • हराएको ३०३ राइफल दमकमा फेला

    हराएको ३०३ राइफल दमकमा फेला

    भद्रपुर (झापा), असोज २६-
    यहाँस्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

    प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

    उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले बताउनुभयो । रासस

  • मोटरसाइकल दुर्घटनामा मृत्यु

    मोटरसाइकल दुर्घटनामा मृत्यु

    काठमाडौँ, असोज २६-
    काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।” रासस

  • हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

    हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

    सिमकोट (हुम्ला), असोज २६ –
    यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् ।

    सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताउनुभयो । एउटा होटलले रु १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।

    साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए
    चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।” मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो ।

    मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो ।

    चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिनुभएका दीपेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।

    जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट रु एक हजार १०० राजस्व सङ्कलन गर्दै आएको छभने अन्य देशका पर्यटकबाट रु एक हजार ५०० शुल्क लिने गरेको छ ।
    मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट रु ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट रु छ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।

    व्यस्त सिमकोट विमानस्थल सुनसान
    पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो । रासस