Blog

  • जापानमाथि नेपालको जित

    जापानमाथि नेपालको जित

    २४ असोज, काठमाडौं ।
    आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।

    जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । आसिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

    गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

    जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १-१ विकेट लिए ।

  • छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न पहल लिएका छौं- नेपाली सेना

    छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न पहल लिएका छौं- नेपाली सेना

    काठमाडौं, असोज २४
    नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्‍चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

    आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ ।

     

  • जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य

    जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य

    काठमाडौँ, २४ असोज :
    आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा जापानले नेपाललाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ ।

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पार्यो ।

    जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए । त्यसैगरी इसाम रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।

    नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

  • प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

    प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

    काठमाडौँ, असोज २४-
    निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् ।

    कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।

    ‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’

  • चितवनमा थपिए ९५० नयाँ मतदाता

    चितवनमा थपिए ९५० नयाँ मतदाता

    चितवन, असोज २४-
    निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।

    सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।

    कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

    विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनका मतदाता चार लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ । रासस

  • हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

    हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

    २४ असोज, हुम्ला ।
    हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

    घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको सुर्खेत प्रहरीले जनाएको छ ।

    चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

    घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि सुर्खेत पठाउन सेनाको हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।

  • देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

    देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

    चितवन, असोज २४-
    चितवनको देवघाटमा निर्मित विद्युतिय शवदाह गृह भरतपुर महानगरपालिलाई हस्तान्तरण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले योजना बनाएर विद्युतिय शव दाह गृह व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । भरतपुरमा सहरी विकास मन्त्रालयबाट विकास निर्माणका कामहरु धेरै भएको बताउँदै उहाँले देवघाटमा आवश्यक परेको शव दाह गृह निर्माण गरेकोमा समेत धन्यवाद दिनुभयो । उहाँले सहरी विकास मन्त्रालयबाट भरतपुरमा ६५ किलोमिटर सडक, भरतपुरको प्रशासनिक भवन, भरतपुर अस्पतालको कुरुवा घर लगायतका विभिन्न भवन निर्माण भइरहेको समेत बताउनुभयो ।

    भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चितवन सहित छिमेकी जिल्ला बासीलाई विद्युतिय शव दाह गृहले सेवा पुर्याउन सहयोग गर्ने बताउनुभयो । विद्युतिय शव दाह गृह वातावरणीय दृष्टिले पनि राम्रो हुने बताउनुभयो ।

    देवघाटमा २०७५ साल माघ महिना सम्झौता भएको शव दाह गृहको निर्माण समय २०७७ साउन ३० गतेसम्म तोकिएको थियो तर समयमा काम हुन नसकेपछि २०८२ साल साउन ३० गतेसम्म म्याद पुनः थप गरिएको थियो ।

    दश करोड ३६ लाख ५७ हजार ८९१ रुपैयाँमा निर्मित शव दाह गृहमा भुई तलामा मलामी प्रतिक्षालय, पहिलो तलामा २ वटा विद्युतिय शव दाह मेसिन रहेका छन् । यस मेशिनबाट एउटा शव जलाउनका लागि करिब एक घण्टा लाग्ने सघन सहरी विकास आयोजनाका प्रमुख झपड बहादुर थापाले जानकारी दिनुभयो । एक वर्षसम्म मर्मत निर्माणको काम ठेकेदार पक्षले गर्नेछ ।

    यसैबिच सघन सहरी विकास आयोजनाले मंगलपुर–फुलबारी सडक, सापकोटा चोक–पटिहानी, विशाल चोक– देविस्थान सडक, बाइपास–गोर्खाली चोक र काडाघारी गरी १८ दशमलव १२ किलोमिटर सडक कालोपत्रे गरी हस्तान्तरण गरेको छ ।

  • एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

    एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

    २४ असोज, काठमाडौं ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

    युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

  • राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

    राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

    २४ असोज, काठमाडौं ।
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन् ।

    आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

    उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

    जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

  • गुण्डुमा एमाले सचिवालय बैठक जारी

    गुण्डुमा एमाले सचिवालय बैठक जारी

    काठमाडौं,असोज २४ ।
    नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा केही बेरअघि बैठक जारी छ ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

    आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

    एमालेमा संसद पुनस्थापना र निर्वाचनमा जाने भन्नेबारे पनि मतभेद छ। अध्यक्ष ओली संसद पुनस्थापनको एजेन्डा लिएर सडकमा जानुपर्ने पक्षमा रहेको हिजो सार्वजनिक रूपमै बताइसकेका छन् ।

    तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने देशलाई निकास दिन चुनावको विकल्प नभएको भन्दै यही ढंगले आजको बैठकमा कुरा राख्ने बताइन् ।

    यस्तै पार्टी पुनर्गठनको लागि ओलीलाई नेतृत्वबाट बिदा गरेर वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने बहस पनि चलिरहेको छ।