Blog

  • जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

    जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

    १ कात्तिक, काभ्रेपलाञ्चोक ।
    बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध भएको छ।

    काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९ : ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईले जानकारी दिए ।

    ​रानीटार स्थित ११ मिटरको सिमेन्टको पोलमा गाडीले ठक्कर दिँदा पोल भाँचिएका कारण मेलम्ची फिडर अन्तर्गत पर्ने मण्डन देउपुर नगरपालिकाका क्षेत्रहरूमा विद्युत आपूर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले जनाएको छ।

    ​क्षतिग्रस्त लाइनको मर्मत सम्भारको काम तत्काल सुरु गरिएको र सो कार्य सम्पन्न हुन करिब ३ देखि ४ घण्टा लाग्ने अनुमान गरिएको छ। मर्मत कार्य सकिएलगत्तै विद्युत सेवा सुचारु हुने प्राधिकरणले जानकारी दिएको छ।

    ​विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दा र त्यस क्षेत्रका व्यवसायीहरू प्रभावित भएका छन्। प्राधिकरणले मर्मत कार्यमा सहयोग पुर्‍याउन र धैर्य गर्न सबैलाई आग्रह गरेको छ।

  • अपडेट: नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

    अपडेट: नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

    चितवन, कार्तिक १-
    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ः१५ बजे सात सवारीसाधन एकअर्कासँग ठक्कर खाएका थिए। भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए। त्यस बसको पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र- ०६-००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग २ ख १६२६ नम्बरको बस, त्यसपछाडिको ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबि ८४७० नम्बरको कार ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    घाइतेको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ। अहिलेसम्म नेशनल सिटी अस्पतालमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, जनता केयर अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। अझै घाइतेको सङ्ख्या थपघट हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाको थप विवरण अझै आउन बाँकी छ। अहिले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ।

  • तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

    तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

    दमौली (तनहुँ), कात्तिक १ –
    यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो ।

    जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिनुभयो ।

    जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् । रासस

  • पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    काठमाडौँ, कात्तिक १ –
    नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    “नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ”, प्रमुख आचार्यले भन्नुभयो । पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था बनेको छैन । “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भन्नुभयो ।

    पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ ।

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गर्दा सडक मार्गमा आउने अवरोध अन्त्य भएको छ । “टयाङ्कर दुर्घटनामा पर्नेदेखि सडक मार्गमा आउनसक्ने समस्याको जोखिम कम भएको छ”, प्रमुख आचार्यले भन्नुभयो, “इन्धन चोरी तथा मिसावटको प्रश्न उठ्ने नै भएन ।” पाइपलाइनबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम पर्ने उहाँको भनाइ छ ।

    पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।

    सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर पाइपलाइन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना

    सरकारले सिलगुडी (भारत)–चारलआली (झापा) र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो ।

    राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।

    उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ ।

    त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ । रासस

  • सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    भरतपुर कार्तिक १
    भरतपुर ४ पिपलचोकमा अवस्थित सनराइज इङ्लिस सेकेन्डरी स्कुलको इन्टर्याक्ट क्लब र टेक टाइटन्स क्लबको संयुक्त आयोजनामा “एक्सपर्ट क्विज एरेना भोल्युम–१” नामक अन्तरविद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

    प्रतियोगितामा चितवन र नवलपुरका १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा रत्ननगरस्थित इन्टरनेशनल स्कुल पहिलो, गैडाकोट इङ्लिस स्कुल दोस्रो र नारायणगढस्थित लिटिल फ्लावर इङ्लिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

    विजेता विद्यालयले रु. २०,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन् भने पहिलो उपविजेताले रु. १२,००० नगद, पदक र ट्रफी तथा दोस्रो उपविजेताले रु. ८,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन्।

    कार्यक्रमका मुख्य अतिथि सनराइज इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष श्री हेमराज शर्मा रहनुभएको थियो। त्यस्तै, टाइटल स्पोन्सर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका म्यानेजर श्री विनोद बाबु रिजालले यस्ता शैक्षिक कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सो अवसरमा विद्यालयका १०+२ संयोजक श्री जीवलाल चालिसेले माध्यमिक तहमा यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्नु विद्यार्थीको बौद्धिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रमको सभापतित्व इन्टर्याक्ट क्लबका अध्यक्ष श्री लोकेन कार्कीले गर्नुभएको थियो। प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने आयोजक क्लब र सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय, सहभागी र सहयोगी संस्थाप्रति बिद्यालयका प्राचार्य शिबकुमार बगाले ले धन्यवाद ज्ञापन गर्नुभयो ।

  • आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

    आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक १ गते । शनिबार । ईश्वी सन् २०२५ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी, दिउसो १ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ५ बजेर ४० मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ब्रम्ह, रातको ४ बजेर २१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, दिउसो १ बजेर २३ मिनेट उप्रान्त गर, रातको १ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । धनत्रयोदशी (धनतेरश) ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३२ मिनेट । दिनमान २८ घडी ३१ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । खाद्यान्न, गरगहना तथा चाडबाड लक्षित सामानको व्यापार व्यवसायबाट मनग्गे लाभ हुनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योगमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ । दैनिक उपभोग्य सामान तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । तपाईँको कुरा काट्ने हरूलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । लत्ताकपडा, उपभोग्य वस्तु, गहना तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार, शेयर बजारबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । पूजा सामाग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । पूजा सामाग्री तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजपारिको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । यात्रा, खानपान, पूजापाठ तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायकै सन्दर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढाउन सकिनेछ । उपभोग्य वस्तु तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ । तर पनि धर्मसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । रोजगारी वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । अनलाइन व्यापार, पूजा सामाग्री तथा उपभोग्य वस्तुको व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

    तपाईँको आजको  दिन शुभ रहोस् ।

  • तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    काठमाडौँ कार्तिक १
    उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ ।

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

    काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धन त्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायङ्कालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

    यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।

    यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनसम्म यमदीपदान गरिन्छ ।

    कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

    कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

    गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख सहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

    बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलिमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।

    कौडा, लङ्गुर बुर्जा, तासलगायत विभिन्न स्वरूपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । रा स स

  • कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

    कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

    काठमाडौँ, ३१ असोजः
    नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ ।

    कांग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।

    यही असोज २८ गतेदेखि जारी बैठकमा पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलगायत विविध विषयमा विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले विधानअनुसार पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आग्रह गर्दै आफूले वैधानिक व्यवस्था र राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनमा विधिवत् नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

    साथै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोक्नुभएको छ । उहाँले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुने धारणासमेत राख्नुभएको थियो ।

    बैठकको दोस्रो दिन (असोज ३० गते) कावा सभापति खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने महामन्त्री गगनकुमार थापाले विभिन्न १० प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

  • एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

    एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

    काठमाडौँ, ३१ असोज :
    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।

    ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।

    बैठकले संसद् पुनःस्थापना र जनपरिचाललगायतका निर्णयहरू गरेको छ । बैठकले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकाले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आम नागरिकलाई आह्वान गरेको छ ।

    जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

  • खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?

    खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?

    पानी मानव जीवनको आधार हो। बिना पानी कुनै पनि जीवित प्राणी बाँच्न सक्दैन। शरीरका सबै जैविक क्रियाकलापहरू, पाचन, रक्तसंचार, तापक्रम नियन्त्रण, तथा विषाक्त पदार्थको निष्कासन — पानीकै सहयोगमा सम्पन्न हुन्छ। तर, पानी कति मात्रामा र कुन समयमा पिउनु पर्छ भन्ने कुरा थाहा नहुँदा धेरै मानिसहरू अनजानेमै गलत बानी बनाउँछन्। तीमध्ये एक सामान्य बानी हो- खाना खाएपछि तुरुन्तै पानी पिउने।

    देख्दा सामान्य लाग्ने यो बानी वास्तवमा शरीरका लागि हानिकारक हुन सक्छ। यो लेखमा हामी बुझ्नेछौं- खाना खाएपछि तुरुन्त पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो, र स्वस्थ तरिका कुन हो।

    पानी किन आवश्यक छ?

    मानव शरीरको करिब ६०–७० प्रतिशत हिस्सा पानीले बनेको हुन्छ।
    पानीको अभावमा शरीरका अंगहरूले आफ्नो कार्य ठीकसँग गर्न सक्दैनन्।

    पानीले निम्न महत्त्वपूर्ण कार्यहरू गर्छः

    १. शरीरको तापक्रम नियन्त्रण गर्छ।

    २. पाचन प्रक्रियालाई सहज बनाउँछ।

    ३. विषाक्त पदार्थहरू (toxins) मूत्र र पसिनामार्फत बाहिर निकाल्छ।

    ४. जोर्नी र मांसपेशीलाई लचिलो राख्छ।

    ५. छालाको नमी र चमक कायम राख्छ।

    तर, पानी पिउने समय र तरिका गलत भयो भने, यही पानी शरीरको लागि समस्या पनि बन्न सक्छ।

    खाना खाएपछि पेटमा के हुन्छ?
    जब हामी खाना खान्छौं, त्यसपछि पेटमा विभिन्न पाचन रसहरू उत्पादन हुन्छन्।
    यी रसहरूमा मुख्यतः हाइड्रोक्लोरिक एसिड , पेप्सिन, र अन्य एन्जाइमहरू हुन्छन् जसले खाना पचाउन सहयोग गर्छन्।

    पेटमा यी रसहरूको सन्तुलन अत्यन्त महत्त्वपूर्ण हुन्छ। जब खाना पेटमा पुग्छ, ती रसहरूले खाना तोड्न र शरीरलाई पोषक तत्व लिन सजिलो बनाउँछन्।
    तर, यदि यो समयमा पानीको ठूलो मात्रा पेटमा पुग्यो भने के हुन्छ?

    खाना खाएपछि तुरुन्त पानी पिउँदा हुने असरहरू

    १. पाचन रस पातलो हुन्छ

    खाना खाएपछि तुरुन्त पानी पिउँदा पेटभित्रको अम्लीयता घट्छ।
    हाइड्रोक्लोरिक एसिड पानीले पातलो बनाउँछ, जसका कारण खाना राम्ररी पच्दैन।
    पाचन प्रक्रिया सुस्त हुन्छ, र पेटमा खाना लामो समय रहन्छ।

    २. अपच हुने सम्भावना

    खाना राम्ररी नपच्दा अपच, डकार, पेट फुल्ने, वा ग्यास बन्ने समस्या हुन्छ।
    यसले दैनिकीमा असहजता ल्याउँछ र दीर्घकालमा पाचन प्रणाली कमजोर पार्छ।

    ३. भोक कम हुने र वजन बढ्ने

    पाचन कमजोर हुँदा शरीरले पोषक तत्व राम्ररी अवशोषण गर्न सक्दैन।
    शरीरमा बोसो (fat) जम्न थाल्छ, जसले वजन बढाउँछ।
    साथै, लगातार अपच हुँदा भोक घट्ने समस्या पनि देखा पर्छ।

    ४. रक्तमा सुगर स्तरमा असर

    मधुमेह भएका मानिसहरूका लागि यो बानी विशेष हानिकारक हुन सक्छ।
    पानीले पाचन रसमा हस्तक्षेप गर्दा ग्लुकोज अवशोषणमा असन्तुलन आउँछ, जसले रक्तशर्करा नियन्त्रणमा असर गर्छ।

    ५. शरीरको तापक्रममा असन्तुलन

    खाना खाएपछि पेटमा तापक्रम केही बढेको हुन्छ ताकि पाचन प्रक्रिया सक्रिय रहोस्।
    तर, यदि त्यस समयमा चिसो पानी पिइयो भने, पेटको तापक्रम अचानक घट्छ र पाचन रस निष्क्रिय हुन सक्छ।
    यसले पेट दुख्ने, फुल्ने वा भारी हुने अनुभव गराउँछ।

    ६. एसिडिटी र पेटको जलन

    कतिपय अवस्थामा तुरुन्त पानी पिउँदा अम्लीयता घट्ने होइन, उल्टै एसिड रिफलक्स हुन सक्छ।
    यसले छातीमा जलन, तित्तो डकार, वा ग्यास्ट्रिक समस्या निम्त्याउँछ।

    पानी पिउने सही समय

    विशेषज्ञहरूको सुझाव अनुसार, खाना खाने वरिपरि पानी पिउने समय यस्ता हुनुपर्छः

    खाना खानु अघि

    खाना खानु भन्दा ३० मिनेट अघि एक गिलास कोमल पानी पिउनु सर्वोत्तम हुन्छ।
    यसले शरीरलाई पाचनका लागि तयार बनाउँछ र पेटमा आवश्यक रसहरू सक्रिय गर्छ।

    खाना खान्दा

    खानाको बिचमा सानो घूँट पानी लिन सकिन्छ, तर धेरै होइन।
    यसले खाना सजिलै निल्न मद्दत गर्छ र मुख सुख्खा हुन दिँदैन।

    खाना खाएपछि

    खाना खाएपछि कम्तीमा ३० देखि ४५ मिनेट पछि मात्र पानी पिउनु उपयुक्त हुन्छ।
    त्यसपछि शरीरले खाना पचाउन सुरु गरिसकेको हुन्छ, र पानीले पाचनमा बाधा पुर्‍याउँदैन।

    तातो वा चिसो पानी?

    खाना खाएपछि कुन पानी पिउने भन्ने कुरा पनि महत्त्वपूर्ण छ।
    तातो वा कोमल पानी पिउनु स्वास्थ्यका लागि उत्तम हुन्छ।

    तातो पानीले पाचन छिटो गराउँछ, बोसो पगाल्छ र पेटलाई हल्का महसुस गराउँछ।
    त्यसैगरी, तेलयुक्त वा भारी खाना खाएपछि तातो पानीले राहत दिन्छ।

    चिसो पानी चाहिँ खाना पचाउन बाधक हुन्छ।
    चिसो पानीले बोसो जमाउँछ, पाचन सुस्त बनाउँछ, र अम्लीयता बढाउँछ।

    गलत बानीहरू जसले पाचन बिगार्छन्

    १. खाना खाएपछि तुरुन्तै धेरै पानी पिउनु।

    २. खाना खाएपछि तुरुन्तै सुस्त बस्नु वा सुत्नु।

    ३. खाना खाएपछि चिसो पेय पदार्थ सेवन गर्नु।

    ४. खाना खाँदा ध्यान नदिई मोबाइल हेर्नु वा हतारमा खानु।

    ५. खाना खाएपछि तुरुन्त फलफूल वा दूध सेवन गर्नु।

    यी बानीहरूले पाचन प्रणाली कमजोर पार्छन् र दीर्घकालमा स्वास्थ्य समस्या ल्याउँछन्।