Blog

  • चितवनमा साउनयता चार गैँडा मरे

    चितवनमा साउनयता चार गैँडा मरे

    चितवन, ३१ असोज : 
    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् ।

    तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो।

    पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो ।

    गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।

  • नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

    नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

    ३१ असोज, काठमाडौं
    नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको छ।

    सुपर-६ को अन्तिम खेलमा समाओलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो।

    नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर-६ मा स्थान बनाएको थियो। सुपर-६ मा नेपालले युएई, कतार, ओमान र समाओलाई हरायो। नेपालले सुपर-६ मा १० अंक जोड्दा दोस्रो स्थानको ओमानको ८ अंक र तेस्रो स्थानको युएईले ६ अंक जोडे। छनोटबाट नेपालसँगै ओमान र युएई विश्वकपमा छनोट भए।

    शुक्रबार नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र जोड्न सक्यो।

     

  • सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

    सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

    ३१ असोज, काठमाडौं ।
    नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ ।

    शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

    ‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ- सेनाले राजनीति गर्दैन,’ उनले भने ।

    उनले थपे, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो।’

    उनले आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै भने, ‘यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ।’

    उनले भने, ‘एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पुर्‍याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

    मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।

    ‘एक क्षणलाई सोचौं, भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्‍यो, त्यो नगरेको अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो ?,’ उनले प्रश्न गरे ।

    ती सैनिक अधिकारीले यो विषय सबैको लागि विचारयोग विषय रहेकोमा जोड दिए । ‘नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उनले भने ।

    आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने ।

    ‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्योल थियो,’ उनले भने ।

  • राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

    राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

    काठमाडौं, असोज ३१ –
    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । रासस

  • एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

    एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

    काठमाडौँ, असोज ३१ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ ।

    ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा यही असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित पारित हुनेछ ।

    बैठकमा पार्टीको आगामी ११औँ महाधिवेशनको तिथि, मिति तय गर्ने र समसामयिक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । नेता गौतमले बोल्ने अधिकांश सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल मर्ममा समर्थन गरेको र संसद् पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

    उहाँले छिटपुट रुपमा केही सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।

    बैठकमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

    समसामयिक प्रस्ताव तयारीका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग प्रमुख गौतम र संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । रासस

  • टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

    टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

    काठमाडौँ, असोज ३१–
    ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत आज अन्तिम खेलमा नेपाल र सामाओ भिड्दै छन् ।

    मस्कटमा जारी खेलमा सामाओ विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दैछ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालले आजको अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अलराउण्डर करण केसी, आरिफ शेख र स्पिनर ललित राजवंशी मैदानमा उत्रिदैछन् ।

    सुपर सिक्समा नेपाल शीर्ष स्थानमा रहँदा सबै खेल खेलेको ओमान समान ८ अंकका साथ दोस्रो स्थानमा छ भने युएई ६ अंकका साथ तेस्रो स्थानमा छ । यी तिनै टिम आगामि वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा छनोट भइसकेका छन् । आजको खेलमा विजयी भए नेपाल विजेता बन्ने छ भने झिनो अन्तरले पराजित भए पनि उपाधि जित्ने छ ।

  • त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

    त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

    काठमाडौँ, असोज ३१ –
    सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।

    सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गर्नुभयो ।

    घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।

    केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएका मन्त्री घिसिङले गुरुयोजना बमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउनुभएको थियो ।

    हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । रासस

  • महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

    महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

    काठमाडौं,असोज ३१-
    नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए। उनले भने,‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ। विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तद्र्वन्द्व बढाउन नलागौँ।’

    ओलीको विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा रहेको टिप्पणी गरे। उनले भने, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ ।’

    असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने बताए। आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरे।

    असंवैधानिक सरकार निरङ्कुशतातर्फ अघि बढेको र निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाधलिरहित र शान्तिपूर्ण चुनाव हुने वातावरण बनाउन जनसङ्घर्ष र दबाब लिनुपर्ने बताए। देश, एमाले र पार्टी अध्यक्षमाथि प्रहार हुँदा आफूहरूले ढाड थापेर बचाएको बताए। उनले थपे, ‘समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्। कार्यकर्ताहरूले पनि बुझिसकेका छन्। तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन ?’

  • देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

    देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

    चितवन,असोज ३१-
    चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्। राप्ती नगरपालिका ६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

    बेपत्ता चौधरीको खोजी भइरहेको छ।

  • महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

    महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

    ३१ असोज, काठमाडौं ।
    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।

    साथै, उनले प्रचण्डलाई कारबाही गर्न समेत माग गरेका छन् ।

    बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई ‘लुसिफर’, रास्वपा सभापति रवि लामिछानेलाई जेल तोडेर जनता झुक्याउने व्यक्ति रहेको जिकिर गरे ।

    ‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले चिनिँदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने, उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कारबाही गर्नुपर्छ,’ बस्नेतले बैठकमा भनेका छन् ।

    जेनजी आन्दोलन नेपाली र वास्तविक जेनजी पुस्ताका माग व्यवस्था परिवर्तन नभएको उनको भनाइ छ ।

    ‘उनीहरूको असन्तोष भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमा आफ्नो आवाजको पहुँच घट्ने डरसँग जोडिएको थियो । तर बाह्य शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देशविरोधी दिशामा मोडिदिए,’ बस्नेतले भने ।